सामाजिक कार्यमा तन्नेरी

घनश्याम खड्का

काठमाडौ, मंसिर २७ –
महात्मा गान्धी बरोबर भन्ने गर्थे, आफूलाई पाउने सर्वाेत्तम उपाय भनेको अरूको सेवामा स्वयंलाई हराउनु हो । निरु कार्कीलाई कताकति यसको अनुभव हुन थालेको छ । ‘बच्चाहरू मुस्कुराउँदा, कुनै मद्दत गर्दा मलाई खुब सन्तुष्टि हुन्छ,’ भर्खर १९ औं ऋतुहरूको अनुभव सँगाल्दै गरेकी निरुले आँखा चिम्लिन्, ‘ढाँटेको होइन, मलाई अरूको सेवा गर्दा जस्तो आनन्द कुनै कुरामा आउँदैन ।’
अहिले उनी टिनएजको आखिरी वर्षमा छिन् । धेरैका लागि यो उमेर खाने, खेल्ने र डेटिङमा हराउने उमेर हो । निरुचाहिँ फरक निक्लिन् । अचेल उनी पढाइपछिको समय (दिउँसो उनी बालकुमारीको केएन्डके कलेजमा सोसल वर्क पढ्छिन्) कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरूलाई ट्युसन पढाउँछिन् सित्तैमा । कलेजमा निरुहरूले एउटा क्लब खोलेका छन् जसको नाम छ ‘वी क्यान चेन्ज’ ।
निरु त्यसकी प्रेसिडेन्ट हुन् । उनको सक्रियतामा भर्खेरै क्लबले एउटा काम गर्‍यो । ‘हामीले स्कुलहरूमा गएर केही न्यानो लुगाहरू बटुल्यौं अनि त्यो बा-आमा जेलमा परेका बच्चाहरूलाई लगेर दियौं,’ निरु भन्छिन्, ‘धेरैले हाम्रो कामलाई मन फुकाएर सघाए ।’ साँखुस्थित पि्रजनर एसिस्टेन्ट नेपाल भन्ने संस्थामा आश्रय लिइरहेका ७० बच्चाहरूको आङमा अहिले जुन न्यानो आइरहेको छ, त्यसमा निरु र उनको क्लबको मायालु हात छ ।
गएको एक वर्ष पूरै निरुले लागूऔषधविरुद्ध स्कुलहरूमा जागरणमूलक अभियानहरू गरिन् । एकातिर उनको पढाइको इन्टर्न पूरा भइरहेको थियो, अर्कातिर निरु समाज सेवाको आनन्द पनि लुटिरहेकी थिइन् । उनको कामबाट खुसी भएर नार्काेनन् नेपालले निरुलाई ‘नार्काेनन् हिरो’ उपाधि नै दियो । उपराष्ट्रपतिका हातबाट त्यो थाप्दा निरुको खुसी असिम थियो । विराटनगरकी निहारिका दाहालको भेट कोटेश्वरकी निरुसँग सायद कहिल्यै हुन्नथ्यो ।
अलग परिवेश, परिवार र पर्यावरणमा जन्मे, हुर्केका यी दुईको रुचिचाहिँ एकै भइदिनाले यत्रो मान्छेको सागरमा पनि उनीहरू भेटिए । निरुलाई जस्तै निहारिकालाई पनि अरूको जीवनमा खुसी ल्याउन पाए हुन्थ्यो भन्ने लाग्छ । नत्र उनी सोसल वर्क नै किन पढ्थिन् र ? विराटनगरदेखि काठमाडौंसम्म नै किन आउँथिन् र ? भर्ना पाउन एक वर्ष कुरेरै किन बिताउँथिन् र ? अचेल निहारिका नेपाली चिल्ड्रेन एजुकेसन प्रोग्राम(एनसेप) को एउटा अभियानमा संलग्न छिन् ।
