सिंचाइ सुविधाले कृषि सरगर्मी

दक्षिणी दैलेखको पिलाडीमा सिंचाइ सुविधाले नयाँ कृषि सरगर्मी ल्याएको छ।

तुलसी गौतम

“तिमी नेता भएकोले पानी पायौ, हामीलाई खोइ?”

“जहाँ सुक्खा र गरीबी, त्यहाँ लिली!”

गत जेठ अन्तिम साता दक्षिणी दैलेखको पिलाडी गाविसमा सुनिएका यी दुई बोलीमध्ये पहिलोले सुविधा लिन नेता नै हुनुपर्ने नेपालको विकासे राजनीतिप्रति व्यंग्य र दोस्रोले योजना कस्तो ठाउँमा जानुपर्छ भन्ने दिशाबोध गरेको छ। यो व्यंग्य र दिशाबोधका बीचमा पिलाडीको व्यावसायिक तरकारी खेतीमा चाखलाग्दो परिवर्तन शुरू भएको छ। “पहिले दिनमा एउटा रोपाइँ गरिन्थ्यो अब चार वटा रोपाइँ हुन्छ”, पिलाडी–४ जोरेबाँझ्का खगेन्द्र ओली (३२) भन्छन्, “सुक्खायाममा पनि तरकारी लगाउन सिंचाइले सुविधा भएको छ।”

ओलीका अनुसार, यसअघि गाउँ परम्परागत निर्वाहमुखी खेतीबाट धानिएको थियो। खेतमा धान र बारीमा मुश्किलले दुई बाली हुन्थ्यो। हिउँदभर फुर्सदमा हुने गाउँले केही रुपैयाँ कमाउन भारतसम्म जान्थे। “तर, अब बाह्रै महीना व्यस्त हुने समय आएको छ”, ओली भन्छन्, “यसका लागि हेल्भेटासको ‘जीवनस्तर सुधारका लागि स्थानीय पूर्वाधार’ (लिली) कार्यक्रमलाई धन्यवाद, जसले पानीको सानै स्रोतबाट वर्षमा चार बालीसम्म लगाउने अवस्था सिर्जना गरिदियो।”

पानी भए सबथोक

पिलाडी–६ तेर्सोबाटाका टेकबहादुर नेपाली (३१) ले लिलीको सहयोगमा पक्की कुलो बनेपछि अस्थायी शिक्षकको जागीरबाट राजीनामा दिए। बाह्रमासे कुलो भएपछि चारतिर हात हाल्ने दुःख नगर्ने निर्णय लिएको उनले बताए। “खेतबारीमा पानी हुनु भनेको सबथोक हुनु हो”, नेपाली भन्छन्, “अब जे गर्छ, तरकारी खेतीले नै गर्छ।”

पुस २०७० देखि वैशाख २०७१ सम्ममा दुइटा कुलो र दुई वटा प्लाष्टिक पोखरी योजना सम्पन्न गरेका पिलाडीवासीको उत्साह नेपालीको बोलीमा प्रतिबिम्बित भएको छ। पानी आएपछि पिलाडी–६ तारुखोलामा आलु, सिमी र टमाटर, पिलाडी–७ सिलीखोलामा खुर्सानी र पिलाडी–४ को रातेखोलामा टमाटर फलाउन थालिएको छ भने पिलाडी–४ कै ठूलो खोलाका ३०० मुरी घैया हुने बारीलाई जोडतोडले खेत बनाउन थालेको देखियो। यी चार योजनाबाट १९६ घर परिवारको ८५० रोपनी जमीनमा सिंचाइ पुगेको छ। योजना नपरेका गाउँका किसानहरू योजनाका अध्यक्षहरूलाई भेट्दा ‘हामीलाई चाहिं पानी खोइ?’ भन्दै तुरुन्त अर्को योजना ल्याउन आग्रह गर्छन्।

सडक र पानी कृषिलाई व्यवसायीकरण बनाउने पूर्वाधार हुन्। सिंचाइ र सडक नहुँदा पिलाडीवासीले जेनतेन उत्पादन गरेका टमाटर तीन घण्टा उकालो बोकेर भीमचुला, वुवैराखे, बगौरा, डुङ्गेश्वरमा बेच्थे। लाम्जुले, कोट, लयाँटा, काफलतडा गाउँ समेतबाट संकलन हुने तरकारी सुर्खेतको क्षेत्रीय बजार पुग्छ। बेस्सरी टमाटर र अरू तरकारी फलाउन सक्दा सुर्खेतबाट नेपालगञ्ज र रुपैडिहासम्म बिक्री गर्न सकिने पिलाडीवासीले थाहा पाएका छन्।

पहिले प्रविधि पछि पानी

पिलाडी गाविसमा पहिलो पटक गोलभेंडा खेती गर्ने जोरेबाँझका तेजबहादुर बुढाले २०५२ सालमै गाउँमा आएर पाखोबारीमा नयाँ बीउ र बुद्धि दिने ‘फरवार्ड’ नामक संस्था र त्यसका कर्मचारीलाई अझै नबिर्सेको बताए। “तर, सिंचाइ नभएकोले वर्षात्मा मात्र उत्पादन गर्न सकियो”, बुढा भन्छन्, “त्यसमाथि सडक नहुँदा गोलभेंडा बारीमै कुहाउनुपर्‍यो।” बुढाले यस अवधिमा टमाटरबाटै सात रोपनी बारी र कुटानी–पिसानी मील जोडे। यसैगरी नरबहादुर बुढा २०५२ सालदेखि नै खेतमा तरकारी लगाउने पहिलो किसान हुन्।

