विश्वकप

‘ग्रुफ अफ डेथ’ को विजेता बन्ने दाउमा पोर्चुगल र जर्मनी

ब्रासिलिया : विश्वकप फुटबलको सबैभन्दा कठिन समूह हो, ‘जी’। समूह ‘जी’ मात्र यस्तो समूह हो, जहाँ रहेका चारवटै टिम अघिल्लो विश्वकपमा पनि छानिएका थिए। समूह ‘जी’ मा तीनपटकको विश्व च्याम्पियन जर्मनीलाई पोर्चुगल, घाना र अमेरिकाले चुनौती दिने निश्चित छ। जर्मनी र पोर्चुगल अघिल्लो समूहमा जाने अनुमान गरिएको छ, तर ‘ग्रुफ अफ डेथ’ बाट अघिल्लो चरणमा को पुग्छ भनेर सहजै भन्न सकिने अवस्था भने छैन। त्यसैले जर्मनी र पोर्चुगलले चारपटकको अफ्रिकी च्याम्पियन घाना र अमेरिकालाई कमजोर आँक्नु मूर्खता हुनेछ।

सातपटक विश्वकपको फाइनलमा पुगेको जर्मनीका प्रशिक्षक जोचिम लोउ ४-२-३-१ रणनीतिअनुसार टिमलाई मैदानमा उतार्ने तयारीमा छन्। बास्टियन स्वस्टिनेगर र सामी खेदराले विंगरका रूपमा मेसुट ओजिल, मार्को रुइस र थोमस मुलरलाई साथ दिनेछन्। खेलजीवनको उत्तरार्धमा रहेका जर्मनीका स्टार स्ट्राइकर मिरोस्लाभ क्लोसले ब्राजिल विश्वकप सुरु हुनुअघि नै एउटा चर्चायोग्य कीर्तिमान बनाइसकेका छन्। क्लोसले गत शुक्रबार आर्मेनियाविरुद्धको अभ्यास खेलमा गोल गर्दै महान् खेलाडी गर्ड मुलरका नाममा रहेको ४० वर्ष पुरानो कीर्तिमान तोडेका थिए। एक समय युरोपियन फुटबलमा तहल्का मचाएका मुलरले जर्मनीका लागि ६८ गोल गरेका थिए। राष्ट्रिय टिमका लागि क्लोसको गोल संख्या ६९ पुगेको छ। उनले एक सय ३२ अन्तर्राष्ट्रिय खेलमा यो सफलता हात पारेका हुन्।

क्लोस तीनवटा विश्वकपमा हरेकमा कम्तीमा चार गोल गर्ने विश्वकै एकमात्र खेलाडीसमेत हुन्। यसैगरी दुईवटा विश्वकप संस्करणमा पाँचभन्दा बढी गोल गर्ने क्लोस दुईमध्ये एक खेलाडी हुन्। ३५ वर्षीय क्लोस सन् २००१ देखि राष्ट्रिय टिममा छन्। आसन्न विश्वकपलाई उनको अन्तिम विश्वकप सहभागिताका रूपमा हेरिएको छ। विश्वकपका सर्वाधिक सदावहार गोलकर्ता हुनबाट क्लोस दुई गोलले मात्र पछि छन्। १५ गोलसहित यो कीर्तिमान ब्राजिलका रोनाल्डोको नाममा छ। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्।

जर्मनीका कप्तान फिलिप लाह्याम पनि फाइनलमा पुगेर उपाधि विमुख हुने परम्परा अन्त्य गर्ने दाउमा छन्। जर्मनी सन् २००२ को विश्वकपको फाइनलमा पुगेको थियो। सन् २००६ र २०१० को संस्करणमा तेस्रो भएको जर्मनी यसपटक विश्वकपको प्रबल दाबेदारमध्येको एक हो। विश्व वरीयतामा दोस्रो स्थानमा रहेको जर्मनीलाई चुनौती दिन पोर्चुगल पनि तम्तयार छ।

