‘विश्व लोकतन्त्रमै नेपाल चम्किलो’

सूची भन्छिन्- बर्माका शासकले नेपालबाट सिकुन्

मैना धिताल

काठमाडौ, जेष्ठ ३१
नोबल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुचीले सानो मुलुक नेपाल निकै ठूलो समस्या सल्टाउँदै विश्व लोकतन्त्रमै चम्किलो उदाहरण बनेको बताएकी छन् । नेपालले लोकतान्त्रिक राजनीतिको महत्त्व बुझेकाले ‘वार्ताबाट आएको सम्झौतापूर्ण विचार (नेगोसिएटेड कम्प्रोमाइज) स्वीकार’ गरेको र त्यस्तो समझदारी नै सबल पक्ष रहेको उनको भनाइ थियो । ‘मलाई विश्वास छ, छिट्टै संविधानको रूपमा अर्को नेगोसिएटेड कम्प्रोमाइज हासिल गर्न गइरहेको छ,’ बीपी स्मृति प्रतिष्ठानको ‘समाजवादी लोकतन्त्रको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा शनिबार प्रमुख वक्ता सुचीले भनिन्, ‘जुन बहुसंख्यक जनतालाई स्वीकार्य हुनेछ ।’
म्यानमारमा पनि आफूहरूले यस्तै खालको बहुसंख्यक जनतालाई मान्य हुने संविधान बनाउन प्रयास गरिरहेको उल्लेख गर्दै त्यहाँका शासकले नेपालबाट सिक्नुपर्ने उनले बताइन् । ‘मलाई आशा छ, मेरो देशमा वास्तविक सुधारका लागि उत्साही नहुनेहरूले पनि तपाईंहरूतिर फर्केर हेर्नेछन् र सिक्नेछन् कि नेगोसिएटेड कम्प्रोमाइज भनेको सम्मानित कुरा मात्रै हैन, प्रशंसनीय र अगाडि बढ्न व्यावहारिक कदम पनि हो,’ उनले भनिन् ।
जनताको सम्मान नै लोकतन्त्रको आधारशिला भएको उनले उल्लेख गरिन् । ‘जनताको सम्मान भनेको उनीहरूको अधिकार पहिचान मात्रै नभएर दायित्व पहिचान गर्नु पनि हो,’ उनले भनिन्, ‘अधिकारसँगै दायित्वको कुरा निरंकुशतन्त्रबाट अघि बढेका बर्मा, नेपाल र चिलीजस्ता मुलुकका लागि अझ महत्त्वपूर्ण छ ।’
म्यानमारमा सन् २०१० मा झन्डै २० वर्षपछि निर्वाचन भई पहिलो पटक सैनिक तानाशाहबाट बाहिर आए पनि अझै जनताले वास्तविक प्रजातन्त्रको अनुभव गर्न नपाएको उनले बताइन् । ‘म्यानमार कुनै समय एसियाकै चमकदार उदाहरण भए पनि धेरै वर्षसम्मको सैनिक शासनले गरिब बनाउँदै लगेको छ र जनताको भावना पनि मधुरो हुँदै गएको छ,’ उनले सुनाइन् ।
लोकतन्त्र राजनीतिक विचार र सरकार चलाउने तरिका मात्रै नभई संस्कृति पनि भएको उनको कथन थियो । बर्मालाई सफल लोकतन्त्रका रूपमा देख्न चाहनेलाई आफूले त्यही कुरा सम्झाउने गरेको उनले बताइन् । लोकतान्त्रिक संस्कृति निर्माण गर्नु कठिन काम भएको उल्लेख गर्दै उनले भनिन्, ‘यो रातारात प्राप्त गर्न सकिने कुरा हैन भनेर सम्झाउने गरेको छु ।’
उदीयमान लोकतान्त्रिक मुलुकहरूमा विकासलाई बढी महत्त्वका रूपमा दिँदा खतरा पैदा हुने अवस्था आउनेतर्फ पनि उनले सजग गराइन् । ‘त्यस्ता मुलुकमा विकासको नाममा निश्चित लोकतान्त्रिक मान्यतालाई बेवास्ता गरिएको हुन सक्छ,’ उनले भनिन्, ‘सरल रूपमा परिभाषा गर्दा विकास भनेको मानव भावना (स्पिरिट) को अभिवृद्धि हो । यदि स्वस्थ रूपमा विकास गर्ने हो भने हामीले जनताको भावनालाई अभिवृद्धि गर्न आवश्यक छ ।’
