गोरु जुधाइको रमझम

यो वर्ष पनि २५ हल गोरु जुधाएर नुवाकोटको तारुका र बेत्रावतीमा गोरु जुधाइ पर्व मनाइएको छ। जिल्लाकै पहिचानका रूपमा प्रसिद्धि कमाउँदै गएको गोरु जुधाइ मेलामा तारुका, चन्दनीको ठूलो पाटोमा १९ हल गोरु जुधाइएको थियो भने गेर्खु, बेत्रावतीमा ६ हल गोरु जुधाइएको थियो। परम्परागत रूपमा गोरु जुधाइँदै आएको तारुकामा २०६० सालदेखि व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो। पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपीपल आदि गाविसमा पनि गोरु जुधाउने परम्परा थियो। अहिले भने यो परम्परा तारुका र बेत्रावतीमा मात्र सीमित छ।
ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाइ परम्परा डेढ सय वर्षभन्दा पुरानो मानिन्छ। तारुकामा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली घर रहेको र उनी मामाघर आउँदा भान्जालाई मनोरञ्जन गराउन पहिलो पटक गोरु जुधाइएको स्थानीय बूढापाकाहरू बताउँछन्। यद्यपि त्यसलाई इतिहासकारहरूले गलत भन्दै आएका छन्। भनाइ जे-जे भए पनि यो यहाँको वर्षौं पुरानो परम्परा हो, जसलाई अहिले पनि हामीले निरन्तरता दिइ रहेका छौं- मेला व्यवस्थापन समितिका अध्यक्ष रेशमलाल श्रेष्ठले बताए।
विष्णु तारुके

स्वर्गद्वारी, प्युठान

समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको प्यूठान जिल्लाको अग्लो डाँडामा अवस्थित स्वर्गद्वारी आश्रम नेपालीहरूका लागि मात्र नभै समस्त हिन्दूहरूकै लागि प्रमुख धार्मिक गन्तव्यका रूपमा ख्यातिप्राप्त छ। यहाँ बर्सेनि २ लाखभन्दा बढी भारतीय तीर्थालु आउँछन्। रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले वि.सं. १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा फैलिएको यो आश्रमको स्थापना गरेका थिए। आश्रमको स्थापनाकाल (१ सय २० वर्षपूर्व) देखि नै यहाँ अखण्ड अग्नि ज्वालासँगै धुनी, वेद, बलिबिनाको पूजा, हवन आदि गरिंदै आएको छ। बाहिरबाट हेर्दा नौवटा मन्दिरको आकार देखिए पनि भित्र भने एउटै छ। मन्दिर हाताभित्र गणेश, देवी, सूर्य, विष्णु तथा शिवको मूर्ति स्थापना गरिएको छ। चार दिशामा अग्निकुण्ड छ भने मध्यभागमा मूल कुण्ड छ, जहाँ २४ जना वटुकले वेदपाठ, भागवत पाठ, पूजा, हवन, रुद्राभिषेक, आरती आदि गर्छन्। आश्रमको प्राज्ञिक विशेषता पनि चर्चायोग्य छ, त्यो हो— गुरुकुल विद्यालय, जहाँ वैदिक परम्परा, रुद्री, चण्डी, आयुर्वेद, व्याकरणसहितका विषय निःशुल्क पढाइन्छ।
धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु आदि हिमालको सुरम्य दृश्यावलोकन गर्न सकिने भएकाले स्वर्गद्वारी आश्रमलाई धार्मिक तथा प्राकृतिक पर्यटनको संगम मानिएको छ। महषिर् वेदव्यासले ध्यान गरेको तथा पाण्डवहरू यहींबाट स्वर्ग प्रस्थान गरेको किंवदन्तीका कारण पनि स्वर्गद्वारी आश्रमको विशेष गरिमा एवं महत्त्व छ।
काठमाडौंबाट करिब ४ सय ६० किलोमिटर पश्चिम, दाङको घोराहीबाट ५० किलोमिटर उत्तर र रोल्पाको होलेरीबाट ३० किलोमिटर पूर्व अवस्थित स्वर्गद्वारी आश्रम पुग्न काठमाडौं-रोल्पा चल्ने बसबाट भिङ्ग्रीमा ओर्लेर तीन-चार घण्टा पैदल यात्रा गर्नुपर्छ भने भिङ्ग्रीदेखि धरमपानी -स्वर्गद्वारी बेस क्याम्प) सम्म स्थानीय यातायात प्रयोग गर्न सकिन्छ। धरमपानीबाट आधा घण्टा उकालो चढेपछि स्वर्गद्वारी आश्रम पुगिन्छ। यो बाटोमा घोडा पनि प्रयोग गर्न सकिन्छ जसबाट बालबालिका, वृद्धवृद्धा तथा अशक्तहरू लाभान्वित हुने गरेका छन्। दाङको घोराहीबाट पनि प्रत्येक दिन बिहान र दिउँसो धरमपानीका लागि गाडी छुट्छ। यसैगरी होलेरी -रोल्पा) देखि धरमपानीसम्म स्थानीय यातायात सेवा उपलब्ध छ। स्वर्गद्वारी आश्रममा खान र बस्न सशुल्क तथा निःशुल्क दुवै व्यवस्था छ।
– एलपी शर्मा

