एसएलसी आजदेखि सुरु, परीक्षा खर्च ३८ करोड

मिति : २०७० चैत ६, बिहीबार

काठमाडौं : यस वर्षको बिहीबार सुरु हुने प्रवेशिका (एसएलसी) परीक्षा सञ्चालनका लागि ३८ करोड रुपैयाँ खर्च हुने भएको छ। यो खर्च प्रश्नपत्र तयार, छपाइ, परीक्षा सञ्चालन, उत्तरपुस्तिका ढुवानी र परीक्षण, मार्कसिट तथा प्रोभिजनल प्रमाणपत्र तयारीलगायतका शीषर्कमा खर्च हुनेछ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार यो खर्च गत वर्षको तुलनामा तीन करोड धेरै हो।

यस वर्ष परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी हुँदैछन्। पनिकाका लेखा अधिकृत रवि रानाका अनुसार सबैभन्दा धेरै रकम जिल्लामा हुने परीक्षासम्बन्धी काममा खर्च हुनेछ। उनका अनुसार ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई २१ करोड रुपैयाँ रकम गइसकेको छ।

यो रकम परीक्षा केन्द्र निर्धारण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणलगायतका शीर्षकमा खर्च हुनेछ। परीक्षामा सहभागी हुने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी र सहयोगी कर्मचारीका लागि दिइने खाजा खर्च, भत्ता, प्रश्नपत्र ढुवानीलगायतका काम पनि यही बजेटमा हुनेछ।

बाँकी खर्च केन्द्रबाट नै हुने परीक्षासँग सम्बन्धित कार्यमा हुनेछ। प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ, प्रश्न छनोट गर्दा शिक्षकलाई दिनुपर्ने भत्ता केन्द्रमा हुने ठूला शीर्षकका खर्च हुन्। पनिकाले परीक्षा सञ्चालन अवधिभर कुनै समस्या आयो भने तत्काल समाधान गर्ने उद्देश्यले हटलाइनको व्यवस्था गरेर विषय विज्ञहरु तयारी अवस्थामा राख्दै आएको छ। उनीहरूका लागि पनि भत्ता उपलब्ध गराइन्छ।

पनिकाले यो वर्षको परीक्षामा अनिवार्य र ऐच्छिकसहित ५६ विषय ९० लाख प्रति प्रश्नपत्र छपाइ गरेको छ। एउटा प्रश्नपत्रको लागत दुई रुपैयाँभन्दा बढी पर्ने पनिकाले जनाएको छ। विद्यार्थीको मार्कसिट तथा प्रोभिजनल प्रमाणपत्र निर्माणका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ।

परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार आठ सय ३६ केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ। सबै केन्द्रमा परीक्षा सहज रूपमा सञ्चालन गर्न दुई हजार सात सय ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार पाँच सय ९३ निरीक्षक, सात हजार पाँच सय ३० सहयोगी र १८ हजार तीन सय ६० सुरक्षाकर्मी परिचालन गरिनेछ।

केन्द्राध्यक्षका लागि खाजा र भत्ताबापत दैनिक पाँच सय, सहायक केन्द्राध्यक्षका लागि तीन सय ५०, निरीक्षकका लागि दुई सय, सहयोगीका लागि एक सय र सुरक्षाकर्मीका लागि ५० रुपैयाँ उपलब्ध गराइने लेखा अधिकृत रानाले बताए।

यो वर्षको परीक्षामा सबैभन्दा धेरै विद्यार्थी काठमाडौंबाट ३३ हजार ८५ र सबैभन्दा थोरै मनाङबाट ८८ जना सहभागी हुँदैछन्। काठमाडौंमा ८७ तथा मनाङ र मुस्ताङ मा एकएक परीक्षा केन्द्र निर्धारण गरिएको छ।

Source: http://www.annapurnapost.com/en/news/social/5211/.htm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s