विश्व वरीयताको तेस्रो स्थानमा रहेको पोर्चुगलका लागि फिफा वर्ष खेलाडी रोनाल्डो मुख्य हतियार हुन्। रियल म्याड्रिडका रेनाल्डोलाई क्लबमा नै रहेका पेपे र जोय माउटिन्होले साथ दिनेछन्। तर मुख्य प्रश्न के हो भने, रियलका लागि जस्तै प्रदर्शन रोनाल्डोले देशका लागि पनि गर्न सक्लान् त? त्यसमाथि रोनाल्डोले आगामी विश्वकप खेल्न सक्ने वा नसक्ने भन्ने कुरा नै अहिलेसम्म अन्योलमा छ। घुँडा र तिघ्राको चोटका कारण रोनाल्डोले विश्वकपको अभ्यास खेल समेत खेल्न सकेका छैनन्।

सन् २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको घानाको मनोबल यसपटक पनि उच्च देखिन्छ। सन् २००६ को विश्वकपमा पनि घाना प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो। हरेक विश्वकपमा एक तह माथि चढ्दै गएको घानाले यसपाली कम्तीमा सेमिफाइनलसम्म पुग्ने लक्ष्य लिएको छ। युरोपका दुई शीर्ष टोलीलाई चुनौती दिन चारपटकको अफ्रिकन च्याम्पियन घाना तयार भइससकेको छ।

विश्वकपमा छनोट हुने क्रममा खेलेको ६ मध्ये पाँच खेल जितेको घानाले २५ गोल समेत गरेको थियो। पूर्वकप्तान जेम्स क्वेसी अपैयाको प्रशिक्षकत्वमा रहेको घानाका सबैभन्दा महत्त्वपूर्ण खेलाडी एसी मिलानका मिडफि ल्डर माइकल इसेन नै हुन्। घाना फिफाको वरीयताको ३७ औं स्थानमा छ।

सन् १९३० को पहिलो विश्वकपमा सेमिफाइनलसम्म पुगेको अमेरिका पनि पछिल्लो समयमा आफूलाई फुटबल जगत्मा स्थापित गराउने अवस्थामा पुगिसकेको छ। सन् १९९० पछिको हरेक विश्वकपमा छनोट भएको अमेरिका सन् २००२ मा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो। लगातार सातौं विश्वकपमा छानिएको अमेरिकाका जर्मन प्रशिक्षक योर्गन क्लिन्सम्यानले बनाउने रणनीति सबैका लागि प्रतीक्षाको विषय बनेको छ।

कप्तान क्लिन्ट डेम्पसीको अनुभवले पनि अमेरिकालाई फाइदा पुग्न सक्छ। उनले देशका लागि खेलेको एक सय तीन खेलमा ३६ गोल गरेका छन्। इङलिस प्रिमियर लिग क्लब फुलहाम र टोट्टनहामको अनुभव पनि उनीसँग छ। विश्व वरीयताको १३ औं स्थानमा रहेको अमेरिका र घानाको तुलनामा विश्व फुटबलका दुई महारथी जर्मनी र पोर्चुगल नै यो समूहबाट अगाडि बढ्ने सम्भावना प्रबल छ। -एजेन्सी

  • विश्वकप
  • जमैकामाथि फ्रान्सको गोल वर्षा
  • जमैकामाथि फ्रान्सको गोल वर्षा

    लन्डन : आगामी विश्वकप फुटबलको तयारीका क्रममा सोमबार राति खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जमैकालाई ८-० गोलको फराकिलो अन्तरले हराएको छ। फ्रान्सको सहज जितमा ब्लेस माटुडी, करिम बेन्जेमा र एन्टोनी ग्रिजम्यानले दुईदुई गोल गरे। योहान कावाए र ओलिभर गिरोडले पनि एकएक गोल गरे।
    पहिलो हाफमा ३-० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप पाँच गोल गरेको थियो। कावाये, माटुडी र बेन्जेमाले पहिलो हाफमा एकएक गोल गरे। खेलको १७ औं मिनेटमा कावायेको गोलमार्फत अग्रता लिएको फ्रान्सले विपक्षीको पोस्टमा लगातार गोल वर्षा गराएको थियो। कावाएले गोल गरेको तीन मिनेटपछि नै माटुडीले दोस्रो गोल थपेका थिए।

