अधिक निन्द्रा रोग हो

मानिसको भीडभाडमा दिउँसै निन्द्रा लाग्ने स्लिप एप्निया रोग उपचार गर्ने हो भने निको हुन्छ।

नवीन गुरुङ

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा खेलकुद मन्त्री भएको वेला कार्यक्रम उद्घाटन गर्दा समेत निदाउने एमाले नेता गोपाल शाक्य (५९) बारे धेरै समाचार बने।

पार्टीका नेता, संसद् र मन्त्रिपरिषद्मा पनि उनीबारे चर्चा चल्न थालेपछि तत्कालीन प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री वामदेव गौतमले उपचार गर्न सुझाए। तत्कालीन मन्त्रिपरिषद्को निर्णय अनुसार, फागुन २०६५ मा उपचार गर्न थाइल्याण्डको बुमराङगाड अन्तर्राष्ट्रिय अस्पताल पुगेपछि मात्र उनलाई थाहा भयो, स्लिप एप्निया लागेकाले जतिवेला पनि निदाउने समस्या आएको रहेछ।

स्लिप एप्निया कारण

स्लिप एप्नियाले निदाउन समस्या हुने भएकाले दिउँसो निन्द्रा लाग्ने र राति निदाउँदा पनि घुर्ने जस्ता समस्या देखिने शाक्यलाई चिकित्सकहरूले बताए। २०४८ देखि त्यो समस्या भोगेका शाक्य भन्छन्, “घरबाट कार्यालय जाँदा गाडीमा, पार्टीको बैठक, संसद् र सभामा निदाउनुको कारण त्यही रोग रहेछ भन्ने बैंकक पुगेपछि मात्र थाहा भयो।” राति ५/६ पटक पिसाब फेर्नुपर्ने अवस्थामा पुगेका उनलाई सुत्दा मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगेर निन्द्रा बिथोलिने गरेको चिकित्सकहरूले बताएका थिए। मस्तिष्कमा अक्सिजन प्रवाह गर्ने ‘रेस्पिरेटोरी मशीन’ लगाएपछि र डाक्टरले दिएको औषधि चार वर्ष खाएपछि त्यो रोगबाट निको भएका शाक्य भन्छन्, “राम्रो अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराउने हो भने अपमान भोग्नुपर्ने रोगबाट मुक्ति पाइने रहेछ।”

एक गैरसरकारी संस्थामा फिल्ड सुपरभाइजर रहेका विनोद शर्मा (४८) (नाम परिवर्तन) लाई पनि त्यही रोगले झ्न्डै जागीरबाट हात धुनुपर्ने बनाएको थियो। पाँच वर्षअघि राम्रो काम गरेकोमा पुरस्कृत भएका शर्माले जतिवेला पनि निदाउन थालेपछि काममा ध्यान नदिएको आरोपमा स्पष्टीकरण दिनु पर्‍यो। जागीरसँगै घरपरिवारमा अप्ठ्यारो भएको बताउँदै शर्मा भन्छन्, “साथीहरूको सहयोगमा दुई वर्षअघि भारतको एउटा अस्पतालमा पुगेपछि डाक्टरहरूले स्लिप एप्निया भएको र उपचार गर्दा निको हुने बताएपछि खुशी लाग्यो।” सास फेर्ने मशीन दैनिक पाँच घण्टा प्रयोग गर्दै नियमित औषधि खान थालेपछि समस्या घटेको र तीन―तीन महीनामा नियमित स्वास्थ्य परीक्षण गर्न भारत जाने गरेको उनको भनाइ छ। मधुमेह र उच्च रक्तचापको समस्या भोग्दै आएका उनको घुर्ने समस्याले घरपरिवार र साथीहरूलाई पनि हैरान पारेको थियो।

बिरामीलाई थाहा हुँदैन

नर्भिक इन्टरनेशनल अस्पतालकी न्युरोलोजिष्ट डा. ईशा ढुङ्गाना (श्रेष्ठ) स्लिप एप्निया लाग्दा एक घण्टामै ५―६ पटक ब्युँझ्िने हुनाले रातभर सुत्न नसक्ने बताउँछिन्। सुतेको वेला मस्तिष्कमा अक्सिजनको प्रवाह नहुने हुँदा सास फेर्न गाह्रो हुने उनको भनाइ छ। रातभर सुत्न नसक्दा मस्तिष्कमा पर्ने असरबारे बिरामीलाई थाहा नहुने उनको अनुभव छ। महिलालाई भन्दा पुरुषलाई बढी लाग्ने यो रोगले सानोमा ‘टन्सिल’ भएकालाई बढी सताउने उनी बताउँछिन्। सुत्ने वेला स्लिपिङ ट्याबलेट, लठ्याउने औषधि र अत्यधिक मद्यपान सेवन गर्नेमा यो समस्या बढी देखिने बताउँदै उनी भन्छिन्, “बे्रन ट्युमर लगायत मस्तिष्क सम्बन्धी रोग लागेकालाई पनि देखिने यो रोग लागेको १० वर्ष हुँदा पनि बिरामीले थाहा नपाएको देखेको छु।” रोगलाई बेवास्ता गर्दा सास फेर्न नसकेर स्लिप डेथ (मृत्यु) पनि हुनसक्ने उनको भनाइ छ।

मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माका अनुसार, तनावका कारण राति निदाउन नसक्ने मानिस अक्सिजन कम हुने कोठा र हलमा निदाउँछन्। त्यस्ता कोठा र हलमा ताजा हावाको कमीका कारण मानिसको मस्तिष्कले पर्याप्त अक्सिजन नपाउने हुँदा निन्द्रा लाग्ने पनि उनी बताउँछन्।

स्लिप एप्नियाका लक्षण

** घुर्ने

** सुतिरहने

** थाकेको महसूस गर्ने

** स्मरणशक्ति कम हुने

** सिकाइ सम्बन्धी समस्या

** सास फेर्न असजिलो हुने

** अल्छी लाग्ने

मीना शर्मा

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s