‘आश्वासनका थोक व्यापारी’ प्रचण्डका कुरा

मेरा धेरैवटा नाम छन् । मलाई बा–आमाले दिएको नाम छविराम हो । सांस्कृतिक रूपबाट यो नाम मलाई कता–कता नमिलेजस्तो लाग्यो र नाम फेर्ने कुरा भयो, स्कुलमा ‘पुष्पकमल’ लेखियो । पछि पार्टी (चौथो महाधिवेशन, एकता केन्द्र आदि) मा सक्रिय हुन थालेपछि ‘निर्माण’ भनियो । ०५१ सालमा पार्टीको नयाँ नामकरण नेकपा–माओवादी भएपछि जनयुद्ध हाँक्ने बेला मेरो पार्टी नाम ‘प्रचण्ड’ भएको हो । मेरो जन्म कास्कीको ढिकुरपोखरीमा भयो तर ०१८ सालमा हामी त्यहाँबाट बसाइँ आएर चितवनमा बस्न थाल्यौँ । त्यो बेला म ७/८ वर्षको थिएँ ।
मेरो सानैमा बिहा भयो । मेरी पत्नी सीता मभन्दा ६ महिनाले जेठी हुनुहुन्छ । उहाँ मलाई पार्टी र राजनीतिक मामिलामा सल्लाह, सुझाब र भरथेग गर्नुहुन्छ । मेरा पाँच छोरी छन् र एउटा छोरो छ । छोरोमा सांस्कृतिक विचलन आएपछि मैले भनिदिएँ, ‘तँ अब हेडक्वार्टरमा बस्नलायक भइनस् । कतै गएर बस् र कुनै कर्नरबाट पार्टीलाई सहयोग पुर्‍या । मेरो एउटै भाइ गंगाराम सपरिवार बेलायतमा बस्दै आएको छ । मेरा बा मुक्तिराम खेतीकिसानी गर्ने मान्छे हुनुहुन्थ्यो । म पार्टीमा लागेपछि पनि उहाँ घरमा नित्य पाञ्चायन पूजा गर्नुहुन्थ्यो । उहाँले नसकेका बेला मलाई पूजा गर्न लगाउनुहुन्थ्यो । म मन नलागे पनि बाको भनाइ मानेर पूजा गरिदिन्थेँ ।
कम्युनिस्ट र अन्य पार्टीबारे : सुरु–सुरुमा राजनीतिमा लाग्दा मैले कांग्रेस वा अन्य कम्युनिस्ट पार्टीबारे खासै विमति राख्ने गरेको थिइनँ । मलाई त अहिले लाग्छ, नहरभन्दा तल घर भएको भए म पनि कांग्रेस पार्टीमा लाग्थेँ हँुला । सुरुमा कम्युनिस्ट बन्दा पार्टीमा सबै राम्रा मात्रै छन् जस्तो लाग्थ्यो । तर, पार्टीमा काम गर्दै जाँदा थाहा पाइयो, त्यहाँभित्र पनि भयंकर र अवसरवादी, फटाहा र सबै प्रवृत्तिका हुँदा रहेछन् । त्यहाँ पनि भीषण संघर्ष हुँदोरहेछ । कहिलेकाहीँ त बुर्जुवामा हुनेभन्दा पनि रद्दी खालको संघर्ष कम्युनिस्ट पार्टीभित्र हुँदोरहेछ ।
आर्थिक अराजकता, फजुल खर्च, भ्रष्टाचार र सुविधाभोगी चिन्तन (हाम्रो पार्टीमा) झांगिँदै गइरहेको छ । एउटा हिस्साले पार्टीको शक्ति र प्रतिष्ठालाई निजी हितमा दुरुपयोग गर्ने, अर्को हिस्सा दैनिक समस्या टार्न नसकेर पलायन हुने अवस्था सिर्जना भएको छ । पार्टीभित्रै दुई भिन्न वर्गको अवस्था पैदा हुँदै छ । सर्वहारा मूल्य–मान्यता निकै स्खलित हुन पुगेको छ ।
तैपनि अबको निर्वाचनमा एमाओवादीको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ । एमाले नामको पार्टीको सूर्य त्यही चुनावले अस्ताचलतिर पुर्‍याइदिनेछ । एउटै मुलुकमा दुइटा कम्युनिस्ट पार्टी हुँदैनन् र हुनुहुँदैन भन्ने कम्युनिस्टको मूल्य–मान्यताले पनि हामीलाई सही कम्युनिस्ट बनाएको छ । जनताले पनि हामीलाई नै सही कम्युनिस्ट भनेर चिनेका छन् ।
