‘७ अर्ब’, क्षतिपूर्ति २७ करोड

बर्डफ्लुको क्षति ‘७ अर्ब’, क्षतिपूर्ति २७ करोड

पोल्ट्री पुनःस्थापनामा उदासीनता
किरण आचार्य
काठमाडौं, ११ पुस – कृषकहरूले साउनमा भक्तपुरलगायत देशभर महामारीका रूपमा फैलिएको बर्डफ्लुबाट करिब ७ अर्बबराबरको क्षति भएको दाबी गरिरहँदा सरकारले भने २७ करोडमात्र क्षतिपूर्ति उपलब्ध गराएको छ ।  व्यवसाय नै उठिबास लाग्ने गरी बर्डफ्लुबाट भएको क्षति र त्यसयता पुनःस्थापनामा सरकारी उदासीनताका कारण पोल्ट्री क्षेत्र तङ्ग्रिन नसकेको उनीहरूको गुनासोलाई यो तथ्यांकले बल पु¥याएको छ ।
सरकारले कुखुरा, अन्डा र दाना क्षतिका आधारमा मात्र क्षतिपूर्ति उपलब्ध गराउँछ । तर, यीबाहेक पोल्ट्रीको लागत, बैंक ब्याज, जनशक्ति आदि गरेर करिब ७ अर्बबराबरको क्षति भएको पोल्ट्री फोरम नेपालका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । “बर्डफ्लुका कारण यो क्षेत्रले अर्बौंको क्षति बेहोरिरहँदा पुरानै भाउमा क्षतिपूर्ति उपलब्ध गराउनु कृषकमाथिको अन्याय हो,” उनी भन्छन्, “यसै पनि ठूलो क्षतिले हामी पीडित छौं, समयसापेक्ष राहत उपलब्ध गराउनुको साटो सीमित रकम बाँड्नु चह¥याएको घाउमा नुन छर्कनुजस्तै हो ।” पुरानो भाउ आफूहरूलाई स्वीकार्य नभएको भन्दै उनले यथाशक्य नयाँ भाउ कायम गरी आत्मनिर्भर पोल्ट्री क्षेत्रलाई पुनःस्थापना गर्न सरकारसँग माग गरे ।
बर्डफ्लुको क्षतिका विषयमा छानबिन गरी विशेष राहत प्याकेजसमेत सिफारिस गर्न गठित समितिले असोज अन्तिम साता प्रतिवेदन तयार गरी कृषि मन्त्रालयमा बुझाइसकेको छ । तर, मन्त्रालयले प्रतिवेदन सार्वजनिक नगरेको र क्षतिपूर्तिका लागि समेत तदारुकता देखाउन नसकेको भन्दै कृषकले विरोध गरेका छन् । प्रतिवेदनले नयाँ मापदण्डअनुसार सिफारिस गरे पनि त्यसलाई गोप्य राखी पुरानै मापदण्डअनुसार क्षतिपूर्ति उपलब्ध गराएर कृषकलाई झुक्काएको भन्दै कुखुरा व्यवसायीले आपत्ति जनाएका छन् ।
पुरानो क्षतिपूर्ति मापदण्डअनुसार लेयर्स जातिका कुखुरालाई प्रतिगोटा ५ सय र ब्रोइलर प्रतिगोटा २ सय ५० रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । हालको बजार मूल्यअनुसार लेयर्स कुखुराको मूल्य प्रतिगोटा १ हजार र ब्रोइलरको ५ सय रुपैयाँ छ । दाना, अन्डा, चल्ला र अन्य मासुका लागि उत्पादन गर्ने ब्रोइलर–लेयर्स कुखुरामा सरकारले उपलब्ध गराउने क्षतिपूर्ति बजार मूल्यभन्दा ७५ प्रतिशत कम छ ।
“बर्डफ्लुका कारण कुखुरा उत्पादकमात्र नभई व्यवसायीको समेत लगानी डुबेको छ,” कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी भन्छन्, “त्यसैले व्यवसायीको पुनःस्थापनासमेतलाई प्राथमिकतामा राखेर सरकारले छिटै निर्णय लिनुपर्छ ।”
