नेपालमा गणित

वि.सं. १९८९ मा प्रकाशित गणितचन्द्रचन्द्रिका पुस्तक अहिले पल्टाउँदा त्यो वेलाको नेपालमा एउटा कोटको मूल्य रु.२७–२८ थियो भन्ने देखाउँछ।

शनिबार , २२ मंसीर २०७० ३:०३ पम
इतिहासकार योगेश राजका अनुसार, गणितले गणितीय विषयवस्तु हैन, तत्कालीन सामाजिक–आर्थिक र भाषिक विषयवस्तुको गणना तथा गुण पनि बोलिरहेको हुन्छ। तर हामीले न त्यस्ता कुराले गणितका पाठ्यसामग्रीमा ल्याउने हेरफेर खोज्न सकेका छौं न त पाठ्यसामग्री पढ्ने/पढाउनेहरूले पहिल्यै के कति कुरा जानिसकेका हुनुपर्छ भनेर अध्ययन नै गर्न सकेका छौं। तर, पछिल्लो समय नेपालमा गणित विषयप्रतिको चासो हेर्दा यसलाई सामाजिक–सांस्कृतिक लगायतका विषयसँग जोडेर अध्ययन–अनुसन्धान हुने सम्भावना कमै देखिन्छ।

नेपाली भाषाका सबभन्दा पुराना पुस्तकहरूमध्ये गणितको पुस्तक पनि पर्छ, जुन वि.सं. १९४० मै प्रकाशित भइसकेको थियो। नेपालमा त्यसअघि नै गणितको अध्ययन–अध्यापनको काम भइसकेको र विभिन्न कालखण्डमा राज्यले यो विषयलाई महत्व दिएको अरू पनि उदाहरण पाइन्छ। १९४० मा नेपाल मनोरञ्जन यन्त्रालय ठहिटीमा छापिएको पंडित गोपालदत्त पाँडेको व्यक्तचन्द्रिका भन्छ– “अरू देशमा व्यक्त गणित बनाये पनि पर्वतीय भाषामा यो बनाउन नसक्दा गोरखालीहरूलाई गणित आउँदो रहेनछ भन्लान् भन्नाका निमित्त आफ्ना बुद्धिका अनुसार (व्यक्त चन्द्रिका) पर्वतीय भाषामा बन्याको हो।”

व्यक्तचन्द्रिकालाई नेपाली भाषाको सबभन्दा पुरानो पुस्तक मानिन्छ। ज्योतिष र ग्रह–नक्षत्रका विषयमा जानकारी दिने गणितमा आधारित पाण्डुलिपिहरू भने त्यसभन्दा निकै पहिलेदेखि प्रचलनमा रहेका थिए।

गणितको परिचय र महत्वका विषयमा व्यक्तचन्द्रिकामा भनिएको छ– “एक, दुई, तीन इत्यादि संख्याहरूले जो गणित गरिइन्छ त्यसलाई व्यक्त गणित भन्दछन्। त्यो यूरोप देशवासीहरूले अरब देशवासीहरूसँग सिके अरब देशवासीहरूले भारतखण्डबाट सिके अद्यापि त्यो गणितलाई (हिसाबे हिन्द) भन्दैछन् यस निमित्त पहिले भारत खण्डमा उत्पन्न भई त्यहाँदेखि समग्र पृथ्वीमा फैलियो।”

त्यस बखतका गणितका पुस्तकहरूले नेपालमा चलेका रुपैयाँ पैसाका साथै जयस्थिति मल्लको समयको पहाड र तराई क्षेत्रमा चलनचल्तीमा रहेका मौद्रिक तथा जग्गा कारोबारका मानकहरूको पनि जानकारी दिन्छन्। ती पुस्तकहरूमा संख्याको उच्चारण र बुझने (आज सामान्य लाग्ने) काइदाहरू पनि सिकाइएको छ। ती पुस्तकहरूले तत्कालीन समयमा कारोबारका लागि आवश्यक एउटै मापन–मानक बनाउन कति सघायो भन्ने अनुमान गर्न कठिन भए पनि अहिलेको मानक स्थापनामा देन दिएको हुनुपर्छ।

