रगत पनि ६-७ दिन जान्छ।

म २५ वर्षीया गृहणी हुँ। मेरा दुई सन्तान छन्। मेरो महिनावारी नियमित छ, तर विगत ५ महिनादेखि महिनावारीमा रक्तश्राव बढी हुन्छ। दैनिक ५-६ वटा प्याड फेर्नुपर्छ। रगत पनि ६-७ दिन जान्छ। मैले के गर्ने होला ?
जे.
महिना-महिना दिनको अन्तरमा हुने रक्तश्राव नै महिनावारी हो र सामान्यतः यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्म हुन्छ। पहिलो दिन कम रगत गए पनि दोस्रो-तेस्रो दिन ८० मिलिग्रामसम्म रगत जान सक्छ अर्थात् ३-४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ। उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ। यो अवस्थामा रगत धेरै जाने भएकाले उपचार आवश्यक हुन्छ। मेनोरेजियाका धेरै कारण भएकाले पत्ता लगाउन विभिन्न परीक्षण गराउनुपर्ने हुन सक्छ। धेरैवटा अवस्थामा औषधिको सेवनले नै यसलाई ठीक गर्न सकिन्छ। कुनै-कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा कसै-कसैलाई परिवार नियोजनको अस्थायी साधन खानेचक्कीले पनि फाइदा गर्छ।

ब्रा, पेन्टी र अन्डरवेयर

महिला तथा पुरुषका भित्री वस्त्र एउटै स्थानमा किनमेल गर्न सकिने ठाउँ काठमाडौंमा विरलै मात्र छन्। महिलाले प्रयोग गर्ने अन्तर्राष्ट्रिय ब्रान्डका ब्रा, पेन्टी तथा पुरुषहरूले प्रयोग गर्ने अन्डरवेयर, सेन्डो, ट्राउजर तथा टि-सर्टहरू न्यूरोडको पिपुल्स प्लाजास्थित न्यू केशव ट्रेडर्सले एकै ठाउँमा उपलब्ध गराउँछ। उक्त टे्रडर्समा भारतको जक्की ब्रान्डका अन्तर्वस्त्रहरू खरिद गर्न सकिन्छ। यो जक्की ब्रान्डको आधिकारिक शोरुम नै हो। सञ्चालक गोकुल शर्माका अनुसार महिलाले प्रयोग गर्ने ब्रा-पेन्टीका लागि ६ सय ९५ देखि १ हजार ४ सय ९५ रुपैयाँसम्म खर्च गर्नुपर्छ भने पुरुषहरूको अन्डरवेयर २ सय ९५ देखि ६ सय ९५ रुपैयाँसम्ममा उपलब्ध हुन्छ।

