महिलाका सर्वश्रेष्ठ गुण तथा सबल पक्ष

लक्ष्मी भण्डारी थापा

पुरुषको तुलनामा महिलामा सहनशीलता र प्रेमको क्षमता बढी हुन्छ भन्ने तथ्य विभिन्न शोधले देखाइसकेका छन्। महिलामा परिवारलाई मायाको डोरीले एकत्रित गर्नसक्ने खुबी पनि हुन्छ। यसपटकको नारी बहस प्रकृतिले धेरै थोक प्रदान गरेको मानिने नारीका यस्तै क्षमता र गुणका विषयमा केन्दि्रत छ।

रूपा न्यौपाने, सरोदवादक
हरेक जिम्मेवारी धैर्यपूर्वक पूरा गर्न सक्नु नारीको अनौठो क्षमता हो। जस्तोसुकै शंकटमा पनि आफू सम्हालिने र अरूलाई सम्हाल्न सक्नु नारीको गुण हो। पुरुषको तुलनामा अरूको खुसीमा रमाउन सक्नु अर्को खुबी हो। भैपरी आउने समस्याका बारेमा योजना बनाउनु तथा विविध भूमिकामा आफूलाई ढाल्न सक्नु महिलाका सबल पक्ष हुन्।
चन्दा बिष्ट, कार्यक्रम अधिकृत,
निर्माता तथा प्रस्तोता, रेडियो नेपाल
नारीमा व्यवस्थापनको अभूतपूर्व कला छ। घर, अफिस, कार्यक्षेत्र, अन्य पारिवारिक तथा सामाजिक दायित्व। ओहो, नारीमा जति दक्ष व्यवस्थापन अरू कसमा होला ? सम्झौता अर्को बलियो पक्ष हो। प्रकृतिमा जे-जति निरन्तर रूपमा चल्दैछ त्यो नारीको सम्झौताले नै सम्भव भएको छ। एकै समयमा धेरै काम गर्न सक्ने बहुप्रतिभाशाली, रोग वा चुनौती, हरेक कुरामा धैर्य धारण गर्न सक्ने क्षमता आदि नारीका विशेष गुण हुन्। बोली-व्यवहारमा नम्रपन, माया, धैर्य एवं सहनशीलता मिलेर नारी शक्ति बन्छ त्यसैले हाँकिरहेको छ यो-ब्रह्माण्ड।
रचना मानन्धर, म्यानेजर, पब्लिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
सहन सक्ने फरक क्षमताकै कारण आज नारी हरेक क्षेत्रमा सफल छन्। घर-व्यवहार, कार्यालय, बालबच्चा, सामाजिक दायित्व आदि विषयका कुशल व्यवस्थापकीय पक्षमा महिलाहरू अब्बल छन्। पुरुषले एकपटकमा एउटै मात्र काममा दिमाग लगाउँछन् तर महिलाहरू एकैपटक एकै समयमा दस वटा काममा आफ्नो दिमाग प्रयोग गर्न सक्छन्। नारीले माया-प्रेमका माध्यमबाट परिवारलाई एउटै सूत्रमा बाँधेर राख्न सक्छन् जुन उनीहरूको सर्वश्रेष्ठ गुण हो।
रेसा पिया, बरिष्ठ ऊर्जा अधिकृत,
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र
पुरुषको तुलनामा नारीहरू बढी संयमित हुन्छन्। जस्तोसुकै परिस्थितिमा पनि धैर्यका साथ अघि बढ्न सक्छन्। कामप्रतिको दृढतामा नारीलाई सायदै कसैले जित्न सक्ला। आफ्नो कामप्रतिको जिम्मेबारी र सफलतालाई बुझेर उनीहरू सदा लगनशील रहन्छन्। अर्को कुरा नारीमा आफ्नो काम र परिवारलाई सन्तुलनमा राख्दै अघि बढ्न सक्ने अचम्मको खुबी हुन्छ। जुन अरूमा कमै पाइन्छ। नारीमा भएका प्रमुख गुण धैर्य, लगनशीलता, व्यवस्थापन गर्न सक्ने क्षमता आदि नै हुन्। त्यसका अतिरिक्त माया, प्रेम, सहनशीलता, प्रकृतिलाई निरन्तरता दिन गरिने सम्झौता आदि पनि नारीका सबल पक्ष हुन्।