“एउटा मानिसले ५५ रुपैयाँमा दुइटा कोट किन्यो दुईमध्ये एउटा २८ रुपैयाँमा र अर्को ३४ रुपैयाँमा बेचियो भने त्यसलाई कति नाफा भयो?” भन्ने गणितचन्द्रचन्द्रिकाको प्रश्नले त्यो वेलाका दर–रेटको व्यावहारिक हिसाब सिकाएको छ। यस्ता जानकारीहरू तत्कालीन समाजको आर्थिक वा सांस्कृतिक अवस्था थाहा पाउने एउटा महत्वपूर्ण अध्ययन स्रोत पनि भएका छन्, अहिले।

नेपालमा वि.सं. २००० अगाडि गोपालदत्त पाँडेको व्यक्तचन्द्रिका (१९४०), गङ्गाधर शास्त्रीको गणितचन्द्रिका (१९६७), रघुनाथ पन्तको गणित प्रश्न संग्रह (१९७१), पद्मनाथ पन्तको गणक सुन्दरी (१९७३), ब्रह्मलाल श्रेष्ठको विचित्र गणित (१९७५), रामजीप्रसादको गोरखा टेबुल बुक (१९८८), रघुनाथको गणितचन्द्रचन्द्रिका (१९८९), चन्द्रकला देवीको शिशुबोध तरङ्गिणी (१९९१), सिद्धराज जोशीको मुखाग्र गणित (१९९२) र नरेन्द्रमणिको अनुवाद (हल र स्टिभेन्सको स्कूल ज्यामिति) १९९२ मा प्रकाशित भएको पाइन्छ।

ती चिठीपत्र

संसारका कुना–कुनामा फोन र इमेल–इन्टरनेटको पहुँच पुग्दा चिठी–पत्र लेखन र आदान–प्रदानको परम्परा विस्मृतिको कुनोमा पुगेको छ।

सोमबार , १७ मंसीर २०७० ३:१६ पम
चिठीपत्रको परम्परा हराउँदा यसभित्रको आदर, सम्मान र मर्यादाका शब्द तथा परम्परागत व्यहोराको प्रयोग पनि हराएको छ। कुनै वेला चिठीपत्रको व्यहोरा, प्रापकलाई गरिने सम्बोधन र खाममा ठेगाना कसरी लेख्ने भनेर पढाइन्थ्यो / सिकाइन्थ्यो।

अहिले त्यस्ता पढाइ–लेखाइ, सम्बोधन वा चिठीपत्रका ढाँचाहरू काम नलाग्ने भएर नयाँ साथी बनाउने मात्र होइन, पुराना साथी–समुदाय जुटाउने माध्यम पनि सोसल मिडिया भएको छ। यसरी चिठीपत्र, निवेदन, दरखास्त आदिमा अभ्यस्त हातहरू नयाँ प्रविधिसँग बानी पर्दैछन्।

कुनै वेला बजारमा व्यक्ति, समुदाय वा साइनोलाई कसरी सम्बोधन गर्ने, जागीरका निम्ति कसरी निवेदन लेख्ने, कसरी प्रशंसा पत्र लेख्ने वा कसरी छात्रवृत्ति, विदा वा सहायताको अनुरोध गर्ने भनेर नमूना सहितका पुस्तकहरू भेटिन्थे।

चिठीपत्र वा दरखास्तको ठाउँ फोन, इन्टरनेट वा अनलाइनले लिंदा नाता–सम्बन्ध, साइनो वा दर्जाको मान्यताहरूमा फेरबदल भएका छन्। प्रविधिको बोलवाला भएको यो समयमा वि.सं. १९७९ मा प्रकाशित ‘गोरखा पत्रबोध’ पुस्तक वा सोही समयका वर्णमालाहरू पल्टाउँदा विचित्रको अनुभूति हुन्छ।

