नीलकण्ठ उप्रेती : निर्वाचन गराउने मुख्य मान्छे

 

केही महिनाअघि प्रचण्डले भनेका थिए, ‘निर्वाचन हुने कि नहुने, गर्ने कि नगर्ने भन्ने कुरा पार्टीहरूकै हातमा छ । निर्वाचन गराउने मान्छे (नीलकण्ठ उप्रेती) कताका हुन्, के हुन् म जान्दिनँ, तर योभन्दा योग्य र उपयुक्त मान्छे हामीसँग अहिले छैन पनि ।’ निर्वाचनसम्बन्धी विभिन्न काम गरेर खारिएका नीलकण्ठ अहिले बहादुर भवनमा बसेर (निर्वाचन आयोगको नेतृत्व गरेर) तन–मनले आफ्ना लक्ष पूरा गर्न लागेका छन् ।
अग्ला, गोरा र हेर्दा भद्र लाग्ने र कामले त्यस्तै सावित हुने प्रमुख निर्वाचन आयुक्त उप्रेतीले योग्यताका धेरै सितारा आफ्ना क्यारियरमा जडिसकेका छन् । पर्वत जिल्लामा जन्मी–हुर्की निर्वाचन आयोगजस्तो लोकतन्त्रलाई सुचारु गर्ने संवैधानिक अंगको नेतृत्वमा यी ६३ वर्षे विराजमान हुनुले निर्वाचन नहोला भनेर शंका गर्ने ठाउँ छैन, तर पार्टीहरूले नै निर्वाचन चाहेनन् भने यिनको केही सीप नचल्ला । यिनी यही भवनमा बसेर वा फिल्ड घुमेर निर्वाचनको युद्धस्तरीय तयारी गरिरहेका छन् । निर्वाचन आयोगका कर्मचारी नै भन्छन्, ‘उहाँलाई अहिले निष्पक्ष निर्वाचन गराउनुमात्र परेको छैन, भविष्यमा पनि निष्पक्ष, स्वतन्त्र र भयरहीत तवरले निर्वाचन सम्पन्न गर्ने कानुनी आधार र संस्थागत क्षमता जुटाउनु परेको छ ।’    
२०४६ सालको परिवर्तनपछि निर्वाचन आयोगमा वरिष्ठ प्रविधि तथा निर्वाचन विशेषज्ञका रुपमा यिनी नियुक्त भए । निर्वाचन प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक पर्ने ऐन, नियम, निर्देशिका तर्जुमा गर्न सहयोग गर्नु, नेपालमै पहिलोपटक सूचना प्रविधिको उपयोग गरी नेपाली भाषामा मतदाता नामावली तयार गराउनु, निर्वाचन परिणामलाई विश्वसनीय तवरले प्रशोधन र प्रकाशन गर्न विधि र प्रविधिको व्यवस्थापन गर्नु, निर्वाचनका लागि आवश्यक उपकरण, साधनस्रोतको व्यवस्थापन, दातृ निकायसँग समन्वय र सहकार्य गर्नु यिनका उल्लेखनीय काम थिए । यिनीसमेतको नेतृत्वमा संविधानसभा २०६४ निर्वाचनको सम्पूर्ण कार्य सम्पन्न गरिएको र यसअघिका संसदीय निर्वाचन र दुईपटक भएका स्थानीय निर्वाचनको योजना तर्जुमा, कार्यक्रम विकास, मतदाता नामावली तयार र अद्यावधिक गर्ने कार्यका साथै निर्वाचन शिक्षा र परिणाम प्रशोधन एवं प्रकाशन गर्ने कार्य सम्पन्न गर्न यिनको विशेष योगदान परेको थियो ।