    बेन्जेमाले ३७ औं मिनेटमा अर्को गोल गरे। गिरोडले दोस्रो हाफमा टोलीका लागि चौथो गोल गरे। उनले ५३ औं मिनेटमा गोल गरेका हुन्। त्यसको १० मिनेटपछि नै बेन्जेमाले आफ्नो दोस्रो गोल गरे। ६६ औं मिनेटमा माटुडीले अर्को गोल थपेपछि फ्रान्सको गोल संख्या आधा दर्जन पुग्यो। ग्रिजम्यानले ७७ औं र ८९ औं मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सलाई अन्तिम अभ्यास खेलमा सानदार जित दिलाए।

    भरपर्दा विंगर फ्रान्क रिबेरी ढाडको चोटका कारण विश्वकपबाट बाहिरिएपछि चिन्तित बनेको फ्रान्सलाई अभ्यास खेलमा हात पारेको सहज जितले ठूलो हौसला दिएको छ। ब्राजिल विश्वकपको समूह ‘बी’ मा रहेको सन् १९९८ को विजेता फ्रान्सले होन्डुरस, स्विट्जरल्यान्ड र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।

    यसैगरी एसियाली राष्ट्र इरानले अभ्यास खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई २-० ले हरायो। विश्वकपको आयोजक सहर साओपाउलोमा भएको खेलमा इरानको जितमा इसान हज सफी र रोजा घोचन रेजादले गोल गरेका थिए। कप्तान जाभेद नेकोनमले पेनाल्टी खेर फालेपछि इरानले गोल थप्न भने सकेन।

    यसअघि खेलिएको अभ्यास खेलमा इरान बेलारूससँग गोलरहित बराबरीमा तथा एगोंलासँग १-१ को बराबरीमा रोकिएको थियो। विश्वकपको समूह ‘एफ’ मा रहेको इरानले लिग चरणमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनासँगै नाइजेरिया र बोस्निया-हर्जगोभिनाको सामना गर्नेछ। -एजेन्सी

  • विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु (भिडियो)

     

    काठमाण्डौ: खेल प्रेमिहरुको पहिलो रोजाइको खेल नै फुटबल हो । ब्राजिलमा हुने २० औ विश्वकप फुटबल सुरु हुन अब केही दिन मात्रै बाकीँ छ । आफ्नो मन पर्ने राष्ट्र एवं खेलाडीको पक्ष लिदै जर्सी, टोपी लगाउने र हातमा झन्डा फहराउदै हिड्नेहरु बाक्लिदैछन् । सामाजिक सञ्जाल पनि विश्वकप फुटबलमय बनेको छ ।

    विभिन्न चर्चित व्यक्तित्वहरुले समेत आफ्नो मन पर्ने राष्ट्र एवं खेलाडीले यस कारण जित्नेछन् भन्दै तर्कहरु प्रस्तुत गरिरहेका छन् । खेल सुरु भएको करिब महिना दिनभित्रै कसले जित चुम्नेछ त्यो त थाहा हुनेनै छ । तर इतिहासमा भने विश्वकप फुटबलमा निकै अनौठा घटनाहरु भएका थिए । युट्युबमा ‘विई टक फुटबल’ च्यानले अपलोड गरेको ‘विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु’ यस्तो छ ।

  • अर्जेन्टिनालाई कमजोर प्रतिद्वन्द्विको फाइदा

     

     

    रियो दि जेनेरियो : धेरैवटा ठूला टिमलाई यसपटक समूहगत चरण पार गर्न सजिलो हुनेछैन। कारण हो, दुईवटा बलिया टोली एउटै समूहमा हुनु। इङ्ल्यान्ड र इटाली, जर्मनी र पोर्चुगल, स्पेन र नेदरल्यान्ड्स समूहगत चरणमै एकअर्काको प्रतिद्वन्द्वी हुनेछन्। यस्तो स्थितिमा पूर्वविजेता अर्जेन्टिनालाई भने समूहगत चरणमा अन्य केही बलिया टोलीभन्दा सहज हुनेछ। दुईपटकको विजेता अर्जेन्टिनाले समूहगत चरणमा बोस्निया हर्जगोभिना, इरान र नाइजेरियाको सामना गर्नेछ।

