रंगमञ्चमा नयाँ पुस्ता

रंगमञ्चमा नयाँ पुस्ताको बलियो उपस्थिति भैरहेको संकेत वर्ष २०७० ले दिएको छ। नाटकमा काम गर्ने, हेर्ने दुवैमा युवाहरूको संख्या बढ्दो छ। अहिले नेपालमा रंगकर्ममै लागेर बाँच्ने स्थिति पनि बन्दै गएको छ। वर्ष २०७० मा शिल्पी नाटक घर तथा थियटर भिलेज खुले। शिल्पीमा मञ्चन गरिएको कोमा ः ए पोलिटिकल सेक्स र प्रतिविम्ब नाट्य समूहले प्रदर्शन गरेको कोर्टमार्सल एवं थिएटर भिलेजको चारुमति नाटक दर्शकहरूले रुचाए। अभि सुवेदीको नाटक लिएर गुरुकुल भारतको कर्नाटक पुग्यो। थिएटर भिलेजमै सुबेदीको अग्निको कथा प्रदर्शन भयो। सिक्किमबाट दुईवटा नाट्य समूह आफ्नो प्रस्तुति लिएर काठमाडौं आइपुगे। पशुपति राईको निर्देशन रहेको हेत्छाकुप्पालाई पनि दर्शकले रुचाए। नेपाली रंगमञ्चले वर्षभरि नै नेपाली नाटक प्रदर्शनमै जोड दिए। नेपाली नाटक नभएका बेला प्रदर्शन हुने विदेशी नाटकले दर्शकहरूलाई फरक स्वाद दिन्छन् भन्ने मान्यता पनि देखा पर्‍यो। सानो घेरा तोड्दै नाटक हेर्ने दर्शकहरूको घेरा ठूलो भयो र विविधता पनि थपियो। स्कुल र कलेजका विद्यार्थी, नेता तथा गृहिणीहरूमा नाटकप्रति चाख बढेको पाइयो।

निजी स्तरबाट खोलिएका सर्वनाम नाटकघर, शिल्पी नाटकघर, थिएटर भिलेज तथा मण्डला थिएटर आ-आफ्नो ठाउँमा सक्रिय भए। नाटक देखाउनुका अतिरिक्त कतिपय थिएटरले नाटकसम्बन्धी तालिम दिने कामको थालनीसमेत गरे। यसबाट भविष्यमा नाट्य क्षेत्रमा प्रशिक्षित नाट्यकर्मीहरू आउने सम्भावनाको ढोका खुलेको छ। सबैजसो थिएटरमा रंगमञ्चमा पूर्णकालीन रूपमा लाग्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्यो। व्यावसायिकताले फड्को मार्‍यो। नाटकप्रति चाख लिनेहरू बढ्दै गएको देखियो भने विदेशीहरूसमेत नेपाल आएर नाटकसम्बन्धी तालिम दिने क्रमले निरन्तरता पायो। नेपाल आउने विदेशीहरूले हाम्रा मौलिक नाटकहरू हेर्ने, केही कुरा सिक्ने क्रमसमेत देखियो। अन्तर्राष्ट्रिय रंगमञ्च समुदायसँग नेपालका नाट्य समूहहरूको सुमधुर सम्बन्धलाई पनि वर्ष २०७० ले संकेत गर्‍यो।

उपत्यकाबाहिर पनि विभिन्न नाट्य समूह सक्रिय भए। हेटौंडाको तरंग नाट्य समूहले १० वर्षका. लागि हेटौंडा जेसिजको भवन भाडामा लियो। जनकपुरमा मिथिला नाट्य समूह आफ्नै हल बनाउन कस्सियो। जनकपुरमै ओमप्रकाश कर्णको समूहले छुट्टै हल भाडामा लियो। विराटनगरमा गुरुकुल सक्रिय भयो। धरान, झापा, भोजपुर तथा धनकुटाका नाट्य समूह पनि सक्रिय भए। पश्चिममा सडक नाटक गर्ने थुप्रै समूह भए पनि मञ्चमा नाटक गर्ने कमै देखिए। सुर्खेतमा आरंग नाट्य समूह सक्रिय देखियो। जुम्ला र मुगुका नाट्यकर्मीहरू पनि जुर्मुराए। पूर्वको तुलनामा पश्चिममा पूर्वाधारहरूको समस्या छ। तैपनि रंगकर्मीहरू रहरले काम गरिरहेका देखिए। नाटक कम लेखिने बिधा हो। पहिले-पहिले नाटकहरू लेखिन्थे तर प्रदर्शनमा आउँदैनथे। अहिले नाटक प्रदर्शन गर्ने क्रम बढेको छ, तर लेख्ने प्रचलन त्यति पाइँदैन। यतिबेला नेपाली भाषामा लेखिएका राम्रा नाटकको अभाव देखिएको छ।