चम्पादेवी

हरियाली जंगलभित्र राताम्मे फुल्ने लालीगुराँस चम्पादेवीको चिनारी हो। चम्पादेवी डाँडामा पुगेपछि आँखैअघि देखिने सर्वोच्च शिखर सगरमाथाको दृश्यले सबैको मन फुरुङ्ग बनाउँछ। राजधानीको व्यस्त जीवन, कोलाहल र प्रदूषित वातावरणबाट केही समयका लागि उन्मुक्ति पाउन चम्पादेवी सबैको रोजाइमा पर्छ। डाँडामा उभिएर काठमाडौं, भक्तपुर, ललितपुर तथा मकवानपुरका रमाइला दृश्य हेर्दा मनै आनन्दित हुन्छ।
चम्पादेवीको दर्शन गरेर रमाइलो डाँडामा घुमफिर गर्दा पर्यटकलाई समय बितेको पत्तो हुँदैन। बल्खु-दक्षिणकाली सडकमा ५ किलोमिटर गाडीमा गुडेर चाल्नाखेल पुगेपछि चम्पादेवी पदयात्रा प्रारम्भ हुन्छ। छिटो हिंड्दा तीन घण्टा नत्र चार घण्टाको पदयात्रापछि डाँडामा पुग्न सकिन्छ। फागुन-चैत महिनातिर चम्पादेवीमा ढकमक्क गुराँस फुल्छ भने वैशाख १ गतेका दिन मन्दिरमा धुमधाम मेला लाग्छ।
समुद्री सतहबाट २ हजार २ सय ५० मिटर उचाइमा रहेको चम्मादेवीबाट कात्तिक, मंसिर र पुस महिनामा सगरमाथा, लाक्पादोर्जे तथा गौरीशंकर हिमश्रृखंलाको दृश्यावलोकन गर्न सकिन्छ। चम्पादेवी मन्दिरमा पूजाआजा गरे शान्ति मिल्ने र चिताएको कुरा पूरा हुने भएकाले धार्मिक पर्यटकहरू पनि त्यहाँ पुग्छन्। पदयात्राका क्रममा कालिज, मैना, काँडेभ्याकुरजस्ता चराका साथै अन्य जनावरहरू अवलोकन गर्न पाइन्छ। चाल्नाखेल गाविसअन्तर्गतको बोसन गाउँको थाप्लोमा रहेको चम्पादेवी कीर्तिपुर नगरपालिका र शेषनारायण गाविसको संगमस्थल हो।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जामा लिनुपूर्व कीर्तिपुर हात पार्न चित्लाङ हुँदै यही स्थानमा बसेर योजना बनाएको र कीर्तिपुर आक्रमण गर्न डाँडामा बंकर बनाएको ऐतिहासिक तथ्य छ। यहाँ होम स्टेको सुविधा लिन सकिन्छ। दुई दिन एकरातको प्याकेज चम्पादेवी पदयात्राका लागि पर्याप्त हुनसक्छ। ऐतिहासिक स्थल एवं बहुमूल्य जडीबुटीहरूको अध्ययन-अनुसन्धान गर्ने हो भने प्याकेजमा हेरफेर गर्न सकिन्छ।

नेटमै प्रेम, नेटमै विह

एउटा जमाना थियो, भेटेपछि माया लाग्छ नभेटेकै जाती भन्ने गीत गाइन्थ्यो। कर्णदासले पनि त्यही विषयमा एउटा गीत गाए, भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो। भेटको कति महत्त्व हुन्थ्यो भन्ने कुरा नेपाली गीतहरूमा यसरी दसाईएका कुरा हेरे थाहा हुन्छ। बल्ल-बल्ल भेट भा’को दिन, सङ्लो पानी धमिलो मन किन ? धेरै पछि भेट भो दर्शन नमस्ते जस्ता धैरै गीतले भेटको बखान गरेका छन्।

भेटपछि चिठीपत्रको युग आयो। चिठी तिमीलाई लेखूँ भन्छु, मनको कुरा मनमै रह्यो भन्ने गीतले प्रस्ट पार्छ, मनको कुरा अभिव्यक्त गर्न भेट्नैपर्ने आवश्यकता रहेनछ। चिठ्ठी आएन, मलाई मेरो मायालुको चिठ्ठी आएनजस्ता थुप्रै गीत छन्, जसले आपसी सम्बन्धमा चिठ्ठीको महत्त्व दर्साएका छन्।

चिठ्ठीको युगलाई टेलिफोनले विस्थापित गर्‍यो। हुलाक कार्यालयहरू सुनसान हुन थाले, टेफिफोन बुथहरू व्यस्त देखिए। त्यसपछि संसार मोबाइल युगमा प्रवेश गर्‍यो। मोबाइलमा फोन गर, घरकोमा बूढीले उठाउँछे जस्ता गीत बज्न थाले। पोस्टबक्सहरू खाली भए, मोबाइलका इनबक्सहरू भरिन थाले। तिम्रो मिसकल आउँछ कि भनेर कुरिरहन्छु भन्ने खालका गानाको बाढी आउन थाल्यो।

