मुख्य आर्कषण

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार भव्य समारोहबीच शपथग्रहण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै प्रधानमन्त्री सुशील कोइराला । बायाँ पाकिस्तानी समकक्षी नवाज सरिफ । मोदीले आफ्नो शपथग्रहणमा सार्क क्षेत्रका सरकार वा राष्ट्रप्रमुखलाई
फोटो : एएफपी/रासस

सार्क भेलाझैं बन्यो शपथ

देवेन्द्र भट्टराई

नयाँदिल्ली, जेष्ठ १२ –
आगामी नोभेम्बरमा अठारौं सार्क शिखर सम्मेलनको तयारीमा जुटिरहेका प्रधानमन्त्री सुशील कोइराला सोमबार साँझ भारतीय राष्ट्रपति कार्यालयको प्रांगणमा सार्क शीर्षस्थ नेताहरूका माझमा थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथका लागि मिनी सार्क समिटकै झल्को दिने समारोहमा कोइरालाको उपस्थिति कम गर्विलो थिएन । उनी भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीका छेउमा बसेका थिए ।
शिखर बैठक गराउन शीर्षस्थ नेताहरूलाई एक ठाउँ ल्याउनुपर्‍यो भने धेरै लामो तयारी चाहिने अवस्थामा नवनियुक्त प्रधानमन्त्री मोदी चार दिनअघिकै निम्तामा सार्कस्तरीय सबैजसो शीर्षस्थ नेतालाई शपथमा साक्षी बनाउन सफल भए । त्यसमा पनि भारत-पाकिस्तानजस्ता परस्पर विरोधी मुलुकका प्रमुखहरू एउटै पंक्तिमा बसिरहेका थिए । पछिल्ला वर्षमा तनावको अर्को पर्याय बनेका पाकिस्तान-अफगानिस्तानका शीर्षस्थ नेताको भलाकुसारी पनि निकै रोचक थियो ।
प्रधानमन्त्री कोइरालाको टोलीमा आएका विदेश मामला सल्लाहकार दिनेश भट्टराईले मोदीले थालेको ‘कूटनीतिक-सहचार्य’ लाई प्रशंसनीय र अनुकरणीय भने । ‘यो क्षेत्रकै लागि विदेश नीतिमा भएको यो नयाँ प्रयोग हो, यो पहललाई सबैले सराहना गर्नुपर्छ,’ उनले भने, ‘उच्च तहमा राजनीतिक सम्बन्ध स्थापित गर्न आगामी दिनमा यो जमघट विशेष नजिर बन्न सक्नेछ ।’
सोमबार साँझ ६ बजेदेखि झन्डै एक घन्टा चलेको शपथ समारोहमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, अफगान राष्ट्रपति हमिद कारजाई, भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन र बंगलादेशकी सभामुख सिरिन एस चौधरी एउटै पंक्तिमा बसेका थिए । शपथग्रहण समारोहपछि राष्ट्रपति प्रणव मुखर्जीले शीर्षस्थ नेताहरूका लागि दिएको रात्रिभोजमा प्रधानमन्त्री कोइराला र मन्त्री विमलेन्द्र निधि सरिक भए ।
मन्त्री निधिका अनुसार प्रधानमन्त्री कोइरालाको मंगलबार दिउँसो भारतीय समकक्षी मोदी र पाकिस्तानी समकक्षी सरिफसँग द्विपक्षीय भेटवार्ता हुँदैछ । ती भेटमा आसन्न सार्क शिखर बैठकको तयारीबारे पनि छलफल हुनेछ । यसैगरी सार्क क्षेत्रका सबै शीर्षस्थ नेताहरूसँग पनि भेटवार्ताको समयतालिका मिलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
जमघट क्षेत्रीय-अन्तर्राष्ट्रिय चासोमा आए पनि सबै घटनाक्रम र संवाद भारत-पाक केन्दि्रत छन् । सोमबार रातिसम्म पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई पछ्याउँदै हिँड्ने मिडियाकर्मी राष्ट्रपति कार्यालय र ताजमान होटलमा केन्दि्रत देखिए ।
प्रकाशित मिति: २०७१ जेष्ठ १३ ०९:०८