पैसातिरेर पढ्न नसक्ने बालबालिकाहरूलाई एनसेपले सित्तैमा ट्युसन पढाउन भोलुन्टियरको व्यवस्था गर्छ । निरु त्यहीँ पढाउँछिन् । निहारिका त्यसको सुपरभाइजिङ गर्छिन् । निहारिका अलि स्पि्रचुअल पनि छिन् । रविशंकरको आर्ट अफ लिभिङ अभियानमा उनी सहभागी पनि भइन् । ध्यान र योगका केही तरिका उनले त्यहाँ सिकिन् । सेवामा जुट्ने अभिप्रेरणा पनि बटुलिन् । अहिले उनमा झन् बढी इच्चा सामाजिक कार्यका लागि पलाएको छ ।
विराटनगरबाट भर्खर स्कुल सकेर आएकी लज्जालु निहारिका अहिलेकी वाचाल निहारिकामा ठूलै अन्तर आइसकेको छ । ‘अहिले म बढी कन्पिmडेन्ट, एक्पिरियन्स्ड र बोल्ड पनि छु,’ उनी मुस्कुराइन्, ‘यो सब सोसल वर्क गर्दा बिताएको समयकै कारण हो ।’ निहारिकाले सुरुमा युवा भन्ने संस्थामा इन्टर्न गरेर एचआईभी संक्रमितलाई उद्धार गर्दै २ सय ५० घन्टा बिताइन् । त्यसपछि उनले पर्यटकका लागि काम गर्ने ‘यात्रा’ भन्ने संस्थामा पनि केही अनुभव बटुलिन् ।
अहिले चाहिँ उनको यात्रा एनसेपमा आएर अडिएको छ । आउने दिनहरू उनी अब एक सामाजिक अभियन्ता बन्नमै खर्चिने छिन् । अहिले पनि धेरैका लागि पढाइ भनेको कि साइन्स हो कि म्यानेजमेन्ट । कि डाक्टर, इन्जिनियर बन्ने कि म्यानेजर भन्ने धेरैको योजना हुन्छ । निरु र निहारिकाजस्ता थोरैले मात्रै समाज सेवालाई मूलधारको विषय मान्छन् । र, त्यसैलाई आफ्नो करियर बनाउने आँट गर्छन् ।
युवा पुस्तामाझ अचेल विस्तारै सही सोसल सर्भिसबाट पनि केही गर्न सकिन्छ भन्नेहरू निस्कन थालेका छन् । सामाजिक कार्य गरेरै पनि अघि बढ्न सकिन्छ भन्ने विचार उनीहरूमा पलाउन थालेको छ । जस्तो कि कालिकोटका विष्णु रोकायामा पलाइरहेको छ । सोसलोजीमा स्नातक अन्तिम वर्षका विद्यार्थी रोकायाको एक विशिष्ट सपना छ, कणर्ालीको पछौटेपन हटाउने ।
‘म कुनै जागिर खाएर यो काम गर्न सक्दिनँ,’ उनी भन्छन्, ‘एउटा सामाजिक अभियन्ता भएरचाहिँ मज्जाले सक्छु भन्ने लागिरहेको छ ।’ विष्णु अहिले बाँचिरहेको जीवन एउटा कल्पना ठान्छन् । कालिकोटको सिउनामा उनी जन्मे, हुर्के । उनको गाउँमा अहिले पनि बाटो पुगेको छैन । चार दिनसम्म हिँडेर दैलेखको टुनीबगर पुगी नुन बोकेको सम्झना उनलाई अहिले पनि आउँछ ।
