ज्येष्ठ नागरिक न परिवारका न राज्यका

काठमाडौँ, पेप्सीकोलाबाट भक्तबहादुर बस्नेत, ८२, सरकारी अड्डाको कारिन्दाझैँ हरेक दिन ९ नबज्दै सकी नसकी मीनभवन पुग्छन् । पछिल्ला ११ महिनायता उनको दैनिकी यस्तै छ। अघिल्लो वर्षको जेठपछिका चार महिना उनले नित्य कोटेश्वर धाएर बिताए। साउनपछि उनको गन्तव्य फेरियो र मीनभवन आइपुगे, आफ्ना साथीहरूसँग।

बस्नेतको टोलीमा उनीजस्तै उमेरका झन्डै दुई सयभन्दा बढी ज्येष्ठ नागरकि प्रत्येक दिन मीनभवन धाइरहेछन्। सरकारसँग उनीहरूको माग छ, स्वास्थ्य उपचार र यातायातमा सहुलियत तथा पाँच सय रहेको वृद्धभत्तालाई बढाएर तीन हजार रुपियाँ पुर्‍याउनुपर्ने। १४ महिने संघर्षपछि उनीहरूको आन्दोलनमा एउटा नयाँ कुरा थपिएको छ, आन्दोलन गर्दा गर्दै देहावसान भएका पाँच वृद्धहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको एउटा तुल।

६ छोराछोरीका बाबु बस्नेतलाई आन्दोलनका सुरुआती दिनमा सरकारले यतिसम्म बेवास्ता गर्ला भन्ने लागेको थिएन। उनी एउटै प्रश्न गर्छन्, “सरकार किन यतिसाह्रो निर्दयी ?” १४ महिनायता आन्दोलनकै बीचमा रामु पोख्रेल, ८०, नरबहादुर खाँड, ७५, प्रेमहरि अमात्य, ७२, लालबहादुर खत्री, ८०, र बासु लम्साल, ६५, को निधन नै भइसकेको छ।

पछिल्लो एक सातायता वृद्धवृद्धाहरूले मध्यदिनको गर्मीमा पिच सडकमै सुतेर सरकारको विरोध गररिहेका छन्। तर, उनीहरूले उठाएको मुद्दा १० हात परको संविधानसभा भवनसम्म पुग्न सकेको छैन। ज्येष्ठ नागरकि संयुक्त तदर्थ समितिका सहसंयोजक नयन्द्रबहादुर खड्का दुई-चार जना नेता आएर आश्वासन दिनेबाहेक अरू केही प्रगति हुन नसकेको बताउँछन्। भन्छन्, “नेपाली कांग्रेसले पाँच सय रुपियाँ थपिदिने आश्वासन दिएको थियो, एमालेले त कार्यालय छिर्नै दिएन।” आन्दोलनको १४ महिने यात्रामा वृद्धवृद्धाहरूमाथि पटक-पटक लाठीचार्ज भयो। प्रहरीहरू परिचालन भए। तर, समस्या सल्टाउने दिशातिर न कुनै काम भएको छ, न त वृद्धवृद्धाहरूले आफ्नो आन्दोलन रोकेका छन्।

मीनभवनको आन्दोलनमा सहभागी अधिकांश वृद्धवृद्धा एक्लो र नीरस बुढ्यौली जीवन बिताइरहेका छन्। तर, उनीहरू आफ्ना परिवार, समाज र राज्यबाट परित्यक्त हुँदाका अनेकन् कथाहरू बताउन सक्दैनन्। मुटु गह्रौँ हुन्छ, आँखा रसाउँछन्। भक्तबहादुर बस्नेतकै कुरा गरौँ, उमेरको अन्तिम विन्दुमा उनी आफ्नै उमेरकी बिरामी पत्नीसँग पेप्सीकोलाको साँघुरो भाडाको कोठामा दिन गुजाररिहेका छन्।

