६०% किसानलाई नै खान पुग्दैन – 700910

सुरज कुँवर
agriculter

काठमाडौं, पुस १० – मुलुकका ६० प्रतिशत किसानलाई आफ्नै उत्पादनले वर्षभर खान पुग्दैन । केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको कृषि गणनाअनुसार आफ्नै उत्पादनले १० देखि १२ महिनासम्म अपुग हुने परिवार १५ प्रतिशत छन् । सातदेखि ९ महिना अपुग हुने २३ प्रतिशत, ४ महिनादेखि ६ महिनासम्म अपुग हुने ४४ प्रतिशत र १ देखि ३ महिनासम्म अपुग हुने १८ प्रतिशत कृषक परिवार छन् ।

कृषिविज्ञ तथा पूर्वसचिव हरि दाहालका अनुसार उन्नत प्रविधि अभाव र पर्याप्त जमिनको कमीले किसान परिवार अभावका कारण असन्तुलित आहारामा निर्भर छन् । ‘करिब ७५ प्रतिशत किसानको जमिन एक हेक्टरभन्दा कम छ । पाँच/सात जनाको परिवार भएका यस्ता किसानले पर्याप्त सिँचाइ, रसायनिक मलबीउ, उन्नत प्रविधि नपाउनाले यस्तो अवस्था आएको हो,’ उनले भने ।

सरकारको लगानीमा १३ करोड खर्च गरेर पहिलो पटक गरिएको गणनाले देशभर ८३ प्रतिशत कृषकको मुख्य आयस्रोत कृषि रहेको देखाएको छ । विभागले १० वर्षअघिको दाँजोमा करिब १ लाख २९ हजार हेक्टर खेतीयोग्य जमिन घटेको उल्लेख गर्दै कुल कृषक परिवारले कृषिकर्मका लागि २५ लाख २५ हजार हेक्टर जग्गा प्रयोग गरिरहेको जनाएको छ ।

विभागका उपमहानिर्देशक सुमनराज अर्यालका अनुसार सडकको पहुँच, औद्योगिक क्षेत्रको विकास, सहरीकरणलगायत कारणले कृषिकर्म गरिने जग्गा घट्दो छ । जग्गा घट्दै गइरहेका बेला कृषक परिवार संख्या बढेको छ । दस वर्षअघिको दाँजोमा कृषक परिवार संख्या ४ लाख ६७ हजारले वृद्धि भई ३८ लाख ३१ हजार पुगेको छ । तर कुल किसानमध्ये १ लाख १६ हजार परिवार खेतीपाती नगरी पशुपालनमा मात्र आबद्ध छन् । नेपाली कृषि प्रणालीबारे सूचना संकलन गर्ने उद्देश्यले थालिएको छैटौं गणनाले सबैभन्दा धेरै कृषि क्षेत्रफल भएका जिल्लामा मोरङ, झापा, सर्लाही, सिरहा, सुनसरीलाई देखाएको छ भने कम भएको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् ।

विभागका निर्देशक अम्बिका बस्यालका अनुसार यो गणना छनोट विधिमा आधारित नमुना सर्वेक्षण हो । देशभरका ७५ वटै जिल्लामा सञ्चालन गरिएको सर्वेक्षणमा ५ हजार २ सय वडा तथा वडा समूहहरू छनोट गरिएका थिए । यी वडाका १ लाख २४ हजार ४ सय कृषक परिवार छानिएका थिए । छानिएका कृषक परिवारको प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट तथ्यांक संकलन गरिएको थियो । देशभर खटिएका ३ हजार हाराहारी गणनाले किसानको परिभाषामा कम्तीमा हिमाल-पहाडमा ४ आना तथा तराईमा ८ धुर जग्गा भएकालाई किसान मानेको थियो । जग्गाको स्वामित्व भएको तर कृषिकर्म नगर्ने गणनामा समेटिएका छैनन् । कृषिकर्म नगर्ने पनि समेटिएका छैनन् ।

प्रकाशित मिति: २०७० पुस १० ०९:०२

– See more at: http://www.ekantipur.com/np/2070/9/10/full-story/381296.html#sthash.AxuycxNr.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s