नयाँ वर्ष र नयाँ जीवन

– यो बोट-बिरुवाले पनि रूप फेर्ने मौसम हो।

– यो बिरुवा पाउलिनुका साथै धेरै जातका फूल फुल्ने मौसम पनि हो।

– नयाँ वर्षको प्रारम्भमा प्रकृतिको स्वरूपमा परिवर्तन भएजस्तै मानिसको स्वभाव एवं चिन्तनमा पनि परिवर्तन हुनु राम्रो हुन्छ।

– नयाँ वर्षको दिन जस्तो कर्म प्रारम्भ गरिन्छ, वर्षभरि नै त्यसको प्रभाव रहन्छ।

– पछि पछुतो नहुने, मन प्रफुल्लित हुने र आत्मसन्तुष्टि हुने खालको कर्म गर्नुपर्छ।

– नयाँ वर्ष मनाउने नाममा अनावश्यक खर्च तथा गलत भोजन नगरी ऋतुअनुकूल, हितकारी भोजन गर्नुपर्छ।

– भनिन्छ, जस्तो खायो अन्न, त्यस्तै हुन्छ मन, जस्तो खायो रस, त्यस्तै हुन्छ वचन। त्यसैले मन र वचनलाई पवित्र बनाउने खालको आहारका साथ साथीभाइहरूबीच रमाइलो गर्नुपर्छ।

– नयाँ वर्षको हरेक क्षणको छाप मस्तिष्कमा परिरहने हुनाले शुभ संकल्प गर्नुपर्छ कि— मेरा हरेक दिन, हर क्षण सकारात्मक कर्ममा लगाउनेछु।

– प्रशस्त गुराँस फुल्ने मौसम हो यो। यतिबेला सबैको जीवन गुराँसजस्तै गुणकारी र सुन्दर होस् भन्ने कामना गर्न सकिन्छ।

– फूलजस्तै सुवासित र आकर्षक बनोस् सबैको जीवन।

– असल विचार, असल आचार र असल व्यवहारका साथ असल संसार बनोस्— नयाँ वर्ष २०७१ को हार्दिक मंगलमय शुभकामना।

इभ सेलिब्रेसन

–    चालू वर्षको बिदाइ र नयाँ वर्षको आगमनलाई स्वागत गर्न विशेष योजना बनाउन सकिन्छ।

–    कार्यक्रमका लागि घर वा पायक पर्ने स्थान उपयुक्त हुन्छ।

–    आगन्तुक पाहुनाको सूची तयार गरी आवश्यक सामग्री जोहो गर्नुपर्छ।

–    पाहुना आउनुअघि नै खानेकुरालगायत बत्ती, म्युजिक आदिको व्यवस्था मिलाउनुपर्छ।

–    बालबालिकाका लागि खेल्ने छुट्टै व्यवस्था गर्न सकिन्छ।

–    कति समयसम्म रमाइलो गर्ने ? समय निर्धारण गर्नु उपयुक्त हुन्छ।

शुभकामना साटौं

–    आफ्नो मित्रतालाई थप प्रगाढ बनाउने एउटा वहाना हो नयाँ वर्ष। त्यसैले यो अवसरमा शुभकाना आदानप्रदान गरौं।

–    प्रत्यक्ष भेटघाट गर्ने मेसो मिलाएर शुभकामना आदानप्रदान गर्नु प्रभावकारी हुन्छ।

–    घर वा पायक पर्ने स्थानमा सानोतिनो जमघटको कार्यक्रम तय गर्न सकिन्छ।

–    प्रत्यक्ष भेटघाट गर्न नसकेको अवस्थामा फोन, एसएमएसजस्ता भर्चुअल माध्यम अपनाउन सकिन्छ।

–    सहपाठीहरूसँग मात्र होइन, आफ्ना नातेदार, पति-पत्नी एवं छोराछोरीबीच पनि शुभकामना आदानप्रदान गर्नुपर्छ।

न्यू इयर डे्रसअप

–    आफ्नो व्यक्तित्वअनुरूप पहिरन छनौट गर्नुपर्छ।

–    हल्का एवं आरामदायक पहिरन लगाउनुपर्छ। जस्तो— कुर्ती, लेगिङ्स आदि।

–    साडी लगाउने हो भने प्लेन बोर्डरयुक्त साडी उपयुक्त मानिन्छ।

–    धेरै एक्सपोज गर्ने पहिरन लगाउनु राम्रो मानिँदैन।

–    र्फमलभन्दा पनि क्याजुअल पहिरन उपयुक्त हुन्छ।

गिफ्ट आइडियाज

–    कुनै पनि अवसरमा आदान-प्रदान गरिने उपहारले विशेष महत्त्व राख्छ। अतः नयाँ वर्षका अवसरमा पनि त्यस्तै उपहार साट्न सकिन्छ।

–    सम्बन्धित व्यक्तिको सु-स्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना गर्दै बुके, चकलेट वा कुनै पनि आइटम उपहार दिन सकिन्छ।

–    उपहारका रूपमा पुस्तक प्रदान गर्न सकिन्छ।

–    कसलाई दिने हो, उसको रुचि ख्याल गरेर सोहीअनुरूप उपहार खरिद गर्नु उपयुक्त हुन्छ।

मदिरा पिउनुअघि

–    रमाइलो गर्ने बहानामा धेरैले मदिरा पिउँछन्। यद्यपि पिउनुअघि केही कुरामा सतर्क हुनुपर्छ।

–    पिउनुअघि यस्तो मानसिकता बनाऔं कि धेरै नपिइयोस्।

–    कति पिउने हो ? मात्रा निर्धारण गरौं।

–    पिउनुअघि प्रशस्त पानी पिउनुपर्छ।

–    मदिरासँग स्न्याक्समा चिल्ला खानेकुराभन्दा फलफूल एवं गि्रन सलाद बढी लाभदायक हुन्छ।

–    मदिरा पिउने क्रममा पर्याप्त पानी पिउनुपर्छ।

न्यू इयर रिजोलुसन

–    तालिका बनाएर नियमित व्यायाम गर्नुपर्छ।

–    अघिल्लो वर्ष भएका गल्ती-कमजोरी सच्याएर अघि बढ्ने प्रण गर्नुपर्छ।

–    आफ्नो कार्यसम्पादनलाई चुस्त बनाउने उपायको खोजी गर्नुपर्छ।

–    स्वास्थ्यवर्द्धक खानपानलाई प्राथमिकता दिनुपर्छ।

–    हरेक बिहान ब्रेकफास्ट खाने बानी गर्नुपर्छ।

–    धैरै जनासँग मित्रता कायम गर्न सकिन्छ।

–    परिवारका निम्ति पनि समय निकाल्नुपर्छ।

लाहुरे टिप्स : आवेदनका लागि कहाँ जाने

पूर्वका युवाले बि्रटिस गोर्खा धरान (पुरानो घोपा क्याम्प) र पश्चिमका युवाले बि्रटिस क्याम्प पोखरा गएर आवेदन दिन सक्छन्। आवेदन आगामी जेठ १४ देखि असार २४ सम्म तोकिएको छ। विस्तृत जानकारीका लागि http://www.army.mod.uk/bgn वा नजिकको बि्रटिस वेलफेयर कार्यालयमा सम्पर्क गर्न सकिन्छ। तालिम सेन्टरको सल्लाह लिँदा अझ राम्रो हुन्छ।

 

 

नयाँ वर्ष २०७१ कसरी मनाउने योजनामा हुनुहुन्छ ?

जापानका नेपालीहरूसँग मस्त नाच्दै-गाउँदै नयाँ वर्षलाई स्वागत गर्ने योजनामा छु। नेपाली कलाकारहरू र आप्रबासी नेपालीहरूबीच शुभकामना आदान-प्रदानलगायतका गतिविधि हुनेछन्, सबैलाई नयाँ वर्षको उल्लासमय वातावरणमा सांगीतिक मनोरञ्जन प्रदान गर्नेछु। कोमल वली, गायिका

रामकृष्ण ढकाल साँझ र एनटिभी नाइटमा आफ्नो प्रस्तुति दिएर घरपरिवारका साथमा नयाँ वर्ष मनाउने र वैशाख १ गते कुनै मन्दिर गएर भगवान्को दर्शन गर्ने।

        – जितु नेपाल, हास्यकलाकार

डिजेको काम भनेकै मानिसहरूलाई यस्तो विशेष दिनमा भरपुर रमाइलो गराउने भएको हुनाले यो नयाँ वर्षमा पनि विगतमा झैं कार्यक्रममा उपस्थितहरूलाई नचाउनेछु। यसपटक नायिका रिमा विश्वकर्मा, गायिका आस्था राउतका साथमा नेपालगन्जको कार्यक्रममा सहभागी हुन पाएकाले अत्यन्तै खुसी छु।

        – डिजे शिशिर

यसपटक नयाँ वर्ष बेलायतमा मनाउने भएको छु। सांगीतिक कार्यक्रमका सिलसिलामा बेलायत आइपुगेको छु। यहाँ करिब १ दर्जन कार्यक्रममा सरिक हुन्छु।

        – बद्री पंगेनी, लोकगायक

यसपटकको न्युइयर इभमा फ्यामिली टि्रप जाने प्लान छ। नयाँ वर्षको बेला भक्तपुरमा बिस्केट जात्रा हुन्छ, जात्रा हेर्न जाने, भोज-भतेर खाँदै मस्ती गर्ने योजना छ।

        – रूपेश श्रेष्ठ, समाचारवाचक

यसपटकको नयाँ वर्षमा सुटिङमै व्यस्त रहन्छु। १ गते बुटवल जाँदैछु, सबै फ्यामिली मेम्बर जम्मा हुँदैछौं। यसपटक बहिनीको विवाह पनि हँुदैछ, त्यसैले धेरै पछि हामी परिवारका सबैजना एक ठाउँमा हुनेछौं। त्यहीँ नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्दै रमाइलो गरी मनाउनेछौं।

        – नन्दिता केसी नायिका

म यसपटक जापानका नेपालीहरूसँग हास्यव्यंगका साथमा रमाइलो गर्दै नयाँ वर्षको शुभकामना आदान-प्रदानमा व्यस्त रहन्छु। त्यस्तै नृत्य, दोहोरी एवं हास्य कलाकार साथीहरूसँग पनि नयाँ वर्ष मनाइनेछ।

        – मनोज गजुरेल, हास्यकलाकार

कार्यक्रमको सिलसिलामा म र दीपकजी बर्मा आइपुगेका छौं। रंगुनमा हाम्रो कार्यक्रम हेर्न आउनुभएका नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूका साथमा नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्दैछौं।

        – दीपाश्री निरौला, कलाकार

यसपटक नयाँ वर्षको खासै योजना बुनेकी छैन। केही कार्यक्रममा सरिक हुन्छु, त्यसपछि घरपरिवारका सदस्यसँग रमाइलो गर्दै नयाँ वर्षलाई स्वागत गर्नेछु।

        – मञ्जु पौडेल, गायिका

सकेसम्म धेरै कार्यक्रममा पुगेर नयाँ वर्ष सेलिब्रेट गर्ने योजनामा छु। हालै मात्र बेलायतबाट फर्किएको छु। हाम्रो आफ्नो नयाँ वर्ष त भव्य रूपमा मनाउनुपर्‍यो नि।

        – सुजन रेग्मी, मोडल

चलचित्र प्रोड्युसरको प्रदर्शनका लागि कतार पुग्नेछु। त्यहीँ नयाँ वर्षको शुभकामना आदान-प्रदान गरिनेछ। आउने वर्ष साथी किरण नागिलासँग मिलेर फिल्म बनाउने तयारीमा छु।

        – श्याम अर्याल, नायक

खासै नयाँ योजना त छैन र पनि २-४ वटा कार्यक्रम गर्दैछु। परिवार र साथीहरूसँग रमाइलो गर्दै भविष्यका लागि केही महत्वपूर्ण योजना बनाउने छु।

        – अंशु महर्जन, हात्ती कलाकार

यसपटक नयाँ वर्षका लागि उल्लेखनीय योजना बनाइएको छैन्। नयाँ वर्षको आगमनसँगै केही महत्वाकांक्षी योजनाका निम्ति पर्याप्त तयारी गर्नुपर्नेछ। नयाँ वर्षको दिन म कोलकातामा हुन्छु। त्यहाँका साथीहरूसँग नयाँ वर्ष मनाउनेछु।

        – नील डेभिड, हेयर स्टाइलिस्ट

नयाँ वर्षको दिन गजुरी घर जान्छु। परिवारका सबैसँग बसेर नयाँ वर्ष मनाउने योजना छ।

        – रेजिना उप्रेती, नायिका

नयाँ वर्ष परिवारसँग मनाउनेछु। अपेक्षाअनुरूप भए काठमाडौंबाहिर गएर नयाँ वर्षलाई स्वागत गर्ने योजना छ।

        – सन्दीप क्षेत्री, अभिनेता

नयाँवर्षमा चितवनमा कन्सर्ट छ। त्यसपछि परिवारसँग रमाइलो गर्ने सोच छ।

        – आगन्तुक खरेल, गायिका

नयाँ वर्ष यसपटक केही फरक हुनेछ। मेरो र आर्यन सिग्देलको फ्रेन्डसिप रियल लाइफबाट रिल लाइफमा पनि जाँदैछ, त्यसकै तयारीमा छु। चलचित्र अलविदाको पूरै टिमका साथ यो नयाँ वर्षलाई स्वागत गर्नेछौं।