खुल्यो सुब्बाको जागिर

लोकसेवाको परीक्षा दिएर निजामती सेवामा प्रवेश गर्न चाहनेहरूलाई एउटा अवसर छ। लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा पदको विज्ञापन खोलेको छ। आगामी वैशाख २६ र २७ गते हुने परीक्षाका लागि आयोगले देशका पाँचै विकास क्षेत्रका परीक्षा केन्द्रको विज्ञापन प्रकाशित गरेको हो। लोकसेवा आयोगको वाषिर्क कार्यतालिकाअनुसार नायब सुब्बापदका लागि पुस महिनामा विज्ञापन प्रकाशित गरी वैशाखमहिनामा परीक्षा सञ्चालन तथा कात्तिक महिनामा लिखित परीक्षाको नतिजा प्रकाशित हुन्छ। त्यस्तै मंसिर महिनासम्ममा पदस्थापना गर्नुपर्छ।

यो वर्षका लागि लोकसेवा आयोगले देशैभरि खुला र समावेशीतर्फ २ सय ३६ नायब सुब्बा पदका लागि विज्ञापन खोलेको छ। लोकसेवा आयोगले विज्ञापन प्रकाशन भएको १४ दिनभित्र थप पदसंख्या माग भै आए थप गरी फेरि विज्ञापन गर्न सक्छ। कुल पदसंख्याको ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत पद समावेशीका लागि छुट्टयाइएको छ। समावेशीतर्फ पनि महिलालाई ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेशी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ प्रतिशत तथा पिछडिएको क्षेत्रलाई ४ प्रतिशत पद छुट्टयाइएको छ।

कहाँ कति पद?

पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटा ः खुला २५, समावेशी २५

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौ ः खुला ६१, समावेशी ४६

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरा ः खुला १५, समावेशी १३

मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेत ः खुला १६, समावेशी १७

सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायल ः खुला १०, समावेशी ८

शैक्षिक योग्यता

राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा पदका लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ। सामान्यप्रशासन समूह, न्याय तथा संसद सेवाका लागि जुनसुकै विषय लिएर प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरे उम्मेदवार हुन पाइन्छ। लेखा तथा राजस्व समूहका लागि गणित, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, तथ्यांक वा जनप्रशासन विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरूले आवेदन गर्न पाउँछन्। लेखा परीक्षण सेवामा भने व्यापार प्रशासन वा वाणिज्यशास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरूले आवेदन गर्न पाउने व्यवस्था छ।

कहिलेसम्म आवेदन गर्ने?

लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा पदमा आवेदन गर्न माघ १४ गतेसम्मको समयसीमा तोकेको छ। त्यसको एक साता पछिसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिन्छ।

आयोगको क्षेत्रीय निर्देशनालय तथा क्षेत्रीय निर्देशनालयको सम्बन्धित अञ्चल कार्यालय र लोकसेवा आयोगको कार्यालय नभएका जिल्लाको हकमा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पनि दरखास्त बुझाउन सकिनेछ। मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट प्रकाशित विज्ञापनका लागि काठमाडांै उपत्यका दरखास्त संकलन केन्द्र, अनामनगरमा दरखास्त बुझाउनुपर्ने आयोगले जनाएको छ। मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयका लागि दरखास्त फारम भरी गोश्वारा हुलाक सुन्धारामा पनि बुझाउन सकिनेछ। लोकसेवा आयोगका अनुसार जुन कार्यालयका लागि दरखास्त फारम भरिएको हो सोही कार्यालयअन्तर्गतका परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्नेछ।

आवश्यक दस्तुर एवं कागजात

दरखास्त फारमका साथ शैक्षिक योग्यता एवं नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा दरखास्त दस्तुर बुझाएको रसिद पेस गर्नुपर्नेछ। प्रमाणपत्रको प्रतिलिपिमा उम्मेदवार स्वयंले सक्कलबमोजिम नक्कल सही छ भनी दस्तखत गर्नुपर्नेछ।

खुला र समावेशी दुवै समूहमा फारम भर्ने उम्मेदवारले विज्ञापनअनुसारको खुला र प्रत्येक समावेशी समूहका उमेदवारका लागि दरखास्त फारमको पहिलो पाना छुट्टाछुट्टै भर्नुपर्छ। दरखास्त दस्तुर रु. ४ सय र समावेशी समूहका लागि थप रु. २ सय लाग्छ। परराष्ट्र सेवाका लागि समेत दरखास्त दिनेले थप २ सय दस्तुर बुझाउनुपर्नेछ।

आदिवासी जनजातिको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएका जातिका आधारमा र सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थर भए सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित गराई दरखास्तसाथ पेस गर्नुपर्नेछ। त्यस्तै दलितका हकमा पनि राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको हकमा सोही सूचीका आधारमा र एकभन्दा बढी थर भएको हकमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित गराउनुपर्छ। अपांगको हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाजकल्याण परिषद्बाट अपांगता प्रमाणित गरेको आधारमा दरखास्त लिइन्छ। समावेशी कोटाअन्तर्गत मधेसीको हकमा पनि मधेसी भनी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित गराई दरखास्त साथ पेस गर्नुपर्छ। पिछडिएको क्षेत्रको कोटामा दरखास्त दिन चाहनेहरूले ऐनबमोजिमका नौ जिल्ला (डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा, अछाम र जाजरकोट) मध्ये कुनै एक जिल्लाको स्थायी बासिन्दा भएको कुरा स्थानीय निकायबाट प्रमाणित गराइ पेस गर्नुपर्छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=13238

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s