कामकाजी रोगको प्रकोप

स्वास्थ्यमा ध्यान नदिंदा मुटु, फोक्सोको संक्रमण, ढाडको दुखाइ, डिप्रेसन, कान नसुन्ने जस्ता पेशाजन्य रोगले महामारीको रूप लिंदैछ।

बायाँ पिंडौलाको नसा सुन्निएर गँड्यौला जस्तो भएपछि ३२ असारमा धुलिखेल अस्पताल पुगेकी लमजुङकी राजकुमारी गुरुङ (४३) को शल्यक्रिया नै गर्नुपर्‍यो। अस्पतालका कार्डियो थोरासिक तथा भास्कुलर सर्जन डा. रविनमान कर्माचार्यका अनुसार पिंडौलाको नसा सुन्निएर गँड्यौला जस्तो देखिने समस्यालाई मेडिकल भाषामा भेरिकोज भेन भनिन्छ।

मानव शरीरमा खुट्टातिरको रगत मुटुतर्फ फर्काउने दुई किसिमका शिरा हुन्छन्। खुट्टाका मांसपेशी वरिपरिका ठूलो शिरालाई भित्री तथा छाला मुनिकालाई सतही शिरा भनिन्छ। सतही र भित्री शिराबीचको भल्भहरूमा समस्या आउँदा भेरिकोज भेन हुन्छ। डा. कर्माचार्यका अनुसार, यसरी खुट्टाका नसा बन्द हुँदा मुटुसम्म जाने रगत छाला र पैतालातर्फ जाँदा नसा फुटेर छालामा घाउ आउने र पाक्ने सम्भावना पनि हुन्छ।

पेशाजन्य रोगको कारण

लामो समय उभिएर काम गर्नु र गह्रौं भारी बोक्नुलाई भेरिकोज भेनको प्रमुख कारण मानिन्छ। अत्यधिक मोटोपन, गर्भावस्था, कब्जियत र वंशाणुगत कारणले पनि यो समस्या आइलाग्छ। भेरिकोज भेनका देशभरका १० हजार बिरामीमध्ये ९७ प्रतिशतले लामो समय उभिएर काम गर्ने र गह्रौं भारी बोक्ने गरेको भेटिएको डा. कर्माचार्य बताउँछन्। “राजकुमारी गुरुङको समस्या पनि त्यही थियो”, उनले भने।

राजकुमारी सात वर्ष कोरियामा काम गरेर पाँच वर्षअघि फर्केकी थिइन्। त्यहाँको कारखानामा उनले दैनिक १२ घन्टा उभिएर सामान प्याक गर्नुपर्थ्यो। खुट्टामा पीडा सहेर बसेकी उनी हिंडडुल गर्नै कठिन हुन थालेपछि धुलिखेल अस्पताल पुगेकी थिइन्। त्रिवि शिक्षण अस्पताल महाराजगंजका अर्थोपेडिक डा. अर्जुन लामिछाने उपचारका लागि आफूकहाँ आउनेमध्ये विदेशबाट फर्केकाको संख्या धेरै रहेको बताउँछन्। “उपचार गराउनकै लागि विदा मिलाएर नेपाल आउने पनि छन्”, डा. लामिछाने भन्छन्।

पेशागत हिसाबले किसान, सैनिक, ट्राफिक प्रहरी, सेक्युरिटी गार्ड, भरिया, मजदूर, शिक्षक, नर्स आदिमा भेरिकोज भेनको समस्या बढी हुन्छ। धुलिखेल अस्पतालमा शल्यक्रिया गरिएका १०५ मध्ये ५४ प्रतिशत किसान, २० प्रतिशत भरिया र बाँकी सैनिक, प्रहरी र सेक्युरिटी गार्ड पेशाका छन्।

सैनिक र प्रहरीमा सबभन्दा बढी ग्यास्ट्रिक, ढाड दुख्ने र ट्राफिक प्रहरीलाई त्यस बाहेक छाती र आँखाको समस्या समेत थपिएको पाइएको छ। यस्तै, लामो समय कम्प्युटरमा बस्ने ब्याङ्कर, सञ्चारकर्मी, लेखापाल आदिमा आँखा र ढाडको समस्या बढी देखिएको छ भने सवारी चालक र मेशीन अपरेटरहरूमा ढाड, हात, पाखुरा दुख्ने समस्या बढी देखिएको चिकित्सक बताउँछन्।