‘फरवार्ड’ ले सिलीखोलाका किसानलाई पनि आय आर्जनका लागि चालीस दिने मूला, लसुन, प्याज, आलु, सिमी लगाउने विधि सिकायो। तर, सिंचाइ अभावमा त्यो सीप खासै काम लागेको थिएन। अब भने हिउँदमा खेतबारीलाई तरकारी र मसलावालीले हरियै बनाउने सुरमा छन्, यहाँका किसान। “सिंचाइ पनि पहिल्यै पाएको भए, कहाँदेखि कहाँ पुगिन्थ्यो होला”, पिलाडी–६ का रत्नबहादुर बुढा भन्छन्।

लिलीपछि अन्योल

२०६१ असारबाट दुर्गम क्षेत्रका किसानका लागि प्लाष्टिक पोखरी र कुलो जस्ता न्यूनतम कृषि पूर्वाधार बनाउँदै आएको लिलीको म्याद यही असारमा सकिंदैछ। स्वीस सहयोग एजेन्सी हेल्भेटासको हाँगाको रूपमा रहेको लिलीले स्थानीय निकायसँग मिलेर चलाएका योजना दिगो र प्रभावकारी देखिएका छन्। लिलीले हालसम्म ३० हजार ५८३ घर परिवारको करीब पाँच हजार हेक्टर जमीनमा बाह्रमासे सिंचाइ पुर्‍याएको छ।

वडा, गाउँ परिषद् र इलाका हुँदै जिल्ला विकास समितिमा पुगेर छानिएका विवादरहित योजनाहरूमा लगानी गर्ने लिली अब नरहने भएपछि दैलेख, जाजरकोट, अछाम, कालीकोट, ओखलढुंगा, खोटाङ र रामेछापमा सञ्चालित योजना अब के हुने भन्ने अन्योल सिर्जना भएको छ। आफ्नो लगानीका योजना प्राकृतिक कारणले बिग्रिएकोमा पुनर्निर्माण गर्ने लिलीले अब ती योजना गाविस वा जिविसकै जिम्मा छोडिदिन्छ कि अर्को संयन्त्र बनाउँछ भन्ने पनि अनिश्चय छ। गाविस/जिविसले एकै ठाउँमा अनुदान दोहोर्‍याउँदा विवाद हुने सम्भावना आफ्नो ठाउँमा छँदैछ।

अर्कै रूपमा आयो भने पनि त्यसको तौरतरिका र उद्देश्य फरक भएर अहिलेको संयन्त्र खलबलिन सक्ने हुनाले सबै ठाउँका किसानले लिलीकै निरन्तरता खोजेका छन्। लिलीको मूल्यांकन गरेका स्वतन्त्र परामर्शदाताहरूले पनि यसको निरन्तरता र विस्तारको सुझाव सन् २०१३ मा दिएका थिए।

__________________________________________________________________________

पहाडको खेतीले मधेशमा घडेरी

तरकारी खेतीको महत्व बुझेका पिलाडी–६ तेर्सोबाटाका टेकबहादुर नेपालीले ६ वर्षअघि पाइपबाट पानी ल्याएर मकैको सट्टा आलु र सिमी लगाउन थाले। उनको यो प्रयोग परिवारका लागि चामत्कारिक भयो। चार रोपनी पाखोबारी र सात रोपनी खेत भएको परिवार पाखोमा समेत चार बाली उत्पादन गर्न थालेपछि जमीन बढाउने हैसियतमा पुग्यो। “यही खेतबारीको कमाइबाट कोहलपुरमा घडेरी किने‍”, टेकबहादुर भन्छन्, “पहिले ६ जनाको परिवारलाई घरको अन्नले ६ महीना खान पुग्थ्यो, अहिले वर्षमा दुई लाख रुपैयाँसम्म बचत हुन्छ।”

गत पुसमा लिलीले योजना दिएपछि उनी तुरुन्तै तारुखोला कुलो सिंचाइको सचिव बनेर खट्न थालिहाले। योजना पूरा हुन लाग्दा चैतमा अस्थायी शिक्षकबाट राजीनामा दिएका उनी बीएड तहको पढाइ भने सक्ने अठोटमा छन्। पाखोबारीमा माघमा सिमी, जेठमा टमाटर, भदौमा आलु, मंसीरमा फेरि आलु लगाएर सबै बजारयोग्य उत्पादन गर्ने टेकबहादुर पढा–लेखा पनि भएकाले गाउँकै सुकिलो किसान बनेका छन्।

तर, सबै वडामा सिंचाइ नहुँदा जाँगर भए पनि खेतबारी बाँझो राख्नुपर्ने अवस्था भएकोले सरकारले लिली जस्ता संस्थालाई कार्यक्रम संचालन गर्न लगाउनुपर्ने माग उनले गरे। “उत्पादन धेरै भयो भने सुर्खेतका व्यापारीले यहीं ट्रक पठाउँछन्”, उनी भन्छन्, “गाडीलाई खेप नपुग्दासम्म तरकारी ढाडमा राखेर हामीले नै पुर्‍याउनुपर्छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s