नुन लिन जाँदा उनले पहिलोपटक मोटर देखेका थिए । तिनताक उनी ९ कक्षामा पढ्थे । एसएलसी पास भएपछि उनी घरबाट भागेर नेपालगन्ज जान भनी हिँडे । बाटामा गाडी भेटियो । उनी चढे । ‘त्यो मेरो पहिलो गाडी चढाइ थियो,’ विष्णु भन्छन्, ‘म त खुसीले पागलजस्तै भएँ त्यस दिन ।’ अचेल उनी काठमाडौंको रिलायन्स इन्टरनेसनल एकेडेमीमा पढ्दै छन् । भ्रष्टाचारविरोधी अभियानहरूमा उनी निकै हिँड्छन् ।
‘भ्रष्टाचारीलाई किरा परोस्’ लेखिएको टिसर्ट उनी सार्वजनिक ठाउँहरूमा जाँदा सक्दो लगाएरै जान्छन् । कणर्ालीमा चाँडै बिहा गर्ने सामाजिक रोग छ । यी २२ वर्षेका सबै दौंतरीको गाउँमा बिहा भइसक्यो । प्रत्येकका दुई तीन सन्तान पनि भइसके । आफू सरहका साथीहरू जवानीको अनुभव नै गर्न नपाई बूढाहरूजस्तो घर व्यवहारमा डुबेको देख्दा विष्णुको मन कटक्क खान्छ ।
गाउँमा जतिसक्दो चाँडो बिहा गर्ने चलन रोक्ने अभियान चलाउन उनी आतुर छन् । ‘पढाइ सक्ने बित्तिकै म गाउँ जान्छु र सुधारका थुप्रै कामहरू गर्छु,’ उनी भन्छन्, ‘कणर्ालीलाई मेरो खुब जरुरत छ ।’ पढाइका अतिरिक्त विष्णु यतिखेर ‘युवा अभियान’ ले चलाएको स्मार्ट क्लबमा सक्रियतापूर्वक सहभागी भइरहेका छन् । क्लबमा युवाहरू हरेक शनिबार बिहान भेला हुन्छन् । कहिले अंग्रेजी र कहिले नेपाली भाषामा कुनै विषयमाथि बहस गर्छन् । व्यक्तित्वकला देखाउँछन् ।
सुरुमा त्यहाँ पुग्दा जिल्ल परेका विष्णु अहिले त्यसै क्लबको सचिव भइसके र नेताले जस्तै परर्र बोल्न पनि सक्छन् । स्मार्ट क्लबले धेरै लज्जालु केटाहरूलाई मुखर बनाइदिएको छ । यसको अर्काे उदाहरण हुन् सौरभ भट्ट । पहिले त्यहाँ पुग्दा सौरभ पनि ट्वाल्ल परेका थिए । यसरी म बोल्न सक्दिनँ कि भनेर हच्किएका पनि थिए । पछि उनको बोल्ने पालो आयो । बोले । धेरै मानिसका अघिल्तिर उनले सक्दो कलापूर्ण वक्तव्य दिए ।
‘त्यसपछि मलाई लाग्यो, म पनि केही गर्न सक्छु’ सौरभ मुस्कुराए, ‘अनि म नियमितजसो बोल्न थालें ।’ बोल्दै जाँदा उनको अभिव्यक्ति कला पनि खारिँदै गयो । उनी ६ महिनाका लागि स्मार्ट क्लबका कन्भेनर पनि भए । अहिले उनी जहाँ र जसका अघिल्तिर पनि मनमा उठेका सारा कुरा खुलस्त भन्न सक्छन्, धक नमानी । भर्खर साइन्समा प्लस टु सकेका सौरभ पनि सामाजिक क्षेत्रमै केही गर्न चाहन्छन् । 
प्रकाशित मिति: २०७० मंसिर २८ ११:२६