    उपाधि दाबेदारका रूपमा हेरिएको अर्जेन्टिनामा स्टार खेलाडी धेरै छन्। युरोपका शीर्ष क्लबमा स्थापित लियोनल मेसी, एन्जेल डी मारिया, सर्जियो एगुएरो, गोन्जालो हिग्वेन, पाब्लो जाबलेटा, मार्टिन डेमिचेलिस, इजिक्वेल लाभेजीजस्ता खेलाडी अर्जेन्टिनी टोलीमा छन्। रोड्रिगो पालासियो र म्याक्सी रोड्रिगुएज पनि टोलीका आशालाग्दा खेलाडीमा गनिन्छन्। राष्ट्रिय टोलीका लागि मेसीले ८६ खेलमा ३८ गोल, हिग्वेनले ३६ खेलमा २१ गोल र रोड्रिगुएजले ५५ खेलमा १६ गोल गरेका छन्। महादेशीय छनोटमा अर्जेन्टिना विजेता भएको थियो।

    अर्जेन्टिना १६ खेलमा ३२ अंक जोडेर १० टोलीमा बिजेता बनेको थियो। यसक्रममा मेसीले १०, हिग्वेनले नौ र एगुएरोले पाँच गोल गरेका थिए। अर्जेन्टिनाले पछिल्ला नौ खेलमा ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ। अर्जेन्टिनाले गत अक्टोबरमा उरुग्वेसँग ३-२ ले पराजित भएयता कुनै खेल गुमाएको छैन। पछिल्ला पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजासहित अर्जेन्टिना अपराजित छ।

    गत वर्ष अफ्रिकी नेसन्स कप विजेता बनेको नाइजेरियालाई यसपटक छवि सुधार्ने राम्रो मौका छ। इरान तुलनात्मक रूपमा कमजोर हुनु र बोस्निया पहिलोपटक विश्वकपमा छानिएकाले नाइजेरियालाई अगाडि बढ्ने राम्रो अवसर हुनसक्छ। टोलीमा युरोपियन फुटबलमा स्थापित भइसकेका मिडफिल्डरद्वय भिक्टोर मोसेस र जोन अबी मिकेलसँगै उदीयमान खेलाडीका रूपमा देखिएका इमानुएल एमिनिकजस्ता खेलाडी छन्।

    एमिनिकले राष्ट्रिय टोलीका लागि २३ खेलमा १० गोल गरेका छन्। सन् १९९४ बाट विश्वकपमा सहभागी हुन थालेको नाइजेरिया सन् १९९८ मा प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि सन् २००२ मा भने समूहगत चरणबाटै बाहिरिएको थियो। नाइजेरिया सन् २००६ को संस्करणमा भने छनोट नै हुन सकेन।

    सन् २०१० को विश्वकपमा सहभागी भए पनि नाइजेरियाले समूहगत चरण पार गर्न सकेन। यसपटक महादेशीय छनोटअन्तर्गत दोस्रो चरणमा ६ खेलबाट १२ अंक जोडेर नाइजेरिया समूह विजेता बनेको थियो। प्ले अफमा इथोपियालाई हराउँदै नाइजेरियाले ब्राजिलको यात्रा तय गरेको हो। छनोट प्रतियोगितामा एमिनिकले तीन गोल गरेका थिए। तीन जित र तीन बराबरीसहित नाइजेरिया पछिल्ला खेलमा अपराजित छ। हाल फिफा बरियताक्रममा ४५ औं स्थानमा रहेको नाइजेरियाले पछिल्ला तीन खेलमा जित हातपार्न भने सकेको छैन।

    पहिलोपटक विश्वकप खेल्नेक्रममा विभिन्न टिमले अप्रत्यासित नजिता निकालेको इतिहास छ। यस्तै पृष्ठभूमिमा रहेको बोस्निया हर्जगोभिना अहिले केही प्रतिभावान् खेलाडी लिएर अगाडि बढ्ने तयारीमा छ। महादेशीय छनोटमा १० मध्ये आठ खेलमा जित, एकमा बराबरी र एकमा हारको नतिजासहित समूह विजेता बनेपछि यो टोली एकाएक चर्चामा आएको थियो। टोलीका प्रमुख खेलाडीमा एडिन जेको, भेदाद इबिसेभिस र एमिर स्पाहिक छन्।