आफूले अहिंसात्मक तबरले लड्दै आउनुको मुख्य कारण त्यही भएको जनाउँदै सुचीले थपिन्, ‘हामी हिंसाले मानव भावनलाई अभिवृद्धि गर्छ भन्नेमा विश्वास गर्दैनौं ।’ सामाजिक लोकतन्त्रमा कुनै एक विशेष जाति वा समूहका लागि मात्रै नभई सबैको आधारभूत आवश्यकता सम्बोधन गर्नेतर्फ सोच्नुपर्ने उनले बताइरहँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागीले खचाखच कार्यक्रमको हलमा ताली गुन्जिएको थियो ।
लोकतन्त्रलाई दैनिक रूपमा जनतासँग जोड्नुपर्ने उल्लेख गर्दै उनले मुलुकको भविष्यका लागि के ठीक भन्नेबारे निर्णय गर्ने प्रक्रियामा जनता पनि सहभागी हुन पाउनुपर्ने बताइन् । ‘जनसहभागिता आवधिक रूपमा हुने निर्वाचनबाट मात्रै नभई मुलुकको विकासमा दैनिक संलग्नतामार्फत हुनुपर्छ,’ उनले थपिन् । उनले नेपाली सेनाको व्यावसायिकताको पनि खुलेर प्रशंसा गरिन् । ‘यसको व्यावसायिकताका लागि म नेपाली सेनाको निकै प्रशंसा गर्छु,’ बर्मामा सैनिक शासकका कारण २१ वर्ष नजरबन्दमा बिताएकी सुचीले भनिन्, ‘बर्माको सेना पनि विशुद्ध रूपमा व्यावसायिक होस् भन्ने म चाहन्छु । मेरो देश वास्तविक सामाजिक लोकतन्त्रमा जानुअघि गर्नुपर्ने आवश्यक कदममध्येको यो पनि एक हो ।’
लोकतन्त्रका तीन आधारस्तम्भ न्यायपालिका, कार्यपालिका र विधायिका भए पनि म्यानमारमा भने कार्यपालिका मात्रै बढी हावी भएको उनले बताइन् । ‘हाम्रोमा सन् २०१० भन्दा अगाडि ५० वर्षसम्म न्यायपालिका र विधायिका नै भएन । त्यसपछि विधायिकाको जन्म भयो र स्वतन्त्र नभए पनि एक किसिमको न्यायपालिका पनि आयो,’ उनले सुनाइन्, ‘किनकि हालको संविधानले न्यायपालिकालाई कार्यपालिका मातहत राखेको छ ।’ वर्षौंसम्मको निरकुंशतन्त्रमा रहेका म्यानमारका जनताले अझै पनि सरकार भनेकै कार्यकारीका रूपमा खासगरी राष्ट्रपति र मन्त्रीलाई ठान्ने गरेको उनले बताइन् । त्यसलाई बुझाउन पनि संघर्ष गर्नुपरेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वराजदूत जयराज आचार्यलगायतले पनि शान्ति र लोकतान्त्रिक आन्दोलनमा सुचीको योगदान र नेपालसँगको सम्बन्धबारे बोलेका थिए । कार्यक्रममा चिलीका समाजवादी नेता लुइस आयलाले विश्वमा समाजवादी लोकतन्त्रको महत्त्वबारे बोलेका थिए । उनले बीपीको संघर्ष र संसारका अन्य नेताको संघर्षले विश्वमा समाजवादी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुगेको बताए । बीपी कोइराला विभिन्न क्षण र समयमा विश्वमै प्रेरणादायी बनेको उल्लेख गरे ।
‘जीवनमै सबैभन्दा बढी पूर्वप्रधानमन्त्रीसँग डिनर’
बितेको २४ घन्टामा नेपालमा भेटेका पूर्वप्रधानमन्त्रीको संख्या आफ्नो जीवनमै धेरै भएको सुचीले बताएकी छन् । ‘नेपाल राजनीतिमा हामीभन्दा धेरै अगाडि छ । सात/सात जना पूर्वप्रधानमन्त्रीसँग बसेर डिनर गर्न पाउनु निकै हर्षको कुरा हो,’ उनले भनिन्, ‘एक दिन बर्मामा पनि यस्तै अवस्था कायम गर्न सक्षम हुनेछु भन्ने विश्वास छ ।’ उनले त्यसो भन्दा हल हाँसो र तालीले गुन्जिएको थियो ।
त्यसले पनि नेपालको लोकतन्त्र सक्रिय र बलियो देखाएको उनको भनाइ थियो । ‘समस्या भए पनि नेपालको लोकतन्त्रले त्यसलाई सम्बोधन गर्न सकेको छ भन्ने म ठान्छु,’ उनले थपिन् ।
प्रकाशित मिति: २०७१ असार १ ०९:१५

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=323378

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s