मोदीको तस्वीर

किशोर नेपाल

जेष्ठ १२ –
गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको निधन सन् १९६४ मे २७ का दिन भएको थियो । त्यसको ठीक पचास वर्षपछि मे २७ का दिन भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतको प्रधानमन्त्री पदको सपथ लिएका छन् । धर्म-निरपेक्ष समाज तथा लोकतन्त्र र समाजवादका पक्षपाती नेहरूको निधनको पचास वर्षपछि भारतीय सत्तामा दक्षिणपन्थी लोकतन्त्रका पक्षपाती तथा घोषित रूपमा नै हिन्दु धर्मका अनुयायी नरेन्द्र मोदीको सत्ता आरोहण सामान्य घटना होइन । दक्षिण एसियाको राजनीतिमा यो एउटा युगको अवशान हो । भर्खरै सम्पन्न भारतीय संसद लोकसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा) का मुख्य अभियन्ताका रूपमा आफ्नो पार्टीलाई लोभलाग्दो विजय दिलाउने नेता मोदीको गणतन्त्र भारतको सर्वशक्तिमान प्रधानमन्त्री पदमा सत्तारोहण अस्वाभाविक घटना होइन । राजनीतिक पार्टीले संसदीय चुनावमा विजय हासिल गरेपछि देशको नेतृत्वको वागडोर दलका नेताको हातमा जानु संसदीय व्यवस्थाको स्वाभाविक परिणति हो । तर मोदीकै नेतृत्वका कारण यतिबेला यसलाई अस्वाभाविक घटनाका रूपमा लिइएको छ । लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, जशवन्त सिंह र राजनाथ सिंहजस्ता भारतीय जनता पार्टीका दिग्गज नेताहरूलाई पृष्ठभूमिमा धकेलेर कसरी सामान्य ‘चियावालाको छोरो’ क्षेत्रीय राजनीतिको आकाशबाट एकाएक राष्ट्रिय राजनीतिको आकाशमा धूमकेतुजस्तै चम्किन पुगे ? भारतीय राजनीतिमा चासो राख्ने संसारका सबै विश्लेषक र टिप्पणीकारका लागि कठिन पहेली बनेका छन्, मोदी ।
भारतीय सञ्चारमाध्यमहरूमा मोदी विजयका सूत्रहरूको नानाथरीका व्याख्या र विश्लेषण भइरहेका छन् । वामपन्थी विश्लेषक र धर्मनिरपेक्ष राज्यका पक्षपातीहरूले यसलाई हिन्दुहरूको कट्टरपन्थी संस्था राष्ट्रिय स्वयम्सेवक संघसंग जोडेर हेरेका छन् । मोदी आफैं संघका अनुशासित कार्यकर्ता भएकोले सरकार प्रमुखका रूपमा संघका कार्यसूचीहरू उनको प्राथमिकतामा रहने आशंका गर्नेहरू धेरै छन् । मोदीको मुख्यमन्त्रीत्वमा बाह्र वर्षअघि गुजरातको गोधरामा भएको हिन्दु-मुसलमान दंगाको मसान जगाउने प्रयत्नमा लाग्नेहरूको पनि उत्तिकै विगविगी छ । अर्कोतिर मोदीको नेतृत्वमा गुजरात राज्यले हासिल गरेको आर्थिक समृद्धि संसारकै लागि नमुना बनेको छ । भारतका आर्थिक र औद्योगिक समाजका नेताहरूले आर्थिक समृद्धिको मोदी सूत्रको पक्षमा महत्त्वपूर्ण जनमत बनाएका छन् । भारतको सम्मानित औद्योगिक प्रतिष्ठान टाटाले पश्चिम बंगालको सांगलीमा स्थापना गर्नलागेको सानो र सस्तो कार नानो हाल पश्चिम बंगालका मुख्यमन्त्री तथा तृणमूल कंग्रेसकी नेतृ ममता वनर्जीको विरोधका कारण विस्थापित भएपछि मोदीले गुजरातमा त्यसको स्वागत गरेदेखि मोदीको साख हलक्क बढेको हो ।