खुट्टा झम्झम्याउने बस्नेत दम्पतीको साझा समस्या हो। झापाको बुढ्यौली घर पहिरोले बगाएपछि र छोराछोरीबाट बारम्बार अवहेलनाको सिकार बनेपछि उनी लतारिँदै काठमाडौँको ३ हजार २ सय मासिक भाडा तिर्नुपर्ने कोठामा आइपुगेका हुन्। १२ वर्षदेखि बेपत्ता भएको एउटा छोराको याद र बिरामी पत्नी स्याहार्दाको हैरानीले उनी प्रत्येक दिन गल्दै छन्। भन्छन्, “मर्ने बेलामा सरकारले हामीजस्ताका लागि केही गरिदिएको हेर्ने मन छ।”

रक्तचाप र ग्यास्टि्रकका रोगी दोलखाका शिवप्रसाद पौडेल, ७१, पनि आन्दोलनले केही परिणाम ल्याइहाल्छ कि भन्ने आशमा हरेक दिन मीनभवन पुग्छन् र साँझ लखतरान भएर घर र्फकन्छन्। पट्यारलाग्दो घरको बसाइ, जागिरे छोराबुहारी र रिक्तो घर, उनलाई कताकता आफूबाट खुसी ओझेल पर्दै गइरहेजस्तो लाग्छ। आफू दबिएको, हेपिएको या किनारामा पारिएको जस्तो अनुभूत हुन्छ। भन्छन्, “वृद्ध अवस्था भएपछि मनोबल थेगिने खालको वातावरण चाहिँदो रहेछ।”

कुल जनसंख्याको करबि ९ प्रतिशत जनसंख्या ओगट्ने नेपालका अधिकांश वृद्धवृद्धाको अवस्था एउटै खालको छ। उनीहरूका बुढ्यौली दिन नीरस छन् र उनीहरू सहाराको खोजीमा देखिन्छन्। घरबाट परित्यक्त र दुःख खेपेकाहरूलाई आश्रय दिनका लागि काठमाडौँको गोंगबुमा हिमालयन वृद्धाश्रम सञ्चालन गररिहेकी सरला पन्थी वृद्धवृद्धाका अनेकन् दुःखका कथासँग परिचित छिन्। परत्ियक्त २३ जना वृद्धा स्याहाररिहेकी पन्थी भन्छिन्, “धेरैजसो वृद्धवृद्धा घरका सदस्यहरूका निम्ति बोझ बनेको देखिन्छ।”

कतिसम्म भने, रामेछाप, बाम्तीभण्डारकी भीमादेवी बस्नेत, ६०, लाई त वृद्धाश्रममा उनकी आफ्नै छोरीले ‘गाउँले माइजू हुन्’ भन्दै ल्याएर छाडेकी थिइन्। भारत बस्ने छोरीले बेलाबखत उनलाई लुगाफाटा र खानेकुरा दिँदै आएकी रहिछन्। वृद्धाश्रमकी अध्यक्ष पन्थी भन्छिन्, “छोरी भेट्न नआएपछि मातातीर्थ औँसीको दिन आमा नमज्जाले रुनुभयो।”

उनका दुःखका दिनहरू १० वर्षअघि पति बितेपछि सुरु भएका थिए। बीचमा छोरीले एक वृद्धाश्रममा मासिक सात हजार रुपियाँ तिर्ने गरी राखेकी थिइन्। तर, पैसा तिर्न हम्मेहम्मे भएपछि दोस्रो महिनाबाटै उनी छोरीका लागि बोझ बन्न थालिन्। सम्झिन्छन्, “आफैँले जन्माएकी छोरीबाट त्यति धेरै वचन सुन्नुपर्ला भन्ने कहिल्यै लागेको थिएन।”

निजगढ घर भएकी फत्तकुमारी सापकोटा, ६९, त बालविवाहकी सिकार हुन्। ०२० सालमै बालविधवा बनेकी उनका छोराछोरी छैनन्। उमेर छँदासम्म उनले भदाहाहरूसँगै बसेर काठमाडौँमा नाङ्लो व्यापार गरनि्। जब बुढ्यौलीमा रक्तचाप र मुटुरोगले सताउन थाल्यो, उनलाई वृद्धाश्रम ल्याएर छोडियो।