टीभी कि मोबाइल ?

टीभी कि मोबाइल ?

मंसिर १३ –
संविधानसभाको चुनाव यो पटक धेरै फेसबुकलाई लाग्यो । २० लाख बढी नेपाली प्रयोगकर्ता रहेको फेसबुकका वालमा रिस, उत्साहदेखि उत्सुकता भेटिए । परम्परागत सञ्चारमाध्यमलाई चुनौती दिइनसकेको भए पनि सामाजिक सञ्जालले यसपटक सूचनालाई खुबै काम पाए । चुनावको रन्को सकिँदा विश्वको अर्को कुनामा चाहिँ ‘टेलिभिजन डेथ’ का समाचार आउन थालेका छन् । टेलिभिजनलाई ‘डेथ’ मा पुर्‍याउने कामचाहिँ मोबाइलबाट हुन थालेको देखिएछ ।

पश्चिमा मुलुक र विशेषगरी अमेरिकामा टेलिभिजनको अस्तित्व नै खतरा परेको समाचारले चर्चा पाउन थालेका छन् । त्यो किनभने ओलम्पिकको समयबाहेक २०११ पछि टेलिभिजन दर्शकको संख्या घट्दो क्रममा देखिन थालेको छ । सिटी नामक संस्थाले गरेको अध्ययनले टेलिभिजनमात्र होइन, ब्रोडब्यान्ड इन्टरनेट कम्पनीलाई पनि चिन्तामा पारेको छ । २०१३ को आधा वर्षमा आएको तथ्यांकले अमेरिकाका प्रमुख टेलिभिजन सेवा उपलब्ध गराउने कम्पनीको १ लाख १३ हजार ग्राहक घटेको देखियो । जसमा केबलसहित ब्रोडब्यान्ड सेवा लिने धेरै थिए । यो तथ्यांकले धेरैलाई अचम्ममा पार्‍यो । टेलिभिजनका दर्शक घट्नुलाई नौलो नमाने पनि विकल्पका रूपमा आएको ब्रोडब्यान्ड कम भएपछि आश्चर्य भएको हो । २०१० यता मात्रै ५० लाख अमेरिकीले घरबाट केबलका तार छुटाइसकेका छन् ।

पछिल्लो तीन महिनामा मात्रै टाइम वार्नरका च्यानलले ३ लाख बढी ग्राहक गुमाइसकेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ ।

अब फर्कौं आफ्नै मुलुकतर्फ । टेलिकमले थ्रीजी सेवा सुरु गर्दा टेरिसटेरियल टेलिभिजन प्रसारण मोबाइलबाटै हेर्न सकिने प्रचार गरे पनि खासै उपयोग भएन । उपयोग गर्न खोज्दा पनि इन्टरनेटको गुणस्तरले साथ दिएन । अनि सुधारिएको थ्रीजी र सुरु भएको ईभीडीओ इन्टरनेटपछि अवस्थाचाहिँ के छ ? अहिले नै मोबाइलमा टेलिभिजन हेर्ने क्रमले विस्तार पाइनसके पनि भविष्यमा अर्को विकल्प नरहने टेलिकमको वायरलेस टेलिफोनी डाइरेक्टोरेटका निर्देशक अनुपरञ्जन भट्टराई बताउँछन् । ‘आउनै पर्छ र दूरसञ्चारको सबैभन्दा ठूलो ट्राफिक भिडियो नै हुनेछ,’ उनले भने ।

विश्वभरको ट्रेन्डअनुसार यहाँ पनि परिवर्तन आउने र त्यसका लागि कम्पनीको तयारी रहेको उनी बताउँछन् । ‘भ्वाइस, इन्टरनेटभन्दा पनि भिडियोको प्रयोग बढी हुन्छ,’ उनले भने, ‘र, त्यसका लागि बढी ब्यान्डविथ आवश्यक पर्छ ।’ मोबाइलमार्फत टेलिभिजन घरघर पुर्‍याउन ब्यान्डविथको शुल्क कम र भिडियोको गुणस्तर फरक हुनुपर्ने उनले बताए । ‘मोबाइलबाट हेर्दा भिडियो गुणस्तर पनि अन्यमा जस्तो धेरै चाहिँदैन,’ उनले भने, ‘त्यसैले टेलिभिजन च्यानलले पनि छुट्टै व्यवस्था गर्नुपर्छ ।’ छिट्टै इन्टरनेट टेलिभिजनको वर्चस्व सुरु हुने उनको अनुमान छ ।

