कृषकको आँखा नगदे बालीतिर

कृषकको आँखा नगदे बालीतिर

कृषकको आँखा नगदे बालीतिर

किरण आचार्य
काठमाडौं, १० पुस – नेपालका कृषक परम्परागत बाली छाडेर बढी आम्दानी हुने नगदे बालीतर्फ आकर्षित देखिएका छन् । राष्ट्रिय कृषिगणना ०६८ अनुसार १ दशकयता ‘क्रप सिफ्टिङ’को ग्राफ ह्वात्तै बढेको छ । 
केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो दशकमा अन्नबालीको क्षेत्रफल ९ प्रतिशतले घट्दा तरकारीखेतीको क्षेत्रफल ४१ प्रतिशतले बढेको छ । मुख्य अन्न बालीहरूमा धान र गहुँ बालीको क्षेत्रफलमा ६ प्रतिशत, मकैमा १२, कोदोमा १९, जौंमा ३५ र फापरमा ५० प्रतिशतले कमी आएको छ । कोशे बाली (२१ प्रतिशत) र तोरी बाली (१३ प्रतिशत) समेत घटेको छ ।
हाल देशभर ३१ लाख २१ हजार हेक्टरमा खाद्यान्न बाली उत्पादन भइरहेको छ । नगदे बालीको क्षेत्रफल १२ प्रतिशतले बढेर ६७ हजार हेक्टर पुगेको छ भने तरकारी बालीको क्षेत्रफल ८४ हजार हेक्टर पुगेको छ । तत्काल आम्दानी हुने आलु बालीको क्षेत्रफलमा २० प्रतिशत र मसलामा ७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी फलफूलतर्फ जुनार, कागती र आँपको क्षेत्रफल घटेको छ भने सुन्तला, केरा र स्याउको क्षेत्रफल बढेको छ ।
“कृषकहरूमा क्रप सिफ्टिङको प्रचलन बढेको छ,” विभागका उपमहानिर्देशक सुमनराज अर्यालले भने, “उनीहरू परम्परागत अन्नबाली छाडेर तत्काल आम्दानी हुने तरकारीबालीतर्फ आकर्षित भएकाले अन्नबालीको क्षेत्रफलमा कमी आएको छ ।” कृषियोग्य जग्गा मिचेर घर निर्माण र बाटोघाटोलगायत विकास–निर्माणका कारणले पनि कृषि भूमिमा केही कमी आएको उनले बताए ।
यो नतिजा अनौपचारिक कृषिमा संलग्न कृषकमा आधारित भएको र व्यवसायिक कृषकको छुट्टै अध्ययन भइरहेको विभागले जनाएको छ ।
नेपालमा ३८ लाख ३१ हजार कृषक घरपरिवार छन् । यो संख्या १ दशकअघिको तुलनामा ४ लाख ६७ हजारले बढी हो । यो दशकमा तरकारीखेतीमा संलग्न कृषकको संख्यामात्रै दोब्बरले बढेको छ । तरकारीखेतीका लागि ४० प्रतिशत क्षेत्र थपिएको छ । १ दशकअघि तरकारीखेतीमा संलग्न कृषक परिवारको संख्या ९ लाख ७७ हजार रहेकोमा हाल १९ लाख ३१ हजार पुगेको छ । क्षेत्रफल ६० हजार हेक्टरबाट बढेर ८४ हजार हेक्टर पुगेको छ ।
तरकारीखेतीका लागि अधिकतम जमिन उपयोग गर्नेमा इलाम जिल्ला सबैभन्दा अगाडि देखिएको छ । त्यहाँ ४ हजार ३ सय ९३ हेक्टरमा तरकारीखेती गरिएको छ भने दोस्रोमा झापा (४ हजार ४४ हेक्टर), तेस्रोमा चितवन (३ हजार ६ सय ९१), धादिङ (३ हजार ३ सय ८६) र मोरङ (३ हजार ३ सय २५०) छन् ।
नेपालमा कृषिगणना गर्न थालेको ५० वर्ष पुगेको छ । यो अवधिमा विभागले पहिलोपटक दातृ निकायको सहयोगबिनै गणना सकेको बताएको छ । हालसम्म १३ करोड रकम खर्च भएको र ७५ जिल्लामा ३ हजार गणक खटाइएको जानकारी उसले दिएको छ । विभागले पहिलोपटक ‘माइक्रो माटा सेयरिङ’को अवधारणालाई स्वीकार्दै निश्चित रकम तिरेर तथ्यांक किन्न पाउने सुविधा दिने भएको छ ।
कृषिमा रहेको अर्थतन्त्र विकासका लागि तथ्यांकले महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसालले बताए । तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै उनले १३ औं ओजनाको आधारपत्रको अन्तिम मस्यौदा तयारीका क्रममा रहेको जानकारी पनि दिए ।
विभागका महानिर्देशक उत्तमराज मल्लले हाल केन्द्रीय तथ्यांकमात्र सार्वजनिक गरिएको र बिस्तारै क्षेत्रगत, जिल्लागत र विषयगत तथ्यांक÷विश्लेषण पनि सार्वजनिक गरिने बताए ।

कृषिमा निर्भर ७१ प्रतिशत
कृषिगणनाले कृषिमा निर्भर जनसंख्या ७१ प्रतिशत रहेको देखाएको छ । ०५८ को गणनाले ७९ प्रतिशत र त्यसअघि ०४८ को गणनाले ८२ प्रतिशत देखाएका थिए ।
हालको नतिजाअनुसार कृषिमा संलग्न परिवारमध्ये ८३ प्रतिशतको मुख्य आयस्रोत कृषि छ । कृषक परिवारमध्ये १७ प्रतिशतको मुख्य आयस्रोत अन्य व्यवसाय छ ।
कृषक परिवारमध्ये ४० प्रतिशतले मात्र कृषि पेसाबाट दैनिक गुजारा गर्छन् भने ६० प्रतिशत कृषिले मात्र नपुगेर अन्य पेसामा समेत निर्भर छन् । कृषक परिवारमध्ये २२ प्रतिशले कृषि ऋण लिइरहेको र ४२ प्रतिशतलाई यस्तो ऋण आवश्यक रहेको तथ्यांकले देखाएको छ ।

कृषिगणनाको सार
– ७१ प्रतिशत जनसंख्या कृषिमा निर्भर
– कृषिमा निर्भरमध्ये ८३ प्रतिशतको मुख्य आयस्रोत कृषि
– ६० प्रतिशत कृषकलाई आफ्नै उत्पादनले पुग्दैन
– कृषक महिलाको हिस्सा ८ बाट बढेर १९ प्रतिशत पुग्यो
– २२ प्रतिशत कृषक परिवारले मात्र कृषि ऋण लिएर व्यवसाय गर्छन्

Source : http://www.karobardaily.com/nepali/news/2013/12/1387939780-700910.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s