सभासदले खाए शपथ

काठमाडौ, माघ ७ –
नवनिर्वाचित सभासदहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । पाँच सय ६५ सभासदहरूले ८५ वषर्ीय ज्येष्ठ सदस्य सूर्यबहादुर थापासँग शपथ लिएका हुन् ।
संविधानसभाको पहिलो बैठक बुधबार दिउँसो तीन बजे बस्नेछ । गत मंसिर ४ मा भएको संविधानसभा चुनावबाट ३० पार्टी निर्वाचित भएका थिए । निर्वाचन आयोगले पुस १८ मा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक
गरेको थियो । थापाले राष्ट्रपति रामवरण यादवबाट सोमबार शपथ लिएका थिए ।
नेपालीबाहेक ४४ सभासदहरूले ११ मातृभाषामा शपथ लिए । नेपाल भाषामा ३, मगरमा ३, मैथिलीमा १३, हिन्दीमा ११, गुरुङमा २, लिम्बुमा २, अवधीमा ५, थारूमा २, भोजपुरीमा १, मधेसीमा १ र किराँत राईमा १ सभासदले शपथ लिए । पूर्वसभामुख एवं एमाले सभासद सुवास नेम्वाङले लिम्बु भाषामा शपथ लिए । यसअघि उनले नेपाली भाषामा शपथ लिँदै आएका थिए ।
शपथ लिँदा कांग्रेस, एमाले, राप्रपा, राप्रपा नेपालका धेरैजसो सभासद दौरा-सुरुवालमा थिए भने मधेसी दलका नेता र सभासद जातीय पहिचान झल्कने पहिरनमा थिए । धेरैजसो महिला सभासद साडी-चोलो र कोटमा थिए । केही जातीय पहिरनमा थिए ।
संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार कांग्रेसका नारायण खड्का, प्रदीप गिरी र सुवर्ण ज्वारचन, एमालेका वंशीधर मिश्र र फोरम नेपालका अभिषेकप्रताप शाह शपथग्रहण कार्यक्रममा उपस्थित थिएनन् । ६ सय १ मध्ये मन्त्रिपरिषद्ले मनोनीत गर्ने २६ सभासद नियुक्त गर्न बाँकी छ भने दुई ठाउँबाट जितेका चार सभासदका ठाउँमा पुनः चुनाव हुनेछ ।
सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शपथग्रहण कार्यक्रमबारे छोटो जानकारी गराएपछि थापाले शपथ गराएका थिए । सभाकक्षभित्र दायाँबाट राप्रपा नेपाल, तेस्रो दल एमाओवादी, बीचमा पहिलो दल कांग्रेस, त्यसपछि दोस्रो दल एमाले र बायाँतिर मधेसी दलका लागि सिट छुट्टयाइएको छ । मधेसी सबै पार्टीका अध्यक्षलाई एउटै लहरमा ठाउँ छुट्टयाइएको छ । शपथ कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार एकै ठाउँमा थिए ।
थापाले शपथग्रहण गराइसकेपछि महासचिव भट्टराईले ‘सभासदको लोगो’ लगाउन भनेका थिए ।
केहीले शपथ लिनुअघि नै लोगो लगाइसकेका थिए ।
शपथ कार्यक्रममा कांग्रेस र एमालेका शीर्ष नेताहरू हषिर्त मुद्रामा देखिन्थे भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको अनुहार मलिनो थियो । शपथ लिएर मूलढोकाबाट निस्किएका दाहाल र भट्टराई सञ्चारकर्मीलाई प्रतिक्रिया नदिई भवनबाट बाहिरिए । एमाले अध्यक्ष झलनाथ खनाल, नेता माधव नेपाल, केपी ओलीलगायत धेरै समयसम्म आफ्ना सभासदसँग चियापानमा सरिक भएका थिए ।
कांग्रेस, एमाले, राप्रपा नेपाललगायत पार्टीका शीर्ष नेताहरू आफ्ना सभासदसँग परिसरमा तस्बिर खिचाउँदै सचिवालयले आयोजना गरेको चियापानमा सहभागी थिए । मधेसी दलका शीर्ष नेताहरू पनि शपथलगत्तै बाहिरिएका थिए ।
एमाले, राप्रपा नेपाल, राप्रपालगायतले दौरा-सुरुवाल र भादगाउँले पोसाक लगाएर आउन निर्देशन दिएअनुसार धेरैजसो त्यही पहिरनमा थिए । राई, लिम्बु, मगर, थारू, मुसलमान, मारवाडी, मधेसी दलका सभासद आ-आफ्नो वेशभूषा झल्किने रंगीविरंगी पोसाकमा आएका थिए ।