यिनले सन् २००४ देखि २००५ सम्म द्वन्द्वग्रस्त अफगानिस्तानमा संयुक्त राष्ट्र संघका तर्फबाट वरिष्ठ निर्वाचन समन्वयकर्ताका रुपमा पनि काम गर्ने अवसर पाए । अत्यन्त प्रतिकूल अवस्थामा त्यहाँ राष्ट्रपतीय निर्वाचन (२००४), संसदीय निर्वाचन (२००५), प्रान्तीय निर्वाचन (२००५) सम्पन्न गराउने कार्यमा खटिई आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थिए । त्यो जिम्मेवारीमा निर्वाचनमा खटिने कर्मचारीको छनौट, तालिम र मतदाता शिक्षा, निर्वाचनसामग्रीको व्यवस्थापन, मतदाता नामावली संकलन, उम्मेदवारी मनोनयन, मतदान व्यवस्थापन र मतगणना, निर्वाचनमा उत्पन्न द्वन्द्व निरुपण, अन्तर्राष्ट्रिय पर्यवेक्षण समन्वय र सञ्चार माध्यमको परिचालन पर्दथे । जिम्मेवारी पूरा गर्न ३१ विदेशी निर्वाचन विशेषज्ञ र करिब २० हजार अफगानी कर्मचारीले सहयोग पुर्‍याएको, निर्वाचनको परिणामलाई अन्तर्राष्ट्रिय समुदाय र सबै उम्मेदवारले सहर्ष स्वीकार गरेकाले ती निर्वाचन निष्पक्ष र विश्वसनीय प्रमाणित भएका थिए ।
यसअघि २०६३ सालमा निर्वाचन आयुक्त भई तीनवर्षको कार्यकाल पूरा गर्दा पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचन गर्नमा यिनले खेलेको भूमिकालाई कम आँक्नु हुँदैन । संविधानसभा निर्वाचनका लागि आवश्यक ६ वटा ऐन, ५ वटा नियमावली र २४ वटा निर्देशिकाको मस्यौदा तयार गर्ने, मतदाता शिक्षा नीति, निर्वाचनमा सञ्चार माध्यमको प्रयोगसम्बन्धी नीति, निर्वाचन पर्यवेक्षण नीति र नियम तर्जुमा, निर्वाचनका लागि मतदान गर्न सम्पूर्ण मतदाता परिवारलाई निमन्त्रणा गर्ने प्रणाली विकास र कार्यान्वयन, दातृ निकायसँग समन्वय गरी करिब ३ करोड डलर (रु.२ अर्ब) बराबर अन्तर्राष्ट्रिय सहयोग परिचालन, नेपालस्थित राष्ट्रसंघीय निर्वाचन नियोगसँग निर्वाचन आयोगका तर्फबाट सम्पर्क व्यक्तिका रुपमा भूमिका निर्वाह गरेर यिनले सबैको प्रशंसा बटुले ।
२०६६ देखि २०६९ सालसम्म कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भई कार्यरत रहँदा मतदाताको शुद्ध नामावली र परिचय पत्रका लागि १६ वर्ष उमेर पुगेका करिब एक करोड नेपाली नागरिकको औंलाको छाप र फोटोसहितको विवरण संकलन, निर्वाचन आयोगको रणनीतिक योजना, २००९ तयार गरेर, विश्वसनीय र निष्पक्ष निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, सरकारी निकायको सहकार्यमा विद्युतीय मतदान उपकरण प्रयोग गराई संविधानसभा सदस्यको उपनिर्वाचन सम्पन्न गरेको, फोटोसहितको मतदाता नामावली संकलनका लागि कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अत्यावश्यक उपकरण परिचालन गरेको, अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गर्न नेतृत्व गरेको, निर्वाचनसम्बन्धी कानुनमा सुधार प्रारम्भ गरेकोजस्ता कामहरू यिनैका पालामा भए । संविधानसभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका ऐतिहासिक जिम्मेवारीमा पनि यिनले आफूलाई खरो उतारेका छन् निर्वाचन विशेषज्ञ पदाधिकारीको रुपमा ।
