चार विदेशी वायुसेवाले नेपाल उडान भर्ने

काठमाडौं : नेपालमा अन्तराष्ट्रिय उडान भर्न थप चारवटा वायुसेवाले प्रस्ताव पेस गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा नियमित उडान गर्ने इच्छा देखाएर मलेसिया, बंगलादेश र भुटानका वायुसेवाको प्रस्ताव आएको जानकारी दिएको छ। नेपालमा नियमित उडान इच्छासहित प्रस्ताव पेस गर्ने वायुसेवामा मलेसियाको मलिन्दो एअर, भुटानको टासी एअर, बंगलादेशको नोवो एअर र रिजेन्ट्स एअर रहेको मन्त्रालयका उपसचिव प्रमोद नेपाल जानकारी दिए।

यी चारवटै नयाँ वायुसेवाले नेपालमा सीधा उडानको चासो देखाएर प्रस्ताव गरेका हुन्। नेपाल आउन चासो दिने यी वायुसेवामध्ये भुटान र मलेसियाका लागि हवाई सेवा सम्झौता पुनरावलोकन गर्नुपर्छ भने बंगलादेशका लागि अहिले नै सिट क्षमता उपलब्ध भएकाले चाहेकै समयमा प्रक्रिया पुर्याएर आउन सक्ने जानकारी पनि नेपालले दिए। चासो देखाउने ती वायुसेवाको उडानका लागि सम्बन्धित वायुसेवा र तिनका नेपालस्थित जनरल सेल्स एजेन्ट्स (जीएसए)मार्फत आवश्यक तयारीसमेत हुन थालेको सम्बन्धित संस्थाले जानकारी दिएका छन्।

नेपालमा सीधा उडाको चासो दिने यसअघिका वायुसेवा संयुक्त अरब इमिरेट्स (युएई)को इमिरेट्स एयर, श्रीलंकाको मिहिनलंका एयर र चीनको सांघाई एयरलाइन्स पनि छन्। यीमध्ये चीनसँग हवाई सेवा सम्झौता पुनरावलोकन भइसकेकाले चीनबाट तुरुन्तै नयाँ जहाज आउन सक्ने देखिएको छ भने मिहिनलंका र इमिरेट्सले भने प्रस्ताव पेस गरेका छैनन्।

मलिन्दो एअरका नेपालस्थित जनरल सेल्स एजेन्ट्स (जीएसए) शिव ट्राभलमार्फत छलफलसमेत भइसकेको मन्त्रालयले जानकारी दिएको छ। बंगलादेशबाट नेपाल आउन चाहने दुईवटै वायुसेवाले निवेदन पेस गरिसकेका छन्। भुटानबाट आउन चाहने टासी एअरका लागि भने हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्नुपर्ने भएको छ। भुटानसँग आगामी जेठको दोस्रो साता एएसए गर्ने गरी समय तय भइसकेको छ। त्यसपछि भुटानबाट आउने वायुसेवाका लागि सिट क्षमता बढ्ने र नयाँ वायुसेवा आउन सक्ने मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए। उनका अनुसार भुटानी पक्षले उतै बोलाएकाले मन्त्रालयको एक टोली एएसए पुनरावलोनका लागि जाने तयारीमा छ।
भुटानबाट अहिले ड्रुक एअरले नेपालमा उडान भरिरहेको छ। यो वायुसेवाले सातामा सात सयजनालाई मात्रै सेवा दिन पाउने व्यवस्था छ। सिट क्षमता थोरै भएको, यसले भुटान-काठमाडौं-दिल्ली उडानमा तिर्दै आएको रुट रोयल्टी अव्यावहारिक भएकाले यसलाई हटाएर पुनरावलोकन गर्ने लगायतका विषय संशोधनका लागि एएसए पुनरावलोकन गर्नुपर्ने भएको मन्त्रालयको भनाइ छ। यस वायुसेवाले हाल साताको चार उडानमा जम्मा ४० जना यात्रु काठमाडौं हुँदै दिल्ली लैजान पाउने र यसका लागि नेपाल वायुसेवा निगमलाई प्रतियात्रु १० डलर तिर्दै आएको छ। पाँचौं ट्राफिक स्वतन्त्रताको अधिकार (फिफ्थ फ्रिडम ट्राफिक राइट) प्रयोग गरेबापत यो वायुसेवाले नेपालको राष्ट्रिय ध्वजावाहकलाई रुट रोयल्टी तिर्ने गरेको छ। यो अव्यावहारिक भएकाले एएसए पुनरावलोकन गरेरै हटाउनुपर्ने माग भुटानको छ।

 मनाङ एअर फेरि सञ्चालनको तयारीमा

निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक कम्पनी मनाङ एअर बन्द भएको साढे चार वर्षपछि फेरि सञ्चालनमा आउने भएको छ। एमआई १७ नामक ठूलो हेलिकोप्टर एक दशकभन्दा लामो समय सञ्चालन गरेको मनाङ एअरले आगामी जेठको तेस्रो साताबाट फेरि सेवा सञ्चालको तयारी गरेको छ। सेवा सञ्चालका लागि आवश्यक तयारी भइरहेको मनाङ एअरका अध्यक्ष सतीशप्रसाद प्रधानले जानकारी दिए। उनका अनुसार मनाङले एअरबस हेलिकोप्टर कम्पनीको एएस ३५० बी३ ई नामक हेलिकोप्टर ल्याएर सेवा सञ्चालको तयारी गरेको छ। आगामी मे २८ तारेखमा यो हेलिकोप्टर लिन मनाङ एअरको एक टोली सिंगापुर जाने तयारी रहेको छ। जुन पहिलो साता हेलिकोप्टर ल्याउने र त्यसको एक सातापछि कमर्सियल उडान गर्ने तयारी भएको मनाङ एअरले अन्नपूर्णलाई जानकारी दिएको छ।

मनाङले एअरबस हेलिकोप्टर्स कम्पनीकै दुई वटा हेलिकोप्टर ल्याउने भएको छ। एएस ३५० बी ३ ई नामक ६ सिट क्षमता र बी टु नामको ५ सिट क्षमताको हेलिकोप्टर ल्याउने भएको छ। मनाङले ल्याउने तयारी गरेका यी दुई हेलिकोप्टरको बजार मूल्य ६ सिट क्षमताको २५ लाख र ५ सिट क्षमताको करिब १६ लाख अमेरिकी डलर रहेको छ। हेलिकोप्टर ल्याएर तुरुन्त सेवा सञ्चालको लागि मनाङले तीनकुनेमा कार्यालयसमेत सञ्चालमा ल्याइसकेको छ।

२०६६ कात्तिक २९ गते हुम्लाको रोदीकोटमा एम आई १७ नामक ९एन एएचटी हेलिकोप्ट र दुर्घटना भएपछि मनाङ जहाजविहीन भएको थियो। यो दुर्घटनाअगाडि नै मनाङले आफूसँग भएको अर्को एक एम आई १७ नामक ठूलो हेलिकोप्टर श्री एअरलाइन्सलाई बेचेको थियो। मनाङले हेलिकोप्टर ल्याउनका लागि एअरबससँग सहमति गरिसकेको बताएको छ।

मनाङले भित्र्याउन तयारी गरेको एउटा हेलिकोप्टर गत अप्रिल १४ मै सिंगापुर आइसकेको छ। यसलाई सिंगापुरमै एसेम्बल गर्ने र उडाएरै काठमाडौं ल्याइने जानकारी मनाङ एअरले दिएको छ।

Source : http://www.annapurnapost.com/en/news/business/7017/.htm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s