यस्तै कथा धादिङ, रैलचौरकी भगवती क्षेत्री, ६५, को पनि छ। रक्सीको लतमा परेका पतिको कुटाइ र घरको सबै जायजेथा बेचेर सकेपछि विरक्तिएर काठमाडौँ आएकी थिइन्। दुई वर्ष काठमाडौँका सडकपेटी र मन्दिर आसपास चहारेरै उनले बिताइन्। बिरामी भएर थलिएपछि नेपाल प्रहरीले उद्धार गरेर उनलाई

वृद्धाश्रमसम्म पुर्‍याइदियो।

सन्तान नभएका, छोरा नभएका र आर्थिक अभाव कमजोर भएका ज्येष्ठ नागरकिहरूको अवस्था सबैभन्दा दयनीय छ। अझ केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने त ८५ प्रतिशतभन्दा धेरै ज्येष्ठ नागरकि ग्रामीण भेगमा बसोवास गर्छन्। त्यसमध्ये अधिकांशको दिनचर्या नाति-नातिनाको हेरचाह गरेर बितिरहेको छ। उनीहरू आयमूलक कामभन्दा टाढा छन्। जसको कारण पारिवारकि अवहेलनाको सिकार भइरहेका छन्।

राष्ट्रिय मानव अधिकार आयोग र वृद्धवृद्धाहरूको क्षेत्रमा काम गर्ने संस्था जेरियाटि्रक सेन्टर नेपालले जुलाई २००८ पछिका दुई वर्षसम्म ज्येष्ठ नागरकिसम्बन्धी भएका दुव्र्यवहारसम्बन्धी दुई राष्ट्रिय दैनिकमा प्रकाशित १ सय १७ समाचारको अध्ययन गरेको थियो। त्यसमध्ये ५१ घटना शारीरकि दुव्र्यवहारसँग सम्बन्धित थिए भने ४५ दुव्र्यवहारका घटनाहरू घरभित्रका। यो तथ्यले ज्येष्ठ नागरकिहरू कुन तहको समस्या कहाँ खेप्दै छन् भनेर बुझ्न मद्दत गर्दछ।

ज्येष्ठ नागरकिहरूको अवस्थाबारे ग्लोबल एज वाचले सन् २०१३ मा विश्वका ९१ देशमा गरेको अध्ययन अनुसार नेपाल ७७औँ स्थानमा छ। उक्त रिपोर्टमा भनिएको छ, ‘दक्षिण एसियाली राष्ट्रहरूको तुलनामा नेपालमा वृद्धवृद्धाहरूको अवस्था अत्यन्तै दयनीय छ।”

रिपोर्टका अनुसार नेपालका ज्येष्ठ नागरकिहरूमध्ये ८ दशमलव ४ प्रतिशतले मात्रै निम्न माध्यमिक वा उच्च शिक्षा हासिल गरेका छन्। यसले गरिबी र अशिक्षित वृद्धवृद्धाको अधिक संख्या दर्साउँछ। स्वाभाविक रूपमा यस्ता ज्येष्ठ नागरकि जोखिममा हुन्छन्। झन् पितृसत्तात्मक परिवार र सम्पत्तिप्रधान सोच भएको समाजमा निहत्था वृद्धाहरूको हालत कस्तो होला ? अनुमान मात्र काफी छ। उक्त रिपोर्टले ५३ प्रतिशत वृद्धवृद्धाहरूले मात्रै सामाजिक स्वतन्त्रताको अनुभूति गर्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय ज्येष्ठ नागरकि महासंघका अध्यक्ष गौरीशंकर लालदासका विचारमा ज्येष्ठ नागरकि सरकार, समाज र परिवार सबैका निम्ति बोझको विषय बनेको छ।

