एसएलसी परीक्षा प्रणालीमा सुधार कसरी?

मिति : २०७० चैत ६, बिहीबार

आजबाट देशभर एसएलसी परीक्षा सञ्चालन हुँदैछ। एसएलसी परीक्षा विद्यार्थीको शैक्षिक भविष्यसँग मात्र सम्बन्धित छैन। अभिभावकको सामाजिक प्रतिष्ठा, इज्जत र औकातसँग पनि जोडिएको छ। अझ केही महिनामा एसएलसीको परीक्षाफल प्रकाशित भएपछि विभिन्न सामाजिक र मनोवैज्ञानिक पक्षले समाजमा त्रास फैलाउँछन्।

परीक्षामा सामेल भएका आधाजतिले उच्च शिक्षाको बाटोतिर अघि बढ्दै गर्दा आधाजति ‘अनुत्तीर्ण’ को बिल्ला भिरेर गन्तव्यविहीन हुन्छन्। यी गन्तव्यहीनमध्ये केहीले आत्महत्या गरेका विगतको अनुभव छ। यस्ता दुर्घटना आगामी दिनमा पनि नदोहोरिएलान् भन्न सकिन्न। त्यसैले एसएलसी बोर्ड परीक्षा सुधारका लागि शिक्षा मन्त्रालयले दीर्घकालीन र अल्पकालीन योजना बनाउन जरुरी छ।

अल्पकालीन योजनाअन्तर्गत यसै वर्ष एसएलसी दिएका विद्यार्थीलाई सम्बोधन गर्न सक्ने कार्यक्रम हुनुपर्छ। जसका लागि शिक्षा मन्त्रालयले तत्काल कदम चाल्नुपर्छ। दीर्घकालीन योजनामा भने आगामी वर्षदेखि एसएलसी परीक्षा प्रणाली खारेज गर्नेदेखि यसमा आमूल परिवर्तनका कार्यक्रम राख्न सकिन्छ।

एसएलसी बोर्डमा ‘टपटेन’ घोषणाले विगतमा सनसनी मच्चाउने गर्थ्यो। मानौं ती बोर्डमा पर्ने कुनै लगनशील र मेहनती विद्यार्थी मात्र नभएर अन्तरिक्षबाट आएका अद्भुत व्यक्ति हुन्। बोर्डमा पर्ने विद्यार्थीकै कारण ठूलो आर्थिक चलखेल र भ्रष्टाचारका मुद्दा पनि आए।

एक दसकअघि यो ‘बोर्ड टपटेन’ घोषणा अन्त्य गरिएसँगै त्यसका कारण हुने भ्रष्टाचारमा कमी आएको छ वा टपटेनमा पर्न विद्यालयहरूबीच हुने गैरशैक्षिक चलखेल र अस्वस्थ प्रतिस्पर्धा घटेको छ। यसैलाई उदाहरण मानेर अन्य साना-ठूला निर्णय गर्न सकिन्छ, जसले एसएलसीलाई त्रास होइन सिर्जनात्मक र शैक्षिक अभिवृद्धिको एउटा आधारका रूपमा बुझ्न सकियोस्।

पर्सेन्टेजको सट्टा लेटर ग्रेड
एसएलसीको परीक्षाफल प्रकाशित गर्दा हाल पर्सेन्टेज दिइने र त्यही प्राप्त पर्सेन्टेजका आधारमा डिस्टिङसन, फस्ट, सेकेन्ड र थर्ड डिभिजन छुट्याउने गरिएको छ। सबै विषयमा ३२ नम्बर ल्याउन नसक्नेलाई असफल ठान्ने गरिएको छ।

यो विभाजनले विद्यार्थीमा विभेद र मनोवैज्ञानिक त्रास दिएको छ। यसरी विद्यार्थीको नतिजा नम्बर पर्सेन्टमा दिनुको सट्टा लेटरग्रेडमा वितरण गरियो भने यसले केही हदसम्म समानता दिन सक्छ। पर्सेन्टेजका पछाडि दौडने विद्यार्थी ज्ञान प्राप्तितिर जोड दिनेछन्। विदेशमा जस्तै नेपालमा पनि ए, बी, सी, डी र ई ग्रेड दिन सकिन्छ।

