शहरको मुहार फेर्ने तयारी सरकारद्वारा सोचपत्र सार्वजनिक

December 20, 2013
 

सरकारले दीर्घकालीन शहरी विकासको सोचपत्र तयार गरेको छ । शहरी विकास, आवास, भवन निर्माण, खानेपानी, सरसफाइ र काठमाडौं उपत्यकाको विकासका लागि ‘रोडम्याप’ भनिएको सोचपत्रअनुसार यस क्षेत्रमा लगानी गरिने शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले बताए । ‘सोचपत्रमा आधारित रहेर दीर्घकालीन शहरी रणनीति तयार गरिएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटदेखि नै सोचपत्रका आधारमा शहरी विकासको काम अघि बढाइनेछ ।’ शहरीकरणलाई व्यवस्थापन गर्न स्वीकृत भूउपयोग नीतिमा आधारित एकीकृत पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

सोचपत्रमा नगरोन्मुख क्षेत्रको पूर्वाधार विकास र शहरी सेवाका लागि सम्बन्धित निकायहरूबीच समन्वय कायम गर्ने, भौतिक, सामाजिक तथा आर्थिक सम्बन्धका माध्यमबाट शहर–गाउँ अन्तरसम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ । सोचपत्रअनुसार शहरी पूर्वाधार तथा सेवाहरूको विकासका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तीय स्रोतहरूको पहिचान गर्दै लगानी प्रवर्द्धन गरिनेछ । ‘प्राकृतिक प्रकोपबाट हुने जीउधनको नोक्सानीलाई कम गर्न जोखीम न्यूनीकरण तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ,’ थापाले भने, ‘शहरी योजना तर्जुमा तथा कार्यान्वयन प्रभावकारी रूपमा गर्न सम्बन्धित स्थानीय निकायको संस्थागत क्षमता सुदृढीकरण गरिनेछ ।’ सोचपत्रअनुसार आवास वितरण गर्दा आर्थिक रूपमा पिछडिएका र विपन्न वर्गको पहुँच हुने गरी सुरक्षित र किफायती आवासको व्यवस्था गरिनेछ । साथै, जग्गालगायत भौतिक पूर्वाधार र सेवाहरूको विकास एकीकृत रूपमा गरिनेछ ।

आवास विकासमा सार्वजनिक–निजी साझेदारीको माध्यमद्वारा निजीक्षेत्रलाई प्रोत्साहन गर्ने, आवश्यक स्रोत पहिचान तथा परिचालनमा सहजीकरण गरिने मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले बताए । ‘आन्तरिक रूपमा विस्थापितलाई पुनःस्थापना गर्न आवासको व्यवस्थापन गरिनेछ,’ उनले भने । राष्ट्रिय आवास नीति कार्यान्वयनका लागि सरकारी, गैरसरकारी तथा निजीक्षेत्रको भूमिका सोचपत्रले स्पष्ट पारेको छ । आवास विकाससँग सम्बन्धित नीति निर्माण, कार्यान्वयन, तालीम, अनुसन्धान, मूल्याङ्कनलगायत कार्य संस्थागत आधारमा व्यवस्थित गरिने सोचपत्रमा उल्लेख छ । सोअनुसार स्थानीय निकायसमेतको संलग्नतामा आवासनीतिको कार्यान्वयन पक्षको अनुगमन तथा मूल्याङ्कन गरिने आचार्यले बताए । ‘जोखीमपूर्ण स्थानमा रहेका तथा अव्यवस्थित आवासको उचित व्यवस्थापन गरिनेछ,’ उनले भने ।

सोचपत्रमा वातावरणीय दृष्टिले स्वच्छ, वित्तीय दृष्टिले सम्भाव्यतापूर्ण र प्राविधिक दृष्टिले उपयुक्त भवन निर्माण प्रविधिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ । ‘भवन निर्माण गर्दा उपयुक्त स्थानीय सामग्रीको प्रयोगलाई जोड दिँदै भवनको प्रचलित डिजाइन र प्रविधिमा आवश्यक परिमार्जन गरिनेछ,’ सोचपत्रमा उल्लेख छ, ‘विद्यमान भवन निर्माण संहिताको प्रभावकारी प्रयोगलाई व्यापक रूपमा कार्यान्वयन गरिनेछ ।’ यसअन्तर्गत राष्ट्रियदेखि स्थानीय स्तरसम्मका सार्वजनिक र सरकारी भवन निर्माण मर्मतसम्भार तथा स्तरोन्नति गरिनेछ । सोचपत्रमा आधारित रहेर गणतन्त्र स्तम्भ, गणतन्त्र स्मारकजस्ता राष्ट्रिय संरचना निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ । खानेपानी आपूर्तिसम्बन्धी अधुरा र क्रमागत कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यमान खानेपानी वितरण प्रणालीको मर्मतसम्भार गरिनेछ । मन्त्रालयका अनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६३ ले तोकेअनुसार क्रमिक रूपमा खानेपानीको गुणस्तर तथा सेवास्तर सुधार गर्दै शहरी तथा अर्धशहरी खानेपानी प्रणालीको निर्माण तथा सुधार गरिनेछ । भूमिगत जल प्रयोग हुने स्थानमा पुनर्भरण गर्नुका साथै सतहस्रोतबाट पानीको आपूर्ति अपुग भएको अवस्थामा वर्षातको पानी सङ्कलन गरी थप पानी आपूर्ति गरिनेछ । त्यसैगरी, सेवाप्रदायकहरूबाट वितरित खानेपानीको गुणस्तरको नियमित अनुगमन गरिनेछ । सेवाप्रदायकहरूसँग समन्वय गरी उनीहरूको क्षमता अभिवृद्धि गरी खानेपानी सेवालाई गुणस्तर र भरपर्दो बनाइने सोचपत्रमा उल्लेख छ ।