(रंगकर्मी सुनिल पोखरेलसँग नरेन्द्र रौलेको कुराकानीमा आधारित )

भान्साघर, अस्ट्रेलिया

विदेशका थुप्रै स्थानमा नेपाली रेस्टुराँहरू खुलेका छन्। बेमिस स्टि्रट, सिड्नी, अस्ट्रेलियामा एउटा यस्तै मौलिक नेपाली रेस्टुराँ ‘नेपाली भान्छा घर’ सञ्चालित छ। यहाँ नेवारी तथा नेपाली परिकार उपलब्ध छन्। नेपालबाट आयात गरिएका मौलिक सामग्रीहरूले रेस्टुराँ सजाइएको छ। सञ्चालक शैला श्रेष्ठका अनुसार रेस्टुराँका ८० प्रतिशत ग्राहक अस्ट्रेलियामा रहेका नेपाली हुन्। रेस्टुराँमा विदेशीहरू पनि नेपाली परिकारको स्वाद लिन आइपुग्ने श्रेष्ठले जानकारी दिएकी छिन्। रेस्टुराँमा नेपाली खाना सेट, ढिडो, नेवारी परिकारहरू ः हाकु छोयला, वारा, चटामरी, मोमोचा, समयबजी, भुटन आदि परिकार उपलब्ध हुन्छन्।

बाइसधारा पार्क

परम्परागत एवं कलात्मक शैलीमा निर्माण भएको बालाजुको बाइसधारा ऐतिहासिक सम्पदा हो। राजा जयप्रकाश मल्लले २१ वटा तथा राजा रणबहादुर शाहले एउटा धारा निर्माण गरेपछि यसको नाम बाइसधारा रहन गएको हो। ती धारा धार्मिक महत्त्वका साथ आकर्षक ढंगले कलात्मक शैलीमा निर्माण गरिएको छ। यही धारानजिक बूढानीलकण्ठको मूर्ति पनि छ। बूढानीलकण्ठमा सीधा गएर हेरे राजाहरूको मृत्यु हुने भएकाले राजा प्रताप मल्लले बालाजुमा बूढानीलकण्ठको प्रतिरूप निर्माण गर्न लगाइएको इतिहास छ।

न्यू इयर सेलिब्रेसन

नववर्षको पूर्वसन्ध्यामा देशभर विभिन्न मनोरञ्जक कार्यक्रम आयोजित हुँदैछन्। खासगरी तन्नेरीहरूलाई लक्षित गरेर थुपै्र स्थानमा डान्सपार्टीको तारतम्य मिलाइएको छ। डान्सपार्टीमा रमाउन चाहनेहरूले चर्चित डिजेहरूको डिजेइङमा मध्यान्ह १ बजेदेखि राति १२ बजे कटुन्जेल निरन्तर नाच्न पाउनेछन्,। यसपालि नयाँ वर्षकै अवसर छोप्दै केही गायक पनि एकल प्रस्तुति दिने तयारीमा जुटेका छन्।

ढकाल सुमधुर साँझ

गायक रामकृष्ण ढकाल नयाँ वर्षको पूर्वसन्ध्यामा एकल गायनमा प्रस्तुत हुँदैछन्। तेस्रो पटक ‘ढकाल सुमधुर साँझ’ मार्फत सांगीतिक खुराक पस्कन लागेका ढकाललाई यसपालि उनकी छोरी रानीले पनि साथ दिँदै छिन्। ढकाललाई दार्जीलिङको कानिर्भल ब्यान्डसहितको २५ सदस्यीय अर्केस्ट्राले लाइभ म्युजिकमा सघाउनेछ। कार्यक्रम दरबारमार्गस्थित याक एन्ड यति होटलमा हुनेछ। कार्यक्रममा गायक ढकाललाई ज्ञानु राना, संगीता राना, विश्व नेपाली आदिले साथ दिनेछन्।