एमाओवादी र मधेसी तथा केही साना पार्टीबाहेक कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपालगायत दलका सभासद दौरा-सुरुवाल र ढाकाटोपी/भादगाउँले टोपी तथा महिला साडी-चोलोमा देखिए । एमाओवादी र मधेसी दलका सभासदको पोसाकमा एकरूपता देखिन्थेन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी पोसाकमा भए पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलगायत कोट पाइन्टमा थिए ।
सबैभन्दा कान्छी सभासद २५ वर्षीया सरिता यादव संविधानसभा भवन परिसर प्रवेश गर्नेबित्तिकै धेरैको ध्यान उनैतिर गएको थियो । सञ्चारकर्मीले उनलाई पछ्याउँदै अनुभव सोधिरहेका थिए भने उनी हल्का लजाउँदै सभासद बन्न पाएकामा खुसी लागेको बताइरहेकी थिइन् । उनी फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवकी श्रीमती हुन् ।
बाबु सूर्यबहादुर थापाबाट शपथ लिन पाएकामा राप्रपाका सभासद सुनीलबहादुर थापाले अत्यन्तै खुसी लागेको बताए । ‘यस्तो अवसर संसारमा कमै मान्छेलाई मात्रै प्राप्त हुन्छ,’ शपथपछि थापाले कान्तिपुरसित भने, ‘बा/छोरा त धेरै देशमा सांसद भएका छन् तर बाबुले छोरालाई शपथ ख्वाएको रेकर्ड थिएन ।’ राप्रपाका थापाले धनकुटा-२ बाट चुनाव जितेका थिए ।
एक वर्षमा संविधान बनाउने भनाइ
शपथलगत्तै नेताहरूले एक वर्षभित्र संविधान बनाउने बताएका छन् । कांग्रेस सभापति सुशील कोइरालाले एक वर्षभित्र संविधान निर्माणमा सहमति जुट्ने दाबी गरे । उनले प्रक्रियामा गएर भए पनि संविधान बनाउनुपर्ने बताए । ‘सहमतिका आधारमा संविधान बनाउँछौं,’ सहमति भएन भने नि ? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘सहमति भएन भने भोटिङ र त्यसबाट भएन भने जनमत संग्रहमा गए भए पनि बन्छ ।’ उनले विगतका सहमतिको स्वामित्व लिएर अघि बढ्नेसमेत जनाए ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एक वर्षभित्र संविधान बनाउन ठूलो पार्टीको हैसियतले कांगे्रसले पहल गर्ने बताए । ‘ठूलो पार्टीको हैसियतले कांग्रेसले मुख्य पहल गर्छ,’ उनले भने, ‘सबैलाई मिलाएर सहमतिको दस्तावेजको संविधान बनाउँछांै ।’
एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘सबै राजनीतिक पार्टीमा एक वर्षभित्र संविधान बनाउने संकल्प छ । संविधानसभाको संरचना नै फरक भएकाले शतप्रतिशत संविधान बन्छ ।’
पूर्वसभामुख सुवास नेम्वाङले पनि एक वर्षभित्र संविधान बनाउनुको विकल्प नभएको
बताए । उनले शपथग्रहण गरेपछि भने, ‘दलहरूबीच छलफल भएर निष्कर्ष निस्कने अवस्था छ । प्रक्रियामा जाँदा पनि दुई तिहाइ पुग्ने अवस्था छ ।’
एमाओवादी नेता कृष्णबहादुर महराले संविधानसभाको संरचना अलि फरक भए पनि आफू आशावादी भएको बताए । ‘चार वर्षसम्म संविधान बनेन, एक वर्षभित्र संविधान बनाउने हामी सबैको संकल्प छ,’ उनले भने, ‘संविधानसभाको संरचना केही फरक परे पनि संविधान बनाउनैपर्छ ।’
एमाले नेता केपी ओलीले भने, ‘संविधानसभाको अवधि चार वर्ष हो । एक वर्षभित्र बनाउने प्रयास हुन्छ, भएन भने अघिपछि हुन सक्छ ।’
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसका मुद्दालाई स्थापित गर्दै नयाँ संविधान जारी हुने बताए ।
      तस्बिर ः
प्रकाशित मिति: २०७० माघ ८ ०९:४३

Source : https://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=313067

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s