शहरी विकासका मुख्य बुँदा

(१)    शहरीकरणलाई व्यस्थापन गर्न स्वीकृत भू–उपयोग नीतिमा आधारित एकीकृत पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

(२)    नगरोन्मुख क्षेत्रहरूमा पूर्वाधार विकास र शहरी सेवाका लागि सम्बद्ध निकायहरूबीच समन्वय कायम गर्दै भौतिक, सामाजिक तथा आर्थिक सम्बन्धको माध्यमबाट शहर–गाउँ अन्तरसम्बन्ध सुदृढ गरिनेछ ।

(३)    शहरी पूर्वाधार तथा सेवाहरूको विकासका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तीय स्रोतहरूको पहिचान गर्दै लगानी प्रवर्द्धन गरिनेछ ।

(४)    पूर्वाधार र सेवासुविधासम्पन्न घना बस्ती विकासलाई प्रोत्साहन गरिनेछ ।

(५)    प्राकृतिक प्रकोपबाट हुने जीउधनको नोक्सानी कम गर्न जोखीम न्यूनीकरण तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।

(६)    शहरी योजना तर्जुमा तथा कार्यान्वयन प्रभावकारी बनाउन सम्बन्धित स्थानीय निकायहरूको संस्थागत क्षमता सुदृढीकरण गरिनेछ ।

काठमाडौं उपत्यकाका लागि

(१)    काठमाडौं उपत्यकाको शहरीकरणलाई व्यवस्थित गर्न जग्गा विकास तथा बस्ती विकास, शहरी पुनःस्थापन कार्यक्रम, खुलाक्षेत्र व्यवस्थापन र सफा शहरको अवधारणालाई अघि बढाउन प्रारम्भिक अध्ययन गरी कार्यान्वयन गर्दै लगिनेछ ।

(२)    काठमाडौं उपत्यकामा एकीकृत शहरी सेवा केन्द्रहरूको विकास गरिनेछ ।

(३)    काठमाडौं उपत्यकाका नदीप्रणालीलाई जीवन्त बनाउन नदीवरपर पूर्वाधार विकासका क्रियाकलापलाई व्यवस्थित रूपमा अघि बढाइनेछ ।

(४)    काठमाडौं उपत्यकाभित्रका प्रदूषणयुक्त औद्योगिक संरचनालाई क्रमशः उपत्यकाबाहिर स्थानान्तरण गर्न प्रोत्साहन गरिनेछ ।

(५)    काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि फोहोरको उत्पादन घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधन गर्ने प्रयासलाई प्रभावकारी बनाइनेछ ।

(६)    उपत्यकामा खानेपानी आपूर्ति गर्न पानीको स्रोत विकास तथा प्रशोधन केन्द्रहरूको स्थापना गर्नुका साथै थोक वितरण प्रणाली अवलम्बन गरिनेछ । मौजुदा पानीपोखरीहरूको क्षमता अभिवृद्धि तथा नयाँ पानीपोखरी निर्माण गरिनेछ । मेलम्चीलगायत ठूला आयोजनाको कार्यान्वयनमा सम्भावित स्रोतको परिचालन गरी उच्च प्राथमिकताका साथ काम अघि बढाइनेछ ।

(७)    काठमाडौं उपत्यकाको ढलनिकास व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।

(८)    काठमाडौं उपत्यकालाई अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय राजधानी क्षेत्रका रूपमा विकास र संरक्षण गर्न एकीकृत पूर्वाधार विकास र वातावरण संरक्षणमा विशेष जोड दिइनेछ ।

(९)    काठमाडौं उपत्यकाको विद्यमान चक्रपथ स्तरोन्नति गरिनेछ र प्रस्तावित बाहिरी चक्रपथलाई जग्गा विकासका माध्यमबाट निर्माण गरिनेछ ।

(१०)    काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य सडकलाई विस्तार तथा सुधार गरिनेछ ।

Source : http://www.abhiyan.com.np/article-gharsansar_5push2070_sahar#.UxCG6c5km4M

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s