मधुशालामा उ र म

इभको अवसर जुराएर उदय र मनिला सोताङले दरबारमार्गस्थित मधुशाला रेस्टुराँमा विशेष प्रस्तुति दिने भएका छन्। साँझ सात बजे प्रारम्भ हुने कार्यक्रममा सोताङ दम्पतीहरूले आफ्ना चर्चित गीतसँगै सदावहार नेपाली तथा हिन्दी गीत सुनाउनेछन्। उदय र मनिलालाई वाद्यवादनमा नवरत्न ब्यान्डले सघाउनेछ।

कलेज पुस्तासँग यसकुमार

‘यस कुमार न्यू इयर इभ विथ इन्टरकलेज म्युजिक एन्ड डिजे पार्टी’ शीर्षकको कार्यक्रममा गायक यसकुमारले आफ्ना चर्चित गीतहरू सुनाउनेछन्। कालोपुलमा हुने कार्यक्रमको अर्को आकर्षण विभिन्न कलेजका म्युजिकल ब्यान्डको सहभागिता रहनेछ भने उक्त अवसरमा डिजे पार्टी पनि सञ्चालन हुनेछ।

झम्सिखेलमा नाइ नभन्नु ल  

‘नाइँ नभन्नु ल’ का गायक प्रेम परियारले झम्सिखेलस्थित जिटिआर रेस्ट्रो एन्ड बारमा आफ्नो प्रस्तुति दिनेछन्।

फेसन शोसँगै डान्सपार्टी

जमलस्थित मिसकल रेस्टुराँमा फेसन शोका साथमा डान्सपार्टीको आनन्द उठाउन सकिनेछ। मध्याह्न १ बजे प्रारम्भ हुने कार्यक्रम तीन चरणमा सम्पन्न हुनेछ। फेसन शोमा समरलाई लक्षित गरेर तयार पारिएका विभिन्न पहिरन प्रस्तुत गरिनेछ। यसैगरी फेसन शो सकिएलगत्तै डिजे नक्सको डिजेइङमा भरपुर नाच्न पाइनेछ।

द ह्याङ ओभर नाइट

डान्सपार्टीमा रमाउन चाहने तन्नेरीहरूलाई लक्षित गरेर पुल्चोक स्थित मेकोनोप्सिस बुटिक होटलमा डान्सपार्टी आयोजित हुँदैछ। साँझ ६ बजे प्रारम्भ हुने डान्सपार्टी राति १० बजेसम्म चल्नेछ। उक्त कार्यक्रममा डिजे फिन्जोक तथा डिजे र्‍याविटले आगन्तुकहरूलाई निरन्तर नचाउनेछन्।

न्यू इयर डान्सपार्टी

कलंकीको चौतारी पार्टी भेन्युमा मध्याह्न १ बजे नै डान्सपार्टी प्रारम्भ हुनेछ। वाइल्ड वान्स इन्टरटेनमेन्टको प्रस्तुति रहने कार्यक्रममा डिजे अनिल, डिजे सुदीप तथा डिजे रोनीको डिजेइङमा नाच्न पाइनेछ।

मिड नाइट इभ

नववर्षकै पूर्वसंन्ध्यामा ठमेलस्थित ह्यारी ग्यास्ट्रो बारमा ‘क्लक स्टि्रक्स द मिड नाइट’ शीर्षकमा डान्सपार्टी हुँदैछ। त्यहाँ डिजे प्रनिज तथा डिजे क्यान्डीको डिजेइङमा साँझ ६ बजेदेखि नाच्न पाइनेछ। उक्त डान्सपार्टीलाई मेगा इभेन्ट नेपालले प्रस्तुत गर्न लागेको हो।