ज्येष्ठ नागरकिहरूको अधिकारको क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका अध्यक्ष कृष्णमुरारि गौतम भने नेपालका ज्येष्ठ नागरकिलाई तीन प्रकारका समस्या रहेको बताउँछन्। पहिलो, सन्तान भए पनि वा सन्तानले चाहे पनि आर्थिक अवस्था नाजुक भएका कारण बाबुआमाको आवश्यकता पूरा गर्न नसक्ने। दोस्रो, आर्थिक अवस्था राम्रो भईकन पनि सन्तान साथमा नहुने। तेस्रो, उच्च ओहोदामा रहेका र पैसा कमाएका सन्तानले पनि बाबुआमाको ख्याल गर्न छाडेका। उनको निष्कर्ष छ, “समस्याको प्रकृति फरक होला तर सबै वृद्धवृद्धा यिनै आयामबाट ग्रस्त छन्।” (हेर्नूस्, टिप्पणी)

सक्रिय र निष्क्रियको समयरेखा

नेपालको कानुनले ६० वर्ष उमेर काटेकालाई ज्येष्ठ नागरकि मानेको छ। तर, उमेरको यो खुट्किलो काटेका सबै ज्येष्ठ नागरकि निष्क्रियताका हिसाबले उस्तै छन् त ? राष्ट्रिय ज्येष्ठ नागरकि महासंघका अध्यक्ष लालदास काम गर्न सक्ने शक्ति भएकाहरूलाई पनि सक्रिय बनाएर राख्ने परिपाटी नेपाली समाजमा विद्यमान नरहेको बताउँछन्। उनको तर्कलाई बल दिन्छ, नेपालको कानुनले तोकेको निवृत्त उमेरको हदबन्दीले। नेपालको कानुन र सामाजिक व्यवस्थाले ६० वर्षको उमेरलाई सक्रिय उमेरका रूपमा स्वीकार्दैन। त्यसको प्रत्यक्ष मार खेपेका छन् जाँगर, सीप र अनुभव भए पनि खाली हात बस्नुपरेका ज्येष्ठ नागरकिहरू। सक्रिय हुन नसकेपछि घरपरिवारबाट छिट्टै तिरस्कारमा पर्नेहरूको संख्या पनि उल्लेख्य छ समाजमा।

नेपालमा प्रशासनिक सेवाबाट ५८ वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था छ। स्वास्थ्य सेवामा ६० र न्यायिक सेवामा रहेकाले ६३ वर्षमा अवकाश पाउँछन्। प्रधानन्यायाधीशको हकमा भने उमेरअवधि ६५ वर्षसम्म रहेको छ। ५९ वर्षअघि नेपालीको औसत आयु २७ वर्ष मात्रै थियो। त्यो अहिले बढेर ६९ वर्ष पुगिसकेको छ। तर, प्रशासनिक सेवामा अवकाश पाउने उमेर भने अहिलेसम्म फेरिएको छैन। एजिङ नेपालका अध्यक्ष गौतम औसत आयुको वृद्धिसँगै अवकाश पाउने उमेर पनि बढाउनुपर्ने तर्क गर्छन्। भन्छन्, “काम गर्न सक्ने उमेरमै बेकामे भएर बस्नुपर्ने नियतिले धेरै ज्येष्ठ नागरकिलाई सामाजिक रूपमा कमजोर तुल्याइदिएको छ।”

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष लालदास काम गर्न सक्ने शारीरकि र मानसिक अवस्था हुँदाहुँदै पनि राज्यले तैँले काम गर्न सक्दैनस्, तँ खाली बस् भन्नु व्यावहारकि नभएको बताउँछन्। त्यसका लागि उनी आफ्नै उदाहरण अघि सार्छन्। ३० वर्षअघि अवकाश पाएका ९२ वषर्ीय छाती रोग विशेषज्ञ लालदास अहिले पनि ठमठम्ती हिँड्छन्, आफ्नो काममा उत्तिकै सक्रिय देखिन्छन्। भन्छन्, “उमेर जति भए पनि म उत्तिकै सक्रिय छु।” लालदास ६० वर्ष उमेर काटेकाहरूलाई मात्रै रोजगारको अवसर दिने जापानमा रहेको सुहान बेकरीको उदाहरण दिँदै भन्छन्, “हामीकहाँ पनि त्यस्तै अभ्यासको खाँचो छ।”