        – हसन खान, नायक

सधैंभन्दा फरक किनभने यसपटक मेरो चलचित्र नागबेली पनि सँगै हुन्छ, जसको प्रोमोसनमा अहिलेदेखि लागिरहेको छु।

        – गोविन्द राई, नृत्य निर्देशक

यसपटक चलचित्र अधकट्टीको छायांकनमै व्यस्त हुन्छु, त्यहीँ नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्नेछौं।

        – गौरव, पहारी नायक

नयाँ वर्ष २०७१ मेरा लागि विशेष हुनेछ, नयाँ वर्ष २०७१ नेपाली सौन्दर्यप्रतियोगिताको इतिहासमै पहिलोपटक इ प्लानेटको सह-आयोजनामा गरिन लागेको मिस हेरिटेज इन्टरनेसनलको तयारीमा बित्नेछ।

        – सन्तोष सापकोटा, इभेन्ट म्यानेजर

संकल्प-२०७१

अविरल थापा

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न सक्ने क्षमता हुन्छ। नेतृत्वतहमा बाटो देखाउन सक्ने क्षमताको अभावका कारण आज हरेक दिन देशका १ हजार ५ सयभन्दा बढी युवा सुरक्षित भविष्यको खोजीमा बिदेसिन्छन्। त्यसैगरी पढ्न र उतै भविष्य बनाउन पनि दैनिक सयौं युवा बिदेसिइरहेका छन्। किन हाम्रा युवाहरू बाहिर गएर जे गर्न पनि तयार हुन्छन् तर यहाँ काम गर्न हिचकिचाउँछन् ? के हाम्रो संस्कार, शिक्षा एवं लालनपालनमै समस्या छ ? कुनै पनि सिप सिकेर आफनै गाउँसहरमा २५-३० हजार रुपैयाँ कमाउन सकिने धेरै सम्भावना तथा क्षेत्रहरू छन् तर त्यसका लागि समाजमा सम्मानजनक वातावरण छैन। युवाहरूको पलायनले समाजमा बढ्दै गएको विग्रह, पारिवारिक जीवनमा बढ्दै गएको असन्तुलन, समाजमा बढ्दै गएको क्लेश र विकृति, हराउँदै गएको संवेदनशीलता एवं व्यक्तिवादिताले समग्र समाजकै स्वास्थ्य बिगि्ररहेको छ। समाजमा हरेक कुरालाई पैसाकै तुलोले जोख्न थालिएको छ जसले व्यक्ति, परिवार एवं समाजलाई नै भ्रष्ट बनाइरहेको छ। सोच नै भ्रष्ट हुनु र नियत नै खराब हुनु समाजमा भएको डरलाग्दो र्‍हास र ठूलो क्षति हो, जसको पूर्ति कुनै मूल्यले हुन सक्दैन। यो समाज र देशको दिगो एवं समतामूलक विकासका निम्ति कुन-कुन तहबाट हामी के-के गर्न सक्छौ र कुन-कुन क्षेत्रमा कस्ता अवसर अनि सम्भावना छन् ? जसको सुरुवात २०७१ बाटै गर्न सकिन्छ।

व्यक्तिगत तह

समाज बदल्ने हो भने हरेक व्यक्तिमा सकारात्मक भावना आउनु आवश्यक छ। हरेक नागरिकको सोच स्वच्छ एवं परोपकारी हुनु अपरिहार्य छ। स-साना कुरा गरेर पनि समाजमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। ट्राफिक नियम प्रहरीका लागि होइन, हाम्रै सुरक्षाका लागि हो भन्ने कुरा मनन गरी त्यसको इमान्दारितापूर्वक पालन गर्न सकिन्छ, जथाभावी फोहर नगर्न सकिन्छ, ऊर्जाको दुरुपयोग रोक्न सकिन्छ, झूट नबोल्न सकिन्छ, भ्रष्टाचार नगर्न र नगराउन सकिन्छ, वृक्षारोपण गरेर वा समाजसेवा गरेर जन्मदिन मनाउन सकिन्छ, राम्रो अध्ययन गरेर आत्मनिर्भर नभै परिवारलाई निजी सवारी साधनलगायतका अन्य सुविधाका लागि बाध्य नबनाउन सकिन्छ, स्वस्थ रहने कर्म गर्न सकिन्छ। अरूलाई देखाउन होइन, आफैप्रति इमान्दार रहुँदै आत्मशुद्धीकरण गर्न सकिन्छ, जसले हाम्रो समग्र जीवनमै सकारात्मक प्रभाव पार्छ। हामी विद्यार्थी, शिक्षक, डाक्टर, नेता, कर्मचारी, प्रहरी, खेलाडी जे-जे हो त्यो-त्यो कर्म इमान्दिारितापूर्वक गर्न सक्छौं र केही नभए पनि इमान्दार नागरिक र मानिस भएर पनि योगदान दिन सक्छौ। हरेक मानिसमा आत्मजागरण र चेतना आए मात्र परिवर्तन सम्भव छ। प्रत्येक नागरिकले विदेश जाँदा राजदूतको भूमिका निर्वाह गर्न र पर्यटनको प्रचारप्रसार गर्नसक्छन्। विरोधका सिर्जनात्मक विकल्पहरू सोच्नुपर्छ। सार्वजनिक सम्पति र धरोहरको रक्षा गर्नु हामी सबैको कर्तव्य हो र हाम्रो व्यवहारले नै वर्तमान नेपालको सभ्यताको परिचय दिन्छ।

पारिवारिक तह

हामीले सानैदेखि जे सिक्दै गयौं त्यस्तै हुँदै जान्छौं। हामी परिवारभित्र एउटा आचारसहिंता बनाउन सक्छौं र त्यही अनुसार व्यवहार चलाउन सक्छौं र घरपरिवारलाई अनुशासित एवं मर्यादित बनाउन सक्छौं। हामी छोराछोरीलाई समान अवसर दिएर विना भेदभाव हुर्काउन सक्छौ। सानैदेखि छोराछोरीलाई समानखालका काम गर्न सिकाइ, समान व्यवहार देखाएर दुवै बराबर हुन भन्ने भावना विकसित गराउन सक्छौं जसले एउटा चरणमा पुगेर समतामूलक समाज निर्माण गर्नेछ। सानैदेखि नैतिक शिक्षा सिकाउने, दान एवं परोपकारको महत्त्व बताउने, सीप सिकाउने, श्रम गर्न सिकाउने, पढेर जागिरमात्र खाने होइन उद्यमशील पनि बन्नुपर्छ र कुनै काम सानो ठूलो हुँदैन भन्ने कुरा सिकाउने, ठूलो होइन असल मानिस बन्न प्रेरित गर्ने, सबै जात, धर्मका मानिस समान हुन् भनी सिकाउने जसले ठूलो चेतना र मानसिक क्रान्ति ल्याउन सहयोग पुर्‍याउँछ। आफ्ना छोराछोरीलाई रोजेको विषय र क्षेत्रमै अघि बढ्न दिनुपर्छ, जसले उनीहरूको वृत्तिविकास हुन्छ र जुन क्षेत्रमा लागे पनि असल र इमान्दार हुन सिकाउँछ। छोराछोरीले पनि अध्ययन चलुन्जेल र आत्मनिर्भर नहुन्जेल अभिभावकको मार्गनिर्देशनको पालना गर्नु हितकर हुन्छ। निश्चित उमेर र शिक्षाको मापदण्ड निर्धारण गरेर जुनसुकै जात र धर्मको जीवनसाथी रोज्ने स्वतन्त्रता दिनुपर्छ र छोराछोरीको चाहनाको पनि उचित सम्मान गरी असल व्यवहार देखाउनुपर्छ। त्यसैगरी परिवारमा मनमुटाव हुन नदिन एक-अर्काको कुरा काट्नुको साटो आपसी छलफल गरी समस्या हल गर्नाले परिवार र समाजमा उत्पन्न हुने द्वन्द कम मात्र हुँदैन, मेलमिलाप र एकताको वातावरण पनि सिर्जना हुन्छ।

सामाजिक तह

जबसम्म हाम्रो मनमा हामी नेपाली बाहेक केही होइनौं, मानवताबाहेक हाम्रो अर्को धर्म छैन र मानिसबाहेक हाम्रो जात छैन भन्ने कुरा स्थापित हुन सक्दैन, तबसम्म हामी अघि बढ्न सक्दैनौं। व्यक्तिगत क्षमताका आधारमा सबैलाई समाज र राज्यका हरेक तहतप्कामा समान अवसर दिने संयन्त्र तयार गर्न सके मात्र समतामूलक समाज निर्माण हुनेछ। सामाजिक एकता, युवाहरूमा सकारात्मक सोच एवं राष्ट्रियताको भावना नभएसम्म देश विकासको कल्पना गर्न सकिँदैन। सामाजिक चालचलन र व्यवहारमा हुने तडकभडक रोक्न सके वा न्यूनीकरणमात्र गर्न सकेपनि ठूलो सामाजिक परिवर्तन सम्भव छ। विवाहगर्दा दाइजो लिनुदिनु निकृष्ट काम हो भनेर लज्जावोध गर्न सक्नुपर्छ, बरु त्यसको साटो शिक्षित र योग्य वरवधूको अपेक्षा राख्नु राम्रो हो। समाजमा उत्पन्न भएका समस्याहरूमा सामूहिक छलफल गरी त्यसको हल गर्ने तथा अन्य कामका लागि समेत सामाजिक सुधार समितिजस्ता संयन्त्र बनाइयो भने कसैले बोक्सीको आरोप पनि भोग्नु पर्दैन।

राष्ट्रिय तह

यो देश नेताले बिगारे भनेर सबैले दिनरात सरापेको सुनिन्छ, तर त्यस्ता नेताहरूलाई पाखा लगाउन चाहिँ हामी जनताले कति प्रयत्न गर्यौं त ? काम नगर्ने नेतृत्व किन फेरेनौं त ? नेतालाई दण्डित गर्ने, फेर्ने र सुधार्ने पनि हामी जनताकै काम हो जसका लागि विवेकको बिर्को बन्द गर्नुहुँदैन। यो देशमा किन स्वतस्फूर्त रूपमा उपभोक्ता आन्दोलन हुँदैन ? हामी किन सधंै दलको झन्डा मुनि मात्र आन्दोलन गर्छौ ? के हामी आफैं जागरूक हुनु आवश्यक छैन। दादागिरीको भरमा नेपाल बन्द भैरहँदा हामी किन सहन्छौं ? खाद्यान्न र इन्धनको मूल्य बढ्दा उपभोक्ताहरू स्वतन्त्र रूपमा किन एकजुट भै आन्दोलित हुँदैनन् ? नेताहरूले उचाले उचालिन्छौं, बसाले थेच्चारिन्छौं अनि नेताले देश बिगारे भन्नुको के अर्थ ? हामीले अब सबैभन्दा पहिले राजनीतिक दलको नेता बन्न चाहिने न्यूनतम मापदण्ड बनाउनु आवश्यक छ। त्यसमा पनि सांसद र मन्त्री बन्न चाहिने शैक्षिक योग्यता र अन्य गुणहरूका बारेमा खाका तयार गरी विस्तारै राजनीतिलाई शिक्षित र चरित्रवान्हरूको हातमा पुर्‍याउनुपर्छ। आज सुरु गरे केही वर्षमा सकारात्मक परिवर्तन आउनेछ। सरकारी छात्रवृतिमा अध्ययन गरेका चिकित्सक एवं अन्य जनशक्तिलाई अनिवार्य रूपमा कडाइका साथ देशसेवामा लगाउने र केही वर्ष ग्रामीण क्षेत्रमा काम गर्नैपर्ने संयन्त्र बनाउनु आवश्यक छ।

कहाँ-कहाँ छ अवसर ?