केटाकेटीलाई कसरी सिकाउने बचत गर्न

हरेक आमाबुबा आफ्ना सन्तानलाई राम्रो शिक्षा-दीक्षा दिने प्रयास गर्छन्। त्यसैले उनीहरू आफ्ना सन्तान असल बनी कुनै न कुनै क्षेत्रमा सफलता हासिल गरेको देख्न चाहन्छन्। उनीहरू आफ्ना छोराछोरीलाई पढाइका साथै खेलकुद, गीत, संगीत एवं नृत्यमा पनि पोख्त बनाउने धोको हुन्छ। यद्यपि हामीले आफ्ना छोराछोरीलाई पैसाको मूल्य बुझाउने शिक्षा कहिल्यै दिएका छौं ? सम्भवतः छैनौं। यस किसिमको काम थोरै अभिभावकले मात्र गरेका होलान्।
पैसाको मूल्य सम्झाउनुको अर्थ यो होइन कि उनीहरू ‘मनी माइन्डेड’ बनून्। यसको आशय हो, उनीहरूमा पैसा बचत गर्ने बानीको विकास होस्। यदि आफ्ना सन्तानमा पैसा बचत गर्ने बानीको विकास गराउन चाहने हो भने निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।
–    आफ्ना सन्तानलाई त्यस दिनदेखि पैसाको हिसाब-किताब सिकाउन थालांै, जुन दिनदेखि उनीहरूले अंक जोड-घटाउ गर्न सक्छन्। बालबालिकालाई कथा एवं खेलको माध्यमबाट पैसाको महत्वसम्बन्धी शिक्षा दिनुपर्छ।
–    जब-जब शिशु बढ्दै जान्छन् तब-तब उनीहरूको माग पनि बढ्दै जान्छ। विस्तारै-विस्तारै उनीहरूलाई फजुल खर्चबाट रोकौं। उनीहरूलाई आफ्नो संघर्षको सत्य कथा बताऔं। उनीहरूले थाहा पाउनुपर्छ कि, पैसा कमाउन कति कठिन छ ? उनीहरूलाई इमान्दारीका साथ पैसा खर्च गर्न सिकाउनुपर्छ।
–    बालबालिकाले गर्ने सबै माग जायज हुँदैनन्। उनीहरूले जे माग गरिरहेका छन्, त्यो कति सही वा कति गलत छ ? भन्ने विषयमा जानकारी दिनुपर्छ। त्यसपछि उनीहरू स्वयंलाई निर्णय लिन दिनुपर्छ।
–    उनीहरूको आवश्यकता पूर्तिका लागि निश्चित पैसा दिनुपर्छ। उनीहरूलाई विकल्प दिने प्रयास गरौं। आफूले दिएको पैसा कहाँ र कसरी खर्च गर्छन् ? निगरानी राखौं। बालबालिकालाई आफ्नो खर्चको सूची बनाउन लगाउनुपर्छ। यो कुरा पनि महसुस गराउनुपर्छ कि, आफूले गर्ने हरेक क्रियाकलाप उनीहरूकै भलाइको निम्ति हो।
–    आफ्ना सन्तानले राम्रोसँग बचत गर्छन् भने उनीहरूलाई पुरस्कृत पनि गर्नुपर्छ। यसले उनीहरूलाई थप उत्साहित गर्छ।
–    कहिलेकाहीँ बालबालिकासँग पैसा सापटी मागौं। त्यस्तो पैसा फिर्ता गर्दा बजारमा चलेको व्याजको हिसाब गरेर दिनुपर्छ। यसबाट उनीहरूले बजारमा चलेको व्याज दरसम्बन्धी जानकारी हासिल गर्छन्। उनीहरूले जति धेरै बचत गर्छन्, उति नै बढी पैसा सापट चलाएर व्याजसहित फिर्ता गर्नुपर्छ। यसले उनीहरूको मनोबल वृद्धि हुन्छ।
–    आर्थिक लेनदेनका सम्बन्धमा बालबालिकाले राख्ने कुनै पनि जिज्ञासा सही रूपमा समाधान गरिदिनुपर्छ।
–    सधैं फाइदा वा नाफा मात्र दिएर उनीहरूलाई हौस्याउनु पनि हुँदैन। कहिलेकाहीँ घाटा पनि हुन दिनुपर्छ। यसबाट उनीहरूले थाहा पाउँछन्, कि घाटा हुँदा कस्तो परिस्थिति हुन्छ।
– शिव