मलाई गाली गर्नेहरू पार्टीबाहिर मनग्गे छन् तर ईष्र्या गर्नेहरू पार्टीभित्रै छन् । गाली र ईष्र्यालाई मैले सहज रूपमा लिने गरेको छु तर जब आफ्नै भन्नेहरूले पनि घेराबन्दी गर्न थाल्ने स्थिति आउँछ, आफ्नै समर्थक भन्नेहरूले पनि कुरा नबुझ्ने स्थिति आउँछ, त्योचाहिँ अलि पीडादायी हुन्छ ।……जब दुस्मनका स्वरहरूसँग आफ्नै भन्नेहरूका पनि कहीँ–कहीँ स्वर मिलेजस्तो देखिन्छ, त्यो सबैका निम्ति पीडादायी हुन्छ ।
हाम्रो पार्टीमा बाबुरामजीजस्ता मानिस पनि छन् । बाबुरामजीजस्ता मान्छे किन लागेका हुन्, राम्रो बुझ्नु आवश्यक छ । बाबुरामजीलाई पहिलेदेखि नै भारतले खेलाइरहेको छ । अब त कस्तो भयो भन्देखिन्, उहाँ पार्टीको जिम्मेवार मानिसभन्दा पनि भारतको मानिस भएर पो बढी चर्चित हुनुभयो ।
जनताले नेतालाई गाली मात्र गरेको सुन्दा मलाई रिस त उठ्दैन तर अचम्म लाग्छ । नेता भनेको कुनै अलौकिक प्राणी होइन, जनतामध्येकै एउटा मान्छे हो । जनता जस्ता छन् नेता त्यस्तै हुने हो, नेता जनताको ऐना नै हो । जनता ठीक भए नेता बेठीक भन्ने हुँदैन । नेताका गल्ती औँल्याउने जनताले आफूतिरका कमी–कमजोरी र गल्ती पनि हेर्न सक्नुपर्छ । नेतालाई हेर्न जनताले ऐना हेरे पुग्छ ।
संविधान र नागरिक सर्वोच्चता : सबभन्दा ठूलो कुरा बन्दुक र पैसा हो । नागरिक सर्वोच्चता भनेको प्रत्येक नागरिकका हातमा बन्दुक हुनु हो । संविधान केही होइन, एकथान किताब लेख्न यत्रो चिन्ता लिइरहनुपर्ने म देख्दिनँ । निर्वाचन नभएसम्म प्रधानमन्त्री बन्दिनँ ।…संविधानसभा पुन:स्थापनामा सहमत भए सुशील (कोइराला) जी नै प्रधानमन्त्री बन्नुहुन्छ । निर्वाचन नै गर्ने हो भने अब राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्छ । नयाँ निर्वाचनको घोषणासँगै राष्ट्रपतिको कार्यकाल पनि सकिएको छ ।
अब एमाओवादीसँग सेना छैन र हतियार पनि छैन भनेर हेप्न खोजेको हो भने सबैले सुनिराखुन्, एमाओवादीले पनि बाह्रबुँदे समझदारीपत्रसहित त्यसपछिका सम्पूर्ण शान्ति–सम्झौता च्यातिदिनेछ । हामीले मात्र सर्तले बाँधेर बस्नुपर्ने र चौतर्फी प्रहार खेप्नुपर्ने हो भने यी कुनै सहमति हामी मानेर बस्नेवाला छैनौँ ।
अध्यक्ष मोहन वैद्यबारे : कमरेड किरणले विदेशी शत्रुलाई खुसी पार्न एमाओवादी पार्टी फुटाउने अपराध गर्नुभएको छ । यो अपराधले उहाँलाई जीवनभरि लखेटिरहने छ ।
आजै बिहान मोहन वैद्यजी मलाई भेट्न आउनु भएको थियो । सन्चो–बिसन्चोको कुरापछि पार्टी कसरी चलाउनुहँुदै छ भन्ने सवाल आयो । मैले पार्टी चलाउन निकै गाह्रो हुन्छ कसरी गर्दै हुनुहुन्छ ? खर्चपर्चको खाँचो परे मलाई पनि सम्झिनुहोला, भन्नलाई हिच्किचाउनुहुँदैन, पार्टी चलाउने हो, केही नसम्झी भन्नुहोस्, सकेको गर्छु भनेको छु ।
वैद्यजीले चाहेजस्तो जनवादी क्रान्ति तत्काल सम्भव छैन ।…..मुलुकका किसान र मजदुर अहिले युरोप र अरबलगायत देशमा काम गरिरहेका छन् । तिनीहरूको मानसिकता आधुनिक बनिरहेको छ । त्यसैले पुरानो सोचले क्रान्ति सम्भव हुन सक्दैन । …पुरानै ढंगले पार्टी चलाउँदा एमालेकरण हुने डर पनि छ । त्यसैले अब नयाँ ढंगबाट पार्टी चलाउने प्रयासमा छु ।