कृषि

कृषि एकदमै सम्भावना भएको क्षेत्र हो। यसमा युवाहरूले क्रान्ति नै ल्याउन सक्छन् तर यसमा हुनुपर्ने जति आकर्षण देखिँदैन। अब पढेका र परेका दुवै थरी युवा कृषि कर्ममा जुट्नुपर्छ। नेपालका बहुसंख्यक मानिसको मुख्य पेसा कृषि हो। देशको दुईतिहाइभन्दा बढी जनसंख्या कृषिमा संलग्न भए पनि खाद्यान्न अभाव बढ्दै गएको छ। पछिल्लो समय अन्न मात्र होइन अरू खाद्यवस्तुमा पनि परनिर्भरता बढ्दै छ। अहिले मासु, वनस्पति घिउ, तेलहन, तरकारी, दाल तथा फलफूलजस्ता खाद्यवस्तुको आयात उच्च छ। खाद्यवस्तुमा मात्र ८० अर्बभन्दा बढीको व्यापार घाटा छ। नेपालको निर्यात खाद्यवस्तु आयातको तुलनामा २० प्रतिशत पनि छैन।

 त्यसैले यो एकदम सुरक्षित क्षेत्र हो जसको बजार र नाफा दुवै सुरक्षित छ। खेतवारीमा फलाउनेदेखि लिएर बजारीकरणसम्म नै पढेका र परेका युवाहरूको सञ्जाल बनाई साझेदारीको अवधारणामा काम गर्न सके न कोही खाडी जान आवश्यक छ, न अन्त नै। सबैमा जित-जितको भावना आउँछ र आफ्नो कर्मप्रति गौरव गर्ने वातावरण पनि बन्छ। यसले लाखौं युवालाई देशमै रोक्न सक्छ। यसका लागि पढेका युवाहरूले नयाँ प्रविधि र ज्ञान लगाउने अनि श्रम गर्न सक्ने युवाले यही श्रम गर्ने अवधारणामा संयुक्त लगानी गर्न सकिन्छ। यसले उद्यमशीलता बढ्न गै रोजगारीसमेत बढ्छ र कृषिमा हामी आत्मनिर्भर पनि हुन सक्छौं।

खेलकुद

नेपालमा खेलकुदमा लाग्यो भने घर परिवार र समाजले नै छोराछोरी बिगि्रएको मान्छ। त्यस्तो सोच्नुको एउटै आधार छ-खेलकुदमा लागेर भविष्य सुनिश्चित छैन। हालै विश्वकप क्रिकेटमा नेपालको सहभागिताले अवसर र उचित व्यवस्थापन हुने हो भने युवाहरूले देशका निम्ति केही गर्न सक्छन् भन्ने कुरा देखाएका छन्। यसका लागि राज्यले सबै खेलका खेलाडीलाई खेल्ने मैदान, अन्य पूर्वाधारलगायत आवश्यक सुविधा उपलब्ध गराउनुपर्‍यो, जसले उनीहरूको भविष्यको सुनिश्चितता गर्न सक्नुपर्छ। राम्रा खेलाडी उत्पादन गर्ने हो भने प्रतिभा भएका खेलाडीलाई सानैदेखि उनीहरूको वृत्तिविकास र शिक्षाको जिम्मा लिई निर्धक्कसँग खेल्ने वातावरण निर्माण गर्नुपर्छ। राष्ट्रिय खेलाडीको हकमा तलब सुविधाका साथै पेन्सनको पनि व्यवस्था गरिनुपर्छ। खेलकुदले देशको नाम फैलाउनेदेखि लिएर पर्यटनमा पनि उत्तिकै सहयोग पुर्‍याउँछ भने देशलाई नै एकताबद्ध गरेर राख्छ। पारस खडका, दीपक विष्ट, संगीना वैद्य जस्ता खेलाडीहरू प्रत्येक वर्ष जन्मन सक्छन् र हाम्रा खेलाडीहरूले अन्त गएर खेलेर पनि कमाउने वातावरण बन्न सक्छ। यसले युवाहरूलाई अवसर त दिन्छ नै राष्ट्रप्रति प्रेम र दायित्ववोध पनि गराउँछ।

पर्यटन

युवाहरूका लागि अर्को अवसर पर्यटनमा पनि छ। आफ्नो ठाउँ र योग्यताअनुरूप आन्तरिक एवं बाह्य पर्यटनमा लगानी गर्न सकिन्छ। देशको भौगोलिक, सांस्कृतिकजस्ता अनेकन विशेषता उजागर गराउन सके नेपालको पहिचान त जोगिन्छ नै, पर्याप्त पैसा पनि कमाउन सकिन्छ। आफ्नै गाउँमा थोरै लगानी गरेर पनि पर्यटन व्यवसाय प्रारम्भ गर्न सकिन्छ। गाउँका स्थानीय खानेकुरा ख्वाउन सकिन्छ, संस्कृति, नाचगान आदि प्रदर्शन गरी पर्यटकहरूलाई आकषिर्त गर्न सकिन्छ। कम्तीमा हप्ताको एकदिन भए पनि नजिकका गाउँठाऊँ डुल्ने परम्परा बसाल्न सकिए पनि धेरैले रोजगारी प्राप्त गर्न सक्छन्। केवल सोच र कार्यान्वयनको खाँचो छ।

उद्यमशीलताका अन्य क्षेत्र

ठूलो लगानी गर्ने हैसियत युवाहरूमा हुँदैन र सुरुमै बैक एवं परिवारले विश्वास गर्न पनि गार्‍हो हुन्छ। यसका लागि युवाहरूको समूह बनाई पुँजी संकलन गरी उद्यम थाल्न सकिन्छ। चाहे चियापसल वा मम पसल नै किन नहोस्। विस्तारै काम विस्तार हुँदै गएपछि बैकहरूले पनि परियोजनाको सम्भाव्यता हेरी लगानी गरिदिन सक्छन् जसका लागि नेपाल राष्ट्र बैकले उचित नीति ल्याएर युवाहरूलाई प्रोत्साहित गर्न सक्छ। यसरी काम गर्दा जोखिम कम भएर व्यवस्थापन पनि राम्रो हुन्छ। यस्ता व्यवसायमा युवाहरूलाई अल्पकालीन रोजगारीको व्यवस्था गरी उनीहरूको सदुपयोग र प्रोत्साहन गर्न सकिन्छ। समाज र देशका लागि आवश्यक वाइरिङ, प्लम्बिङ, मेकानिकजस्ता सीप सिकेर युवाहरू एकजुट भै कार्यालय खोली आवश्यक क्षेत्रमा त्यसको व्यवस्थापन गरी रोजगारसहित व्यवसायी पनि बन्न सकिन्छ। युवाहरूले आईटीलगायत अन्य सेवामूलक काममा पनि एकजुट भै काम गर्न सक्छन् जसको विस्तार र व्यापार अन्तराष्ट्रिय रूपमै गर्न सकिन्छ। त्यसैगरी कला र मनोरञ्जनको क्षेत्रमा पनि धेरै युवाको आकर्षण छ।

हामीले के बुझ्नुपर्छ भने यो देश राजनीतिक खिचातानी र अव्यवस्थाले गर्दा थिलथिलो भएको कुरा सत्य हो, तर जहाँ हिलो हुन्छ त्यही कमल पनि फुल्छ। जहाँ समस्या हुन्छ त्यहीँ अपार सम्भावना पनि हुन्छ। खाँचो केवल व्यवस्थापनको हो। जहाँ गए पनि चुनौती त जिन्दगीका हरेक मोडमा हुन्छ। हार्ने र जित्ने, सफल र असफल हुने सम्भावना जहाँ र जहिले पनि बराबर हुन्छ। नेताले बनाएर मात्र यो देश बन्छ भनेर कुर्नु हुँदैन। असल नेता जन्माउने दायित्व पनि हाम्रै हो र खराव नेता फेर्ने पनि हामीले नै हो। राज्यबाट जागिर पाइएन भनेर निराश हुनुको साटो आफ्नै पौरखमा के गर्न सकिन्छ भनेर सोचौं र अघि बढौं, जसले गर्दा राज्य नै हाम्रो सोचसामु झुकोस्। जनता जागरुक, चेतनशील, नैतिकवान, शिक्षित एवं आशावादी भए भने नेता पनि त्यस्तै निस्कन्छन् र राज्य पनि विस्तारै त्यस्तै बन्छ। यो वर्ष सकारात्मक र सिर्जनात्मक तरिकाले अघि बढ्न सकौं, आगामी वर्षहरूदेखि हामी बिस्तारै हिँड्न र दौडन पनि सक्छौं। व्यक्ति, घरपरिवार, समाज अनि राष्ट्र नै जाग्न सक्यो भने क्रान्ति सम्भव छ- नयाँ वर्षको सबैलाई शुभकामना।

संकल्प वर्ष २०७१ का

विदुर खतिवडा

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए राष्ट्र बदलिन्छ। आज हामी समृद्धिका भोका छौं, त्यसैले जगबाटै समृद्धिको आधार खोजिनु आवश्यक छ। हामी गरिब भयौं, हामी पछाडि पर्‍यौं, हामी अघि बढ्न सक्दैनौं, यो देशको कहिल्लै विकास हुँदैन जस्ता नकारात्मक कुरा गर्ने र नागरिकको हैसियतमा आफू सामान्य नैतिकवान् पनि हुन नसक्ने जस्ता कुरालाई अब सधैंका लागि बाईबाई गर्नुपर्छ। एउटा असल मानिस बन्न कर्तव्यनिष्ठ, दायित्वबोध, इमान्दार र नैतिकवान हुनुपर्छ, यसका लागि आफूमा रहेका कमी-कमजोरी बुझेर त्यसलाई सच्याउनु आवश्यक छ।

पाँच वर्ष भयो, साप्ताहिकले परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ नयाँ वर्षको संकल्प प्रकाशन गर्न थालेको। मुलुक आफ्नै ढंगले चलिरहे पनि राष्ट्रको समृद्धिमा नागरिकको जिम्मेवारीले पनि उत्तिकै भूमिका खेल्छ। व्यक्तिले असल नागरिक भएर आफ्नो कर्म पूरा गर्दा पनि राष्ट्रलाई योगदान पुगिरहेको हुन्छ। हामी यो देश बन्दैन भन्दै आफैं केराको बोक्रा सडकमा फ्याँकिरहेका हुन्छौं। सडक किनारमा दिसा-पिसाब गर्छौं, फोहरका पोका फ्याँक्छौं। त्यही नेपाली चिल्ला विदेशी सडकमा फोहर गर्न हिचकिचाउने तर आफ्नो देशमा मनलाग्दो व्यवहार गर्ने।  यस्तो व्यवहार अब पनि नसच्चिए कहिले सच्चिने ?

समाज र राष्ट्रलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन एउटा व्यक्तिले नियमित रुटिन बनायो भने पनि धेरै सहयोग पुग्छ, हामी काममा भन्दा बढी अन्य कुरामा अलमलिरहेका हुन्छौं। संकल्पले व्यक्तिको जीवन, करियर र राष्ट्रविकासमा महत्वपूर्ण योगदान पुग्छ नै, घोषित प्रतिबद्धताका कारण व्यक्ति निर्देशित रूपमा चल्न बाध्य हुन्छ। यो वर्ष पनि विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने सेलिब्रेटीले आ-आफ्नो संकल्प जाहेर गरेका छन्, जसको उद्देश्य आमयुवालाई कुनै न कुनै संकल्प लिएर त्यसलाई पूरा गर्न प्रेरित गर्नु पनि हो।

राजेश पायल राई, गायक

–    संविधान नबन्दा देश अस्थिर राजनीतिमा रुमल्लिएको छ, त्यसैले संविधान निर्माणमा दबाब सिर्जना गर्ने काममा लाग्नेछु।

–    यो वर्ष गीतमा थप नयाँपन खोज्नेछु। ०७१ सालमा राईभाषाको एल्बम निकालेर ऐतिहासिक सांस्कृतिक पक्ष उजागर गर्नेछु।

–    जीवनकै महत्वपूर्ण कुरा, विवाह गर्छु। घरपरिवार र आफन्तहरूको दबाब पनि छ र उमेर पनि भएजस्तो लाग्छ।

शुभेच्छा भँडेल, फेसन डिजाइनर

–    डिजाइनर भएकाले अझ राम्रो डिजाइनमा ध्यान दिनेछु, महिला दिदी-बहिनीहरूका लागि सीपमूलक प्रोजेक्ट सञ्चालन गर्नेछु, जसअन्र्तगत महिला दिदी-बहिनीलाई हेन्डिक्राफ्ट सिकाएर घरमै बसेर काम गर्दै आन्दानी गर्ने बाटो खोज्ने प्रयास हुनेछ।

–    तीन जना बालिकाको पढाइ-लेखाइलगायत सम्पूर्ण जिम्मेवारी लिँदैछु।

–    सबैभन्दा ठूलो कुरा माया बाँड्नु हो, अरूलाई इन्स्पायर र इनकरेज गर्नेछु, अनि बुबा-आमा, बहिनी तथा भाइलाई सक्दो समय दिने प्रयास गर्नेछु।

हिमाल शर्मा, युवा नेता, एमाओवादी

–    अखिल क्रान्तिकारीको अध्यक्ष भएको नाताले यो वर्षको प्रारम्भमै राष्ट्रिय सम्मेलन सफल रूपमा सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गर्नेछु।

–    जनताको संघीय संविधान जारी गर्न पार्टी केन्द्रीय सदस्य एवं युवा शक्तिको हिसाबले सक्दो दबाब दिने एवं निर्धारित समयमा संविधान निर्माण गर्न भूमिका खेल्नेछु।

–    शैक्षिक बेरोजगारीको अन्त्य गर्न संविधानमै शैक्षिक अधिकारका निम्ति लविङ गर्नेछु।

किशोर पन्थ, सूचना प्रविधि विज्ञ

–    गुगल ग्लास लिने इच्छा छ। आममानिसका लागि उपलब्ध नगराइने गुगल ग्लास किन्ने प्रक्रिया प्रारम्भ गरिसकेको छु। नयाँ वर्षमा गुगल ग्लास लगाएर चस्मामार्फत नै मोबाइल फोनका सबै सुविधा प्रयोग गर्नेछु।

–    मेरो अफिस सिस्टमलाई स्मार्ट अफिसमा रूपान्तरण गर्नेछु। मोबाइल फोनबाटै नियन्त्रण हुने स्मार्ट अफिसका सबै गतिविधि जहाँ बसेर पनि अनुगमन गर्न मिल्छ। गर्मीको समयमा कार्यालय आउनुपुर्व नै एसी चलाउन मिल्ने, अफिसमा कसलाई प्रवेश गर्न दिने, अफिसमा भैरहेका सबै जानकारी पाइने सर्भर मोबाइल फोनमा राख्नेछु।

–    चार-पाँचवटा डि्रम प्रोजेक्टमा काम गर्ने सोच बनाएको छु। ती सबै प्रोजेक्ट ०७१ सालभित्र सञ्चालनमा आइसक्नेछन्।