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको जीवनले अर्कै मोड लियो र उनी उन्नाईस वर्षको उमेरमै शिक्षिका भइन्। तीन वर्षपछि शिक्षण पेसा पनि छोडिन्। एमबीएसम्मको अध्ययन पूरा गरेकी कान्ति हाल टंगाल भाटभटेनीस्थित क्राउन ल्याबरोटरी एण्ड रिफेरल प्राइभेट सेन्टर तथा बालुवाटारस्थित पवित्र वर्कसपकी म्यानेजरका रूपमा कार्यरत छिन्। एकै ठाउँमा तीन सयभन्दा बढी ल्याब टेस्ट हुने व्यस्त सेन्टरको कमाण्ड सम्हालेसँगै गुरूङले पवित्र वर्कसपमार्फत स्वास्थ्य उपकरणको समेत व्यापार गरिरहेकी छिन्। उनको वर्कसपमा रहेका स्वास्थ्य उपकरणहरू देशका प्रायः सबै जिल्लाका स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। दुवै ठाउँमा गरी उनले ३० जनाभन्दा बढीलाईर् रोजगारी दिएकी छिन्। कर्ममा विश्वास गर्ने कान्ति संघर्षले जीवनलाई चिनाउने, काम गर्दा कहिल्यै थाक्न नहुने तथा आफ्नो क्षमता चिनेर अघि बढे कहिल्यै पछि पर्नु नपर्ने मान्यता राख्छिन्। दुई सन्तानकी आमा कान्ति  बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म  घर र अफिसको कामलाई सन्तुलनमा राखेर अघि बढिरहेकी छिन्।
मेहनती अनु
साना नानीहरूलाई तालिम दिनु चानचुने कुरा होइन । बालबालिकाहरूसँग सहकार्य गर्दा उनीहरूको कल्पनाअनुसार नै आफूले भूमिका निर्वाह गर्नुपर्छ । विगत ५ वर्षदेखि एन्जल मन्टेश्वरी स्कुल संचालन गरिरहेकी अनु डंगोल राईको अनुभव हो यो । बालबालिकाहरूसँग सहकार्य गरी उनीहरूलाई सिकाउन रुचाउने अनुले मन्टेश्वरी शिक्षाको तालिमपछि स्कुल स्थापना गरेकी हुन् । लाजिम्पाटमा जन्मिएकी ३० वर्षीया अनुले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । हरेक समय आफ्ना स्कुलका नानीहरूकै विषयमा सोच्ने लामा स्कुलको वातावरण बालमैत्री बनाउन कुनै कसर छोड्दिनन् ।
उनको मेहनतका कारण एन्जल मन्टेश्वरीले आफ्नो परिधि बृहत् बनाउँदै लगेको छ । अनु भन्छिन्, ‘श्रीमान् पनि शिक्षण पेसामा भएकाले मलाई निकै सजिलो भएको छ । यद्यपि महिलाहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ । समय व्यवस्थापन गर्न सके रोकावटबिना निरन्तर अघि बढ्न सकिन्छ ।’
अञ्जुको करिअर यात्रा
विगत १५ वर्षदेखि एउटै बैंकमा सेवारत अञ्जु पन्तले सिनियर एसिस्टेन्टबाट आफ्नो बैंकिङ यात्रा प्रारम्भ गरेकी हुन् । अहिले उनी लुम्बिनी बैंकमा अप्रेसन म्यानेजर छिन् । विवाहपछि उनले स्नातकोत्तर पूरा गरिन् । निकै हँसिली तथा आफ्नो काममा जिम्मेवार अञ्जु बैंकिङ क्षेत्रमा काम गर्दागर्दै परिपक्व भएको बताउँछिन् । उनको विचारमा बैंकिङ क्षेत्र निकै सेन्सेटिभ क्षेत्र हो यहाँ हरेक समय आफू चनाखो तथा आर्थिक क्षेत्रमा धेरै कुराको जानकार हुनुपर्छ । आफ्नो १५ वर्षे कामको अवधिमा बंैकिङ पद्धतिले आफूलाई निकै सशक्त बनाएको उनी बताउँछिन् । अञ्जु भन्छिन्-‘नेपाली महिलाहरूको जीवन पहिलेको तुलनामा निकै सुधारिएको छ । यद्यपि यसमै चित्त बुझाउनुपर्ने बेला भने अझै भैसकेको छैन ।’

