छतमा तरकारी

 

chhat(सुदर्शन आचार्य) कंक्रिटको सहरका रूपमा विकसित हुँदै गएको काठमाडौं महानगरपालिकामा खेतीका लागि जमिन कल्पनासमेत गर्न सकिने अवस्था छैन । उपत्यकामा चक्रपथबाहिर सामान्य खेती हुने गरे पनि बढ्दो सहरीकरणले खेतीयोग्य जमिन घडेरीमै परिणत हुन थालेको छ । त्यसैले धान, गहुँजस्ता अन्न त परै जावस्, अचारमा मिसाइने धनियाँका लागि पनि उपत्यकाबासी परनिर्भर हुनुपरिरहेको छ । यस्तो बिडम्वनामा सबैजसोको एउटै जवाफ हुने गर्दछ– ‘जमिन नै छैन, कहाँ के खेती गर्नु ?’ जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्दै जमिनको अभाव देखाउनेहरूलाई गतिलो जवाफ दिएका छन्, काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल बस्ने ६७ वर्षीय बुलेन्द्र भण्डारीले ।

बुलेन्द्र र उनकी श्रीमती इन्द्रकुमारी भण्डारीले आफ्नै घरको कौसीमा तरकारी खेती गर्न थालेको डेढ दशक नाघिसकेको छ । उनीहरू अधिकांश समय आफ्नै कौसीमा तरकारी खेती स्याहार्न व्यस्त रहन्छन् । परिणामस्वरूप उनीहरूले ताजा तरकारी खान पाएका मात्र होइन, लसुन, प्याज, खोर्सानीजस्ता तरकारीजन्यवस्तु अमेरिकामा बस्दै आएका छोराछोरीले समेत उपभोग गर्न पाइरहेका छन् ।कौसीमा तरकारी खेतीमै व्यस्त रहँदा भण्डारी दम्पतीले छोराछोरी टाढा हुँदाको न्यास्रो पनि यसबाटै मेट्ने गरेका छन् । ‘मलजल गर्यो, यिनै बिरुवा स्याहार्दा दिन जान्छ, एक्लोपन महसुस गर्नुपर्दैन।’ –बुलेन्द्रले भने । भण्डारी दम्पतीको ५ तले घरमा भाडामा बस्नेहरूबाट निस्कने फोहोरलाई भण्डारी दम्पतीले तरकारी खेतीका लागि मल बनाउने गरेका छन् । ‘मलका लागि अन्त जानुपर्दैन’, बुलेन्द्रले भने– ‘मेरै घरमा भाडामा बस्दै आएकाहरूसँग फोहोर लिन्छु र त्यसबाटै मल बनाउने गरेको छु, कृत्रिम मल प्रयोग गर्दिनँ ।’

हिउँदमा तरकारीभन्दा मसलाका लागि प्रयोग हुने बोटबिरुवा सप्रिने भएकाले उनले आफ््नो छतभरि लसुन फलाएका छन् । कौसीमा ६ सयभन्दा बढी बोरा तथा थर्मोकोलका बट्टामा उनले लसुन फलाएका हुन् । जैविक मल प्रयोग गरिएका लसुन निकै सप्रिएका छन् । ‘रासायनिक मल हालेको छैन’, बुलेन्द्रले भने– ‘आफ्नै घरको भान्छाबाट निस्कने फोहोरलाई कुहाएर मल बनाउने गरेको छु, यसले गर्दा फोहोर कहाँ फाल्ने भन्ने समस्या पनि टरेको छ ।’ तरकारी फलाउँदा, गोडमेल गर्दा निस्किने सबै प्रकारका जैविक फोहोरबाट मल बनाउने गरेको उनी बताउँछन् ।
बुलेन्द्र उच्च रक्तचापका बिरामी हुन् भने श्रीमतीलाई मधुमेहको समस्या छ । बुलेन्द्रले भने– ‘श्रीमतीलाई रोग लागेपछि नै कौसीमा तरकारी फलाउने सोच पलाएको हो ।’ काम गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने सुनेर नै श्रीमतीकै योजनाअनुसार कौसीलाई करेसा बनाएको उनले बताए । ‘खेती गर्न जमिन छैन, त्यसैले कौसीकै सदुपयोग गरेका हौं’, उनले भने– ‘घरमा त्यसै बस्नुभन्दा तरकारी खेतीमै समय खर्चिंदा शरीरलाई व्यायाम पनि पुग्ने रहेछ ।’ भण्डारी दम्पतीको कौसीमा मौसमअनुसारका सबैखाले तरकारी फल्छन् ।