गिरीश खतिवडा, र्‍यापर

–    उमेर बढ्दै गएको छ, त्यसकारण शरीरलाई फिट राख्न जिम जानेछु। हुन त म जाडोमा कम र गर्मीमा बढी जिम गर्छु, तर यो वर्ष जिम जाने कुरालाई निरन्तरता दिनेछु।

–    असल नागरिकका रूपमा आफ्नो परिचय स्थापित गर्न सक्दो प्रयास गर्नेछु। अझ बढी जिम्मेवार, गुड ह्युमन बिइङका रूपमा आफूलाई उभ्याउँछु। झूट बोल्दै नबोल्न तथा कसैलाई चिटिङ नगर्न प्रतिबद्ध रहनेछु।

–    फोन, इन्टरनेट, फेसबुक, गुगल, ग्याजेटजस्ता कुराबाट सकेसम्म टाढा रहँदै साथीभाइहरूसँगको प्रत्यक्ष भेटघाटमा ध्यान दिनेछु। सञ्चारका साधनले नजिक बनाइदिएजस्तो गरे पनि निकटस्थहरू टाढिएजस्तो अनुभूति भएको छ।

राधिका हमाल, लोकदोहोरी गायिका

–    यो वर्ष गीतमा नयाँ-नयाँ प्रयोग गर्नेछु। तीजका गीत धेरै गाएँ, यसपटक छानेर स्तरीय गीत मात्र गाउनेछु।

–    मैले पहिलेदेखि नै असहाय बालबालिकाहरूलाई सहयोग गर्दै आएकी छु, यो वर्ष पनि सहयोगको क्रमलाई निरन्तरता दिनेछु।

–    भोकल क्लास बीचमै छुटेको छ, यो वर्ष फेरि सुरु गर्नेछु।

रिमा विश्वकर्मा, नायिका

–    इन्टरनेटलाई भन्दा बढी साथीहरूलाई समय दिनेछु। दुई वर्षयता साथीहरूको निरन्तर गुनासो सुनेकी छु, त्यसैले सकेसम्म साथीभाइ र परिवारलाई समय दिन्छु।

–    मानिसको जीवन प्रगतिशील हुनुपर्छ, हरेक वर्ष नयाँ कुरा सिक्नुपर्छ भनेर केही सिक्दै आएकी छु, यो वर्ष ड्राइभिङ सिक्नेछु। क्लासिकल डान्सको कोर्स पनि गर्नेछु।

–    गत वर्ष अत्यधिक काम गरे, कामकै कारण आफ्ना लागि समय दिन सकिन्, यो वर्ष आफूलाई खुसी पार्ने काम गर्छु, कतै घुम्न निस्कने मन पनि छ।

प्रशान्त ताम्राकार, मोडल/कोरियोग्राफर

–    साप्ताहिकसँगको सहकार्यमा पपैया ग्लाम हन्टलाई सफल रूपमा सम्पन्न गर्नेछु। यो इभेन्टलाई नेपाली फेसन इन्डस्टीको आइकनका रूपमा स्थापित गर्ने प्रयास छ।

–    मेरो कोरियोग्राफीको २० औं वर्ष हो। त्यसैले यो शुभयात्राका क्रममा केही महत्वपूर्ण काम गर्दैछु। मेरो एन्टकोर स्टुडियोमार्फत युवाहरूलाई लक्षित गरेर प्रोफेसनल स्किल डेभलपमेन्ट सेमिनार चलाउँछु।

–    यो वर्ष मैले अभिनय गरेका तीन चलचित्र सार्वजनिक हँुदैछन्। मुखौटा र टाटा बाइबाईको प्रवर्द्धन नयाँ वर्षसँगै प्रारम्भ हुनेछ। फिल्मी करियरलाई अझ बलियोसँग स्थापित गर्नेछु।

हेमा मानन्धर, इभेन्ट अर्गनाइजर

–    आर्थिक रूपमा कमजोर बालबालिकालाई अध्ययनका निम्ति वातावरण निर्माण गरिदिन आर्थिक सहयोग गर्नेछु।

–    साथीभाइहरूले धेरै रिसाउँछे भन्छन्, यो वर्षदेखि कम रिसाउनेछु।

–    विगतका गल्तीहरूबाट सिकेर आगामी दिनहरूमा राम्रो मात्र गर्ने प्रयास गर्नेछु।

पार्वती राई, मोडल/डान्सर

–    यो वर्ष नृत्यविधामा फरक एवं सिर्जनात्मक क्षमता प्रदर्शन गर्नेछु। कुशल नृत्यांगनाका रूपमा आफूलाई स्थापित गर्न अझ अभ्यास गर्नेछु।

–    मलाई आफ्नै जातीय विषयको चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्ने इच्छा छ, त्यसका लागि तयारी पनि भैरहेको छ। उक्त चलचित्रको निर्देशनका लागि भूषण दाहाल वा आलोक नेम्वाङसँग कुरा गर्नेछु। मलाई उहाँहरूसँग काम गर्ने इच्छा छ।

–    म भगवान्मा आस्था राख्छु। भगवान्ले तिमी सोच म पुर्‍याउँछु भन्छन्, त्यसैले नयाँ क्षेत्रमा पनि आफूलाई उभ्याउने प्रयासमा लाग्नेछु।

सञ्जय गुप्ता, आरजे/ मोडल

–    आफूलाई स्वस्थ राख्दै शारीरिक रूपमा चुस्त देखिने कुरामा विशेष ध्यान दिनेछु। शरीरको ख्याल राख्नेछु।

–    भ्रमण मेरो रुचिको विषय हो, त्यसैले यो वर्ष नेपालभित्र र नेपालबाहिरका एक-एक स्थान घुम्न जानेछु।

–    मेरा खराब बानी र संगत त्यागेर वर्ष ०७१ देखि सकारात्मक सोचका साथ काम गर्नेछु। सामाजिक सेवाका क्षेत्रमा पनि केही गर्ने इच्छा छ।

केकी अधिकारी, नायिका

–    फेसबुकले एकदमै समय नष्ट गरिरहेको अनुभूति भएको छ, त्यसैले यो वर्षदेखि सक्दो कम फेसबुक चलाउँछु।

–    यो वर्षदेखि मेरो अध्ययन गर्ने बानी पनि सुधार्नु छ। पहिले-पहिले निकै पुस्तक अध्ययन गर्थें, तर बीचमा कम भएको छ, त्यो बानी फेरि बसाउनु छ।

–    मैले भर्खरै एमबीए पूरा गरें, अब पूर्ण रूपमा करियरमा केन्दि्रत हुनेछु।  

घिमिरे युवराज रंगकर्मी, निर्देशक

–    न्यूनतम दुईवटा नयाँ नाटक निर्देशन गर्नेछु, एउटा नाटक आफैं लेख्छु अर्को कुनै सर्जकको लिनेछु।

–    यो वर्ष एउटा लामो यात्रामा निस्कनेछु। त्यो सम्भवतः नेपालबाहिरको यात्रा हुनेछ।  

–    राज्यलाई गाली गरेर वा अरूको कुरा काटेर बस्दिनँ।

रञ्जित आचार्य, विज्ञापन व्यवसायी

–    संकल्प गर्ने बानी त छैन, तर पनि गत वर्ष मैले १५ हजार नेपाली युवामा सकारात्मक सोच विकास गर्ने लक्ष्य लिएर अभियान चलाएको थिएँ। आफ्नै खर्चमा विभिन्न स्थानमा पुगेर उक्त कार्यक्रम सम्पन्न गरें। यो अभियान १३ हजारमाझ पुग्यो। आगामी वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिनेछु।

–    गत वर्ष हिन्दी गीतको एल्बम सार्वजनिक गरेको थिएँ। यो वर्ष मेरो रचनामा सकारात्मक सोचका गीतहरूको सन्देशमूलक एल्बम सार्वजनिक गर्नेछु।

–    सांगीतिक प्रतिभा जन्माउने रियालिटी शो ‘नेपाली तारा’ दुई सिजन सफल रूपमा सम्पन्न भएर त्यसपछि स्थगित भयो, यो वर्ष नेपाली तारा-३ लाई पुनः सञ्चालन गर्नेछौं। त्यसका लागि प्रायोजकहरूसँग कुराकानी भैसकेको छ।

आश्मा डिसी, भिजे

–    छिटो रिसाउने बानी छ। आगामी वर्षदेखि यो बानी पूर्ण रूपमा हटाउँछु।

–    उत्कृष्ट टेलिभिजन कार्यक्रम बनाउँछु। टुहुरा बालबालिकासम्बन्धी संस्थ्ााहरूमार्फत सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहनेछु।

–    परिवार एवं आफ्नाहरूलाई सकेसम्म बढी समय दिनेछु।

सीताराम पोखरेल, गायक

–    २०७१ सालमा गीतिसंग्रह सम्मान-२ सार्वजनिक गर्नेछु।

–    मन अझै तरुनो छ, त्यसैले यसलाई तरुणै कायम राख्छु।

–    सामाजिक सेवाको क्षेत्रमा पनि क्रियाशीलता बढाएको छु। आगामी वर्ष सामाजिक क्षेत्रमा अझ महत्त्वपूर्ण काम गर्छु।

सुमित मैनाली, व्यवसायी

–    वि.सं. २०७१ मा मेरो मल्टिप्लेक्स चलचित्र भवन सुरु हुँदैछ। यसलाई नेपालकै उत्कृष्ट चलचित्र भवनका रूपमा स्थापित गर्न पहल गर्नेछु। यस्तै आफ्नो गाइफार्मलाई उत्पादनमुखी बनाउँदैछु।

–    कृषिबाट आएको आम्दानीको एक हिस्सा कुनै सामाजिक संस्थामार्फत समाजसेवामा लगाउनेछु, विशेष गरी कृषकहरूकै हितमा।

–    फिटकिरीपछि २०७१ सालभित्र एउटा राम्रो चलचित्र बनाउनेछु। जुन चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा नेपालको परिचयलाई अझ प्रगाढ बनाओस् भन्ने चाहना छ।

सौगात मल्ल, नायक

–    राम्रा चलचित्रमा अभिनय गर्न मन छ, आशा गरौं त्यो इच्छा यो वर्ष पूरा हुनेछ। दर्शकलाई स्तरीय चलचित्र दिन आफ्ना तर्फबाट सक्दो योगदान दिनेछु।

–    अन्तर्राष्ट्रिय स्तरका चलचित्र सकेसम्म धेरै हेर्नेछु। त्यस्तै पुस्तक अध्ययनका लागि पनि पर्याप्त समय निकाल्नेछु।

–    सम्भव भएसम्म नाटकमा अभिनय गर्नेछु। थिएटरका लागि विशेष समय छुट्याउनेछु।

सागर थापा, कप्तान, राष्ट्रिय फुटबल टिम

–    वर्ष २०७० मा म आबद्ध भएको मनाङ-मस्र्याङ्दी क्लब लिगविजेता भयो। वि.सं. २०७१ मा पनि मनाङलाई लिग च्याम्पियन बनाउनेछु। टिमलाई चुस्त-दुरुस्त राख्न विशेष ध्यान दिनेछु।

–    राष्ट्रिय फुटबल टिमलाई अझ सशक्त बनाई अन्तर्राष्ट्रिय स्तरमा हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न ध्यान दिनेछु। अन्तर्राष्ट्रिय खेलमा नेपाली फुटबलरहरूलाई धेरैभन्दा धेरै एक्सपोजर दिने प्रयासमा लाग्नेछु।

–    लिग विजेताका रूपमा मनाङ-मस्र्याङ्दी क्लबले यो वर्ष अन्तर्राष्ट्रिय महत्वको प्रेसिडेन्ट कप खेल्नेछ। प्रेसिडेन्ट कपमा क्वालिफाइड भएर कप आफ्नो हातमा पार्ने लक्ष्य छ। यो वर्ष केही फुर्सद हुने भएकाले परिवारलाई पनि पर्याप्त समय दिनेछु।

रमेश खरेल, एसएसपी, नेपाल प्रहरी

–    आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक त्रुटिरहित ढंगले सम्पन्न गर्नेछु।

–    सम्पूर्ण परिवारहित यो वर्षभित्र भारत घुम्न जानेछु।

–    जन्मथलो गएर केही सामाजिक कार्यमा सहभागिता जनाउन मन छ।

सुदीपकुमार रेग्मी, गीतकार/व्यवसायी

–    विद्यावारिधि पूरा गर्नेछु।

–    नेपाल चीन ब्यापार संघको पदाधिकारी भएकाले यो क्षेत्रलाई व्यवस्थित गर्दै व्यापारको दायरा फराकिलो बनाउनेछु।

–    साहित्यिक यात्रा अघि बढाउँदै यो वर्षभित्र गीतहरूको पुस्तक तथा दोस्रो गीतिसंग्रह सार्वजनिक गर्नेछु।

सुभाष खकुरेल, क्रिकेटर

–    नेपाललाई वान डे स्टाटस दिलाउन मेहनत गर्नेछु।

–    यो वर्ष स्नातकोत्तरको अध्ययन पूरा गर्नेछु। अध्ययनका लागि सक्दो समय निकाल्नेछु।

–    वर्ष ०७१ मा खाना पकाउन सिक्नेछु। फुर्सदमा मीठा-मीठा परिकार बनाउनेछु।

प्रल्हाद तिमल्सिना, गायक

–    वर्ष २०७१ मा नयाँ एल्बम एवं डिभिडीका साथमा दर्शक-श्रोतामाझ जानेछु। यो वर्ष कार्यक्रमका लागि मुलुकबाहिर जाने समय निकाल्नेछु।