ब्याङ्कर, चिकित्सक, इन्जिनियर, सवारी चालक, सञ्चारकर्मी, अग्नि नियन्त्रक, वेल्डर, मेकानिक्स, मेशीन अपरेटर आदिमा पेशाजन्य रोगको अत्यधिक प्रभाव देखिएको छ। गलत आसन, लामो समय उही आसन, विभिन्न रसायन, ध्वनि प्रदूषण, धूवाँ–धूलो, अव्यवस्थित कार्यक्षेत्र, अनिद्रा, अव्यवस्थित कार्य समय, उच्च प्रतिस्पर्धा आदिलाई पेशाजन्य रोगको प्रमुख कारण मानिन्छ। यस्ता कुरालाई बेवास्ता गर्दा पेशाजन्य रोग र पेशासँग जोडिएका दुर्घटना बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को पछिल्लो तथ्यांक अनुसार विश्वमा पेशाजन्य दुर्घटना र रोगबाट हरेक वर्ष एक करोड ६० लाख मानिस प्रभावित हुने गरेका छन्। तीमध्ये वर्षेनि २२ लाखको मृत्यु हुने गरेको छ। २२ लाखमध्ये १७ लाखको पेशाजन्य रोग र पाँच लाखको पेशाजन्य दुर्घटनाबाट मृत्यु भएको छ। आईएलओका अनुसार, कामकाजी रोगका कारण वर्षेनि गर्भपात हुने महिलाको संख्या एक लाख छ भने त्यति नै पुरुषले प्रजनन क्षमता गुमाउँछन्।

आँखाको शत्रु

कामकाजीहरूलाई लाग्ने रोग तथा संभावित दुर्घटनाको विषयमा अनुसन्धान गरेर सुझाव दिंदै आएको अमेरिकी संस्था नेशनल इन्ष्टिच्यूट अफ अकुपेसनल सेफ्टी एन्ड हेल्थका अनुसार दैनिक तीन घन्टाभन्दा बढी कम्प्युटरमा काम गर्नेहरूमध्ये ९० प्रतिशत कम्प्युटर भिजन सिन्ड्रोम (सीभीएस) को शिकार भएका छन्। आँखा दुख्ने, बटारिने, धमिलो देखिने, एउटा वस्तुलाई दुइटा देख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, आँखा पोल्ने लगायतका समस्यालाई सीभीएस भनिन्छ। खासगरी कम्प्युटर र ल्यापटपमा काम गर्ने चलनसँगै सीभीएस बढेको आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत बताउँछन्।

डा. रुइतका अनुसार, लगातार कम्प्युटर, ल्यापटप, टेलिभिजन वा मोबाइलमा हेरिरहँदा धेरैबेरमा मात्र आँखा झिम्किन्छ र आँखा सुक्खा भएर सीभीएस हुन्छ। धूवाँ–धूलो नजिक, विभिन्न रसायनसँग सम्बन्धित र वेल्डिङको काम गर्नेहरूको आँखा बढी जोखिममा हुन्छ। गार्मेन्ट उद्योगमा प्रयोग गरिने चहकिलो प्रकाशले पनि आँखालाई छिटो बिगार्छ। शिक्षकहरूलाई चकको धूलोले असर गरेको हुन्छ। “गाजल लगाउनु पनि आँखाको समस्या निम्त्याउनु हो”, डा. रुइत भन्छन्।

गाजलबाट प्रभावितमध्ये एक हुन्, माउन्टेन टेलिभिजन की समाचारवाचिका मञ्जु कार्की। समाचार वाचन अघि अनिवार्य रूपमा गर्नुपर्ने गाजल सहितको ‘हेवी मेकअप’ ले गर्दा आँखा चिलाउने, रातो हुने लगायतका समस्या आएको उनी बताउँछिन्। बारम्बारको मेकअपले छाला फुस्रो र सुक्खा बनाएको उनले बताइन्। अहिले गाजल कम गरेकी मञ्जु भन्छिन् “तर, आँखालाई गाजलको यस्तो लत बसेछ कि नलगाउँदा पनि चिलाउने, पोल्ने हुन्छ।”

आँखा र अनुहारको छालामा समस्या देखिएपछि चिकित्सककहाँ पुगेकी उनले गाजल लगायतका सौन्दर्य प्रसाधन कम प्रयोग गर्ने सल्लाह पाइन्। हरेक टेलिभिजन प्रशासनले सौन्दर्य सामग्रीको प्रयोग घटाउनुपर्ने सुझाव दिने मञ्जुलाई गत मंसीरको संविधानसभा निर्वाचनताका दैनिक १० घन्टासम्म स्टुडियोमा बस्दाको परिणामस्वरुप आएको ढाड, कम्मर र गर्धन दुख्ने समस्या पनि छँदैछ।

