सन्दर्भ : १७औं राष्ट्रिय चिया दिवस – चियाको बढ्दो माग र उत्पादन स्थिति -710115

विश्वनाथ खरेल ,
चियाको उत्पत्ति खासगरी इरावती प्रदेशमा भएको र क्रमशः दक्षिण–पूर्व चीन, इन्डोचीन र आसाममा समेत फैलिएको हो । संसारमा चियाको उत्पत्ति र विकासः सर्वप्रथम चिया औषधिको रुपमा चीनका सम्राट शेन नुङ्गले इशापूर्व २७३७ मा प्रयोग गरेको कुरा चिनियाँ ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । चिनियाँ लेखक चा यूका अनुसार चीनमा चिया पिउने प्रचलन छैटौं शताब्दीदेखि नै सुरु भएको मानिन्छ । चियाको विषयमा सन् ७८० मा चीनका नागरिक लु युले पहिलो पुस्तक ‘मेमोपट अन टी’ लेखेका थिए । चीनपछि चिया पिउने प्रचलन जापानमा सुरु भएको मानिन्छ । तेह्रौं शताब्दीमा एकजना धर्मगुरुले चीनबाट चियाको बीउ लगी जापानको क्यूसु प्रान्तमा लगाएका थिए । सत्रौं शताब्दीको मध्यतिर यूरोपमा चियाको प्रवेश भएको थियो । पोर्तुगल, हलैण्ड तथा इङ्गल्याण्ड यी तीनै राष्ट्रले यूरोपको बजारमा चियाको परिचय गराएका थिए । चियाको प्रचलन चीनमा करिब दुई÷तीन हजार वर्षपूर्वदेखि नै सुरु भएको हो भन्ने कुराको “अल एवाउट टी ” भन्ने पुस्तकमा उल्लेख छ । जंगली चियाको बोटहरु नेपालमा समेत पाइएको हँुदा चियाको उत्पत्ति नेपालमै पनि भएको हुनसक्छ भन्ने वैज्ञानिकहरुको अड्कल छ । दक्षिण–पूर्व एसियाका मुलुकहरुमा चियाको खेती सन् १७७४ मा भारतले चीनबाट चियाका बीउहरु झिकाएपछि सुरु हुन्छ । साथै, अब भारत विश्वमा सबैभन्दा धेरै चिया उत्पादन गर्ने, खपत गर्ने र निर्यात गर्ने राष्ट्र भएको छ । विश्व बजारमा चिया निर्यातको पंक्तिमा भारत अग्रणी रुपमा रहेको छ । चिया उत्पादनमा श्रीलंका, जाभा, सुमात्रा, अफ्रिकालाई प्रमुख राष्ट्रहरुको रुपमा लिन सकिन्छ ।
हाम्रो देशमा चिया खेतीको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा वि.सं. १९२० तिर सुरुवात भएको पाइन्छ । त्यसबेला तत्कालीन बडाहाकिम कर्णेल गन्जराजसिंह थापाले दार्जिलिङ घुम्न जाँदा चिया बगानहरु देखेको र चियाको स्वाद समेत लिएको हँुदा त्यसबाट प्रभावित भएर सोखको रुपमा चियाका केही बिरुवाहरु तत्कालीन प्राइमिनिष्टर श्री ३ जंगबहादुरबाट विर्ता पाएको इलाम जिल्लाको खुवामा एक सय १८ एकड जमिनमा चियाखेती गरे, तसर्थ निजलाई नै नेपालमा “चियाका बाबु” भन्नु कुनै अत्युक्ति नहोला । यो चिया बगान अहिले पनि छ र यसलाई सोक्तिम चिया बगान भनिन्छ । त्यसपछि चियाको खेतीमा विस्तार आएको छ । खास गरी पूर्वाञ्चलका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुमा चियाको खेती अत्यधिक हुने गर्दछ र अरु ठाउँहरुमा फाटफुट रुपमा खेती गर्न थालिएको छ ।