मधेस र मधेसीबारे : मधेसी पार्टी र नेताहरूको आफ्नै कुनै लक्ष्य र प्रतिबद्धता छैन । उनीहरू भित्रबाट अह्राएको गर्ने र दिएको खाने हुन् । अन्तरिम संविधान आएपछि हामी (एमाओवादी) हरूले मधेसमा संगठन विस्तार गर्न के लागेका थियौँ, भारतले मधेस आन्दोलन चर्काइदियो र उपेन्द्र यादवलाई ढाप दियो । मधेसमा हामीलाई छिर्न नदिने भारतको षड्यन्त्र हो । मधेसमा अब कांग्रेस पनि होइन, एमाले त झन् होइन, मधेसी नेताहरूले नै नेतृत्व लिनुपर्छ भन्ने भारतको प्रयास हो । तर के मधेस महन्थ ठाकुरको मात्र ठेक्का हो र ! के मधेसलाई तपाईंहरूले आफ्नै सम्पत्ति ठान्न मिल्छ ? त्यहाँ माओवादी, कांग्रेस र एमाले छैनन् ? मधेसीमा आफैँ संगठन गर्ने र पार्टी चलाउने राजनीतिक संस्कार म देख्दिनँ । एउटा मधेसी एक ठाउँमा स्थिर भएर बस्नै सक्दैन । मधेसमा ५० प्रतिशत जनसंख्या बस्छ भनेर मधेसी नेताहरू आधा हिस्सा लिन खोज्छन् तर त्यो ५० प्रतिशतमा ३५ प्रतिशतभन्दा माथि पहाडे नेपाली पनि बस्छन् भन्ने उनीहरू बिर्सन्छन् ।
राजा र परम्परागत शक्ति : मैले त कम्बोडियाको जस्तो राजतन्त्र रहोस्, त्यसैले गणतन्त्रै होस् त भनेको थिइनँ । राजतन्त्र रहोस्, राजाको गाडीमा तेल हालिदिउँला, भाँडामा चामल हालिदिउँला तर नेपाली जनताको अधिकारमा कुठाराघात गर्नचाहिँ पाइनेछैन भनेको हो । तर, भारत र गिरिजाबाबु एक्स्टि्रममै गइदिए । अब गणतन्त्र भइसक्यो, बगेको खोला फर्काउन खोज्नु हुँदैन । तर, राजाको वरिपरि यो देशलाई साह्रै माया गर्ने मान्छेहरू छन्, उनीहरूको यो देशभक्तिलाई हामीले कदर गर्नुपर्छ ।
नेपाली सेना र लालसेनाबारे : सशस्त्र द्वन्द्वकालमा हाम्रो सैन्य अपरेसनलाई प्रभावकारी बनाउन गिरिजाबाबुले सुझाब दिनुहुन्थ्यो, निरंकुश राजतन्त्र हटाउनका लागि म उहाँकै सुझावअनुसार आक्रमणका लागि हाम्रो फोर्स परिचालन गर्थें । जनमुक्ति सेनाको गठन र परिचालनमा मैले जुन सफलता पाएको थिएँ, त्यो नै मेरो जीवनको गौरव र सही पहिचान हो । जनमुक्ति सेना शिविरमा नभएको भए हामीले बालुवाटार, सिंहदरबार अथवा देशभित्र देशबाहिर जुन राजनीतिक हस्तक्षेपको कुरा गरिरहेका छौँ, त्यो तपाईंहरूकै कारणले सफल भएका हौँ, शिविरमा हाम्रा सेना नहुने हो भने ‘कौन पुछे खेसरीका दाल’ भनेजस्तो हुन्थ्यो, कसैले टेर्नेवाला छैन । सेना छ भनेपछि सबैको सातो जान्छ । अब फेरि तपाईंहरूको भूमिका आउनै लाग्या छ, हाम्रा विद्यालय तथा विश्वविद्यालयलाई फेरि एकपटक ब्यारेकमा परिणत गर्न सकियोस् ताकि सत्तालाई अन्तिम धक्का दिन सकियोस् ।
राष्ट्रपतिले आदेश दिँदैमा अब नेपाली सेनाले माओवादीविरुद्ध कुनै कदम चाल्दैन ।…लडाकुका हतियार र नेपाली सेनालाई दिए पनि त्यहाँका सबै हतियार माओवादीको पकडमा आइसकेको छ । माओवादीले एजेन्डा सही लिएकाले सेनाले माओवादीलाई साथ दिएको हो ।