हयातमा कन्सर्ट

पर्सि आइतबार बौद्धस्थित हयात रिजेन्सी ग्राउन्डमा नमस्ते कन्सर्ट-२०१४ हुँदैछ। नमस्ते इन्टरटेन्मेन्टले आयोजना गर्ने उक्त कन्सर्टमा इन्डियन आइडल-३ का विजेता प्रशान्त तामाङका साथमा राजेशपायल राई, डम्बर नेपाली, आस्था बी., शीतल-सुभानी मोक्तान, डिजे तेन्जिङसहित अल्बाट्रस ब्यान्डको प्रस्तुति रहने आयोजक संस्थाका सिईओ पाल्देन शेर्पाले बताएका छन्।

विज्ञान-प्रविधिमा वर्ष- २०७०

विद्यार्थीले बनाए हिड्ने रोबोट

पोखरास्थित गण्डकी आवासीय उच्च माविका तीन विद्यार्थीले यसै वर्ष मानिसझैं हिँड्ने रोबोट बनाए। ए लेभल दोस्रो सत्र अध्ययनरत सञ्जय भण्डारी, अपार भण्डारी तथा १२ कक्षाका अशेष श्रेष्ठले करिब ५ महिना लगाएर उक्त रोबोट बनाएका हुन्। रोबोएभरेस्ट नाम दिएको उक्त रोबोटमा वाइपर र अर्को सानो मोटर प्रयोग गरिएको छ।  यसैगरी जनकपुरस्थित धनुषा साइन्स क्याम्पस कक्षा १२ मा अध्ययनरत कृष्णकुमार मण्डलले यसै वर्ष रूसी एस फोर के टुएल्भ नामक रोबोट प्रदर्शनमा ल्याए।

सोलार पानीजहाज

पुल्चोक इन्जिनियरिङ कलेजले माघ २३ र २४ गते राजधानीको पुल्चोकमा आयोजना गरेको राष्ट्रव्यापी प्रतियोगितात्मक विज्ञान प्रदर्शनीमा चितवनका रिजन काफ्ले तथा निसान तिमिल्सिनाले सोलारबाट चल्ने पानीजहाजको सफल प्रदर्शन गरे।

चार अनुसन्धानन केन्द्र निर्माण हुने

यसै वर्ष सरकारले विज्ञान तथा प्रविधि क्षेत्रका विभिन्न चारवटा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गर्‍यो। सरकारले अघि सारेका त्यस्ता योजनामा नेसनल बायोटेक्नोलोजी सेन्टर, नेसनल न्युक्लियर टेक्नोलोजी सेन्टर, नेसनल स्पेस टेक्नोलोजी सेन्टर तथा नेसनल नानोटेक्नोलोजी सेन्टर छन्। ती योजनामध्ये आणविक ऊर्जा उत्पादन गर्ने उद्देश्यले स्थापना हुन लागेको नेसनल न्युक्लियर टेक्नोलोजी सेन्टर सबैभन्दा महत्वाकांक्षी योजना हो। अन्तरिक्षमा नेपालको आफ्नो छुट्टै स्थान सुरक्षित गर्न, स्याटेलाइट दूरसञ्चारलाई सम्भव बनाउने उद्देश्यले नेसनल स्पेस टेक्नोलोजी सेन्टरको अवधारणा अघि सारिएको हो।

टेलिफोनबाट बत्ती बाल्न र निभाउने प्रविधि

यसै वर्ष कैलालीका एक विद्यार्थीले टेलिफोनकै भरमा बत्ती बाल्न र निभाउन सकिने प्रविधि विकसित गरेको दाबी गरे। भेरी प्रविधिक शिक्षालय नेपालगन्जमा इलेक्टि्रकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत् सुमन पौडेलले ‘काइँचो युनिभर्सल स्विच’ बनाएका हुन्। पौडेलका अनुसार सीमकार्डमा सिस्टम जडान गरेपछि फोनकै भरमा बत्ती अन र अफ गर्न सकिन्छ।  

