विषादी परीक्षणः खाली हात मैदानमा

विषादी परीक्षणः खाली हात मैदानमा

तरकारीमा विषादीको मात्रा परीक्षण गर्न बनेको विषादी अवशेष द्रुत विश्लेषण इकाईसँग कालीमाटीमा तरकारी परीक्षण गर्न सक्ने स्रोत–साधन नै छैन ।

–मीना शर्मा

४ असारदेखि सरकारले शुरू गरेको ‘विषादी अवशेष दु्रत विश्लेषण इकाई’ (आरबीपीआर) ले ८ साउनसम्म २४१ वटा कृषि उपजका नमूना परीक्षण गर्‍यो । तीमध्ये २८ वटामा स्वास्थ्यका लागि घातक मानिने विषादी पाइएको तालुकवाला बाली संरक्षण निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ । दैनिक ५०० देखि १००० किसानको उत्पादन आउने देशकै ठूलो तरकारी बजार कालीमाटीमा अहिलेको पद्धतिबाट दैनिक १० वटा मात्र नमूना परीक्षण गर्न सकिन्छ ।

विषादी परीक्षण गरे पनि कारबाही गर्ने कार्यविधि नभएकाले २९ असारसम्म अधिक विषादी भएका तरकारी के गर्ने भन्ने अन्योल रहयो । सरकारले २९ असारमा ल्याएको ‘विषादी अवशेष दु्रत विश्लेषण संचालन कार्यविधि २०७१’ मा ३५—४५ प्रतिशतसम्म विषादीको मात्रा भए पाँच दिनसम्म क्वारेन्टाइनमा राखेर खानयोग्य बनाउने र त्यसभन्दा माथिकालाई विसर्जन गर्ने उल्लेख छ । त्यस्तै, खान अयोग्य हुने तरकारी आपूर्ति गर्ने किसानहरूमा चेतना फैलाउने प्रतिवेदनमा उल्लेख छ ।

आफैं मापदण्ड विहीन

तरकारीमा भएको विषादीलाई मापन गर्न र मापदण्ड तोक्नको लागि गठित इकाईले आफैं मापदण्ड पूरा गर्न सकेको छैन । वातानुकूलित कोठामा राख्नुपर्ने मेशीनलाई एअरकन्डिसनर (एसी) विनाको सानो ठाउँमा राखिएको छ, जसले तापक्रम बढ्दै जाँदा सही रिपोर्ट नदिने प्राविधिकहरू बताउँछन् । पाँचवटा कुर्सी र तीनवटा टेबुल अटेको कोठा परीक्षण कक्ष (ल्याब) जस्तो पनि देखिंदैन । विषादी देखिएर जफत गरिएको तरकारीलाई भण्डारण गर्नुपर्ने ठाउँ समेत छैन ।

परीक्षणका लागि चाहिने केमिकल राख्ने एउटा रेफ्रिजेरेटर भए पनि संकलित नमूना राख्न अर्को रेफ्रिजेरेटर छैन । सस्तो भएकाले ताइवानबाट ल्याइएको मेशीन र केमिकलबाट तरकारीमा विषादीको मात्रा मापन गरिंदैछ, तर नेपालको आफ्नै मापदण्ड नभएकाले ताइवानकै मापदण्डलाई आधार मानिएको छ । यो काममा वासुदेव पोखरेल, रामकृष्ण सुवेदी, राजीवदास राजभण्डारी र प्रदीप भण्डारीको प्राविधिक टोली खटिएको छ । उनीहरूले गत जेठमा सिंगापुरमा यस सम्बन्धी चारदिने तालीम लिएका थिए ।

थप प्राविधिकहरूको व्यवस्थाबारे पनि कुनै योजना छैन । एक महीनादेखि काम गरिरहेका उप–सचिव तहका वासुदेव पोखरेल कालीमाटीमा आउने सबै तरकारीको नमूना परीक्षण गर्ने हो भने कम्तीमा १० वटा मेशीन र ४० जना प्राविधिक चाहिने बताउँछन् । उनका अनुसार, नेपालमा व्यावसायिक किसान धेरै नभएकाले एउटै ट्रकमा ल्याइएका विषादी हालेका र नहालेका उत्पादनबाट नमूना लिएर परीक्षण गर्दा विषादी नहाल्ने किसान मारमा पर्ने सम्भावना पनि छ । “तरकारीमा विषादी रहेको जुन चर्चा चलेको छ, त्यस अनुसारको उपकरण र जनशक्ति नहुँदा तदनुरुपको रिपोर्ट दिनसक्ने अवस्था छैन”, पोखरेल भन्छन् ।

बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्मा भने अहिले आवश्यक जनशक्ति नभए पनि विस्तारै क्षेत्र, जिल्लाहुँदै गाउँस्तरसम्म लैजाने योजना रहेको बताउँछन् । अहिलेको नमूना परीक्षणबाट विषादी देखिने पकेट क्षेत्रमा जाने सरकारको योजना रहेको उनले बताए । शर्माका अनुसार, केही कमी–कमजोरी रहे पनि कृषि उपजहरूको परीक्षण हुन थालेपछि काठमाडौंमा तरकारी आपूर्ति गर्ने किसानहरू सचेत हुन थालेका छन् ।

कृषि प्राविधिक रामकृष्ण सुवेदी विषादी हालेको तरकारी कति दिनपछि बजार लैजानुपर्छ भन्ने जानकारी नहुँदा किसान मारमा पर्ने गरेको बताउँछन् । ५ साउनमा तरकारी बेच्न कालीमाटी आएका एक किसानले अहिलेको परीक्षण प्रणाली किसान सुहाउँदो नभएको गुनासो गरे ।

किसानमा जनचेतना नपुर्‍याई शुरू गरिएको यो कार्यक्रमले मारमा पारेको उनको भनाइ छ । प्राविधिक उप–सचिव रामकृष्ण सुवेदीले विषादीको मात्रा पत्ता लगाएर मात्र बजारमा जान खोज्ने किसानलाई सहुलियत दिन नसकेको बताए । “कालीमाटीमा भित्रिने तरकारीमध्ये किसानले ल्याएका पाँच वटा नमूना परीक्षण भएको छ, तर त्यसलाई निरन्तरता दिनसक्ने अवस्था छैन ।”

बुझाउनै कठिन

८ साउनमा परीक्षण गरिएको आलुमा ३७ प्रतिशत विषादी देखिएपछि सिलबन्दी गर्न लाग्दा प्राविधिक र व्यवसायीबीच केहीबेर भनाभन भयो । विषादी देखिएकाले आलु लिन पठाइएका प्रहरीलाई व्यवसायीले दिन नमानेपछि पाँच दिन बेच्न नमिल्ने भन्दै सिलबन्दी गरिएको छ । कालीमाटीका व्यवसायी अर्जुन सिलवाल किसानलाई जनचेतना नदिएर सरकारले उपभोक्ता, किसान र व्यवसायीलाई बर्बाद पार्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, “किसानलाई विष हाल्न दिने अनि बजारमा मापन गरेर व्यवसायीलाई मार्न खोज्ने ?”

कालीमाटीमा १० वर्षदेखि व्यापार गर्दै आएका दीपेन्द्र श्रेष्ठले तरकारी भित्रने नाकामा हुनुपर्ने चेकजाँच बजारमा गरेर सरकारले तमासा देखाएको आरोप लगाए । अर्का व्यवसायी सुवर्णमान श्रेष्ठले कालीमाटीको बजार बर्बाद पार्न सरकारले विषादी मापन थालेको गुनासो गरे । विषादी प्रयोग गर्दा उपभोक्ताभन्दा किसान आफैं जोखिममा पर्छन् भन्ने कुरा बुझाउन नसक्दा यस्तो आरोप–प्रत्यारोपको अवस्था आएको प्राविधिक उप–सचिव प्रदीप भण्डारीले बताए । “धेरै उत्पादनको लोभमा विषादी प्रयोग गर्ने किसानलाई तिमी पनि जोखिममा छौ भनेर बुझाउन ढीलो भयो”, भण्डारी भन्छन्, “विषादी प्रयोग हुने ठाउँ पत्ता लगाउन भने तरकारी बजारबाटै शुरू गरिएको मापन ठीक छ ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

S

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s