उत्तरपुस्तिका पुनर्मूल्यांकन
विगतमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले आफ्नो प्राप्तांकमा चित्त नबुझे उत्तरपुस्तिकामा वितरीत अंक पुनगणना अर्थात् रिटोटलिङ गर्ने सुविधा मात्र पाउने गरेका थिए। तर पछिल्ला वर्षमा उत्तरपुस्तिका हेर्न पाउनेसमेत सुविधा छ। तर अझै पनि उत्तरपुस्तिका पुनर्मूल्यांकन भने हुँदैन।

विद्यार्थीले आफूले कस्तो लेखेको रहेछु भन्ने हेरेर मात्रै चित्त बुझाउनुपर्ने हुन्छ। उत्तरपुस्तिका हेर्न चाहने झन्झटिलो प्रशासनिक प्रक्रियाका कारण उत्तरपुस्तिका हेर्न पनि सहज छैन। उत्तरपुस्तिका परीक्षकले भूलवश वा जानाजानी गल्ती गरेको छ कि छैन मूल्यांकननगर्ने र परीक्षकको गल्ती भेटिएमा कस्तो कारबाही गर्ने भन्ने निश्चित छैन।

उत्तरपुस्तिका परीक्षण गर्दा भूलवश वा अन्य केही कारणले त्रुटि भएको हो भने सामान्य नसिहतसहित कारबाही गर्ने र हेलचेक्रयाइँ तथा बदनियतपूर्ण तरिकाले हो भने शैक्षिक अपराधअन्तर्गत कारबाही गर्नुपर्छ। उत्तरपुस्तिकामा हेलचेक्रयाइँ हरुको मुख्य कारण एउटै परीक्षकले आफूले नभ्याउने गरी धेरैवटा उत्तरपुस्तिका ल्याउनु, उत्तरपुस्तिका परीक्षणबापत दिइने शुल्क अति न्यून हुनु आदि रहेका छन्। यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ। माथि उल्लिखित सुधारका काम यसै वर्ष जाँचमा सहभागी विद्यार्थीलाई लक्षित गरेर लागू गर्न सकिन्छ।

बोर्ड परीक्षा १२ कक्षामा
सरकारले प्रवीणता प्रमाणपत्र तह विस्थापित गरेर उच्च माध्यमिक शिक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। देशभरि उच्चमावि खुलेका छन्। हालका उच्चमावि विद्यालयकै साधन स्रोत र शैक्षिक जनशक्तिको भरमा उभिएका छन्। यस्तो अवस्थामा उच्चमावि र माविलाई एकअर्काबाट अलग गराएर हैन, परिपूरक रूपमा सम्बन्धित गराएर मात्र सञ्चालन गर्नु अनिवार्य छ।

विद्यालय शिक्षा १२ कक्षासम्म हुने अन्तर्राष्ट्रिय शिक्षा पद्धति नेपालले स्वीकार गरिसकेपछि एसएलसी बोर्ड परीक्षा १० कक्षामा गराउनु भनेको राष्ट्रको स्रोतसाधनको दुरुपयोग गर्नु र विद्यार्थी वा अभिभावकलाई बोझ दिनु मात्र हो। तसर्थ १० कक्षामा हुने हालको एसएलसी परीक्षा खारेज गरी १२ कक्षामा मात्र बोर्ड परीक्षा सञ्चालन गर्नु जरुरी छ। १२ कक्षामा हुने बोर्ड परीक्षाको लागि हालैदेखि उचित गृहकार्य गर्नु पनि आवश्यक छ।