यसरी विश्वको कुल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाहरुको हावापानी दार्जिलिङसँग मिल्दोजुल्दो छ । यहाँको उत्पादन गुणस्तरको हुँदाहुँदै पनि अन्तर्राष्ट्रियस्तरमा स्वीकार हुने मापदण्ड अवलम्बन गर्न सकियो भने विश्व बजारमा नेपाली चियाले ठाउँ लिने संकेत प्रशस्त सम्भावना छ । विश्व बजारमा अर्गानिक चियाको माग बढ्दो छ र अर्गानिक चियाको माग नेपाली भविष्यसँग गाँसिएको छ । चियाखेतीमा संलग्न सबैले चियारोपण, उत्पादनदेखि बजार व्यवस्थासम्म गुणस्तरमा ध्यान दिन आवश्यक छ । चियाको उत्पादन र क्षेत्र विस्तार मात्र होइन आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा ध्यान दिनुपर्दछ । विकास र विस्तारको प्रशस्त सम्भावना छ । हालसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रै रुपले परिचित भइसकेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरमा सुधार गर्दै लैजान सकेमा स्थायी बजार र उपभोक्ता सुरक्षित गर्न सकिनेछ ।
चियाको क्षेत्रफल आ.व.२०६२÷०६३ मा झापा, इलाम, धनकुटा, पाचँथर, तेह्रथुम र अन्य क्षेत्रमा क्रमशः आठ हजार नौ सय ७६, चार हजार आठ सय १६, पाँच सय २३, छ सय ४४, एक सय ४६ र नौ सय सात गरी जम्मा १६ हजार १२ हेक्टरमा लगाइएको अनुमान छ । यसलाई प्रतिशतको आधारमा हेर्दा क्रमशः ५६ दशमलव शून्य छ, ३८ दशमलव शून्य आठ, तीन दशमलव २७, चार दशमलव शून्य दुई, शून्य दशमलव ९१ र पाँच दशमलव ६६ रहेको छ । त्यस्तैगरी सोही आर्थिक वर्षमा उत्पादनतर्फ दृष्टिगत गर्दा क्रमशः ११ हजार चार सय ८६, ११ हजार ६६, दुई सय नौ, ९८, ३७ र ४७ गरी जम्मा १३ हजार ४३ मेट्रिकटन उत्पादन भएको अनुमान छ । अर्थात् त्यसलाई पनि प्रतिशतका आधारमा मूल्यांकन गर्दा क्रमशः ८८ दशमलव शून्य सात, आठ दशमलव ९४, एक दशमलव ६०, शून्य दशमलव ७५, शून्य दशमलव २८ र शून्य दशमलव ३६ भएको देखिन्छ । यसलाई समग्रमा अध्ययन गर्दा सबैभन्दा बढी उत्पादन भएको झापा जिल्लामा देखिन्छ भने सबैभन्दा कम उत्पादन भएको तेह्रथुममा देखिएको छ । त्यस्तैगरी आ.व. २०६३÷०६४ मा चियाको क्षेत्रफल क्रमशः आठ हजार नौ सय ९६, पाँच हजार ५२, तीन सय ७७, आठ सय १५, एक सय ५८ र एक हजार २२ गरी जम्मा १६ हजार चार सय २० हेक्टरमा लगाएको अनुमान छ । त्यसलाई पनि प्रतिशतको आधारमा तुलनात्मक रुपले हेर्दा क्रमशः ५४ दशमलव ७९, ३० दशमलव ७७, दुई दशमलव ३०, चार दशमलव ९६, शून्य दशमलव ९६ र छ दशमलव २२ रहेको देखिन्छ । यस आँकडालाई दृष्टिगत गर्दा सबैभन्दा बढी झापा जिल्लामा र सबैभन्दा कम तेह्रथुम जिल्लामा खेती गरिएको स्पष्ट हुन्छ ।