ढाड दुखाइको महामारी

पटक पटक ढाड दुखेपछि अस्पताल पुगेका गोरखापत्र दैनिकका फोटो पत्रकार राजेश ढुंगाना (४८) ले डेढ वर्ष पहिले शल्यक्रिया नै गराउनुपर्‍यो। उनलाई ‘ब्याक प्याक’ को समस्या भएको डाक्टरहरूले बताएका थिए। हुन पनि, ढुंगाना साढे दुई दशकदेखि दुई वटा क्यामरा, लेन्स, चार्जर आदि गरेर १२–१३ किलोको ‘ब्याक प्याक’ मा दौडधुप गरिरहेका थिए। अहिले उनले आफ्नो ब्याक प्याकलाई दुई–तीन केजीमा झारेका छन्।

धुलिखेल अस्पतालका फिजियो थेरापिष्ट डा. सौरव शर्मा हरेक दिन गह्रौं सामान बोक्दाको असर शरीरमा थपिंदै जाने बताउँछन्। गह्रौं भारीका कारण टाउको, गर्धन, ढाड, घुँडा दुख्ने, नसा च्यापिने–च्यातिने, हड्डी खिइने जस्ता समस्या आउने उनले बताए। बढी श्रम गर्ने र गह्रुँगो भारी बोक्नेलाई मात्रै होइन शारीरिक श्रम नै गर्नु नपर्ने पेशामा आवद्धहरूलाई समेत ढाड दुख्ने रोगले सताउन थालेको छ।

चिकित्सकका अनुसार सफ्टवेयर इन्जिनियर, ब्याङ्कर, अनुसन्धानकर्ता, सञ्चारकर्मी, लेखापाल आदिलाई शारीरिक श्रमको कमीले यस्तो रोग लाग्ने गरेको छ। शारीरिक श्रम गर्नु नपर्ने पेशाकाहरूले बिहान–बेलुका अनिवार्य व्यायाम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

धुलिखेल अस्पतालका ‘इन्टर्न’ डा. सुमन लामिछानेले आफैं पनि गर्धन दुख्ने समस्याबाट पीडित भएको बताए। पढ्दा, अपे्रसन थिएटरमा उभिंदा र ड्युटीको अन्य समयमा पनि गर्धन निकै दुख्न थालेपछि उनले फिजियोथेरापी गराइरहेका छन्। ड्युटीको समयमा सन्तुलन मिलेन भने घाँटीको दाहिने भागको दुखाइ निकै बढ्ने अनुभव डा. सुमनले सुनाए।

ललितपुरको सानेपास्थित कुण्डलिनी अस्पतालका डा. हेमराज कोइराला गत तीन दशकमा ढाडका बिरामीको संख्या निकै बढेको बताउँछन्। कुल जनसंख्याको १५ प्रतिशतमा कुनै न कुनै रूपमा ढाड सम्बन्धी समस्या रहेको बताउने उनले यस्ता बिरामीमध्ये धेरैजसो ३०–५० वर्ष उमेर समूहका भएको बताउँछन्।

आफूकहाँ उपचार गराउन आउनेमा प्रहरी, सैनिक, पत्रकार, गृहिणी र बढी लेखपढ गर्ने राजनीतिकर्मीको संख्या धेरै रहेको उनले जानकारी दिए। “पेशाजन्य कारणले ढाड दुख्ने समस्याले महामारीको रूप लिइसकेको छ”, डा. कोइराला भन्छन्, “बढ्दो प्रतिस्पर्धाले कामको समय बढाउनु र जंक फूड, पेष्टिसाइड्स र ग्रोथ हर्मोनयुक्त खानाले समस्या थप जटिल बनाउँदै लगेको छ।”

नसाको नाश

बसिराख्ने पेशाका मानिसहरूमा पनि ढाड दुख्ने र नसा च्यापिने समस्या बढ्न थालेको छ। डा. कोइरालाका अनुसार नसा च्यापिने मूल कारण बसाइको गलत आसन हो। कुप्रो परेर कुर्सीमा बस्ने, लामो समय एउटै आसनमा बस्ने, अचानक झुक्ने/निहुरिने, अचानक गह्रौं वस्तु उठाउने, झट्टै उठ्ने, बस्ने, हिंड्ने, व्यायाम नगर्ने, हाई हिल लगाउने र खाल्डाखुल्डीमा वाइक कुदाउनेहरूमा नसा च्यापिने समस्या बढी देखिएको छ।