उच्चमाविमा हुने बोर्ड परीक्षामा पनि नम्बर पर्सेन्टेजको सट्टा लेटरग्रेडमा नतिजा स्प्रेड गर्नुपर्छ। ताकि विद्यार्थीमा कम असमानता देखियोस्। यस्तै बोर्ड परीक्षा सञ्चालन पनि हालको जस्तो पूर्णत बन्दकक्षा कोठामा आधारित बनाउने कि नबनाउने भन्ने विषयमा चिन्तन गर्नु जरुरी छ। विगतमा एसएलसीमा बोर्डफस्ट भएकाहरू ११-१२ कक्षामा असफल भएका घटना निकै छन्।

एकजना बोर्ड फस्टले १२ कक्षामा अनुत्तीर्ण भएपछि आत्महत्याको प्रयास गरेको समाचार यसअघि आइसकेको छ। बन्द कोठामा लिइने यस्ता परीक्षाले विद्यार्थीमा घोकन्ते र चोरन्ते संस्कार विकास गरेको छ। यो संस्कार हटाउन पुस्तक र अध्ययन स्रोत उपलब्ध गराएर विद्यार्थीलाई सिर्जनात्मक परीक्षामा सामेल गराउने हो कि?

हाल यो घोकन्ते शिक्षाको जग पुराना प्रश्नपत्रमा अडिएको छ। एसएलसी परीक्षामा उत्तरपुस्तिकासँगै प्रश्नपत्र पनि विद्यार्थीबाट फिर्ता लिनु अनिवार्य छ। पुराना प्रश्नपत्र घोक्ने लत नछोडेसम्म सैद्धान्तिक ज्ञान प्राप्त हुन सक्दैन।

आधारभूत शिक्षा अनिवार्य
एउटा चिकित्सकले बिरामीसँग राम्ररी संवाद गर्न सक्दैन। ठूलाठूला आविष्कारमा जुट्ने वैज्ञानिकले सामाजिक सम्बन्ध विकास गर्न सकेका छैनन्। समाजशास्त्र वा वाणिज्यशास्त्र पढेकाले आधारभूत स्वास्थ्य तथा विज्ञान नबुझेको अवस्था छ। के हाम्रो समाज वा देश विकसित हुन नसक्नुको कारण यही एकांकी ज्ञानको कारण त हैन? नेपालमा १० कक्षा पछि हुने एसएलसी परीक्षा पास गर्नासाथ विषयगत शिक्षा दिइन्छ।

जहाँ विज्ञान पढ्नेले समाजशास्त्र पढ्दैन। समाजशास्त्र पढ्नेले विज्ञान र वातावरणका ज्ञान पाउँदैन। अर्थात् हालको पाठ्यक्रमले समाज र विज्ञान जोड्न सकेको छैन। यस्तो शिक्षा प्राप्त जनशक्तिबाट देशको एकीकृत विकास सम्भव छैन। एकीकृत शिक्षाका लागि भविष्यमा विज्ञान, स्वास्थ्य विज्ञान, समाजशास्त्र जुनसुकै विषयमा विशेषज्ञता हासिल गर्ने भए पनि कम्तीमा १२ कक्षासम्म सबैलाई सबै क्षेत्रको आधारभूत ज्ञान जरुरी छ।

पछि स्नातक तहदेखि मात्र विषयगत शिक्षा दिनुपर्छ। सानैदेखि विषयगत शिक्षा मात्र दिने हो भने त्यस्तो जनशक्तिले देशलाई योगदान गर्न नसक्ने मात्र होइन, आफ्नै जीवन पनि व्यवस्थापन गर्न सक्दैन।

यसैगरी हालको ८ सय पूर्णांकको एसएलसी पाठ्यक्रम विद्यार्थीलाई बोझिलो भएको देखिन्छ। राजधानी तथा सहरकेन्द्रित विद्यार्थीलाई यो सामान्य भए पनि ग्रामीण र दुर्गम क्षेत्रमा विद्यार्थीलाई यो सहज छैन। त्यसैले यसलाई पनि परिमार्जन गर्नु जरुरी छ।

Source : http://www.annapurnapost.com/en/news/opinion/5225/.htm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s