मौरीपालन थोरै लगानीमा धेरै आम्दानी

December 25, 2013
 
नेपालमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि मानिस मौरीमा लगानी गर्न हौसिएका छन् । व्यवसायको शुरूको वर्ष नै एक घार महबाट वार्षिक ५ हजार रुपैयाँ आम्दानी गर्न सकिने नमस्ते माउण्ट एभरेष्ट हनी प्रालिका प्रोप्राइटर राजु खतिवडा बताउँछन् । चितवन जिल्लामा आफूले पालेका २ सय घार मौरीबाट वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । 
 
सुरुमा मौरीको एक घार किन्न ६ देखि ७ हजार रुपैयाँ पर्ने भएकाले सुरुको वर्ष लगानीका कारण आम्दानी थोरै भएजस्तो लागे पनि अर्को वर्ष पनि त्यो घारबाट उत्तिकै मह उत्पादन हुने भएकाले आम्दानी बढ्छ । घार किनिसकेपछि मौरीपालनमा लाग्ने अन्य खर्च खासै बढी हुँदैन । दोस्रो वर्षबाट १ घार मौरी पाल्न वार्षिक करिब सात हजारजति खर्च लाग्ने र १५ हजार रुपैयाँजति आम्दानी हुने खतिवडा बताउँछन् । जीविकोपार्जनका लागि ४०/५० हजार रुपैयाँ मात्रैको लगानीबाट मौरीपालन व्यवसाय शुरू गर्न सकिने उनले बताए ।  
व्यावसायिक रूपमा मौरीपालन गर्न भने केही बढी रकम लगानी गर्नुपर्छ । यसका लागि शुरूमा कम्तीमा पनि ४ लाख रुपैयाँ लगाउनुपर्ने नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष गणेश बस्नेत बताउँछन् । मौरीका घारलाई फूल फुल्ने सिजनअनुसार विभिन्न ठाउँमा घुमाउनुपर्ने हुन्छ । थोरै घार हुनेको पनि डुलाउने खर्च उत्ति नै लाग्ने भएकाले उनीहरूको आम्दानी कम हुन्छ । त्यसैले व्यावसायिक रूपमा मौरीपालन गर्दा कम्तीमा पनि ४०/५० घारबाट व्यवसाय शुरू गर्नुपर्ने बस्नेतको भनाइ छ । 
लगानीको दोब्बर फाइदा
व्यवसायको दोस्रो वर्षमै मौरीमा गरिएको लगानीको दोब्बर फाइदा लिन सकिन्छ । नेपालका हिमालदेखि तराईसम्म मौरीपालन गर्न सकिन्छ । अहिले चितवन, नवलपरासी, कास्की, पाल्पा, पर्वत, कैलाली, जुम्ला, सर्लाही, मकवानपुर, झापा, सुनसरी, मोरङ, सुर्खेत, काभ्रे, दाङ, प्यूठानलगायत जिल्लामा व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ । मौरीले बिरुवाको परागसेचनमा सहयोग पुर्‍याउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकहरूको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्ने पोखरेल बताउँछन् ।
 
हाल नेपालमा व्यावसायिक मौरीपालनका १ लाख ४० हजारदेखि १ लाख ६० हजारसम्म घार रहेको अनुमान गरिएको छ । यसमा करीब ३५ हजार घार मेलिफेरा जातका र करीब १ लाख २५ हजार घार सेरेना जातका मौरीका रहेको नेपाल केन्द्रीय मह व्यवसाय सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठ बताउँछन् । मेलिफेरा मौरीलाई उन्नत जातको मानिन्छ । अन्य मौरीको तुलनामा ठूलो हुने मेलिफेराले छोटो समयमै धेरै मह उत्पादन गर्न सक्ने व्यवसायी बताउँछन् । 
 
उत्पादनभन्दा माग बढी
नेपालको मागलाई धान्न सक्ने गरी मह अझै उत्पादन हुन सकेको छैन । अहिले नेपालमा वार्षिक ४० लाख किलो महको माग रहेको श्रेष्ठ बताउँछन् । सरकारी तथ्याङ्कअनुसार वार्षिक १६ लाख किलो मह मात्र उत्पादन हुन्छ ।  मह उत्पादनमा मौरीपालन सहकारीको पनि उल्लेखनीय भूमिका छ । मौरीपालन सहकारीअन्तर्गत सञ्चालित व्यवसायमा करीब १ अर्ब ४० करोड रुपैयाँ लगानी भइसकेको बस्नेतले बताए । नेपालमा अहिले १ सयभन्दा बढी मौरीपालन सहकारी छन् । तीमध्ये नेपाल मौरीपालन केन्द्रीय सहकारीमा ५२ ओटा सहकारी आबद्ध छन् । यो व्यवसायमा करीब १० हजार मानिसले प्रत्यक्ष र करीब २५ हजारले अप्रत्यक्ष रोजगारी पाइरहेको बस्नेतले जानकारी दिए । 
 