भारतीय जनता पार्टीले यस पटकको चुनावमा मोदीको नेतृत्वमा पाएको विजय राजनीतिक हिसाबले सामान्य होइन । भाजपा यसअघि पनि केन्द्रीय सत्तामा पुगिसकेको पार्टी हो । संसदीय व्यवस्थामा उसको विजय असामान्य होइन । असामान्य केन्द्रीय सत्तामा मोदीको आगमन हो । उनले हालसम्म नयाँ सरकारले अवलम्बन गर्ने नीति र कार्यसूची स्पष्ट पारेका छैनन् । तैपनि भारतभित्रै, चीन लगायत यसका छरछिमेक र रूस, अमेरिकाजस्ता शक्तिराष्ट्रमा उनको आगमनले निकै ठूलो हलचल ल्याएको छ । भारतको बौद्धिक समाजमा त एक प्रकारको विक्षिप्तता नै देखिन थालेको छ । भारत अब पहिलेको जस्तो भारत रहँदैन भन्ने मानसिकता व्यापक भएको छ । स्वाधीनतादेखि अहिलेसम्म नेहरू-गान्धीले तय गरेका नीति र कार्यसूचीले निरन्तरता पाउँदै आएका छन् । आन्तरिक र आर्थिक नीतिहरूमा कंग्रेसका कट्टर विरोधी मानिने समाजवादी लगायतका राजनीतिक दल र तिनका नेताले आधारभूत नीतिहरूमा कंग्रेसलाई पछ्याउँदै आएका छन् । कंग्रेस नेतृत्वसंँग असन्तुष्ट भएर अलग्गिएका चन्द्रशेखर, विश्वनाथप्रताप सिंह र
आईके गुजरालहरूले त्यही नीति अघि बढाएका थिए । अटलविहारी बाजपेयीको नेतृत्वमा गठन भएको भाजपा सरकारले समेत ती आधारभूत नीतिमा कुनै मौलिक परिवर्तन नगरेर शासन शैलीमात्र परिवर्तन गरेको थियो ।
मूलधारको राजनीतिमा सधैं अछूतको जस्तो व्यवहार गरिँदै आएको भाजपा नेतृत्व पार्टीलाई मूलधारमा स्थापित गर्न सन् १९७७ देखि नै प्रयत्नशील रहेको हो । यो क्रममा समाजवादी नेता मुलायम सिंहबाहेक वामपन्थी-समाजवादी धारका राजनीतिक दल र जर्ज फर्नान्डिस, नीतिशकुमार, नवीन पटनायकजस्ता नेताहरूसँग भाजपाले सहकार्य नगरेको होइन । तर भाजपामा मोदी नेतृत्व स्थापित भएपछि परिदृश्य बदलिएको छ । भारतीय समाजमा आफ्नो नीतिगत प्रभाव विस्तार गर्दै आएको भारतीय कंग्रेसको वर्चस्व मलिन हुनथालेको छ ।
खास गरेर वामपन्थी र समाजवादीहरूका लागि यस पटकको चुनावमा मोदी सुनामी नै भएर आए । ममता वनर्जी, नवीन पटनायक र जयललिताको नेतृत्वमा रहेका पार्टीबाहेक अन्य कुनै पनि पार्टीले मतदाताका अगाडि आफूलाई सावित गर्न सकेनन् । भारतीय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका दुई ठूला कम्युनिष्ट पार्टीको अस्तित्व ओझेलमा पर्‍यो । यो मोदी सूत्रको चमत्कारमात्रै थिएन, भारतीय मतदाताले यथास्थितिमा व्यापक परिवर्तनका लागि गरेको खोजी थियो । विगत केही समयदेखि भारतीय आर्थिक क्षेत्रका दिग्गज नेताहरूले चीनको बढ्दो आर्थिक वृद्धिदरको तुलनामा भारत निकै पछि परेको र भारतलाई अघि बढाउन नयाँ नेतृत्व आवश्यक भएको तर्क लगातार स्थापित गर्ने गरेका थिए । यसका लागि विहारका मुख्यमन्त्री नीतिशकुमार र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी उदाहरण बनेका थिए । नीतिशप्रति गरिब र पिछडिएका मानिसहरूको आकर्षण थियो । तर उनीसँग मोदीको जस्तो बृहत आकारको प्राविधिक संगठन र आर्थिक क्षेत्रका नेताहरूको बलियो समर्थन थिएन । स्रोत, संगठन र समर्थनका मामिलामा मोदी धेरै अगाडि थिए । पुँजीवादी अर्थ-व्यवस्थाप्रति नीतिशको समर्थन सर्तसहितको थियो भने मोदीको प्रतिबद्धता भरलाग्दो थियो । त्यसैले पनि उनी आफूलाई परिवर्तनका संवाहकका रूपमा प्रस्तुत गर्न सफल भए ।