बेलायतको स्ट्याफोर्डसायर विश्वविद्यालयबाट २०४६ सालमा कम्प्युटर साइन्समा एमएस्सी, त्रिभुवन विश्वविद्यालयबाट २०३७ सालमा अर्थशास्त्रमा एमए, त्रिविबाट नै जनप्रशासनमा स्नातक र इन्डियन इन्स्टिच्युट अफ मेनेजमेन्ट अहमदाबादबाट कम्प्युटरमा आधारित व्यवस्थापन सूचना पद्धतिको शिक्षा हासिल गरेका प्रमुख निर्वाचन आयुक्त उप्रेतीसँग अनेकौँ तालिमका दक्षता पनि थपिएका छन् । तिनमा— निर्वाचन व्यवस्थापन, नेतृत्वकला, आयोजना व्यवस्थापन, वार्ता एवं निर्वाचन द्वन्द्व व्यवस्थापन, द्वन्द्वपछिका देशमा निर्वाचन सुरक्षा नीति उच्चस्तरीय तालिम मुख्य हुन् । सार्क मुलुकलगायत विश्वका सवै महादेशका २२ भन्दा बढी मुलुकमा निर्वाचन प्रणाली, व्यवस्थापन अध्ययन, पर्यवेक्षण, कार्यपत्र प्रस्तुस्त एवं अध्ययन भ्रमण यिनले भ्याइसकेका छन् ।
पेशागत संघसंस्थामा पनि यिनको संलग्नता र सक्रियता त्यति नै छ । नेपाल प्रेस इन्स्टिच्युटको सदस्य होस् वा आफ्ना बन्धुबान्धबको संस्था ‘उप्रेती समाज’ को अध्यक्ष, सूचना प्रविधि पेशाकर्मी समाजको सदस्यमा होस् वा काठमाडौं कलेज अफ मेनेजमेन्टको संस्थापक सदस्य, ब्रिटिस एलुम्नाइको सदस्य होस् वा नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य वा नेपाल व्यवस्थापन संघको पूर्व उपाध्यक्ष तथा आजीवन सदस्य, यस्ता धेरै संघसंस्थामा रहेर यिनले काम अनुभव बटुलेका छन् ।
कुनै पनि काम गर्दा त्यसको दूरगामी प्रभाव रहनुपर्छ भन्ने यिनको मान्यता काममै झल्किन थाल्छ । भद्रता र गम्भीरतापूर्वक आफ्ना गहन अनुभव र भिजन् प्रस्तुत गर्नसक्ने क्षमताका धनी हुन् यिनी । संविधानसभाले दिने संविधान जति दूरगामी महत्वको हुन्छ, संविधानसभाको निर्वाचन गराउने जिम्मेवारी पनि आगामी पुस्ताका लागि पनि त्यो त्यति नै चासोको विषय हुनेछ भन्ने सचेतनाले यिनलाई त्यही दिशामा हिँडाइरहेको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा कोही पनि बहिस्कारको पक्षमा देखिएको थिएन, यसपटक बहिस्कारवादीहरू पनि लरतरो रुपमा होइन बलियो शक्तिका रुपमा आउलान् । त्यस्तो बहिस्कार, निर्वाचन आयोग वा प्रमुख निर्वाचन आयुक्तविरूद्धको अविश्वासले उत्पन्न भएको नभएर राजनीतिक दलहरूकै कारणको परिणाम हो । यसमा उनलाई केही भन्नुछैन । संविधानसभामा उम्मेदवार हुनेहरू निर्वाचन जित्ने रणनीतिमा छन्, तर नीलकण्ठ उप्रेती प्रमुख निर्वाचन आयुक्तको कुर्सीमा बसेर राष्ट्रलाई जिताउने, नेपाली जनताको मन आफूले जित्ने र इतिहास जित्ने चुनौती र अवसरका रुपमा यो जिम्मेवारीलाई लिइरहेका देखिन्छन् ।

Source : http://www.sadawahar.com/2013/07/blog-post_9280.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s