काठमाडौंका बासिन्दाले घरमा उत्पादन भएको फोहोर बाहिर फालेको देख्दा पनि उनीहरूको मन छुने गर्दछ । ‘घरधनीले त्यो फोहोरलाई कौसीमा तरकारी खेतीका लागि प्रयोग गरिदिए हुन्थ्योजस्तो लाग्छ’, बुलेन्द्रले भने– ‘घरको फोहोर घरमै खपत गर्न सके सहर पनि सफा हुन्छ, आफूलाई पनि तरकारीका लागि पैसा खर्चिनुपर्दैन ।’ अहिले लगाइएका लसुन फागुन अन्तिममा तयार हुन्छन् । त्यसलगत्तै घिरौला, चिचिन्डो, काँक्रोजस्ता तरकारी खेती गर्ने उनीहरूको योजना छ ।त्यसो त व्यावसायिक रूपमै खेती गर्न सकिने भए पनि त्यसतर्फ आफूले पहल नगरेको उनीहरूको भनाइ छ । ‘पैसाकै लागि मरिमेट्नुपर्ने अवस्था छैन, हामीलाई तरकारीमा आत्मनिर्भर भए पुग्छ, ठूलो परिवार पनि छैन, घरभाडाबाट पनि पैसा आउँछ’, बुलेन्द्र भन्छन्– ‘कौसी तथा छतमै तरकारी खेती गरेर बिक्रीबाट आयआर्जन गर्न नसकिने होइन ।’ फोहोर व्यवस्थापन र आफ्नो आवश्यकताअनुसार खेती गर्दै आएको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले महानगरबासीले उत्पादन गरेको फोहोर व्यवस्थापन गर्न प्रति किलो २ रुपियाँ १६ पैसा खर्च गरिरहेको छ । अनुत्पादक क्षेत्रमा भइरहेको यो खर्च बचत गर्न सकेमा महानगरबासीकै सुविधाका लागि अन्य कुनै क्षेत्रमा लगानी गर्न सकिन्छ । भण्डारी दम्पतीले झैं आफूले उत्पादन गरेको फोहोर सबै महानगरबासीले घरमै व्यवस्थापन गर्ने हो भने महानगरले फोहोर व्यवस्थापनका लागि गर्दै आएको खर्चको ठूलो हिस्सा बचत हुने देखिन्छ । महानगरको तथ्यांकअनुसार महानगर क्षेत्रमा उत्पादित फोहोरमध्ये ७० प्रतिशत जैविक फोहोर हुन्छ । जैविक फोहोरलाई मलका रूपमा प्रयोग गर्ने बानी बसाल्ने हो भने महानगरको फोहोर व्यवस्थापनमा दैनिक खर्च हुँदै आएको करिब ९ लाख रुपियाँमध्ये ७० प्रतिशत अर्थात् ६ लाख ३० हजार रुपियाँ बचत हुने देखिन्छ । वर्षकै लेखाजोखा गर्ने हो भने महानगरबासीले आफूले उत्पादन गरेको फेहोर घरमै व्यवस्थापन गर्दा महानगरले फोहोरमा हाल वार्षिक रूपमा गर्दै आएको खर्चमा २२ करोड ९९ लाख ५० हजार रुपियाँ बचत हुन्छ । यो रकम कुनै एक क्षेत्रको भौतिक संरचना निर्माणका लागि पर्याप्त हुन सक्छ ।

आफूहरूले यति लामोसमयदेखि छतमा तरकारी खेती गर्दै आए पनि वरपरकाले सिको गर्न नसकेकोमा भने बुलेन्द्र अचम्मित छन् । ‘खै, कसैले यसरी खेती गर्न चासो दिएका छैनन्’, उनले भने– ‘हामी फुर्सदिला र अरू व्यस्त भएर पो हो कि ?’ यद्यपि नजिकैको तरकारी बजारमा बेलाबखत हुने गरेको छलफलमा भने आफूहरूको चर्चा हुने गरेको अनुभव उनले सुनाए ।

Source : http://www.newsofnepal.com/new/mahanagar/2014/02/41886

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s