सरकारी पहल

राज्यले ज्येष्ठ नागरकिका लागि देखिने गरी गरेको सबैभन्दा ठूलो सहयोग सामाजिक सुरक्षा भत्ता नै हो। यसको सुरुआत ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले गरेको थियो। तत्कालीन सरकारको ७५ वर्ष काटेका वृद्धवृद्धालाई मासिक एक सय रुपियाँ भत्ता दिने कार्यक्रमलाई त्यसपछिका प्रत्येक सरकारले निरन्तरता दिए। त्यसको १४ वर्षपछि ०६५ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले भत्ता वितरणको उमेर तथा मासिक भत्ता परविर्तन गर्‍यो। त्यसपछि कर्णाली अञ्चल र दलित तथा पीडितहरूको हकमा ६५ वर्षभन्दा माथिका र अन्यका हकमा ७० वर्ष काटेकाहरूले मासिक पाँच सय रुपियाँ भत्ता पाउन थाले। थोरै रुपियाँ भए पनि भत्ताको प्रभाव ज्येष्ठ नागरकिको जीवनमा ठूलो छ।

दुई वर्षअघि गैरसरकारी संस्था हेल्प एज इन्टरनेसनलको सहयोगमा नेपान नामक संस्थाले गरेको एक अध्ययनले सरकारी भत्ताका कारण ज्येष्ठ नागरकिको सामाजिक प्रतिष्ठामा वृद्धि भएको निष्कर्ष निकालेको थियो। १५ जिल्लामा गरिएको उक्त अध्ययनले भत्ता रकम स्वास्थ्य तथा धार्मिक क्षेत्रमा बढी खर्च हुने देखाएको थियो। वृद्धभत्ता वितरणको तेस्रो वर्ष अर्थात् आर्थिक वर्ष ०५३/५४ मा १ लाख ७२ हजार ७५ जना लाभान्वित भएकामा अहिले त्यो संख्या ९ लाख २२ हजार ७ सय ४१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरकि जेरियार्टिक वार्ड स्थापना तथा सञ्चालन निर्देशिका, २०७० हालै पारति गरेको छ। उक्त निर्देशिका कार्यान्वयन भएको खण्डमा देशका विभिन्न पाँच स्थानमा रहेका अस्पतालमा ज्येष्ठ नागरकिले उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन्। ती अस्पतालहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरास्थित पश्चिमाञ्चल अस्पताल, भरतपुर अस्पताल, पाटन अस्पताल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद संस्थान हुन्। मन्त्रालयको जनसंख्या महाशाखाका अनिल थापा वैशाखबाट यो निर्देशिका देशैभर लागू हुने बताउँछन्। भन्छन्, “यसले वृद्धवृद्धालाई ठूलै राहत दिनेछ।”

ज्येष्ठ नागरकिको आधिकारकि तथ्यांक नहुनाले नै उनीहरूको पक्षमा राज्यको लगानी कहाँ र कसरी गर्ने भन्ने समस्या उब्जिरहेको छ। “ज्येष्ठ नागरकि कहाँ छन्, कति छन्, कुन अवस्थामा छन् भन्ने आधिकारकि तथ्यांक छैन,” थापा भन्छन्, “त्यसैले योजना बनाउनुअघि नै बृहत् सर्वेक्षण जरुरी छ।” मन्त्रालयका अनुसार यही समस्यालाई हटाउन अहिले मन्त्रालयले देशभरका ज्येष्ठ नागरकिको अवस्थामाथि सर्वेक्षण प्रक्रिया सुरु गरसिकेको छ।

३३ वर्षे सरकारी सेवाबाट निवृत्त भएर ज्येष्ठ नागरकिको अधिकारको विषयमा लागिपरेका मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ, ७८, समुदायको तल्लो तहसम्म ज्येष्ठ नागरकि उपभोक्ता समितिको निर्माण नगरेसम्म तिनीहरूको समस्याको उचित समाधान नहुने तर्क गर्छन्। यही निष्कर्षमा पुगेका श्रेष्ठसहित उनका साथीहरू अहिले उपभोक्ता समिति निर्माणको नीति र योजना कार्यान्वयन गर्न नीतिगत लबिङमा जुटेका छन्।