त्यस्तैगरी उत्पादनतर्फ तुलना गर्दा क्रमशः १३ हजार एक सय ९१, एक हजार पाँच सय २०, एक सय १६, दुई सय १६, ४२ र ८३ गरी जम्मा १५ हजार एक सय ६८ मेट्रिकटन उत्पादन भएको प्रस्तुत आँकलनबाट स्पष्ट हुन्छ । त्यस्तै, आ.व. २०६४÷०६५ मा चियाको क्षेत्रफल क्रमशः आठ हजार नौ सय ९६, पाँच हजार एक सय ३०, चार सय २४, आठ सय १५, एक सय ८४ र एक हजार ४५ गरी जम्मा १६ हजार पाँच सय ९४ हेक्टरमा लगाएको अनुमान छ । यसरी झापा, इलाम, धनकुटा, पाचँथर, तेह्रथुम र अन्यको क्षेत्रफलतर्फ पनि प्रतिशतको आधारमा तुलनात्मक रुपले हेर्दा क्रमशः ५४ दशमलव २१, ३० दशमलव ९१, दुई दशमलव ५६, चार दशमलव ९१, एक दशमलव ११ र छ दशमलव ३० रहेको देखिन्छ । यस आँकडालाई दृष्टिगत गर्दा सबैभन्दा बढी झापा जिल्लामा ५४ दशमलव २१ प्रतिशत रहेको देखिन्छ भने सबैभन्दा कम तेह्रथुम जिल्लामा एक दशमलव ११ प्रतिशतमा मात्र चियाखेती गरिएको क्षेत्रफल स्पष्ट हुन्छ । त्यस्तैगरी सोही आर्थिक वर्षमा सोही स्थानमा उत्पादनतर्फ तुलना गर्दा क्रमशः १४ हजार ४८, एक हजार पाँच सय ८९, एक सय २३, दुई सय ३०, ४६ र ९१ गरी जम्मा १६ हजार एक सय २७ मेट्रिकटन उत्पादन भएको प्रस्तुत आँकलनबाट स्पष्ट हुन्छ । यसलाई पनि सरसर्ति हेर्दा सबैभन्दा बढी झापा जिल्लामा ८७ दशमलव ११ प्रतिशत छ भने सबैभन्दा कम उत्पादन भएको तेह्रथुम जिल्लामा शून्य दशमलव २९ प्रतिशत रहेको भएको प्रस्तुत तथ्यांकबाट स्पष्ट हुन्छ । यसर्थ, समष्टिगत रुपमा अवलोकन गर्दा आ.व. २०६२÷०६३ को दाँजोमा आ.व. २०६३÷०६४ मा क्षेत्रफलमा दुई दशमलव ५५ प्रतिशत र उत्पादनतर्फ १६ दशमलव ३० प्रतिशतले वृद्धि भएको उल्लेखित तथ्यांकले देखाएको छ । त्यस्तैगरी आ.व. २०६३÷०६४ को दाँजोमा आ.व. २०६४÷०६५ मा क्षेत्रफलमा एक दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनतर्फ अवलोकन गर्दा छ दशमलव ३२ प्रतिशतले बढेको उल्लेखित आँकलनबाट स्पष्ट हुन्छ ।
चियाको आयात भारत बाहेक अरु तेस्रो मुलुकबाट नेपालमा भएको सरकारी तथ्यांकमा देखिँदैन । तसर्थ, छिमेकी राष्ट्र भारतबाट आ.व.२०६०÷०६१, २०६१÷०६२ र २०६२÷०६३ मा क्रमशः तीन करोड ६० लाख, दुई करोड ५४ लाख र एक करोड ७९ लाख रुपैयाँको चिया आयात भएको छ । त्यस्तैगरी हाम्रो देशबाट तेस्रो मुलुकहरुमा निर्यात आ.