मन्त्रालयले भने चुनावका कारण क्षतिपूर्तिको नयाँ मापदण्डलगायत काममा ढिलाइ भएको प्रतिक्रिया दिएको छ । “प्रतिवेदन तयार भएको छ, त्यसमा थप छलफल गरेर निष्कर्षमा पुगिनेछ,” प्रवक्ता प्रभाकर पाठकले भने, “नयाँ मापदण्ड बनाउन समय लाग्ने भएकाले कृषकलाई तत्काल राहत होस्् भनेर पुरानै दरमा भए पनि रकम निकासा गरी क्षतिपूर्ति वितरण गरेका हौं ।” बर्डफ्लुका कारण भएको वास्तविक क्षति र समितिले सुझाएको प्याकेज राहतबारे भने उनले खुलाउन चाहेनन् ।
६ वर्षअघि तत्कालीन बजारमूल्यका आधारमा तय गरिएको क्षतिपूर्तिको मापदण्ड संशोधन गरी समयसापेक्ष मापदण्ड बनाउन व्यवसायीले संक्रमणअघिदेखि नै सरकारलाई दबाब दिँदै आएका थिए । भक्तपुरलगायत देशभर भएको यो वर्षको क्षतिलाई गम्भीरतापूर्वक लिएको भन्दै सरकारले नयाँ मापदण्डको आश्वासनसमेत दिएको थियो । कृषि विकासमन्त्री, मन्त्रिपरिषद् अध्यक्ष, अर्थमन्त्री, मुख्यसचिव, अर्थसचिव, कृषिसचिवलगायत अधिकारीसम्म कृषकहरू पटक–पटक डेलिगेसन गइसकेका छन् । सबैले आश्वासनमात्र दिएको तर ठोस पहल नगरेको गुनासो कृषकको छ ।
पशु सेवा विभागअन्तर्गतको पशु स्वास्थ्य निर्देशनालयका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा १७ लाख ६४ हजार ५ सय २६ कुखुरा, २६ लाख ५१ हजार ६ सय ४५ अन्डा, १ हजार ४ सय ७ किलो मासु तथा १ लाख ३४ हजार ४ सय ८७ किलो दाना नष्ट गरिएको छ । महामारीकै रूप लिन थालेपछि बर्डफ्लु नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरेर नियन्त्रण सफल भएको दाबी निर्देशनालयका कार्यक्रम निर्देशक विजयकान्त झाले गरे । सरकारी मापदण्डअनुसार कुखुरा, अन्डा, दाना र चल्लामा मात्र क्षर्तिपूर्ति उपलब्ध गराइने उनले बताए ।
विभागअन्तर्गतकै जुनोसिस नियन्त्रण आयोजनामार्फत पुरानो दरअनुसार क्षतिपूर्ति रकम निकासा गरिएको हो । आयोजना प्रमुख इन्द्रकान्त झाका अनुसार भक्तपुरमा क्षतिपूर्तिका लागि जिल्ला पशु सेवा कार्यालयको नाममा १२ करोड ३६ लाख १ हजार ६ सय ७१ रुपैयाँ वितरण गरिएको छ । काठमाडौं कार्यालयको नाममा ४ करोड १९ लाख, काभ्रेका लागि ४ करोड १२ लाख १७ हजार र लतिलपुरका लागि ४८ लाख ९६ हजार ५ सय ४३ रुपैयाँ निकासा गरिएको छ । त्यसैगरी त्रिपुरेश्वरस्थित पशु स्वास्थ्य निर्देशनालयको नाममा ४ करोड ९० लाख ३० हजार रकम निकासा भइसकेको आयोजनाले जनाएको छ ।
Source : http://www.karobardaily.com/nepali/news/2013/12/1388112457

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s