प्रत्येक गाविसमा ज्येष्ठ नागरकि उपभोक्ता समिति बनाउने प्रयासमा तयार गरिएको कार्यविधि अहिले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय हुँदै स्थानीय विकास मन्त्रालयसम्म पुगिसकेको छ। मानवशास्त्री श्रेष्ठ विकासको १० प्रतिशत बजेट ज्येष्ठ नागरकिका निम्ति खर्चिनु राज्यको दायित्व भएको बताउँछन्। भन्छन्, “त्यसका निम्ति गाविस तहमा निर्माण हुने ज्येष्ठ नागरकि उपभोक्ता समिति सबैभन्दा प्रभावकारी संयन्त्र हो।”

(आवरणसहित तस्बिरहरू ः लक्ष्मीप्रसाद ङाखुसी)

कमजोर कानुन

ज्येष्ठ नागरिकप्रति परिवार, समाज र राज्यको भूमिका कमजोर हुनुका पछाडि वृद्धवृद्धामैत्री कानुनको अभाव पनि प्रमुख कारण हो । ज्येष्ठ नागरिक ऐन, २०६३ ले ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्ने कर्तव्य परिवारको सदस्य, नातेदार वा हकवालालाई तोकेको छ । तर, ऐनले तोकेको व्यक्तिबाट उचित पालनपोषण तथा हेरचाह नभएका ज्येष्ठ नागरिकले पालनपोषण तथा हेरचाहका लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडाअध्यक्षसमक्ष उजुरी दिन सक्ने व्यवस्था पनि छ । तर, जिम्मेवारी निर्वाह नगर्नेमाथि के गर्ने भन्ने विषयमा ऐन मौन छ । ऐनमा ‘त्यस्ता व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित पनि गर्न सकिने’ बताइएको छ, जसले कुनै ठोस कारबाहीको बाटो देखाउँदैन ।

ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरू यही कानुनी मौनताकै कारण अधिकांश ज्येष्ठ नागरिक अपहेलित र तिरस्कृत हुनुपरेको बताउँछन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष गौरीशंकर लालदास भन्छन्, “ऐन यथार्थपरक र व्यावहारिकभन्दा पनि भावनात्मक छ । त्यसैले हस्तक्षेपकारी नियम ल्याउनु आवश्यक भइसकेको छ ।” जबकि, नेपालको कानुनले आमाबाबुको सम्पत्तिमाथि छोराछोरीको हक लाग्ने संवैधानिक ग्यारेन्टी गरेको छ । एजिङ नेपालका अध्यक्ष कृष्णमुरारि गौतम प्रश्न गर्छन्,  “बाबुआमाको सम्पत्तिमाथि छोराछोरीको हक लाग्ने तर तिनलाई उचित स्याहार गरेर पाल्नुपर्ने बाध्यकारी व्यवस्था कानुनमा हुनु नपर्ने ?”

कति छन् ज्येष्ठ नागरिक ?

विसं ०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ८.१३ प्रतिशत हिस्सा ज्येष्ठ नागरिकको छ । अर्थात् नेपालमा २१ लाख ५४ हजार ३ ज्येष्ठ नागरिक छन् । कुल वाषिर्क जनसंख्या वृद्धिदर १.४ प्रतिशत रहेको अवस्थामा वृद्धवृद्धाको वृद्धिदर ३.५ प्रतिशत छ । त्यसैले जनगणनापछिका वर्षहरूलाई पनि समेट्दा अहिले नौ प्रतिशतभन्दा धेरै ज्येष्ठ नागरिक रहेको अनुमान छ ।