    म्यानचेस्टर सिटीका स्ट्राइकरसमेत रहेका जेकोले राष्ट्रिय टोलीका लागि ६२ खेलमा ३५ गोल गरेका छन्। यसैगरी इबिसेभिसले ५५ खेलमा २० गोल गरेका छन्। बायर लेभरकुसेनसँग आबद्ध कप्तान स्पाहिकसँगै अन्य खेलाडी कम चर्चित भए पनि टोलीमा ‘टिम स्पिरिट’ बलियो पक्ष हो। महादेशीय छनोटमा जेकोले १० र इबिसेभिसले आठ गोल गरेका थिए। हाल फिफा बरियताक्रमको २१ औं स्थानमा रहेको बोस्नियाले पछिल्ला नौ खेलमा पाँच जित र चार हारको नतिजा निकालेको छ। बोस्निया गत महिना इजिप्टसँग पराजित भएको थियो।

    महादेशीय छनोटमा राम्रो प्रदर्शन गरे पनि इरानलाई आफ्नो समूहमा सबैभन्दा कमजोर टोलीका रूपमा हेरिएको छ। युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने केही खेलाडी साथमा रहे पनि इरानका लागि समूहगत चरण पार गर्न गाह्रो हुने निश्चित छ। हाल फिफा बरियताक्रमको ४३ औं स्थानमा रहेको इरान विश्वकपमा सन् २००६ पछि पहिलोपटक छानिएको हो।

    टोलीका प्रमुख खेलाडीमा आस्कान डेगाजा, रेजा घुच्चानेजाद र कप्तान जावाद नेकोनाम छन्। फुलहामबाट व्यावसायिक फुटबल खेलिरहेका डेजागाले राष्ट्रिय टोलीका लागि १३ खेलमा चार गोल गरेका छन्। घुच्चानेजाद अन्तर्राष्ट्रिय फुटबलमा १३ खेल खेल्दै नौ गोल गरेर इरानलाई अप्रत्यासित नतिजा दिलाउन सक्ने खेलाडीका रूपमा उभिएका छन्।

    टोलीका सबैभन्दा अनुभवी खेलाडी नेकोनामले राष्ट्रका लागि एक सय ३९ खेल खेल्दै ३७ गोल गरेका छन्। महादेशीय छनोटअन्तर्गत तेस्रो चरणमा इरान ६ खेलमा १५ अंक जोडेर समूह विजेता बनेको थियो। चौथो तथा अन्तिम चरणमा इरान आठ खेलबाट १६ अंक जोड्दै समूहको विजेता बनेको थियो। छनोट खेलमा नेकोनामले ६ गोल गरेका थिए। उक्त समूहबाट अर्जेन्टिना र बोस्निया हर्जगोभिना अगाडि बढ्ने सम्भावना बढी छ।

  • विश्‍वकप अभ्यास खेल: स्पेन र अर्जेन्टिनाको लगातार जित

     

     

    साओपाउलो : विश्‍वकप फुटबलको अन्तिम तयारीमा रहेको साबिक विजेता स्पेनले शनिबार राति खेलिएको अभ्यास खेलमा एल साल्भाडोरलाई २-० गोलले हराएको छ। अन्य अभ्यास खेलमा अर्जेन्टिनाले स्लोभानियालाई २-० गोलले र पोर्चुगलले मेक्सिकोलाई १-० गोलले पराजित गरे। इङ्ल्यान्ड भने होन्डुरससँग गोलरहित बरारबरीमा रोकियो।

    विश्वकपअघि खेलिएको आफ्नो अन्तिम अभ्यास खेलमा स्पेनका लागि दुवै गोल डेभिड भिल्लाले गरे। स्पेनका सर्वाधिक गोलकर्तासमेत रहेका भिल्लाले दोस्रो हाफमा मैदान उत्रिएर टोलीलाई जित दिलाएका हुन्। रक्षक सर्जियो रामोसको पासमा उनले ६१ औं मिनेटमा पहिलो गोल गरे। ८८ औं मिनेटमा डेभिड सिल्भाको पासलाई सदुपयोग गर्दै भिल्लाले टोलीको जित निश्चित गरेका थिए। प्रशिक्षक भिन्सेट डेल बोस्कले सेस फेब्रिगासलाई निकाल्दै दोस्रो हाफमा भिल्लालाई मैदान छिराएका थिए। भिल्लाले स्पेनका लागि ९६ खेलमा ५८ गोल गरेका छन्।