–     नृत्य गर्न नआउने भएकाले नृत्यको औपचारिक कक्षा लिने योजना बनाएको छु।

–    व्यापार-व्यवसाय एवं सामाजिक सेवाका क्षेत्रमा केही नयाँ काम गर्नेछु। हाइड्रो, अक्सिजन तथा मिनरल वाटर प्लान्ट यो वर्षदेखि नै सञ्चालनमा आउनेछन्।

गगन थापा, युवा नेता, कांग्रेस

–    संविधानसभाको कामलाई असर पर्ने गरी अन्य कुनै पनि कार्यक्रम वा भ्रमणमा निस्कनेछैन। तोकिएको समयभित्र संविधान जारी गर्न आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्नेछु।

–    समय व्यवस्थापन नमिलिरहेकाले त्यसलाई व्यवस्थित गर्न पहल गर्नेछु। प्राथमिकताका काममा ध्यान दिनेछु।

–    सम्भव भएसम्म साताको एक दिन परिवार र आफू विजयी भएको क्षेत्रका जनतालाई समय दिनेछु।

ऋषि तिवारी, शिक्षाविद्

–    आफ्नो कारणले अरू कसैलाई मर्का नपरोस् भनेर ध्यान दिँदै आएको छु, र आगामी दिनमा पनि ध्यान दिनेछु।

–    शैक्षिक क्षेत्रका क्रियाकलापलाई निरन्तरता दिँदै आफ्ना तर्फबाट सक्दो योगदानका साथ शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन प्रयासरत रहनेछु।

–    म अहिले पनि अध्ययन गरिरहेको छु, शैक्षिक योग्यता अझ बढाउँदै आफ्नो

बौद्धिक एवं प्राज्ञिक स्तर उकास्नेछु।

–    आफ्नो ठाउँबाट समाज र देशका निम्ति सक्नेसम्म योगदान गर्न प्रतिबद्ध रहनेछु।

श्वेता सिन्हा, समाचारवाचिका

–    यो वर्षदेखि रिस कम गर्नेछु।

–    म नास्तिक किसिमको मान्छे, अब आस्तिक सोचको विकास गर्छु, पूजापाठमा मन लगाउँदैछु।

–    जति पनि अधुरा काम छन्, ती सबै पूरा गर्नेछु।

सुवास थापा, नायक

–    पहिलो पटक निर्माताका रूपमा चलचित्र ‘बिर्खेलाई चिन्छस्’ निर्माण गरिरहेकाले भदौमा प्रदर्शन हुने उक्त चलचित्रको प्रवर्द्धन शून्य सालमा नगरी ०७१ सालमै सुरु गर्दैछु।

–    नायकका रूपमा यो वर्ष अधिकतम तीनवटा चलचित्रमा मात्र काम गर्नेछु, सकेसम्म दुइवटा मात्र। थोरै तर स्तरीय काम गर्ने मेरो उद्देश्य हो।

–    एउटा नयाँ स्क्रिप्टमा काम प्रारम्भ गरेको छु। वर्षको अन्त्यसम्ममा उक्त चलचित्रको पनि काम सक्नेछु। पेसागत रूपमा आफूलाई निष्ठावान् बनाउन अझ ध्यान दिनेछु।

शरद भेषवाकर, क्रिकेटर

–    क्रिकेटको माध्यमबाट नेपालको नाम अझ चम्काउन योगदान दिनेछु।

–    यो वर्ष नयाँ-नयाँ साथी बनाउनेछु।

–    अनुशासित दैनिकी पालन गर्दै स्वस्थकर खानेकुरा खाएर शारीरिक रूपमा चुस्त रहने प्रयास गर्नेछु।

अर्जुन पोखरेल, संगीतकार

–    नेपालमा अहिलेसम्म अभ्यास नगरिएको शास्त्रीय संगीतको जुगलबन्दी दर्शक-श्रोतामाझ प्रस्तुत गर्नेछु। चलचित्र संगीतमा पनि नौला प्रयोग गर्नेछु।

–    द डिभाइन म्युजिकका तर्फबाट सामाजिक सेवाको क्षेत्रमा हात हाल्नेछु।

–    परिवारलाई पर्याप्त समय दिन सकेको छैन। यो वर्ष परिवार र आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नेछु।

सुरज गिरी, मोडल/भिजे

–    नयाँ वर्षसँगै चाँडै सुत्ने अनि चाँडै उठ्ने बानी बसाउँछु।

–    कार्यव्यस्तता बढेकाले परिवारसँग पर्याप्त समय बिताउन पाएको छैन। अब समय व्यवस्थापन गर्नेछु।

–    २०७१ भित्रमा जनअपेक्षाअनुरूपको टेलिभिजन कार्यक्रम बनाउनेछु। जनचासोको कार्यक्रम निर्माण गरेर त्यसलाई आमनेपालीको कार्यक्रम बनाउने योजना छ।

राजन मुकारुङ, साहित्यकार

–    तीनवटा पुस्तक ‘दमाईं चरोको कथा’ (कविता-संग्रह), ‘फेरिँदै गरेको सौन्दर्य’ (निबन्ध-संग्रह), ‘अयोग्य’ (उपन्यास) प्रकाशनमा ल्याउनेछु।

–    नयाँ र प्रगतिशील संविधान बनाउन लेखनको माध्यमद्वारा खबरदारी गर्नेछु।

–    सिर्जनात्मक ‘डिस्कोर्स’ मा सक्रिय रही नेपाली साहित्यको प्रगतिका लागि सक्दो पहल गर्नेछु।

पशुपति शर्मा, लोकगायक

–    लोकगीत सबै नेपालीले सुन्ने बनाउन विशेष किसिमका लोकगीत सिर्जना गर्नेछु।

–    मान्छे हँसाउने र नचाउने मात्र भन्दा पनि देशभक्ति गीत सिर्जना गर्नेछु। मेरो अभिनय पनि दर्शकहरूले रुचाउनुभएकाले अबको कमेडी गीतमा आफैंले अभिनय गर्नेछु।

–    सामाजिक क्रियाकलाप तथा अन्य सहयोगमूलक कार्यक्रममा आफ्ना तर्फबाट सक्दो योगदान गर्नेछु।

बाबुराम दाहाल, गीतकार

–    निरन्तर फरक अनि यथार्थपरक चलचित्र निर्माण गर्नेछु।

–    चलचित्र क्षेत्रमा जीवनको उर्वर समय लगानी गर्दा पनि आर्थिक समुन्नति नभएकाले अर्को क्षेत्रमा पनि लगानी गर्ने सोचमा छु।

–    इभेन्ट म्यानेजमेन्ट तथा गीतलेखनलाई नछोडी अबको २ वर्षभित्र ठूलो फड्को मार्ने योजना बनाएको छु।

दिकेश मलहोत्रा, व्यवसायी

–    मैले एकदमै कडा मेहनत गरेर आफ्नो आधार तय गरेको छु, त्यो आधारमा रहेर यो वर्ष उपलब्धिमूलक काममा सक्रिय रहन्छु। कडा मेहनतसँगै स्मार्ट कार्यशैली अपनाउनेछु।

–    म स्वस्थकर जीवनशैली चाहन्छु। त्यसका लागि दैनिक रुटिनको विशेष ख्याल गर्दै आफूलाई फिट राख्नेछु।

–    गत वर्ष हामीले डीएम फाउन्डेसनमार्फत छात्रवृत्ति कार्यक्रम प्रारम्भ गरेका थियौं। यो वर्ष यस्तै दुई थप कार्यक्रम सञ्चालन गर्दै समाज र देशका लागि योगदान गर्नेछु।

माल्भिका सुब्बा, मोडल/व्यवसायी

–    व्यस्तताका कारण अड्किएर रहेको स्नातकोत्तरको थेसिस नयाँ वर्षको प्रारम्भसँगै सक्नेछु।

–    हाम्री बहिनीको कामलाई अझै ठूलो दायरामा लिएर जानेछु। महिला अनि वातावरणका क्षेत्रमा अझ धेरै काम गर्नेछु।

–    नयाँ चुनौती खोजिरहेकी छु, चुनौतीको सामना गर्दै आफूलाई सक्षम नारीका रूपमा प्रस्तुत गर्नेछु।

सन्जना श्रेष्ठ, गायिका

–    वैशाखको १ गते मेरा लागि महत्वपूर्ण दिन साबित हुँदैछ। मेरो दोस्रो एल्बम यही दिन सार्वजनिक हुनेछ।

–    यो वर्ष म आफ्नै गीतको म्युजिक भिडियो निर्देशन पनि गर्दैछु।

–    सांगीतिक करियरमा केन्दि्रत रहन्छु। नयाँ गीतहरू रेकर्ड गर्ने तथा देशविदेशका कार्यक्रममा सहभागी हुने तयारी छ। यो वर्ष चलचित्रका लागि पनि गीत गाउँनेछु।

कमल खत्री, गायक

–    अझ राम्रो गीत-संगीतका लागि मेहनत गर्नेछ।

–    परिवारका सदस्यहरू खासगरी ममीबुबालाई समय दिन पाएको छैन। उहाँहरूलाई राम्रो ठाउँ घुमाउन लानेछु।

–    मलाई सामाजिक सेवा गर्न मन छ। वृद्ध एवं अशक्तहरूलाई सहयोग गर्नेछु।

योगेश भट्टराई, युवा नेता एमाले

–    नेकपा एमालेको महाधिवेशनमा पार्टीलाई अझ बढी वैचारिक एवं राजनैतिक रूपान्तरण गर्ने योजना छ।

–    संविधाननिर्माणका निम्ति पार्टी केन्द्रीय सदस्यका रूपमा पहलकदमी गर्नेछु। असहमतिका विषयहरूमा अन्य पार्टीका युवा नेतृत्वहरूसँग सरसल्लाह गरेर सहमतिका निम्ति भूमिका खेल्नेछु।

–    पार्टी राजनीति एवं मुलुकको जिम्मेवारी सहज ढंगले निर्वाह गर्न आफ्नो क्षमतामा थप अभिवृद्धि गर्नेछु।

आस्था राउत, गायिका

–    पङ्क्च्युअल छैन, त्यसकारण यो वर्ष आफूलाई पङ्क्च्युअल बनाउने, समय व्यवस्थापन गर्ने, समयमा सबै काम भ्याउनेतर्फ विशेष ध्यान दिनेछु।

–    आफ्ना कमी-कमजोरीहरू केलाएर त्यसलाई सुधार्नेछु। असल नेपाली छोरीको उदाहरणीय पात्रका रूपमा प्रस्तुत हुनेछु।

–    गायिकाका रूपमा नयाँ अनि राम्रा गीत श्रोतामाझ पुर्‍याउनेछु। अझै करियर ओरिएन्टेड हुनेछु। अब दायाँ-बायाँ नभनी कामकै निम्ति समय व्यवस्थापन गर्नेछु।

तेन्जिङ छेतेन भुटिया, फेसन डिजाइनर

–    यो वर्षभित्रमा चारवटा फेसन शो गर्नेछु। प्रत्येक सिजनअनुरूप शो गर्ने योजना छ।

–    व्यस्तताले गर्दा शारीरिक पक्षमा ध्यान दिन पाएको छैन। यो मेरो व्यक्तिगत विषय भए पनि यो वर्ष जिमसेन्टर ज्वाइन गर्नेछु।

–    माथि उल्लेख गरिएका दुईवटा संकल्पलाई गम्भीर रूपमा पालना गर्नेछु।

रेनेशा राई, कोरियोग्राफर

–    चलचित्र निर्देशन गर्ने सोच छ।

–    मेरो डान्स स्टुडियोबाट ०७१ सालको दसैं-तिहारलाई लक्षित गरेर ४-५ वटा देशमा कार्यक्रम लाने तयारीमा छु।

–    कोरियोग्राफीलाई निरन्तरता दिँदै अझ राम्रो काम गर्ने, अझ मेहनत गर्ने योजना छ।

आर्यन सिग्देल, नायक

–    नयाँ वर्षको प्रारम्भमै विवाह गर्दैछु। जीवनको महत्त्वपूर्ण कुरा वैवाहिक सम्बन्धलाई सुमधुर बनाउने प्रयासमा जुट्नेछु।

–    मैले निर्माण गरेको चलचित्र ‘नोभेम्बर रेन’ वैशाख १२ गते सार्वजनिक हुँदैछ, यसको प्रवर्द्धनमा सक्रिय रहनेछु। त्यसपछि आफ्नो अभिनय करियरलाई निरन्तरता दिनेछु।

–    चलचित्र ‘नोभेम्बर रेन’ लाई विदेशमा प्रदर्शन गर्ने क्रममै हामी दम्पती विभिन्न मुलुक जाने योजनामा छौं।

विल्सन विक्रम राई, अभिनेता

–    यो वर्ष म एउटा चलचित्रमा शीर्ष भूमिकामा काम गर्दैछु, त्यसको सबै तयारी भैसकेको छ । उक्त चलचित्र मेरै क्यारेक्टरमा आधारित छ।

–    अहिलेको मेरो तौल ७९ किलोग्रामलाई ५५ किलोग्राममा झार्नेछु।

–    यो वर्ष मेरा पापा, बहिनी र भान्जालाई काठमाडौं सिफ्ट गर्नेछु। पापालाई सिंगापुर घुमाउन पनि लानेछु।

वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

अश्विनी कोइराला

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रारम्भ भएको उनको राजनीति त्रिभुवन विश्वविद्यालय हुँदै अहिले संविधानसभा सदस्यका रूपमा सक्रिय छ। अधिकारी नेकपा (एमाले) बाट संविधानसभा सदस्य भए पनि आवश्यकता परेका बेला पार्टीभन्दा फरक धारणा व्यक्त गर्न पनि हिचकिचाउँदैनन्। सबै विषय अध्ययन गर्ने भएकाले अधिकारीको ज्ञान सबै युवाका लागि लोभलाग्दो विषय पनि हो। खट्न सक्ने क्षमता, मिलनसार र सबैको कुरा सुन्न सक्ने संस्कार भएका कारण उनी संविधानसभामा एउटै स्थानबाट दुई पटक विजयी भए।

समग्र वर्ष २०७० को विश्लेषण गर्न साप्ताहिकले यिनै लोकप्रिय नेतासँग आग्रह गरेको थियो। गएको वर्ष घटेका प्रत्येक घटनालाई सूक्ष्म रूपले हेरेका रवीन्द्रले साप्ताहिकसँग ती घटनाको विस्तारमा चर्चा गरे। साप्ताहिकले गएको वर्ष देशले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक एवं वैदेशिक रोजागारीको अवस्था तथा त्यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा प्रश्न गरेको थियो, जसलाई रवीन्द्रले सहज र सरल भाषामा बुझाउने प्रयास गरे।

वर्ष २०७० लाई तपाईं कस्तो वर्षका रूपमा हेर्नुहुन्छ ? धेरै राम्रो, ठीकै कि नराम्रो ?