जनसंख्याविद्हरूका अनुसार यही अनुपातमा ज्येष्ठ नागरिकहरूको जनसंख्या वृद्धि हुने हो भने आगामी २० वर्षमा ज्येष्ठ नागरिकको संख्या दोब्बर हुने देखिन्छ भने सन् २०५० मा ज्येष्ठ नागरिकहरूको संख्या ६० लाखभन्दा धेरै हुने अनुमान गर्न सकिन्छ। अहिलेको जनसांख्यिक बनोटलाई केलाउँदा प्रत्येक १२ मा एक वृद्धको संख्या रहेको छ, जुन आगामी १७ वर्षपछि प्रत्येक ६ नागरिकमा एक जना ज्येष्ठ नागरिक हुनेछन् ।

टिप्पणी : बूढो हुनु अपराध होइन

– कृष्णमुरारि गौतम

एउटा समय थियो, जतिबेला केटाकेटीहरू ‘आगो ताप्नु मुढाको कुरा सुन्न बूढाको’ भन्ने अर्ती सुनेर हुर्किन्थे। बूढापाकालाई सम्मान गर्नुपर्छ भनेर संस्कारगत रूपमै सिकाइन्थ्यो। स्कुल छिरेकाहरू ‘मातृ देवो भवः, पितृ देवो भवः’ पढ्दै कक्षा चढ्थे। सामूहिक पारिवारकि संरचनाका कारण पनि बूढाबूढीहरू अहिलेजस्तो एक्ला र परित्यक्त थिएनन्। उपभोक्तावादी सोच र चिन्तन फैलिसकेको थिएन। जागिरे परम्परा घरभित्र छिरसिकेको थिएन। समय बदलियो। हजुरबा र हजुरआमाको काखमा हुर्किने बाबुनानीहरू मन्टेसरी पुगे भने केटाकेटीसँग खेलेर समय कटाइरहेका बूढाबूढीहरू वृद्धाश्रम। समाजमा मन्टेसरी र वृद्धाश्रम दुवैको संख्या एउटै रफ्तारमा अघि बढिरहेको छ। यही तथ्य पर्याप्त छ, नेपाली समाजका बूढाबूढीको अवस्था बुझ्नका निम्ति। हाम्रा बाबुनानीहरू बूढापाकाको अनुभव, ज्ञान र संस्कारबिना हुर्किरहेका छन् र हाम्रा बूढाबूढीहरू एक्लो अनि नीरस जिन्दगी बाँचिरहेका छन्।

केटाकेटीहरूको भविष्य छ। त्यही भएर तिनीहरूको अधिकारको विषयमा सबैले चासो दिन्छन्। वयष्कहरूको वर्तमान छ र पाखुरीमा बल पनि छ। त्यही भएर तिनीहरूको कुरा सबैले सुन्छन्। तर, बूढाबूढीसँग के छ ? उनीहरूसँग अनुभव छ तर त्यसलाई आधुनिक समाज सुन्न, बुझ्न र सिक्न चाहँदैन। सबै हतारमा छन्। हतारमा हिँडिरहेको समाजबाट बूढाबूढीहरू भने छुट्दै गएका छन्। ज्येष्ठ नागरकिसँग भएका ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण हुने कडी नेपाली समाजबाट टुटेको छ। नयाँ पुस्ता र ज्येष्ठ पुस्ताबीचको एउटा ज्ञान र अनुभव आदानप्रदानको पुल भत्किएको छ। परिवारका सदस्यहरूबीच संस्कृति, परम्परा र स्वभावजन्य गुणहरूको हस्तान्तरण हुने क्रम रोकिएको छ। नयाँ पुस्ताले लिन सक्ने अमूल्य ज्ञान र अनुभव त्यसै खेर गइरहेको छ। त्यस्तो ज्ञान र अनुभव छुट्दा ठूलो घाटा नयाँ पुस्तालाई नै भइरहेको छ।