भारतबारे : हाम्रो गौरवशाली पार्टीको महान् जनयुद्धका समयमा भारतलाई हेर्ने दृष्टिकोणमा जे–जे लेखिएको वा भनिएको भए पनि हेटौंडा महाधिवेशनमा हामीले यु–टर्न लिएकै हौँ । त्यो महाधिवेशनमा मेरो प्रतिवेदनमा भनिएको छ, ‘…राष्ट्रिय सुरक्षाको कुरा गर्दा साम्राज्यवाद (अमेरिका) र विस्तारवाद (भारत)सँग एकता र संघर्षको नीति अपनाउँदै आजको शताब्दी जहाँ सुरक्षाको सन्दर्भमा हातहतियार, गोलाबारुदभन्दा पनि इलेक्ट्रोनिक सुरक्षाको सवाल अहं भएर आएको छ ।…छिमेकी देशहरूसँग अनाक्रमण सन्धि सम्पन्न गरी सुरक्षाको प्रत्याभूति तथा उनीहरूका आन्तरिक मामिलामा तटस्थ रहने नीति लिइनेछ ।’
यसपालिको भारत र चीनको भ्रमणले मलाई हौसला प्रदान गरेको छ । अब नयाँदिल्लीको दृष्टिमा बाबुरामजी होइन, मै हँु भन्ने भएको छ । भारतीयले बेइमानी गरेनन् भने अबका दिनमा प्रधानमन्त्री मै हुने सम्भावना यो भ्रमणले बढाएको छ । 
प्रधानमन्त्री हुँदा : म प्रधानमन्त्री हुँदा घोषणा गरेको थिएँ, अबको एक सातापछि दाइजो प्रथालाई पूर्णत: निषेध गरिनेछ । दाइजो दिने र लिने दुवै कानुनत: दण्डका भागिदार हुनेछन् । छोरासरह छोरीलाई अंश दिने कानुन कडाइका साथ तुरुन्तै कार्यान्वयन गरिनेछ । विवाह वा अरू समारोहलाई किफायती बनाउन यस्ता समारोहमा निश्चित संख्याभन्दा बढी मानिस सहभागी हुन नपाउने कानुन कडाइका साथ पालना गरिनेछ । घरेलु हिंसालाई निषेध गर्दै जाने उद्देश्यले हरेक गाविसमा एक महिनाभित्र घरेलु हिंसा उजुरी केन्द्र स्थापना गरिनेछन् । छुवाछुतका अपराधलाई निर्मूल पार्न कानुनी व्यवस्था मिलाई हरेक अदालतमा छुवाछुत निवारण सेलको व्यवस्था गरिनेछ । हरेक गाविसमा दलितको अनिवार्य सहभागितामा अधिकारसम्पन्न छुवाछुत अपराध निगरानी केन्द्र गठन गरिनेछ ।
यस्ता घोषणा धेरै गरियो तर कुनै पनि पूरा गर्न सकेजस्तो भएन । लोडसेडिङबाट जनतालाई मुक्त गर्न ‘वार फुटिङ्मा काम गरौँ भनेर बाबुरामजी (तत्कालीन अर्थमन्त्री) सँग सल्लाह गरियो, ३५ बुँदे कार्ययोजना घोषणा गरियो तर स्थिति जहाँको तहीँ रह्यो ।
झापड खाएकोबारे : मंसिर १ गते (०६९) चियापान गरियो । राम्रैसँग गइराख्या’थ्यो । एक हुल युवा मैतिर आएको देखिरहेँ । पहेँलो ज्याकेट लगाएको ठिटो आयो, हात मिलाउन खोज्यो, हात मिलाएपछि त ड्याम्मै हानिगो नि ! मेरो चस्मा झरेर फुट्यो । यो काम देशी/विदेशी प्रतिक्रियावादी तत्त्वको षड्यन्त्र हो, त्यही केटाको आवेग मात्र हो भनेर म मान्दिनँ । यसले भित्र–भित्रै यहाँ ठूलै चलखेल भइराख्या छ भन्ने संकेत गरेको छ । हाम्रो पार्टीभित्र र बाहिर दुवैतिरबाट खतरा रहेको मलाई थाहा छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समय र सन्दर्भमा सार्वजनिक भाषणमा बोलेका कुरा समेटेर तयार पारिएको— सदावहार डेस्क ।

Source : http://www.sadawahar.com/2013/05/blog-post_5.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s