संविधानसभाको निर्वाचन सम्पन्न हुनु वर्ष ७० को महत्त्वपपूर्ण उपलब्धि हो। राजनीतिको तहमा हेर्ने हो भने यही एउटा घटनाले ७० सालको महत्व स्थापित गर्छ। ड्यास माओवादीको डर, त्रास एवं धम्कीका बीच पनि पहिलेको तुलनामा बढीले मत हाल्नुलाई जनतामा जागरण आइसकेको राम्रो संकेतका रूपमा बुझ्न सकिन्छ। म यी र यस्ता धेरै परिवर्तनका कारण वर्ष ७० लाई धेरै राम्रो वर्षका रूपमा लिन्छु।

यसअघि पनि संविधानसभाको निर्वाचन भएको थियो। निर्वाचन हुनु नै उपलब्धि हो र ?

यसअघि पनि संविधानसभाको निर्वाचन भएको थियो। त्यसलाई हामीले यसैगरी स्वागत गरेका थियौं। त्यही काम दोहोर्‍याएर गर्नु उपलब्धिपूर्ण हो भन्दा राम्रो सुनिँदैन पनि। तैपनि एउटा कुरा त के मान्नुपर्छ भने पहिलो संविधानसभामा हामी यति महत्त्वकांक्षी भएका थियौं कि हामी जात-जातिमा, क्षेत्र र वर्गमा विभाजित भयौं। मिलाउने कुरा पनि मिलाउन नसक्ने अवस्थामा पुग्यौं। यसपटकको निर्वाचनले हामीलाई यथार्थको नजिक पुर्‍याएको छ। त्यो भनेको के भने हाम्रो आवश्यकता के हो ? हामीलाई कस्तो संविधान, किन चाहिएको हो ? हामीले मिलेर देशको भलाई गर्ने कि फुटेर ? यस्ता कुरा हामीलाई बोध हुन थालेको छ। नेतृत्व तहमा यो कुराको बोध हुनु सामान्य कुरा होइन। नयाँ संविधानसभा र त्यसको परिणामले त्यो सोचको विकास गराएको छ।

निश्चय नै संविधानसभाको निर्वाचन यो वर्षको टर्निङ प्वाइन्ट हो। त्यसबाहेक वर्ष ०७० को राजनीतिलाई हेर्ने हो भने के-कस्ता सकारात्मक कुरा पाउनुहुन्छ ?

यो वर्षको सबैभन्दा सकारात्मक पक्ष राजनैतिक तहमा आएको यथार्थता नै हो। यसले आर्थिक एवं सामाजिक दुवै क्षेत्रलाई प्रभाव पारेको छ। नेतृत्व तहले आर्थिक एजेन्डामा बहस गर्न रुचाउनु त्यसको प्रमाण हो। सबै दलका नेताहरू अब तीव्र गतिमा आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने कुरामा सहमत हुन थालेका छन्। यसअघि राजनैतिक स्वतन्त्रताको कुरामा धेरै नेताको समय बित्ने गरेको थियो।

अर्को एउटा परिवर्तन युवा नेताहरूमा देखिएको छ। आफू जुनसुकै दलमा किन नहुन्, जनताको सबालमा एउटै ठाउँमा उभिने क्रम सुरु भएको छ। सरकारी विद्यालयमा पाठ्यपुस्तक नपुगेको विषयमा म, गगन थापा र गणेश पुन एउटै ठाउँमा उभियौं। गगन र म सत्ता पक्ष अनि गणेशजी विपक्षी हुनुहुन्थ्यो। हामीले विपक्षीको भूमिका निर्वाह गर्‍यौं। यो क्रम सामान्य छलफलमा पनि सुरु भएको छ। पहिले विपक्षी दलको नेता जतिसुकै विद्वान् भए पनि उसँग कुरै गर्नु हुँदैन भन्ने संस्कार थियो। आजभोलि त्यस्ता व्यक्तिबाट केही राम्रो कुरा लिन सकिन्छ कि भनेर तार्किक बहस गर्न सकिने भएको छ। यो राजनीतिमा आएको ठूलो परिवर्तन हो। यसमा हामी युवा नेताहरू सक्रिय भएर लागेका छौं।

राजनीतिको यो कोर्समा कुन-कुन दलका युवा नेता हुनुहुन्छ ?

हामीले समूह नै बनाएर यो काम सुरु गरेका होइनौं। यद्यपि देश र जनताका साझा एजेन्डामा एउटाले उठाएको कुरामा अर्कोले सहयोग गर्ने, ईष्र्या नगर्ने बरु हौसला दिने संस्कार विकास भएको छ। शक्ति बस्नेत, देवी खड्का, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, गगन थापा, गणेशमान पुनजस्ता युवा नेताहरूमा त्यस्तो संस्कार देखिन्छ। यसलाई धेरैले रुचाएका पनि छन् र यो संस्कार अझै बढ्दै जानेछ। यी नेताहरूमा मेरो नेताले यसो भन्यो, त्यसलाई आँखा चिम्लिएर स्वीकार गर्नुपर्छ भन्ने जडता छैन। उनीहरू सत्यको परीक्षण गर्छन्, गहिरो खोजबिन गर्छन्। त्यसको भविष्य के हुन्छ भनेर निष्कर्ष निकाल्छन्। त्यसपछि उचित लाग्यो भने मात्र नेतृत्वको कुरा स्वीकार गर्छन्।

डा. बाबुराम भट्टराईले नयाँ शक्तिको उदय हुन सक्ने कुरा पनि बाहिर ल्याउनुभएको छ। यसलाई राजनीतिमा आएको नयाँ बहस भन्न मिल्दैन ? यसलाई यो वर्षको राजनीतिक उपलब्धि मान्नुहुन्न ?

म यसलाई वर्षको सकारात्मक राजनीतिक बहस भन्न रुचाउँछु। यसले समाजमा राजनीतिक तरंग ल्याएको छ। यद्यपि त्यसको गर्भाधान गर्ने प्रयास जसरी गरिएको छ, त्योचाहिँ धेरैले रुचाएका छन् भन्ने लाग्दैन। यो सोमप्रसादको सातु जस्तो आ-आफ्नो कल्पनामा रमाउने किस्साजस्तो मात्र भएको छ। म पनि यसको गर्भाधानको विषयमा सहमत छैन। नेपालमा नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, तर यो निश्चित सिद्धान्त, मुलुकलाई कहाँ पुर्‍याउने भन्ने लक्ष्य, राम्रो संगठन एवं सामाजिक वस्तुस्थितिबाट जन्मनुपर्छ। तैपनि म यसलाई यो वर्षको राम्रो वैचारिक बहस मान्छु।

हामीले यो वर्ष राजनैतिक उपलब्धिका केही कुरा गर्‍यौं। के यस्ता उपलब्धि सामाजिक क्षेत्रमा पनि आएका छन् ?

अवश्य आएका छन्। यो वर्ष बन्द-हड्ताल, बम र त्रासका बीचमा पनि जसरी जनताले भोट दिए, त्यो सामाजिक चरित्रमा आएको परिवर्तन हो।

यस्ता सामाजिक उपलब्धि के-के हुन्, बुँदागत रूपमा भन्न सकिन्छ ?

केही वर्षयता समाजमा जागरण बढेको कुरा गरिन्थ्यो, तर त्यो चिया गफको माध्यममात्र  थियो। गुदी नभएका राजनैतिक तर्क गर्ने, अरूलाई दोष दिने प्रवृत्ति समाजमा व्याप्त थियो। केही समययता आमजनतामा श्रम र उत्पादनबिनाको फोस्रो राजनीतिक गफले हामीलाई कतै पुर्‍याउँदैन भन्ने बोध हुन थालेको छ। परिवर्तनका लागि राजनीति मुख्य कुरा भए पनि हामी आफैंले श्रम र उत्पादनमा हात हाल्नुपर्छ भन्ने बोध आमजनतामा हुनु समाज परिवर्तनको संकेत हो। यो समाजको सबैभन्दा ठूलो उपलब्धि हो।

यो नयाँ पुस्तामा आएको परिवर्तन हो कि समग्र समाजमा ?  

यो समग्र समाजमा आउन थालेको परिवर्तन हो भनिहाल्न अलि हतार हुन्छ। मुलुकप्रति आशा राख्ने हामी आफैंले केही गर्नुपर्छ भन्ने सोचतिर जान खोज्नेको जमात बढेको छ। पहिलेका सामाजिक विचारहरू एनजीओहरूले निर्धारण गरेअनुसार भएजस्तो देखिन्थे। अहिले विदेशी डोनर एजेन्सीहरूको विचारले हामीलाई गन्तव्यमा पुर्‍याउँदैन भन्ने सोच बढेको छ। आफ्नो वस्तुस्थितिमा गहिरो गरी सोच्ने संस्कारको विकास सुरु भएको चाहिँ पक्कै हो।

नयाँ पुस्तामा आएको मुख्य परिवर्तनचाहिँ के पाउनुभयो ?

नयाँ पुस्तामा इन्टरप्रेनरसिपको विकास भएको छ। धेरै युवा पुराना वर्षहरूमा झैं विदेश पलायन हुन चाहन्छन्। यद्यपि थोरै युवा जो मुलुकबाहिर केही वर्ष बिताएर फर्किएका छन् वा नेपालमै केही गर्न सकिन्छ भनेर विदेश नगै यहीं केही गर्नुपर्छ भन्ने युवाहरू छन्, उनीहरू नयाँ काम गर्न तात्तिएका छन्। उनीहरूलाई राज्यले कुनै पनि आड-भरोसा दिएको छैन। उनीहरूमा आफैं नयाँ-नयाँ कुरामा हात हालेर देशलाई समुन्नत बनाउन सकिन्छ भन्ने विश्वास देखिन्छ।

सामाजिक संस्कार पहिलेजस्तै छ कि केही परिवर्तन भैरहेको छ ?

पहिलो संविधानसभा विघटन भएयता हामीलाई के बोध भयो भने हामी फुटेर, एक-अर्काको अस्तित्व अस्वीकार गरेर कहीँ पुग्दैनौं। त्यसैले अरूको अस्तित्व स्वीकार गर्ने मात्र होइन, त्यसलाई सजिलै ग्रहण गर्न थालिएको छ। चर्च र मस्जिदमा समेत हामी सजिलै गैरहेका छौं। तराईको छठ काठमाडौंमा धुमधामसँग मनाउन थालिएको छ भने मधेसमा दसैं-तिहारलाई पनि महत्व दिन थालिएको छ। यो परिवर्तन यही एक वर्षमा आयो भन्नु गलत हुन्छ तर केही वर्षयता यो क्रम बढिरहेको छ।

समाजमा आएका कुनै नयाँ विकृति पनि छन् कि ?

राजनीतिको पुच्छर नसमाती हामी कुनै पदमा पनि पुग्न सक्दैनौ भन्ने संस्कार दरो रूपमा गढ्न थालेको छ। यो प्रत्येक वर्ष गहिरिँदै गएको छ। स्वतन्त्र भनिने व्यक्ति भेट्नै मुस्किल पर्छ जसमा म आफ्नै प्रयासमा माथि पुग्न सक्छु भन्ने विश्वास होस्। राजनीतिले समाजलाई दिएको यो गम्भीर कुरा हो। जबसम्म समाजमा यो सोच रहन्छ, तबसम्म समुन्नत समाज निर्माण हुन सक्दैन। एक दिन न एक दिन यो सोच अन्य हुन्छ, तर अहिले त्यो गलत संस्कार झ्याङ्गिँदै गएको छ।

व्ार्ष २०७० ले मुलुकलाई कुनै आर्थिक सोच दियो ? अर्थतन्त्रको दृष्टिकोणबाट हेर्दा हामी कहाँ छौं ?