अल्ट्रालाइटको निर्माण

लमजुङको कुशमाकर उच्च मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी रदिप खानले यसै वर्ष अल्ट्रालाइट विमान निर्माण गरे। नेपालमै उत्पादन भएका स्वदेशी सामग्री प्रयोग गरी २४ वर्षीय खानले अल्ट्रालाइट विमानको निर्माण गरेका हुन्। खानले आफ्नी आमाको औषधोपचारका लागि छुट्याइएको १५ हजारबाट अल्ट्रालाइट विमानको निर्माण सुरु गरी ५० हजार खर्च गरिसकेको बताए।

‘कम्युनिटी रेस्क्यु साइरन प्रणाली’

नुवाकोटका दाजुभाइ राम र लक्ष्मण रिमालले आविष्कार गरेको ‘कम्युनिटी रेस्क्यु साइरन प्रणाली’ व्यावहारिक प्रयोगमा आयो। उक्त साइरन प्रणाली अहिले धेरैको ज्यान र धन जोगाउने उपयुक्त माध्यम बनेको मात्र नभई प्रहरीको सहयोगीसमेत बन्नपुगेको छ। रिमाल दाजुभाइले विश्वमा नौलो मानिएको यो प्रणालीको विश्वव्यापी ‘पेटेन्ट राइट्स’ पनि पाएका छन्।

नेपालकै पहिलो पर्यावरणीय सूचना केन्द्र

नेपालमै पहिलो पर्यावरणीय सूचना केन्द्र दाङमा निर्माण गरिने भएको छ। वन, वातावरण, पर्यावरण, जैविक विविधता आदि क्षेत्रमा काम गर्दै आएको संस्थाले राप्ती अञ्चलका पर्यावरणको अभिलेखसहितको सूचना केन्द्र स्थापना गर्न लागेको हो। करिब १७ लाख रुपैयाँको लगानीमा हेमन्तपुर विजौरीमा केन्द्रको भवन निर्माण भैरहेको छ। सूचना केन्द्रमा राप्ती अञ्चलको उचाइ र तापक्रमअनुसारको पर्यावरण, जीवजनावर, बोट बिरुवा, जैविक विविधता, पशुपन्छी आदिको अभिलेख राखिनेछ।

पहिलो राष्ट्रिय चिकित्साशास्त्र सम्मेलन

नेपालमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूको पहिलो राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भयो। देशभरका १४ वटा मेडिकल कलेजका २ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको उक्त सम्मेलनले ‘स्वास्थ्य नेपाल हाम्रो जिम्मेवारी, टुगेदर फर चेन्ज भन्ने नारा दिएको छ। उक्त सम्मेलन नेपालमा चिकित्साशास्त्रको अध्ययन सुरु भएको ३५ वर्ष पुगेपछि मात्र सम्भव भएको हो।

धिमालहरूको जात्रि पर्व शुरू

तेजन खड्का

नयाँ वर्षको पूर्वसन्ध्यामा झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने धिमालहरू आफ्नो मुख्य चाड जात्री पर्व मनाउने तयारीमा छन्। हरेक वर्षको वैशाख २ गते धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्रीपर्व मनाइन्छ। ग्रामथानमा हाँस, कुखुरा, सुँगुर आदिको बलि दिएपछि जात्री पर्व प्रारम्भ हुन्छ। भोगटेनीबाट सुरु भएपछि धिमाल बस्तीका टोलटोलमा यो पर्व पुग्छ। प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बालीबिरुवा लगाउने बेला वर्षा होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्छन्।

नयाँ वर्षमा दमक र बाहुनडाँगी

विष्णु सुब्बा

 नववर्ष २०७१ को पहिलो दिन दमकमा युथ फर ब्लड, पढ्ने घरले संयुक्त रूपमा सांगीतिक कार्यक्रम गर्ने तयारी गरिएको छ। दमकमा हुने उक्त सांगीतिक कार्यक्रममा गायक डम्बर नेपाली, बाबु बोगटी आदि कलाकारले प्रस्तुति दिनेछन्। यसैगरी, बाहुनडाँगी जेसिज र फाइभ स्टार युथ क्लको संयुक्त आयोजनामा झापाको बाहुनडाँगीस्थित भृकुटीमा बृहत् सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ। स्थानीय कलाकारहरूको खोजी तथा संस्थाको अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा पूर्वाञ्चलका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ।

Source : http://www.ekantipur.com/saptahik/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s