डाक्टर, प्रहरी, पत्रकार, ब्याङ्कर, कम्पनीहरूका एक्ज्युकेटिभ जस्ता तनावग्रस्त पेशामा भएकाहरूमा नसा सम्बन्धी समस्या बढी छ। डा. कोइरालाका अनुसार अप्राकृतिक जीवनशैलीका कारण हड्डीभित्रको डिक्स र हड्डी चाँडै खिइने, सुनिने र घोटिने हुन्छ। फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिनुको साथै डिक्सले ठाउँ छाडेर नसा च्याप्न पुग्छ।

नसा रोग विशेषज्ञ डा. बाबुराम पोखरेलका अनुसार, पूरा निद्रा नसुत्ने र परिवारसँग बस्न नपाउने पेशेवरहरूलाई नसा लगायत विभिन्न रोगले चाँडो समाउँछ। लामो समयसम्म नसुत्दा अनिद्राको कारणले ब्रेन सेलहरू मरेर मस्तिष्कमा असर पर्छ। सुरक्षा गार्ड, चिकित्सक, सवारी चालक, होटलका कामदार, सञ्चारकर्मी, प्रहरी आदिलाई अनिद्राकै कारणले टाउको दुख्ने, गोडा झ्मझ्माउने, ढाड दुख्ने, छारेरोग बल्झिने गरेको डा. पोखरेलले बताए। “अनिद्रा सवारी दुर्घटनाको पनि कारण हो”, डा. पोखरेल भन्छन्, ‘वयस्क व्यक्तिले स्वस्थ रहन ६ देखि ८ घन्टा राम्रोसँग निदाउनुपर्छ। राति ड्युटी गर्नै पर्नेहरूको आधा ड्युटी उज्यालोमा पार्नुपर्छ।”

ध्वनिबाट ध्वंस

पेशाजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा विगत डेढ दशकदेखि अध्ययन, अनुसन्धान गर्दै आएका डा. सुनिलकुमार जोशी ८० डेसिबल भन्दा बढी कोलाहल भएको ठाउँमा काम गर्नेहरूको स्वास्थ्यमा ध्वनिको प्रत्यक्ष प्रभाव पर्ने बताउँछन्। ‘इनभाइरन्मेन्टल नोइज इन्ड्युस्ड हियरिङ लस इन नेपाल’ शीर्षकको डा. जोशीको अनुसन्धानले कोलाहलमा काम गर्नेहरूको श्रवणशक्ति गुम्ने संभावना सामान्य व्यक्तिको भन्दा चार गुणा बढी हुने पत्ता लगाएको छ।

कोलाहलमा काम गर्नेहरूमा कुनै पनि कुरामा ध्यान दिन नसक्ने, चाँडो थाक्ने, झ्नक्क रिसाउने, टाउको दुख्ने, बोली लरबरिने, कान नसुन्ने, निद्रा नलाग्ने, रिङ्गटा लाग्ने, वाक्वाकी लाग्ने र छाती दुख्ने जस्ता लक्षण देखिन्छ। यस्तै नर्भस हुने, मांसपेशी दुख्ने, माइग्रेन, अल्सर, रगतमा कोलस्ट्रोलको मात्रा बढ्ने र मनोवैज्ञानिक समस्या समेत देखिने डा. जोशीको अध्ययन प्रतिवेदनमा उल्लेख छ। कपडा, प्लाष्टिक, फलाम, स्टील, खाद्य, सिमेन्ट, पाइप आदि उद्योगमा काम गर्ने, ट्राफिक प्रहरी, सवारी चालक, निर्माण क्षेत्रका कामदार, सडकसँगै जोडिएको घरका मानिस र कार्यालयका कर्मचारीलाई ध्वनि प्रदूषणले बढी हानि पुर्‍याइरहेको छ।

डा. जोशी दाउरा बालेर खाना पकाउनेहरूमा दम, निमोनिया, फोक्सोको क्यान्सर जस्ता रोग लाग्ने जोखिम भएको बताउँछन्। यसबाट छुटकारा पाउन सुधारिएको चुल्हो, वैकल्पिक ऊर्जा, भान्साकोठामा भेन्टिलेसन र गृहिणीहरूलाई पालो दिने व्यवस्था गर्न सकिने उनी बताउँछन्। गृहिणी, घरेलु कामदार, ईटा भट्टाका कामदार, गिट्टी कुट्ने र निर्माणकार्यमा संलग्न कामदारहरू पेशाजन्य रोगबाट बढी प्रभावित भइरहेका छन्। असंगठित हुने भएकाले उनीहरूको आवाज पनि बाहिर आउँदैन। उनीहरू ट्रेड युनियनहरूको प्राथमिकतामा पनि पर्दैनन्।