गुनासोः उपभोक्ताको अधिकार

झरना नहर्की

किनमेल गर्ने रुचि सबैलाई हुन्छ तर कहिलेकाहीँ किनमेल गर्दा ठगिइन्छ। पसलेसँग गुनासो गर्दा उसले गल्ती मानेर सामान फिर्ता लिने सम्भावना निकै कम हुन्छ। सामान महँगो छ भने त अझ नरमाइलो हुन्छ। गुनासो गर्दा त्यसको सुनुवाइ हुनुको साटो विभिन्न समस्या सामना गर्नुपर्ने बाध्यता हुन्छ। कहिलेकाहीँ सामान बजारमा हुँदा पनि अप्राकृतिक अभाव सिर्जनाका कारण उपभोक्ताहरू महँगा सामान खरिद गर्न बाध्य हुन्छन्। त्यसैले उपभोक्ता अधिकारका विषयमा जान्नु तथा आफ्नो अधिकारका लागि लड्नु आवश्यक छ। नेपाली बजारमा सामग्रीहरूको अनुगमन कमै हुन्छ। बजारमा कस्ता सामान भित्रिन्छन्, कुन नक्कली, कुन सक्कली, कसको सही दाम अन्योल छ। अन्त्यमा त्यसको मारमा उपभोक्ता नै पर्छन्। उपभोक्ताहरूको गुनासाको सुनुवाइ नहुँदा उनीहरूको अधिकारको कुनै सुनिश्चितता छैन। उनीहरू सबैतिरबाट पेलानमा परेका छन्। कुनै पनि सामान आफूले चाहेजस्तो नपाए गुहार्ने ठाउँबाट कुनै प्रकारको कदम उठेको पाइँदैन। नियम त छन् तर तिनको कार्यान्वयन हुन सकेको पाइँदैन। उपभोक्ता ऐन तथा उपभोक्ता अधिकारका लागि पर्याप्त वकालत भएको छ तर कार्यान्वयनमा निकै कमजोरी देखिन्छ। त्यसैले यसबाट बच्न उपभोक्ताहरू आफै सजग बन्नुपर्छ। आफ्नो हकको पहिचान गरी सोहीअनुसार पाइला अघि बढाउनुपर्छ। जागरुक उपभोक्ता ठगिने सम्भावना कम हुन्छ।

सामान खरिद गर्नुभन्दा पहिले पसलेसँग पक्का बिल लिनुपर्छ। ट्याक्स बचाउने लोभमा हामी बिल नलिने भूल गर्छौं तर त्यसो नगरी सामान खरिद गरेपछि बिल लिनुपर्छ। आवश्यक पर्ने सबै कुरा लेखिएको बिल मात्र स्वीकार गर्नुपर्छ। कुनै सेतो कागजमा लेखिएको बिललाई कच्चा बिल भनिन्छ। त्यसैले पसलको नाम तथा भ्याट नम्बर लेखिएको बिल लिनुपर्छ। सामान खरिद गर्दा सामानको ब्रान्ड, लट नम्बर, त्यसको मूल्य आदि सम्पूर्ण कुरा लेखिएको हुनुपर्छ।

हरेक कुरा राम्रोसँग बुझेर सामग्री खरिद गर्नुपर्छ। महँगा सामान खरिद गर्दा त्यसको ब्रोसर पढेर आफू सन्तुष्ट भएपछि मात्र सामान खरिद गर्नुपर्छ। यसको ग्यारेन्टी तथा वारेन्टीका विषयमा पनि आफू एकिन हुनुपर्छ। त्यसको मर्मत तथा आफ्टर सेल्स सर्भिसहरू के-के छन् जानकारी लिनुपर्छ। सबै जानकारी लिएपछि मात्र सामान खरिद गर्ने निर्णय गर्नुपर्छ।