म २०७० लाई आर्थिक दृष्टिकोणको बीउ मान्छु। सबै दलका शीर्ष नेताहरूले अब देशमा तीव्र आर्थिक क्रान्तिको खाँचो महसुस गरेका छन्। हामीले त पहिलेदेखि नै आर्थिक क्रान्ति नै सबै कुराको मेरुदण्ड हो भनेर वकालत गर्दै आएका हौं।

तैपनि यो वर्षको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने उद्योग-व्यवसायीहरूले पनि समग्र अर्थतन्त्रको चिन्ता गर्न थाल्नुभएको छ। पहिले आफ्नो व्यापारको मात्र चिन्ता गर्नेहरू अहिले देशको नीति-नियम बनाउने कुरामा सहयोग गर्न, त्यसमा बहस गर्न र उत्प्रेरकको भूमिका निर्वाह गर्न थाल्नुभएको छ। देशप्रति राजनीतिज्ञहरूको मात्र होइन, हाम्रो पनि दायित्व छ भनेर जसरी उहाँहरू अगाडि आउन थाल्नुभएको छ, त्यो महत्त्वपूर्ण पक्ष हो।

केही उदाहरण दिन सक्नुहुन्छ, जसले व्यापारीहरूले आफ्नो व्यापारसँगै देशको चिन्ता गरेको पुष्टि होस्।

धेरै व्यापारीहरू पहिले कर छलेर पैसा कमाउनुलाई उपलब्धि मान्थे, अर्थात् उनीहरूको अभीष्ट केवल पैसा कमाउनु थियो। मैले कसरी कमाइरहेको छु, समाजले मलाई कसरी हेरिरहेको छ भन्ने कुरामा उनीहरूको त्यति ध्यान थिएन। आजभोलि देख्छु, उनीहरू आफूले कर तिरेकोमा गर्व गरिरहेका छन्। रोजगारी दिने कुरालाई महत्त्व दिइरहेका छन्। समाजमा आफ्नो सम्मान कसरी हुन्छ भनेर समाज सेवामा लाग्ने, सामाजिक महत्वका विषयमा बहस गर्ने, सकेको सहयोग गर्ने कार्य बढेर गएको छ। यो समुन्नत समाजको लक्षण हो।

तपाईं गएको संविधानसभामा चार वर्ष लेखा समितिमा रहेर काम गर्नुभयो। सुरक्षा निकाय एवं कर्मचारीहरूमा कस्तो संस्कार थियो ? त्यसमा परिवर्तन भएको देख्नुहुन्छ कि उस्तै छ ?

मनकै प्रश्न सोध्नुभयो। नढाँटी भन्दा पहिले सुरक्षा निकायभित्र जति सकिन्छ भष्ट्राचार गर्नु पर्छ भन्ने सोच थियो। इमान्दार मान्छे भेट्न निकै मुस्किल थियो। केही वर्ष यता कसैले आफूलाई भ्रष्टाचारी भन्ला कि भन्ने डर पसेको छ। निजामती सेवामा कुनै काम गरेबापत अतिरिक्त आम्दानी लिनुलाई अति सामान्य रूपमा लिइन्थ्यो। हिजोआज उनीहरूमा शुद्ध तलबमा बाँच्नुपर्छ, सकेसम्म अतिरिक्त आम्दानीको बाटो खोज्नु नपरोस्, त्यस्तो आम्दानी भैहाले पनि कसैलाई थाहा नहोस् भन्ने धारणा बढ्दै गएको छ। समाजमा पैसालाई भन्दा इज्जतलाई महत्त्व दिन थालिएको छ। आजभोलि कसैले पनि हाकाहाकी घूस मागेको भेटिँदैन। भेटिए पनि धेरै कम भएको छ। समाजमा पैसाको भन्दा इज्जतको बढी महत्त्व हुनु धेरै राम्रो लक्षण हो।

वैदेशिक रोजगारी नेपालको प्रमुख आयस्रोत हो। रेमिट्यान्सलाई प्रयोग गर्ने विषयमा हामी कहाँ छौं ?

धेरै ठाउँ चुकिरहेका छौं। सामान्य उदाहरण लिऊ, नेपालमा वाषिर्क ३ खर्ब रुपैयाँ वैधानिक स्रोतबाट भित्रिन्छ। नेपाल विद्युत् प्राधिकरणले १ सय मेगावाट विद्युत् उत्पादन गर्ने र नेपाल भित्रिएको पैसामध्ये केही लगानी गर्नुहोस्, हामी ५ वर्षमा दोब्बर आम्दानी दिन्छौं भन्ने हो भने त्यो पैसाले सय मेगावाट विद्युत् उत्पादन हुन्छ। यस्ता धेरै काम गर्न हामी चुकिरहेका छौं। सरकारका तर्फबाट ठूलो कमजोरी छ। धेरै आम्दानी खान, घर बनाउन र केटाकेटीको शिक्षामै खर्च भैरहेको छ। त्यसलाई देशको ठूला उद्योग, पूर्वाधार एवं ठोस विकासका काममा खर्च गर्न सकिरहेका छैनौं।

तैपनि खुसीको कुरा के छ भने पहिले हुन्डीबाट आउने पैसा अहिले बैंकको च्यानलबाट आउन थालेको छ। त्यसले देशको विदेशी मुद्रा बढाएको छ। हामीसँग विदेशी समान किन्न सक्ने पैसा पुगिरहेको छ। अझै आधा विदेशी मुद्रा नेपाल आउन पाएको छैन। त्यसलाई ल्याउन सके र उक्त पैसा आर्थिक विकासमा लगाउन सके हामी चाँडै समृद्धितर्फ जान्छौं।

वैदेशिक रोजगारीबाट फर्किएका युवाले पैसा मात्र ल्याएका छैनन्, सीप पनि ल्याएका छन्, त्यसको सदुपयोग भएको देख्नुभएको छैन ?

सरकारका तर्फबाट उनीहरूलाई कुनै सहयोग छैन। तैपनि मेरै आँखा अघि कोरियाबाट फर्किएका यामबहादुर थापाले पोखरामा यति ठूलो फार्म खोल्नुभएको छ कि त्यस्तो फार्म १०-२० वटा खुल्ने हो भने मासुको उत्पादनमै फरक पर्छ। जापानबाट फर्किएका केही युवाले माछा फार्म खोलेको, केहीले गोलभेंडा वा अन्य कृषि उत्पादन गर्न थाल्नुभएको छ। इजरायलबाट र्फकनेहरूले तरकारी खेती गरेको पाएको छु। यसरी हेर्दा आफ्नै प्रयासमा केही महत्वपूर्ण काम भएका छन्। सरकारका तर्फबाट सिप सिकेर आएका युवालाई आह्वान गर्दै ऋणको व्यवस्था गर्न हामी चुकिरहेका छौं। आफ्नै प्रयत्नमा उहाँहरूले गरेको प्रगति साँच्चै उपलब्धिमूलक छ।

साहित्य, कला र संगीतमा केही परिवर्तन पाउनुभयो कि ?

साहित्यको प्रकाशन बढेको छ। प्रकाशनअनुसार बिक्री-वितरण बढेजस्तो लाग्दैन। चलचित्रको अवस्था खस्किएको छ। केही नाट्य समूहले राम्रो काम गरेका छन्। ठाउँ-ठाउँमा हुने महोत्सवले स्थानीय कला-संस्कृतिको विकास गर्ने मात्र होइन, त्यो क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुगेको छ। यसले रोजगारीको सिर्जना गरेको छ। त्यसैले चाहेको जति हुन नसके पनि केही हुन्छ कि भन्ने आशा जागेको छ।

अब गएको वर्षलाई पछाडि फर्केर भन्दा के भन्न मन लाग्छ ?

हामी यहाँ पाइपुग्न ढिला अवश्य भयो तर संकेत राम्रो देखिन्छ। कमजोरीलाई एकछिन बिर्सेर राम्रा कुरामात्र सम्झने हो भने वर्ष २०७० लाई सलाम गर्न मन लाग्छ।

प्रतिवेदनहरुमा नेपाल

भोला

आर्थिक स्वतन्त्रता कमजोर

नेपाल आर्थिक स्वतन्त्रता निकै कम भएको मुलुकमा परेको छ। नेपाल कुल १ सय ५२ मुलुकमध्ये १ सय २५ औं स्थानमा छ। द प्रोस्पेरिटी फाउन्डेसनले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताको प्रतिवेदन, २०१३ ले विश्वभर आर्थिक स्वतन्त्रतामा थोरै सुधार देखाए पनि नेपाल थप पछाडि धकेलिएको देखाएको छ। स्वतन्त्रता प्रतिवेदनअनुसार सरकारको आकार बढ्नु तथा अन्तराष्ट्रिय रूपमा व्यापार गर्ने स्वतन्त्रतामा कमी आउनुले यस वर्षको आर्थिक स्वतन्त्रताको सूचकांकमा नेपाल निकै तल झरेको हो। यस वर्ष नेपालले १० पूर्णांकमा ६ दशमलब १९ अंक प्राप्त गरेको छ। गत वर्ष नेपाल ६ दशमलव ३३ अंक पाएर १ सय १० औं स्थानमा थियो।

बढ्यो नेपालीको आम्दानी

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनसार, प्रत्येक नेपालीले दैनिक १ सय ७२ रुपैयाँ कमाउँछन्। एक वर्षअघि एक नेपालीको आय १ सय ५८ रुपैयाँभन्दा वढी थिएन। सर्वेक्षणअनुसार, विदेशमा काम गर्नेले पठाएको पैसा, कृषि तथा गैरकृषि क्षेत्रको ज्यालादरमा वृद्धि, व्यावसायिक तरकारी खेतीको विकास, बढ्दो सहरीकरण, कुल जनसंख्यामा आर्थिक रूपले सक्रिय जनशक्तिको हिस्सामा भएको वृद्धिले नेपालीहरूको आय वढेको हो। यसबीच नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा समेत वृद्धि भएको छ। गत वर्ष ५७ हजार २ सय २ रुपैयाँ रहेको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यो वर्ष ६२ हजार ५ सय १० रुपैयाँ पुगेको छ।

लैंगिकविभेद र आङ खस्ने समस्या

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले नेपाली महिला लैंगिक विभेदका कारण आङ खस्ने समस्याबाट पीडित रहेको तथ्य उजागर गरेको छ। एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनमा ‘महिला तथा किशोरीहरू आफ्नो यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आफैं निर्णय गर्न पाउने अधिकारबाट वन्चित गरिनु, सुत्केरी र त्यसपछिको अवस्थामा कडा शारीरिक परिश्रम गर्नुपर्नेर्, कम उमेरमा विवाह गर्नुपर्ने तथा धेरै बच्चा जन्माउनु- पर्ने बाध्यताले उनीहरूमा पाठेघर खस्ने समस्या देखापरेको उल्लेख गरिएको छ।

मानव विकास प्रतिवेदन २०१३

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को मानव विकास प्रतिवेदन-२०१३ अनुसार मानव विकास सूचकांक (एचडीआइ) शून्य दशमलव ४६३ (दक्षिण एसियाली औसत एचडीआई शून्य दशमलव ५५८) सहित नेपाल विश्वको १ सय ८७ देशहरूमध्ये १ सय ५७ स्थानमा वर्गीकृत भएको छ। प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आय १ हजार १ सय ३७ अमेरिकी डलर तथा औसत आयु ६९ दशमलव १ वर्ष भएको देखाएको छ। प्रतिवेदनअनुसार नेपालमा २५ प्रतिशत मानिस गरिबीको चपेटामा छन्।

मानवअधिकार आयोगको प्रतिवेदन

राष्ट्रिय मानवअधिकार आयोगको वाषिर्क प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा बेपत्ता, अपहरण, यातना, दुव्र्यवहार, गैरन्यायिक थुना, हत्या, धम्की, न्यायप्रशासन, सम्पत्ति कब्जा, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको हनन, महिला अधिकार, बालअधिकार, अपाङ्गता, विभेदसँग सम्बन्धित १ हजार ३ सय ३६ वटा उजुरीमाथि अनुसन्धान भएको छ। त्यस्तै ५ सय १ वटा उजुरीमाथि निर्णय/सिफारिस/तामेली/खारेजी/टुंग्याउने निर्णय आयोगले गरेको छ। क्षतिपूर्ति वा मुद्दा चलाउन वा विभागीय कारबाही वा अन्तरिम राहतका लागि ९९ वटा मुद्दा सिफारिस गरिएको छ। आयोगले हत्या, विस्फोटन, बेपत्ता, अपहरण, गैरकानुनी थुना, विस्थापन, सम्पत्ति कब्जा, यातना, धम्की, बन्दीका अधिकार, बालअधिकार, महिला अधिकार, न्यायप्रशासनसँग सम्बन्धित ३ सय ७६ वटा मामिला तामेलीमा राखेको छ।

सार्वजनिक यातायात जोखिमपूर्ण

विश्व बैंकले काठमाडौं उपत्यकाका सार्वजनिक सवारीमा यात्रा गर्न जोखिमपूर्ण रहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरको छ। बैंकले काठमाडौं उपत्यकाका यात्रुमाझ असोज १५ देखि मंसिर १५ बीच गरेको स्थलगत अध्ययनअनुसार ८० प्रतिशत महिला तथा ७० प्रतिशत पुरुषले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु कोचेर राखिने गुनासो गरेका छन्। अध्ययनका क्रममा ३३ प्रतिशत महिला र १६ प्रतिशत पुरुषले व्यक्तिगत असुरक्षा महसुस गरेको बताएका छन्।