समस्या यति गम्भीर भए पनि सरकारसँग यस सम्बन्धी आधिकारिक तथ्यांकसम्म छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुचि नै नदेखाएपछि विश्व स्वास्थ्य संगठनले १० वर्ष पहिले दिएको पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी आयोजना फिर्ता भयो। आईएलओ महासन्धिको सी १५५ मा पेशाजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी प्रावधान छ, जसलाई नेपालले अनुमोदन नै गरेको छैन। पेशाजन्य रोग तथा सुरक्षा सम्बन्धी ऐन पनि बनेको छैन। डा. जोशी श्रम ऐनले पेशाजन्य रोग सम्बन्धी विषयलाई समेट्न नसकेकोले छुट्टै ऐन आउनुपर्ने बताउँछन्।

स्वास्थ्यसँग सम्बन्धित परामर्श दिंदै आएको हेल्थ कन्सर्नका निर्देशक डा. सुवास प्याकुरेल पेशाजन्य स्वास्थ्य समस्या पछिल्लो समयमा चर्को रूपमा बढेको बताउँछन्। फोन, फेसबुक र स्काइपबाट दैनिक १० जनासम्मलाई स्वास्थ्य परामर्श दिंदै आएका डा. प्याकुरेल स–सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिने बताउँछन्।

__________________________________________________________________________________

ढाड दुखाइबाट बच्न

कुर्सी वा टुलमा धेरै बेर झुकेर नबस्ने।

शरीरको एक भागमा मात्र बढी भार पर्ने गरी नबस्ने।

लामो समयसम्म एउटै आसनमा नबस्ने।

नियमित व्यायाम गर्ने।

वजनदार सामान उठाउँदा सावधानी अपनाउने।

घुँडा खुम्च्याएर कम्मरलाई नमोडी विस्तारै उठाउने।

लामो समयसम्म उभिरहने वा बसिरहने काम गर्दा ३०–४५ मिनेटमा आसन परिवर्तन गर्ने।

उभिएर काम गर्नुपर्दा एउटा खुट्टालाई अर्कोभन्दा ६ इन्च जति माथि कुनै वस्तुको आड दिने।

ड्राइभिङ सीटमा अथवा कुर्सीमा बस्दा ‘ब्याक रेष्टको’ प्रयोग गर्ने।

____________________________________________________________________________________

कम्प्युटरमा काम गर्दा

सीआरटीको सट्टा एलसीडी मनिटर चलाउने।

विपरीत दिशाबाट चहकिलो प्रकाश आउने स्थानमा नबस्ने।

बस्ने कुर्सी आरामदायी होस्, जसले मेरुदण्डलाई सीधा राखोस्।

कम्प्युटर वा ल्यापटपको मनिटर २०–२४ इन्चको फरकमा राख्ने।

मनिटर आँखाको तहबाट ५–१० डिग्री तल पार्ने।

मनिटरको रंगलाई धेरै चहकिलो वा अँध्यारो नबनाउने।

प्रत्येक २० मिनेटमा २० फिट टाढा हेरेर २० पटक आँखा झिम्क्याउने।

प्रत्येक एक घन्टामा कम्तीमा पाँच मिनेट विश्राम लिने।

_____________________________________________________________

धेरै कामले समस्या

२० वर्षअघि पीएचडी गर्ने समयमा यति धेरै लेख्नुपर्‍यो कि लेख्दा लेख्दै मेरो हातमा समस्या आयो। त्यो बेला कम्प्युटर र ल्यापटप नभएकोले सबै हातैले लेखेर तयार पार्नुपर्थ्यो। हात दुख्न थालेपछि डाक्टरकोमा गएँ। औषधिले निको पनि भयो, तर समस्या बारम्बार दोहोरिरहयो। साह्रै दुख्दा पीडा कम गर्ने औषधि खान्छु, तर सधैं यसो गर्दा अन्य समस्या निम्तिने भएकाले चिन्ता लाग्छ।

अहिले हातले लेख्नु नपरे पनि लामो समयसम्म बसेर ल्यापटपमा रिपोर्ट तयार पार्नुपर्ने भएकाले ढाड र हात दुख्ने समस्याले छोडेन। डाक्टरहरूको सल्लाहमा विभिन्न किसिमका थेरापी गर्दै आएकी छु। अकुपञ्चर प्रेसर र शारीरिक कसरत पनि गर्दै आएकी छु।

साप्ताहिक खबरपत्रिका हिमालबाट

Source : http://www.himalkhabar.com/?p=76303

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s