    दोस्रो हाफको सुरुआतमै आन्द्रे इनिएस्टा र पेड्रोलाई पनि निकालेर डेभिड सिल्भा र सान्टी काजोर्लालाई मैदान छिराइएको थियो। चोटमुक्त भएर फर्किएका स्ट्राइकर डिएगो कोस्टा पनि मैदानमा देखिएका थिए। केही राम्रा अवसर पाए पनि उनले त्यसलाई सदुपयोग गर्न सकेनन्।

    यसअघि गत साता भएको पहिलो अभ्यास खेलमा विश्राम पाएका रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडका खेलाडीलाई पनि टोलीमा समेटिएको थियो। स्पेनले लगातार सातौं जित हातपारेको हो। स्पेनले आगामी बिहीबार सुरु हुने विश्वकपको समूहगत चरणमा नेदरल्यान्ड्स, चिली र अस्ट्रेलियाको सामना गर्नेछ।

    अर्को अभ्यास खेलमा अर्जेन्टिनाका लागि रिकार्डो अल्भारेज र लियोनल मेसीले गोल गरे। अल्भारेजले १२ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मैदान छिरेका मेसीले ७६ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। अर्जेन्टिनाले लगातार तेस्रो जित हातपारेको हो। अभ्यास खेलमा भने अर्जेन्टिनाको यो दोस्रो जित हो।

    होन्डुरसविरुद्धको खेलमा भने इङ्ल्यान्डको प्रदर्शन स्तरीय रहेन। ६५ औं मिनेटमा होन्डुरस १० खेलाडीमा सीमित भएको थियो। इङ्ल्यान्डले अन्तिम २५ मिनेटमा एक खेलाडी बढी भएर खेल्न पाउँदा पनि त्यसको फाइदा भने उठाउन सकेन। अभ्यास खेलमा इङ्ल्यान्डको यो लगातार दोस्रो बराबरी हो। इङ्ल्यान्ड यसअघि इक्वेडरसँग २-२ गोलको बराबरीमा रोकिएको थियो।

    बेल्जियमले भने ट्युनिसियालाई १-० गोलले हरायो। खेलको ८९ औं मिनेटमा गोल गर्दै बेल्जियमले संघर्षपूर्ण जित हातपारेको हो। विजयी टोलीका लागि ड्राइज मर्टेन्सले निर्णायक गोल गरेका थिए। अभ्यास खेलमा बेल्जियमको यो लगातार दोस्रो जित हो। बेल्जियमले यसअघि स्विडेनलाई २-० गोलले हराएको थियो।

    अभ्यास खेलमा जित हातपार्न पोर्चुगललाई पनि सहज भएन। बेटिन्हो आल्भेसले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पोर्चुगलको जित निश्चित गरेका थिए। जोआ माउटिन्होको पासमा आल्भेसले गोल गरेका थिए। पहिलो अभ्यास खेलमा पोर्चुगल ग्रिससँग गोलरहित बराबरीमा रोकिएको थियो। -एजेन्सी

    फुटबल मैदानमा फकल्यान्डको चर्चा

    अर्जेन्टिना र इङ्ल्यान्ड दुवैले दाबी गरिरहेको फकल्यान्ड टापुको भूभागको विषयले फुटबल मैदानमा पनि चर्चा पाएको छ। विश्वकपको तयारीका क्रममा शनिबार राति खेलिएको स्लोभानियाविरुद्धको अभ्यास खेल सुरु हुनुअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका खेलाडीले ‘फकल्यान्डका मानिस अर्जेन्टिनी हुन्’ लेखिएको ब्यानर सामूहिक रूपमा प्रदर्शन गरेका थिए।

    सन् १८३३ देखि इङ्ल्यान्ड प्रशासित फकल्यान्ड अर्जेन्टिनाको भूभाग भएको दाबी गर्दै अर्जेन्टिनी फुटबल खेलाडीले पनि पटकपटक मैदानमै विरोध गर्दै आएका छन्। फिफाले अर्जेन्टिनाको फुटबल टोलीलाई फकल्यान्डको विषयमा ब्यानर प्रदर्शन गर्न दिएर गल्ती गरेको आरोप इङ्ल्यान्डले लगाएको छ।

  • Source : http://annapurnapost.com/en/news/WorldCup2014/8665/.htm
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s