बेचिने गन्तव्य र संख्या

नेपालमा ५-१७ वर्षउमेरका समूहका करिब ४० प्रतिशत बालबालिकाले कुनै न कुनै काम गरिरहेको युनिसेफले जनाएको छ। एक अनुमानअनुसार नेपालबाट हरेक वर्ष भारतमा १२ हजार बालबालिका बेचबिखन गरिन्छन्, तर अहिले उनीहरूको गन्तव्य र संख्या दुवै बढ्दै गएको छ। ११ हजारदेखि १३ हजार किशोरी तथा महिलाहरूले रात्रिकालीन मनोरञ्जनको क्षेत्रमा काम गरिररहेको भन्दै युनिसेफले २ देखि १४ वर्षउमेरका करिब ८३ प्रतिशत बालबालिकामाथि कुनै न कुनै प्रकारका शारीरिक वा मानसिक हिंसा हुने गरेको जनाएको छ।

खाद्य संकटमा नेपाल

विश्व खाद्य कार्यक्रमले नेपालमा कुल जनसंख्याको ३० लाख्भन्दा बढी मानिस खाद्य संकटमा रहेको देखाएको छ। नेपालमा सामान्य २ हजार १ सय ४४ किलो क्यालोरी नपाउनेहरूको जनसंख्या ४१ प्रतिशत छ। इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार नेपाल विश्वका भोकमरीग्रस्त ७९ देशको सूचीमा ६० औं स्थानमा छ। पछिल्लो दशकमा नेपालले खाद्य संकटलाई ६/६ प्रतिशतका दरले घटाउँदै लगेको तथ्यांकमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार नेपाल विश्वका १ सय ५ मुलुकमध्ये खाद्य सुरक्षाको ७९ औं स्थानमा छ। एफएओको पछिल्लो प्रतिवेदनअनुसार नेपालका १६ लाख मानिस खाद्य संकटमा छन्। अक्सफाम र साउथ एसिया वाच इन ट्रेड इकोनोमिक एन्ड इन्भाइरोमेण्टको सर्वेक्षणअनुसार नेपालमा ३४ लाख ८० हजार मानिस दुई छाक पेटभर खानाबाट वञ्चित छन्।

पाँच वर्षमा ४ हजार पटक बन्द-हडताल

बितेको पाँच वर्षमा मुलुकभर ४ हजार पटकभन्दा बढी बन्द-हड्ताल भएका छन्। बन्द-हड्तालले अर्थतन्त्रमा पारेको असरका विषयमा राष्ट्र बैंकले गरेको अनुसन्धानबाट उक्त तथ्य खुलेको हो। अध्ययन प्रतिवेदन अनुसार सन् २००८ देखि २०१३ सम्म देशभर कुल ४ हजार ४ सय ५१ पटक बन्द-हड्ताल भएका थिए। उक्त अवधिमा सबैभन्दा बढी सुनसरीमा २ सय ७ पटक बन्द-हड्ताल भएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि, बढी बन्द-हड्ताल हुनेमा झापा दोस्रो (१ सय ९७ पटक), कैलाली तेस्रो (१ सय ७५ पटक) मा परेका छन् भने काठमाडौंमा १ सय १२ पटक बन्द-हड्ताल भएको थियो। सबैभन्दा कम बन्द-हड्ताल भएको जिल्लामा मुस्ताङ र मनाङ छन्। उक्त अवधिमा मुस्ताङमा १३ पटक तथा मनाङमा १४ पटक बन्द-हड्ताल भए।

नेपाली महिला दक्षिण एसियामै तगडा

अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको एक सर्वेक्षणअनुसार दक्षिण एसियामा नेपाली महिलाहरूको श्रममा सहभागिता अन्य देशको भन्दा अगाडि छ। अफगानिस्तानमा सबैभन्दा कम महिला श्रममा सहभागी हुने गरेका छन्। सरदर १ सय नेपाली महिलामध्ये ८० जना श्रममा सहभागी हुने गरेका छन्। महिलाको श्रम सहभागिता बढी भए पनि उनीहरूले पुरुषको तुलनामा कम पारिश्रमिक पाउने तथा नेपाली महिलाको जीवनस्तर कमजोर रहेको अध्ययनमा उल्लेख छ।

वायु प्रदुषणमा नेपाल

नेपाल वातावरणीय अवस्था सूचकमा छिमेकी भारत, पाकिस्तान र अफगानिस्तानभन्दा अघि देखिएको छ। ‘इन्भारोमेन्टल पर्फमेन्स इन्डेक्स (इपीआई) २०१४ अनुसार नेपाल ३७ अंकसहित १ सय ३९ औं स्थानमा छ। अध्ययनमा समावेश १ सय ७८ मुलुकमध्ये भारत १ सय ५५ औं स्थानमा, पाकिस्तान १ सय ४८ औं स्थानमा तथा अफगानिस्तान १ सय ७४ औं स्थानमा छन्। यी सूचकमध्ये वायु प्रदूषणमा नेपालको अवस्थाचिन्ताजनक देखिएको छ। १ सय ७८ मुलुकमध्ये नेपालको वायुको गुणस्तर १ सय ७७ औं स्थानमा छ। पानी र सरसफाइको अवस्थामा नेपाल १ सय ३३ औं स्थानमा छ।

व्यावसायिक मनोबल बढ्यो

नेपाली उद्योगी-व्यवसायीहरूको व्यावसायिक मनोबल १० अंकले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको व्यावसायिक मनोबल सर्वेक्षणले सन् २०१३ को पहिलो ६ महिनामा व्यावसायिक मनोबल ९ दशमलव ८ बिन्दुले बढेर ४९ दशमलव ५ पुगेको देखाएको छ। सर्वेक्षणमा मुलुकभरका ४ सय २० उद्योगी-व्यवसायी सहभागी थिए।

काठमाडौं दक्षिण एसियाकै महँगो सहर

काठमाडौं दक्षिण एसियाकै महँगो सहर बन्न पुगेको छ। एक अन्तर्राष्ट्रिय अध्ययनले काठमाडौंलाई भारतको मुम्बई र नयाँदिल्ली, पाकिस्तानको कराँचीभन्दा महँगो सहर देखाएको छ। इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको विश्वव्यापी जीवनयापन खर्च प्रतिवेदनअनुसार काठमाडौं विश्वका १ सय ३१ सहरमध्ये ४४ अंकका साथ १ सय २७ औं स्थानमा छ। दक्षिण एसियाका ठूला सहर मुम्बई १ सय ३१, कराँची १ सय ३० औं तथा नयाँदिल्ली १ सय २९ औं स्थानमा छन्।

सबैभन्दा धनी र गरिब जिल्ला

केन्द्र्रीय तथ्यांक विभागको २०५८ सालको प्रतिवेदनमा काठमाडौं प्रथम, भक्तपुर दोस्रो, ललितपुर तेस्रो, कास्की चौथो र चितवन पाँचौं स्थानमा थिए। एक दशकपछि २०६८ सालको प्रतिवेदनमा राजधानी काठमाडौंलाई उछिन्दै कास्की सबैभन्दा कम गरिबी भएको जिल्ला हुन पुगेको छ। यस्तै बाजुरा सबैभन्दा न्यून समृद्धिस्तर भएको जिल्ला हो। एक दशकअघिको अनुमानका आधारमा उच्च समृद्धिस्तरमा परेका २५ जिल्लामध्ये अहिले मनाङ, मुस्ताङ, पर्सा, म्याग्दी, धनुषा, सप्तरी, सिरहा, बारा, रौतहट, दोलखा र जुम्ला गरी ११ जिल्ल्ाा यो समूहबाट बाहिरिएका छन्। १० वर्षमा मध्यम वा निम्न समृद्धि स्तरमा रहेका इलाम, पाँचथर, स्याङजा, काभ्रेपलान्चोक, तेह्रथुम, धनकुटा, नवलपरासी, धादिङ, नुवाकोट, गोरखा र ओखलढुंगाले समृद्धिको खुड्किलो उक्लँदै नयाँ उचाइ हासिल गरेका छन्। यस्तै नेपालका ७५ जिल्ल्ाामध्ये गरिबीको दर सबैभन्दा बढी बाजुरामा (६४ प्रतिशत) र सबैभन्दा न्यून कास्कीमा (४ प्रतिशत) छ।

गरिबीको विषमता र गरिबीको गहनता पनि सबैभन्दा बढी बाजुरामा क्रमशः १९ दशमलब ९ प्रतिशत र ८ दशमलब २ प्रतिशत छ भने सबैभन्दा कम कास्कीमा क्रमशः ० दशमलब ८ प्रतिशत र ० दशमलब ३ प्रतिशत छ।

नेपालका ५८ वटा नगरपालिकामध्ये बर्दियाको गुलरिया नगरपालिका (४९ दशमलब ६ प्रतिशत) मा गरिबीको दर सबैभन्दा बढी र पोखरा उपमहानगर-पालिका (१ दशमलब ३ प्रतिशत) मा सबैभन्दा कम छ। प्रतिवेदन भन्छ- तराईमा सबैभन्दा गरिब जिल्ला सप्तरी हो। सप्तरीका बासिन्दामध्ये ४० प्रतिशत गरिबीको रेखामुनि छन्। गरिबीको दर सबैभन्दा बढी पाँचथर जिल्लामा पहिलेको ५२ दशमलब ५ प्रतिशतबाट ४१ दशमलब १ प्रतिशतले घटेर ११ दशमलब ४ प्रतिशतमा पुगेको छ। त्यसपछि रोल्पामा गरिबीको यो दर ५९ प्रतिशतबाट ३३ प्रतिशतले घटेर २६ प्रतिशत कायम भएको छ। इलाम जिल्ल्ााको गरिबीको दरमा ३२ प्रतिशतले कमी आएको छ। गोरखाको ल्हो र सामगाउँ गाविसमा गरिबीको दर सबैभन्दा उच्च छ भने काठमाडौंको इचंगुनारायण गाविसमा सबैभन्दा कम छ।

सैनिक सामथ्र्यमा नेपाल

सैनिक सामथ्र्यका आधारमा नेपाल विश्वको ७७ औं स्थानमा रहेको ग्लोबल फायर पावर (जिएफपी) ले आफ्नोे प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त प्रतिवेदनले विश्वका १ सय ६ मुलुकको सैन्य सामथ्र्य सूचीकृत गरेको छ। मानव स्रोत, प्राकृतिक स्रोत-साधन, भू-बनोट, भौतिक पूर्वाधार, अर्थ हवाई, जललगायत शक्तिका विभिन्न ५० स्रोतलाई सैनिक सामथ्र्य मापनको मुख्य आधार बनाइएका छन्। जीएफपीले अघिल्लो वर्ष निकालेको सूचीमा भने नेपाल विश्वको ६४औं स्थानमा थियो।

नेपालमा भ्रष्टाचार

भ्रष्टाचारविरोधी अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार निवारणमा उल्लेख्य सुधार आएको जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकमा विश्वका १ सय ७७ देशमध्ये नेपाल ३१ अंक प्राप्त गर्दै १ सय १६ औं स्थानमा छ। सन् २०१२ मा नेपाल २७ अंक पाएर १५४ औं स्थानमा थियो। यो वर्ष ४ अंक बढ्नुमा सरकारले सुशासनका क्षेत्रमा गरेको पहल, रिक्त संवैधानिक निकायहरूमा नियुक्ति, भ्रष्टाचारसम्बन्धी मुद्दाका फैसला, अख्तियारको सक्रियताजस्ता केही कदमले मदत पुर्‍याएको बताइएको छ। यस वर्षको सूचीमा डेनमार्क र न्युजिल्यान्ड कुल १ सयमध्ये ९१ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने अफगानिस्तान, उत्तरकोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन्।

पोलियोमुक्त राष्ट्र

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसहित दक्षिणपूर्वी एसियाका ११ मुलुकलाई ‘पोलियोमुक्त’ घोषणा गरेको छ। डब्लूएचओको मापदण्डमा नेपाल गत वर्ष नै पोलियोमुक्त भैसके पनि दक्षिणपूर्वी एसिया क्षेत्रमा एकसाथ घोषणा गर्न एक वर्ष पर्खनुपरेको थियो। नेपालमा २०१० अगस्टमा अन्तिम पटक पोलियो रोगी बालक भेटिएका थिए, भारतमा भने २०११ जनवरीमा अन्तिम रोगी भेटिएको थियो। पोलियो थोपा ख्वाउने कार्यक्रमको प्रभावकारिता एवं राम्रो अनुगमनका कारण यो अभियानमा भारतभन्दा नेपाल अगाडि आएको हो। नेपालमा सन् १९९५ पछि पोलियो थोपा ख्वाउने सरकारी कार्यक्रमले प्रभावकारी अभियानको रूप लिएको थियो।

विश्वकै उत्कृष्ट पदयात्रामार्ग

सगरमाथा आधारशिविर विश्वकै उत्कृष्ट पदयात्रा मार्गमा छानिएको छ। बेलायतबाट प्रकाशन हुने डेली मेल पत्रिका तथा वल्र्ड एक्सपिडिसन्स कम्पनीले सगरमाथा आधार शिविरलाई यो वर्ष विश्वकै सर्वोत्कृष्ट पदयात्रामार्गका रूपमा सूचीकृत गरेको टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले जनाएको छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=13920

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s