भारत र भारत बाहिरका वामपन्थीहरूमा यतिबेला हिन्दु जगतका स्वामी र संन्यासीहरूको सामिप्य रुचाउने नरेन्द्र मोदीले हिन्दुहरूको पक्षमा भारतीय समाजमा जागरण ल्याउन आक्रामक अभियान चलाउनेछन् भन्ने आशंका देखिएको छ । अल्पमतमा परेका धार्मिक समुदायका जनतालाई आतंकित गराउने यस्तो आशंकाका खासै आधार देखिँदैनन् । मोदीले धर्मको होइन, पुँजीको राजनीति गर्नेछन् । देखिनेगरी सतहमा आएको उनको मूल कार्यसूची र राजनीतिक विजयको आधार यही हो । मोदीले भारतको आर्थिक वृद्धिदर गुजरातको मोडलमा अघि बढाउँछन् कि भारतका लागि छुट्टै मोडलको खोजी गर्नेछन् ? यो रोचक विषय हो । तर एउटा राज्यले अपनाएको मोडल देशका लागि लागू हुनसक्दैन । यति पक्कै भन्न सकिन्छ, मोदीले भारतको आर्थिक वृद्धिका लागि बनाउने मोडलका प्रमुख कम्पोनेन्टहरू भारतीय आर्थिक र औद्योगिक समाजका प्रभावशाली नेता, खुला अर्थतन्त्रका प्रवक्ता र नीति-निर्माताहरूले तय गर्नेछन् ।
भारतमा मोदीको आगमनपछि नेपालको राजनीतिमा पनि स्वाभाविक हलचल आएको छ । सत्ता र शक्तिसँग जोडिएका राजनीतिक, आर्थिक र धार्मिक क्षेत्रका कतिपय नेताहरू मोदीसँग सम्बन्ध स्थापित गर्न सम्पर्क सूत्रको खोजीमा लागेका छन् । औपचारिक सभा-समारोहमा मोदीसँग तस्वीर खिचाउने अवसर पाएकाहरू एलबम खोतल्न थालेका छन् । सबैमा तस्वीरको सार्वजनिक प्रदर्शन गरेर सत्ताको ध्यान आफूतिर तान्ने ध्याउन्न छ । धार्मिक क्षेत्रका मानिसहरू बाबा र स्वामीहरूसँगको आफ्नो सान्निध्यलाई पुँजीमा परिणत गरेर राजनीतिक प्रभाव बढाउन कस्सिएका छन् । तर नेपाल, यसले अपनाएको धर्मनिरपेक्ष अवतार र यसको अनेकतामा विविधताको स्वरूपबारे मोदीका विचार र उनले अपनाउने नेपाल नीतिबारे सबै अनभिज्ञ छन् ।
अटलविहारी बाजपेयीको प्रधानमन्त्रीत्व कालमा विदेशमन्त्री जशवन्त सिंहको नरम र शान्त कूटनीतिको अनुभव गरेका नेपाली परराष्ट्र मन्त्रालयका अधिकारीहरूले अवकाश पाइसकेका छन् । परराष्ट्रका वर्तमान अधिकारीहरूलाई मोदीभन्दा पहिलेको भारतसँगको राजनीतिक सम्बन्धको खासै खुलासा नहोला । नयाँ पुस्ताका भाजपाका नेताहरूसंँग अहिलेका राजनीतिक दलका कुनै पनि नेताको सम्बन्ध रहेको पाइँदैन । अघिल्लो पुस्ताका कृष्णप्रसाद भट्टराई र अटलविहारी बाजपेयीबीच मित्रवत सम्बन्ध थियो । नयाँ पुस्ताका भाजपा नेताहरूसँग राम्रो सम्बन्ध भएका चक्र बास्तोलाको चेतना लुप्त भएको छ । कोइराला परिवारका निरञ्जन कोइरालाको भाजपाका थुप्रै नेतासँग सम्बन्ध छ । तर उनी राजनीतिमा संलग्न हुनै चाहँदैनन् । कंग्रेसका नेताहरू, लालु, नीतिश र मुलायमजस्ता नेपाल जाने-बुझेका नेताहरूको अभाव अहिले कांग्रेस, एमाले, माओवादी र मधेसी सबै दलमा खटकिएको हुनुपर्छ ।
‘इन्डिया इन्कर्पोरेट’ भनेर चर्चित प्रभावशाली आर्थिक र बौद्धिक समूह हावी भएको मोदीको नेपाल नीति या राजनीतिको खुलासा यथासमय होला । तर आगामी दिनहरूमा दिल्लीको साउथ ब्लकमा रहेको ‘नेपाल डेस्क’ राजनीतिक निर्देशन र समझदारीका आधारमा सञ्चालित हुने सम्भावना बढेको छ । मोदी निकट रहेका दिल्लीका नीति-निर्माताहरू नेपाल नीतिको सञ्चालनमा आर्थिक कार्यसूचीको विकल्पमा अन्य विकल्प नरहेको बताउँछन् ।
प्रकाशित मिति: २०७१ जेष्ठ १३ ०९:३५

Source : http://www.ekantipur.com/kantipur/archive.php

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s