नेपालमा २०५१ सालबाट व्यावसायिक रूपमा मौरीपालन शुरू भएको हो । नेपालमा अहिले वार्षिक करीब १ हजार ५ सय मेट्रिक टन मह उत्पादन भइरहेको बस्नेत बताउँछन् । नेपालमा उत्पादित कुल महमध्ये करीब आधा नेपाल मौरीपालन केन्द्रीय सहकारीमार्फत उत्पादन भइरहेको छ । २०५१ सालमा तत्कालीन राजा वीरेन्द्र यूरोप भ्रमणमा जाँदा त्यहाँको मौरीपालन व्यवसायमा चासो देखाएका थिए । त्यसपछि मौरीपालन व्यवसायको सम्भाव्यता अध्ययनका लागि यूरोपियन विशेषज्ञ नेपाल आएको बस्नेत बताउँछन् । उनीहरूले नेपालमा मेलिफेरा जातको मौरी उपयुक्त हुने पत्ता लगाएका थिए । त्यसैअनुसार नेदरल्याण्ड्सले नेपाललाई २६ घार मेलिफेरा जातका मौरी उपहारस्वरूप दिएको उनी बताउँछन् । नेपाल ल्याइपुर्‍याउँदा १६ घार मौरी मात्र बाँकी थिए । अहिले यही जातको मौरीको नेपालभर व्यावसायिक पालन भइरहेको छ । नेपालमा सेरेना, मेलिफेरा, भीरमौरी, कठ्यौरी र घारमौरीलगायत जातबाट मह उत्पादन भइरहेको छ । यी मौरीले विभिन्न जातका फूल तथा वनस्पतिबाट रस चुसेर मह बनाउँछन् । नेपालमा महको प्रयोग गर्ने मानिस कम भएको बस्नेतको भनाइ छ । नेपालका सबै मानिसले नियमित रूपमा महको प्रयोग गर्ने हो भने माग अझ बढ्ने उनले बताए । नेपालमा अहिले महको उपयोगिता थाहा पाएको शिक्षित वर्ग र खानदानी रूपमा मह प्रयोग गर्दै आएको परिवारबाट मात्र माग हुने गरेको उनको भनाइ छ । यसबाहेक विभिन्न आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनीले पनि महको प्रयोग गरिरहेका छन् । 
 
प्रयोगशालाको अभाव
उत्पादित मह गुणस्तरीय हो भनेर प्रमाणित गर्ने अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला यहाँ उपलब्ध छैन । अहिले नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महको गुणस्तर परीक्षण गरिरहेको छ । यो विभागले मात्र प्रमाणित गरेको मह विदेश निर्यात गर्न नसकिने व्यवसायीले बताएका छन् । नेपालमा उत्पादित मह अग्र्यानिक भएको र यसलाई प्रमाणित गराउन सके विदेशमा ठूलो परिमाणमा माग हुने उनीहरूको भनाइ छ । नेपाल सरकारले मौरीपालन व्यवसायलाई ध्यान नदिएको धर्मराज श्रेष्ठको भनाइ छ । साथै, विभिन्न सरकारी निकायले आवश्यक अनुसन्धान नगरी मौरी वितरण गर्ने गरेको उनको गुनासो छ । ‘यसकारण पनि मौरीपालन दिगो हुन सकेको छैन’, उनी भन्छन् । 
 
चिउरीको मह
नेपाल चिउरीको मह उत्पादनका लागि पनि उपयुक्त स्थान रहेको व्यवसायी बताउँछन् । चिउरीको मह सबैभन्दा उत्कृष्ट मानिन्छ । सरकारले मकवानपुरदेखि प्यूठानसम्म कृषिसडकको निर्माण गर्ने हो भने उक्त क्षेत्रमा मौरीपालनका साथै चिउरीको मह पनि व्यावसायिक रूपमा उत्पादन गर्न सकिने बस्नेत बताउँछन् । यो क्षेत्रमा चिउरीको खेती बढी हुने गर्छ । नेपालमा १५ सय मे.ट. मह चिउरीबाट मात्र उत्पादन गर्न सकिने उनले देखेका छन्  । ‘नेपालले चिउरीको महलाई महत्त्वका साथ विश्वबजारमा पठाउन सक्छ,’ उनले भने । 
 
नेपालमा अझै पनि व्यावसायिक मौरीपालन हुन नसकेको व्यवसायीहरूले नै बताएका छन् । यसबारेको प्राविधिक ज्ञान थोरै मानिसलाई मात्र भएकाले पनि व्यवसाय विस्तार गर्न कठिन भएको उनीहरूको भनाइ छ । नेपालमा भएका मौरीको नश्ल सुधार नहुनु पनि उत्पादन बढ्न नसक्नुको कारण रहेको बस्नेत बताउँछन् । 
 
मौरीपालन व्यवसायलाई व्यवस्थित र विकसित बनाउन सरकारले मौरी विकास बोर्ड बनाउनुपर्ने व्यवसायीको माग छ । सहकारीअन्तर्गत मौरीपालन व्यवसाय सञ्चालन हुँदै आए पनि सहकारी हेर्ने निकाय नै नहुँदा समस्या भएको उनीहरू बताउँछन् । 
 
समस्या
सरकारले अहिले जीविकोपार्जनका लागि मौरीपालन गर्ने नीति अघि बढाएको छ । तर, मौरीपालनलाई व्यावसायिक रूपमा विस्तार गर्न यो नीति पर्याप्त नहुने श्रेष्ठको भनाइ छ । ‘समृद्धिका लागि व्यावसायिक मौरीपालन सुरु गर्नुपर्छ’, उनी भन्छन् । व्यावसायिक रूपमा मौरीपालन हुन नसकेकाले मह विदेश निर्यातमा समस्या देखिएको छ । उतबाट माग भएअनुसारको मह अहिलेको उत्पादनले पुर्‍याउन नसकिने श्रेष्ठले बताए । साना व्यवसायीबाट उत्पादित महलाई सङ्कलन गरी निर्यातको पहल गरिए पनि सबै व्यवसायीले मह दिन नमानेको उनको भनाइ छ । व्यवसायीका अनुसार धेरै ठाउँबाट उत्पादन गरिएको मह सङ्कलन गर्दा गुणस्तरमा समस्या आउने देखिएको छ ।
 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s