गोरखा भाषा प्रकाशिनी समितिले गोरखा शिक्षा प्रचारक विभागका लागि तयार गरेको ‘गोरखा पत्रबोध’ ले चिठीको परिभाषा, प्रशस्तिहरूको नमूना, ब्राह्मणले ब्राह्मणलाई तथा अन्य जातलाई, पिताले पुत्रलाई, पुत्रले पितालाई, भिनाजुले सालालाई र सालाले भिनाजुलाई लेख्ने चिठीको नमूना मात्र होइन सासूले बुहारीलाई, पतिले पत्नीलाई, सिपाहीले पल्टनको अफिसरलाई लेख्ने पत्रहरूको व्यहोरा दिइएको छ।

ती नमूना पत्रहरूमा कसरी सम्बोधन गर्ने, कस्ता शब्दहरूको प्रयोग गर्ने, चिठीको सुरुआत र अन्त्य कसरी गर्ने भनेर सिकाइएको हुन्थ्यो। पुस्तकले चिठीपत्र बाहेक नोकरी, विदा, सहयोगका निम्ति आवश्यक निवेदन, निमन्त्रणा पत्र, प्रशंसा पत्र, विज्ञापन कसरी लेख्ने भनेर पनि सिकाएको छ। चिठीको परिभाषा दिंदै पुस्तकमा भनिएको छ– ‘सामनेमा नभएका मानिसलाई जुन लेखद्वारा आफ्नो मनको भाव विदित गराउन सकिन्छ त्यस लेखलाई चिठी वा पत्र भन्दछन्।’
परम्परागत पत्रहरूले सामाजिक मर्यादा–शिष्टाचारलाई विशेष मह140व दिएको पाइन्छ।

कलकत्तामा बसेको एउटा पुत्रले पितालाई लेखेको नमूना पत्रमा लेखिएको छ– ‘उप्रान्त चरणको कोमल गाथ पाउमा सदा कुदा कुशल मङ्गलोदय रहे बालकको प्रति पालोद्धार हुनेछ। चरणका पुण्य प्रतापले यहाँ बालक सकुशल छु। अब २ र ४ दिनमा यहाँको काम सकिन्छ, सो सकिना साथ चरणको सेवामा हाजीर होउँला भने जस्तो लागेको छ।’ यसले आजका पाठकलाई पत्र प्रेषकले के भनेको हो भनेर बुझन पनि कठिन पार्न सक्छ।

पुस्तकले गुरु, आमा, बाबु र त्यही किसिमका अरू मान्यजनलाई श्री ६ तथा शिष्य, पुत्र, पुत्री, स्त्री र अरू त्यही किसिमका आफूभन्दा तल्ला श्रेणीका नातेदारलाई श्री १ लेख्ने परम्परा रहेको जानकारी दिएको छ। हाम्रो पुस्ताले जान्दासम्म राजालाई श्री ५ भन्ने बाहेक ‘श्री’ का अन्य कैयौं सम्बोधनहरू हराइसकेको छ। आगामी पुस्ताले संभवतः सबैलाई समान रूपमा प्रयोग हुने एउटा ‘श्री’ को मात्र प्रयोग देख्नेछ।

पुस्तकले चिठीको मात्र होइन खामको कुरा पनि गर्दै त्यसमा कसरी ठेगाना लेख्ने भन्ने जानकारी दिन्छ– ‘चिठी जसभित्र हालेर पठाइन्छ त्यसलाई लिफाफा वा खाम भन्दछन्। खामका बाहिर पीठमा स्वस्तिश्री, पदवी, नामहरू शिरको पंक्तिमा लेखी उसभन्दा तलतिर दाहिने छेउपट्टि पता वा ठेगाना लेखेपछि त्यसभन्दा मुनिको पंक्तिमा ठेगानाको प्रसिद्ध नगर वा ग्राम जिल्ला जो छ त्यो लेख्नुपर्दछ।’

तर, प्रविधिले यस्तो परम्पराको अन्त्य गरेर देशको कुना–कन्दरामा छरिएको हाम्रो हुलाकको सञ्जाललाई नै बेकामे बनाइदिएको छ। वर्षौंको राष्ट्रिय लगानीबाट तयार पारिएको यो सञ्जालबाट नयाँ तरीकाको फाइदा लिने सोच कसले बनाउने?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s