कुनै पनि सामान खरिद गर्दा त्यसको बनावट तथा फङ्सनका विषयमा जानकारी लिनुपर्छ। आफूले खरिद गर्ने सामग्रीको कार्यशैलीका बारेमा विश्वस्त हुनुपर्छ।

आइएसआई तथा गुणस्तर चिन्ह जाँच गर्नुपर्छ। ग्यारेन्टी कार्ड लिन बिर्सनु हुँदैन जसमा सफा अक्षरमा लेखिएको हुनुपर्छ।  

सामान खरिद गर्दा केही जरुरी कुरा जस्तै त्यसको मेनुफ्याक्चर मिति, एक्स्पायर हुने मिति, प्रयोग गर्ने तरिका, प्रयोग गरिएका तत्व जस्ता हरेक पक्षको जानकारी लिनुपर्छ।

कहाँ गुनासो गर्ने ?
कुनै पनि सामग्रीमा दोष भए कहाँ तथा कसलाई उजुरी गर्ने विषयमा सजग हुनुपर्छ। कस्तो अवस्थामा कहाँ गुनासो गर्ने राम्रोसँग विचार  गर्नुपर्छ। आफूले खरिद गरेको उत्पादनमा कुनै दोष, लेखिएको दामभन्दा बढी पैसा लिएको वा प्रयोग भएको पाइए तथा सेवामा कमी भए गुनासो गर्न सकिन्छ।
सामग्रीमा मात्र होइन सेवा दिने निकायका सुविधाबाट आफू खुसी नभए पनि गुनासो गर्न सकिन्छ। यसमा बैंकिङ, इन्स्योरेन्स, रेल, हवाई, बस होटल, रेस्टुराँ आदि सेवा पर्छन्। जागरुक उपभोक्ता बनी आफ्नो अधिकारको रक्षा गर्दै नराम्रो काम गर्नेलाई सजायको भागिदार बनाउनुपर्छ।
उपभोक्ताहरूको अधिकार
मानिसका आधारभूत आवश्यकताभित्र राम्रो खाना, छाना, लुगा, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सरसफाइ पर्छन्।
के गर्ने ?
– आफ्नो आवश्यकतालाई चरणबद्ध गर्ने।
– सदैव संख्याभन्दा गुणस्तरमा ध्यान दिने।
‍- ब्रान्डमा भन्दा गुणस्तरमा ध्यान दिने।
– बजारमा अभाव भएका सामग्री भण्डारण गर्ने।
सुरक्षा अधिकार
मानिसको सुरक्षाको अधिकार पनि निकै महत्वपूर्ण मानिन्छ। यसमा स्वास्थ्य तथा जीवन समाहित हुन्छन्।
के गर्ने ?
– सामान खरिद गर्दा वस्तुमा प्रयोग गरिएका सम्पूर्ण जानकारी तथा मिश्रति सामग्रीका बारेमा पूर्व जानकारी लिनुपर्छ।
– कुनै प्रकारको शंका भए विशेषज्ञबाट जानकारी लिनुपर्छ।
– बालबालिकाहरूको पहुँचबाट टाढा राख्नुहोस् भनी लेखिएका सामग्रीहरूका विषयमा जानकारी लिनुपर्छ।
– सामान खरिद गर्नुभन्दा पहिले त्यसको कुनै स्याम्पल तथा टेस्टर छ भने परीक्षण गरेर सामान खरिद गर्नुपर्छ।
छनोटको अधिकार
सामान खरिद गर्दा आफूलाई मनपर्ने, आफ्ना लागि उपयोगी हुने-नहुने छनोट गर्ने अधिकार उपभोक्ताको हो। पसल-पसल गएर तुलना गर्ने अधिकार पनि उपभोक्ताको हो।
के गर्ने ?
– सामान खरिद गर्दा आफूलाई चाहिएको, आफ्नो साइजअनुसारको छनोट गर्नुपर्छ।
– कहिलेकाहीँ सामग्री ठूला आकारका भए पनि आफूले खोजेजस्तो नहुन सक्छ।
– टेस्टर भए त्यसलाई प्रयोग गर्नुपर्छ।
– दुईको खरिदमा एक सित्तैमा  जस्ता अफरको सुविधा लिदा मूल्यको तुलना गर्नुपर्छ।

Source : http://www.ekantipur.com/nari/article/?id=1829

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s