समाजमा सबै तह, तप्का र उमेर समूहका मानिस हुन्छन् भनेर मानिसहरू स्वीकार्नै चाहँदैनन्। यसरी बूढाबूढीलाई समाजबाट अलग्याएरै अवमूल्यन गर्ने काम भइरहेको छ। कुल जनसंख्याको झन्डै नौ प्रतिशत जनसंख्या राज्य र समाजबाट तिरस्कृत भइरहेको छ। उमेर बढ्दै जाँदा मानिसको अधिकार पनि कटौती हुने, माया, सम्मान र स्नेह पनि कटौती हुँदै जाने परम्परा हामीले हुर्काइरहेका छौँ। जसका कारण बूढाबूढीलाई समाजको बोझ ठान्ने सोच बढेको छ। आफू पनि भोलि अर्काका लागि बोझ बन्न तयार भएर नयाँ पुस्ता अगाडि बढ्दै छ। ज्येष्ठ नागरकिप्रति हाम्रो पनि केही जिम्मेवारी छ भनेर कोही स्वीकार्न तयार देखिँदैन। न राज्य, न समुदाय, न सामाजिक संघसंस्थाहरू नै। बूढाबूढीप्रति जिम्मेवार हुनुपर्छ भनेर केटाकेटीलाई पढाइएको छैन नै, वयष्कहरू पनि यो मुद्दामा गम्भीर छैनन्। एकल पारिवारकि संरचनाको बढ्दो विस्तार, वैदेशिक रोजगारी र तीव्र सहरीकरणको मार ज्येष्ठ नागरकिहरू खेपिरहेका छन्। परिवारका सदस्यस्यहरूभावनात्मक रूपमा एक हुन सकिरहेका छैनन्। बूढाबूढीप्रति कस्तो व्यवहार गर्ने, कसरी माया गर्ने, कसरी स्याहार्ने, कसैको चासोको विषय बनिरहेको छैन।

यहाँ कोही मान्छे बूढो हुनै चाहँदैन। बूढो भइयो भने अपहेलनाको सिकार हुनुपर्ला, तिरस्कार खेप्नुपर्ला र एकलकाँटे भइएला भन्ने डर छ। उमेर बुढ्यौलीतिर लम्किसक्दा पनि मान्छे आफूलाई बूढो स्वीकार्दैन। कोही पनि बुढ्यौलीलाई गर्वको विषय ठान्दैनन्। हीनताको रूपमा बुझ्छन्। कपालमा कालो रंग लगाएर हुन्छ कि, नक्कली दाँत फेरेर हुन्छ कि, चस्माको सट्टा आँखामा लेन्स राखेर हुन्छ, मान्छे सकेसम्म आफ्नो बुढ्यौलीलाई जबरजस्ती छोपिरहेको छ।

यस्तो किन भइरहेको छ त ? किनभने, हाम्रो समाजले बुढ्यौलीलाई जीवनको एउटा स्वाभाविक उपक्रमका रूपमा स्वीकार्दैन। बूढो देखिनु भनेको खिसीटिउरीको विषय बन्नु, कमजोर र निर्धो देखिनु हो भन्ने आमबुझाइ छ। त्यसैले मानिसहरू सम्मानको खोजीमा आफ्नो बुढ्यौलीलाई लुकाउने असम्भव प्रयत्नमा लागिरहेका छन्। तर, के बुढ्यौली लुकाएर राख्ने कुरा हो ? कि बूढो हुनु कुनै अपराध हो ? कि यो सामाजिक विकासक्रमभन्दा बाहिरको कुरा हो ?

हाम्रो चिन्तनमाथि यही विन्दुबाट सुधार गर्नु जरुरी छ। ज्ञान र अनुभवको आदानप्रदान नहुने समाज कहिल्यै उँभो लाग्दैन। तर, हामीकहाँ बूढाबूढीको सरोकार, अधिकारको बहसको विषय बन्न सकिरहेको छैन। बूढाबूढीले अहिले भोगिरहेको समस्या एउटा कालक्रमको मात्रै समस्या होइन, यो आउँदो पुस्ताले भोग्नुपर्ने समस्या हो। त्यसबाट भागेर, उम्केर कहीँ पुगिँदैन।

Source : http://www.ekantipur.com/nepal/article/?id=6762

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s