व. २०६०÷०६१, २०६१÷०६२ र २०६२÷०६३ मा क्रमशः ११ करोड ३७ लाख, १० करोड ७० लाख र १० करोड ७० लाख रुपैयाँ रहेको छ । अतः समष्टिगत रुपमा चियाको उत्पादनलाई आयात तथा निर्यातको अवलोकन क्रममा सर्वप्रथम आयातलाई दृष्टिगत गर्दा तीन वर्षको आँकडालाई जम्मा गर्दा सात करोड ९३ लाख रुपैयाँ बराबरको चिया आयात भएको एकातिर देखिन्छ भने अर्कोतिर निर्यातको पनि तीनै वर्षको जम्मा गर्दा ३२ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको देखिन्छ । अब तीन वर्षको निर्यातलाई तीन वर्षको आयातमा घटाउदा खुद हाम्रो देशलाई २४ करोड ७८ लाख विदेशी मुद्रा आर्जन भएको यसै आँकडाबाट स्पष्ट हुन जान्छ ।

अन्त्यमा भन्नुपर्दा विश्वको कुल अनुमानित चियाको उत्पादन तीन हजार सात सय ९४ मिलियन किलो हुने अनुमान छ । जसमा भारतको योगदान नौ सय ४४ मिलियन किलो, चीनको एक हजार एक सय ६५ मिलियन किलो, केन्याको दुई सय ६५ मिलियन किलो, श्रीलंकाको दुई सय ५५ मिलियन किलो छ भने बाँकी अन्य देशहरुको रहेको छ । त्यसमा हाम्रो देशको चिया उत्पादन १६ मिलियन किलो हुने अनुमान छ । जुन विश्वको कुल उत्पादनको शून्य दशमलव ४२ प्रतिशत मात्र हुन आउँछ । यसबाट विश्वमा हाम्रो स्थान के कस्तो रहेछ भन्ने कुराको स्पष्ट हुन्छ । यसरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र पूर्वी नेपालको अन्य पहाडी जिल्लाहरको भू–बनोट, हावापानी, चियाको लागि उपयुक्त हुनु गर्वको विषय हो । सि.टि.सि. चियामात्र उत्पादन हुने तराईको झापा जहाँ देशको कुल चिया उत्पादनको ८७ प्रतिशत उत्पादन हुन्छ । मुलुकको आन्तरिक माग पूरा गरी केही वर्षदेखि निर्यात भइरहेको छ । इलाम र अन्य पहाडी जिल्लाहरुबाट उत्पादन हुने अर्थोडक्स चिया, विश्व प्रसिद्ध दाजिलिङको जस्तै उच्च गुणस्तरको छ । देशको चिया बजारले विश्व बजारमा प्रवेश गरेर परिचय दिन सकेमा नेपाली चियाले ठाउँ लिने प्रशस्त सम्भावना छ । यसको छिमेकी राष्ट्रबाट आयात नगरी आन्तरिक उत्पादनबाट नै हाम्रो देशलाई आवश्यक चिया खपत भएको खण्डमा नेपालले अर्बौं रुपैयाँ बचत भई अन्य आवश्यक कार्यको लागि उतm धनराशी लगानी गर्न सकिने प्रबल सम्भावना एकातिर छ भने अर्कोतिर चिया उत्पादनमा नेपालले राम्रो सम्भावना बोकेको छ । एक अध्ययनअनुसार पूर्वाञ्चलका इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम जिल्लाहरुमा अर्थोडक्स निर्यातका लागि अत्यन्तै राम्रो मानिने चिया खेती गर्न सकिन्छ, जसबाट वार्षिक तीन करोड के.जि. भन्दा बढी चिया उत्पादन हुन सक्छ । यसबाट विदेशी मुद्रा अर्बौं आर्जन गर्न सकिन्छ । यसबाट राष्ट्रले पाउने वैदेशिक मुद्राको फाइदा मात्र होइन कि उक्त क्षेत्रका जनताले व्यापक रुपमा रोजगारी पनि पाउन सक्छन् ।

Source : http://www.aarthikdainik.com.np/news_details/7898/- 710115.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s