मोबाइलपछि इन्टरनेट युगले प्रवेश पायो। बगैंचा, बार तथा रेस्टुराँहरू खाली हुन थाले। इमेल, च्याट र वेभ क्यामको लोकप्रियता बढ्यो। च्याटमा भेट, वेबक्याममा डेटिङ र स्काइपमा हनिमुन मनाउन थालियो। भेट के हो, चिठ्ठी के हो, अंकमाल के हो, सबै कथाजस्तो हुन थाल्यो। नेटमा भेट, नेटमै प्रेम र नेटमै बिहे हुन थालेपछि लगन जुराउने र जन्ती जाने-आउने संस्कृति पनि लोप हुने स्थिति आयो।

इन्टरनेट युगको मध्यतिर आएर सबै सम्बन्धहरू फेसबुकमा भेला भए। फेसबुकबाटै प्रेम, फेसबुकबाटै घृणा, फेसबुकबाटै झगडा, फेसबुकबाटै सम्बन्ध सुधार हुन थाल्यो। मानौं, गाउँघर, टोल-छिमेक सबै फेसबुकभित्रै अटाउन थाले। फेसबुक एकाउन्ट नहुने मान्छेलाई दोस्रो दर्जाको नागरिक मान्न थालियो।

खै फेसबुकमा कमेन्ट नै लेख्न छोड्यौ त, बिर्सियौ कि क्या हो ? मेरो तस्बिरमा लाइक नगर्दा मलाई चित्त दुख्यो। तपाईं हराउनुभयो, फेसबुकतिर देखिनुहुन्न त ? देशमा यति ठूलो घटना घटिसक्यो, तपाईं थाहा छैन भन्नुहुन्छ, फेसबुकतिर हुनुहुन्न कि क्या हो ? यो विवादका बारेमा आफ्नो धारणा पत्रिकामा लेखेर मात्र भएन, फेसबुकको स्टाटसमै केही आउनुपर्‍यो आदि कुरा सुन्नु सामान्य लाग्न थाले।

माथिका संवाद फेसबुकले हाम्रो जीवनमा पारेको प्रभावका उदाहरणहरू हुन्। मानिसलाई फोनको मतलब हुन छाड्यो, फेसबुक कमेन्टको महत्त्व बढ्न थाल्यो। मुहारको प्रत्यक्ष प्रशंसाभन्दा पिक्चर लाइकको अर्थ रहन थाल्यो। समाजमा सक्रिय रहे पनि फेसबुक अपडेट भएन भनै हराएको मानिन थालियो। अरू माध्यमबाट समाचार थाहा पाएर नहुने भयो, फेसबुक नै चलाउनुपर्ने भयो। टेलिभिजनको अन्तर्वार्ताभन्दा फेसबुक स्टाटसले चर्चा बटुल्न थाल्यो। यो कथा सबै मानिसको होइन। समाजमा एउटा वर्ग छ, जो फेसबुकलाई नै सबथोक मान्छ। फेसबुकको स्टाटस अपडेट्सबाट सुरु भएको उनीहरूको दैनिकी कमेन्ट्स र रिभ्यूमा गएर सकिन्छ।

गजुरियल बिश्लेषण भन्छ, कुनै पनि चीजले सबैथोक दिँदैन, केही-केही मात्र दिन्छ। त्यो केही के हो भन्ने कुराचाहिं आफूले खोज्नुपर्छ। भेटघाटको आफ्नै महत्व हुन्छ। चिठ्ठीपत्रको महत्त्व अझै पनि घटेको छैन। इन्टरनेटले मानवजीवनलाई सहज बनाउन निकै ठूलो योगदान दिएको छ। इन्टरनेटको एउटा फेसबुकले पनि मानिस-मानिसबीचको सम्बन्धलाई नजिक बनाइदिएको छ, तर त्यसको अर्थ अरू पाटाहरू सदाका लागि बन्दै भएका होइनन् भन्ने बुझ्नु आवश्यक भएको गजुरियल ठम्याइ छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s