अर्कोतर्फ टेलिभिजनलाई मोबाइलसम्म पुर्‍याउन एउटा प्रमुख भूमिका सेटको हुने एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलन शर्मा बताउँछन् । ‘यस्ता सेवा मोबाइलको सेटसँग पनि जोडिएका हुन्छन्,’ उनले भने, ‘विस्तारै बढ्दै गएको प्रयोगका कारण टेलिभिजन मोबाइलमा हेर्ने क्रम हामीकहाँ पनि बढ्न थाल्छ ।’ यसको एउटा उदाहरण टेलिभिजन च्यानल आफैंले इन्टरनेटको प्रयोग बढाउनु रहेको उनी बताउँछन् । ‘जिल्ला-जिल्लाबाट भिडियो इन्टरनेटको माध्यमबाट पठाउने क्रम बढेको छ,’ उनले भने, ‘यसले पनि विस्तारै इन्टरनेटमा प्रवेश गर्ने क्रम देखाएको छ ।’

चुनावका बेला अधिकांश टेलिभिजन च्यानलले भिडियो च्याटिङमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । यो नौलो घटना भने थिएन । किनभने सीएनएन, अलजजिरालगायतका च्यानलले पनि स्काइपमार्फत प्रत्यक्ष प्रसारण गर्न थालिसकेका छन् ।

अनि टेलिभिजन नै मोबाइलमा हेर्नचाहिँ इन्टरनेटको गतिले प्रमुख भूमिका खेल्ने शर्मा बताउँछन् । ‘थ्रीजीको अर्को सुविधा भनेको चाहिएजति स्पिड बढाउन सकिन्छ,’ शर्मा भन्छन्, ‘बजारको माग र विस्तार हेरेर कम्पनीले द्रुत गतिको सेवा दिन सक्छन् ।’ एनसेलले पनि प्रमुख सहरी क्षेत्रमा माग अनुसार गति बढाउँदै लैजाने योजना बनाएको उनले बताए ।

गति र सेवा पनि पाउन थालेपछि कुरा आउँछ मूल्यको । पछिल्लो समय दुई ठूला सेवा प्रदायकले गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा थालेका छन् । जसको अर्थ हो सस्तोमा धेरै सुविधा पाउनु । एनसेलले मोबाइलमा प्रतिएमबी शुल्क २९ पैसासम्ममा इन्टरनेट सेवा दिन थालेको छ । जुन १० जीबी डाटा खरिद गर्दा पाइन्छ । सबैभन्दा थोरै ३ एमबी डाटा खरिद गर्दा एनसेल मोबाइल प्रयोगकर्ताले २ रुपैयाँ प्रतिएमबीमा चलाउन पाउँछन् ।

प्रतिस्पर्धामा उत्रिएको टेलिकमले पनि ईभीडीओ सेवामा मूल्य घटाएको छ । १० जीबी खरिद गर्दा प्रतिएमबी २३ पैसामा सेवा उपलब्ध गराइएको छ । जसमा ५ सय एमबी खरिद गर्दा प्रतिएमबी शुल्क ४० पैसा छ ।

घट्दै गएको इन्टरनेट र सुविधायुक्त सेटको मूल्यले पक्कै टेलिभिजन हेर्न केबल चाहिने दिन नरहला । टेलिभिजन कार्यक्रमले एप्लिकेसन बजारमा बढाउन थालेको आफ्नो उपस्थितिले पनि यस्तो संकेत गरिसकेका छन् । अनि विभिन्न निःशुल्क टेलिभिजन समेटेर विश्वभर प्रसारण गर्ने एप्लिकेसन पनि थोरै छैनन् । केही मोबाइल सेवा प्रदायक आफंैले पनि मोबाइल टीभीको प्रचार थालिसकेका छन् ।

यस्ता दिन किन पनि टाढा छैनन् भने भारतमा टाटा स्काईले मोबाइल टीभी एप्लिकेसन ल्याइसकेको छ । नजिकै आइसकेको प्रविधि नेपालमा पनि डीटीएच कम्पनीले ल्याउन समय नलाग्नुपर्ने हो । अनि २०१७ सम्म विश्वभर मोबाइलमा ८० लाख टेराबाइट भिडियो प्रतिमहिना हेरिने अनुमानभित्र केही हिस्सा नेपालले पनि राख्छ कि । 
प्रकाशित मिति: २०७० मंसिर १४ १०:५०

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s