कपिलवस्तु र बोधगया

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको हुनाले भगवान् बुद्धको जन्म बोधगयामा भएको र सिद्धार्थ लुम्बिनीमा जन्मेका हुन् भन्ने तर्क तार्किक जस्तो देखिए पनि तथ्यगत छैन ।

आईतबार , ३ कात्तिक २०७० ४:१५ पम

अक्सर दर्शनमा जोड दिने, कवितात्मक पारा निकाल्ने र विवाद गर्न मन पराउनेहरूका अनुसार बुद्धको जीवनमा सबैभन्दा प्रमुख

तिलौराकोट, कपिलवस्तु, नेपाल

घटना बुद्धत्व प्राप्ति हो, मानवको रूपमा आमाको कोखबाट ई.पू. ५६३ मा लुम्बिनीमा भएको जन्म खासै महत्वको घटना होइन । बुद्धत्व प्राप्त भएको बोधगयाको महत्वमा दुई मत छैन, तर त्यो महत्व कपिलवस्तुसँग जोडिएको कुरालाई नजरअन्दाज गर्न सकिंदैन ।

बुद्धत्व प्राप्तिका लागि श्रमण परम्परा अनुसार कपिलवस्तुस्थित घरबार छाडेका श्रमण गौतम (गृहस्थ नाम त्याग गरिसकेको अवस्था) ६ वर्षसम्म आलारकालम, उद्दकराम पुत्र लगायतका प्रख्यात गुरुहरूसँग विद्याध्यन र साधना गर्दै हिंडेका थिए । उनी घोर तपश्चार्यमा पनि बसे, जसलाई बौद्ध ग्रन्थहरूमा ‘दुष्कर चर्या’ नाम दिइएको छ । तर, यी तमाम साधनाहरूबाट केही फल प्राप्त भएन, एक हिसाबले समयको बर्बादी मात्रै भयो । त्यसपछि साधनाका पद्धतिमाथि मतभेद हुँदा पाँच साथीले श्रमण गौतमलाई पथभ्रष्ट भएको भन्दै छाडेर हिंडेका थिए ।

प्रथम ध्यान लाभ
त्यसरी अनेकौं विधिका साधना गरिरहेका बेला गौतमलाई अकस्मात आफू सानै छँदा कपिलवस्तुमा गरेको ध्यान भावना वा ध्यानलाभको सम्झ्ना भयो । बुद्ध जीवनी सम्बन्धी चर्चामा कपिलवस्तुको तत्कालीन कृषि महोत्सवको प्रसङ्ग छुट्दैन । त्यस दिन सबै रोपाइँमा सहभागी हुन्थे । मानिसहरू हर्षोल्लासका साथ कृषिमा सरिक भइराख्दा कुमार सिद्धार्थ त्यहाँ रमाउन सकेका थिएनन् । उनी चुपचाप अलि पर जामुनको रुखमुनि ध्यानमा बसे ।

यसबाट उनले पहिल्यै ध्यानविधि सिकिसकेको थाहा हुन्छ । त्यही बेला उनलाई प्रथम चरणको ध्यानलाभ भएको थियो, जसबाट वातावरणमा परेको अनौठो प्रभाव अरुले पनि प्रत्यक्ष अनुभव गरेका थिए । सर्वसाधारणका लागि यो आश्चर्यको कुरा थियो । यो देखेर बाबु शुद्धोधनले दोस्रो पटक पुत्रवन्दना गरेका थिए । बौद्ध ग्रन्थहरूले यो असाधारण घटनालाई प्रथम ध्यान लाभ मानेका छन् ।

बोधगया भारत ।

बुद्धत्व प्राप्तिको यात्रामा श्रमण गौतमले बोधगयामा अपनाएको विधि र त्यसबाट प्राप्त गरेको बोधी (ज्ञान) लाभ कपिलवस्तुको प्रथम ध्यानकै निरन्तरता थियो । अर्थात्, बोधगयामा गरेको ध्यानको अंकूर कपिलवस्तुमै पलाएको थियो । बोधगयामा दोस्रो तहको ध्यानबाट बुद्धत्व प्राप्त गरेका थिए । बुद्धले प्रथम ध्यान लाभ गरेको स्थल अर्थात् जामुनको रुख कहाँ रहेछ भन्ने प्रसङ्ग आफैंमा एउटा खोजीको विषय हो । त्यो वृक्ष नजिकै रहेको बौद्ध वाङमयमा स्पष्ट छ ।

बोधगया भारत ।

शुद्धोधनको दरबारबाट खेत पनि टाढा थिएन । लुम्बिनी र कपिलवस्तुको खोजी गर्ने जर्मन पुरातत्वविद् डा.ए. फूहररको ध्यान यसतर्फ पनि गएको थियो । एउटा स्तुपको भग्नावशेषलाई यस घटनासँग सम्बन्धित गर्न खोजेका उनले थप अध्ययन गर्न पाएनन् । उनका अनुसार सो स्थल कपिलवस्तु नगरबाट उत्तर–पूर्वमा पर्छ । डा. फूहररले अनुमान गरेको त्यो स्थल अहिले हराइसकेको अवस्था छ ।

गौतम बुद्धको गृहनगर भएर मात्रै कपिलवस्तुको महत्व भएको होइन । उनीभन्दा अघिका क्रकुच्छन्द र कनकमुनि बुद्धको जन्म पनि यसै क्षेत्रमा भएको हो । गौतम बुद्धको बुद्धत्व प्राप्तिमा सहायक भएको बाल्यकालको ध्यान पनि यहीं लाभ भएको कुरा बौद्धहरूका लागि कम महत्वको होइन । बौद्धहरू अन्यत्र धेरैजसो सूत्रपाठ तथा पूजा गरेर फर्कन्छन् भने बोधगयामा त्यसबाहेक एक क्षण भए पनि ध्यानमग्न हुन चाहन्छन् । तर त्यही ध्यानसँग सम्बन्धित कपिलवस्तुको जामुनको रुख भने अहिले खोजीको विषय भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s