नो मोर डर्टी पोलिटिक्स

मंसिर ६ –
‘राजनीति ?’ कुराकानीको थालनीमै श्वेता अग्रवाल पन्छिइन्, ‘छ्या त्यस्तो मन पर्दैन ।’

किन ?

उनको रेडिमेड जवाफ थियो, ‘पोलिटिक्स इज डर्टी गेम ।’

तर, यतिमै उनलाई उम्कने मौका दिइएन । ‘नेताहरू भ्रष्ट छन्,’ केही समय घोरिएकी श्वेताले आफ्नो बुझाइ पुष्टि गर्दै थपिन्, ‘सत्तामा गएपछि परिवार र निजी स्वार्थलाई केन्द्रमा राखेर काम गर्छन् ।’ नेताको प्रसङ्ग उप्काउनसाथ सिनेमाको भिलेनजस्तै ‘चतुर, झेली र भ्रष्ट’ बिम्ब नाच्दोरहेछ, उनको मन-मस्तिष्कमा । श्वेता किस्ट कलेजबाट इनफर्मेसन म्यानेजमेन्टमा स्नातक गर्दैछिन् ।

संविधानसभा निर्वाचन सकेको पनि केही घन्टामात्र भएको छ । राजधानीको चहलपहल बेग्लै रूपको छ । यो हिजो-अस्तिको जस्तो होइन । केही स्कुल, कलेजको गेटमा ताल्चा झुन्डिएको छ । केही भने खुलिसके । यस्तै मौका पारेर विभिन्न कलेजका विद्यार्थीसँग हेलो शुक्रबारले कुराकानी गरेको थियो, राजनीतिक सेरोफेरोमा ।

एपेक्स कलेजमा अध्ययनरत निरका सुब्बा आफूलाई ‘राजनीति नजान्ने’ कित्तामा राख्छन् । भन्छन्, ‘गहिरो ज्ञान छैन, बुझ्दिन पनि ।’ थुपै्र युवा ‘पोलिटिकल ह्यारेसमेन्ट’ को सिकार भएका छन् । निरका र श्वेता जस्तै । उनीहरूलाई लाग्छ, ‘हाम्रा नेता ठीक छैनन् । उनीहरूले पढ्ने वातावरण खलबलाइदिए । क्यारियर ध्वस्त बनाइदिए ।’

‘कहिले बन्द, हडताल,’ निरका भन्छन्, ‘कहिले कलेजमै तोडफोड हुन्छ ।’ राजनीतिक इस्युमा हुने यस्ता गतिविधिले पढाइमा डिस्टर्ब गर्ने नै भयो । अर्कोतिर स्कुल/कलेज सञ्चालकसँग तिनै नेताहरू चन्दा असुल्छन् । जसको कारण पर्ने आर्थिक भार अभिभावकको थाप्लोमा थोपरिन्छ । ‘हाम्रो पोलिटिकल कल्चर भएन,’ श्वेताको गुनासो थियो, ‘जसले जे गर्दा नि हुने ।’

यता निरका राजनीतिको नाममा दादागिरी मौलाएको प्रतिक्रिया दिन्छन् । ‘यहाँ जे जति गुन्डागर्दी हुन्छ,’ उनी केही आक्रोशित भए, ‘त्यो सबै नेता र राजनीतिक दलको संरक्षणमा हुने गरेको छ ।’ राजनीतिक गुन्डागर्दीका कारण सर्वसाधारण निरीह बन्नुपरेको उनको दुःखेसो थियो । युवालाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने शारदा बजगाईं बताउँछिन् ।

‘कुनै न कुनै रूपमा उनीहरू राजनीतिसँग जोडिएका छन्,’ आरआर कलेजबाट पत्रकारितामा स्नातक गरिरहेकी शारदा थप्छिन्, ‘उनीहरूसँग जोस छ, जाँगर छ, ऊर्जा छ ।’ त्यसैले त भाषणहरूमा भनिन्छ, ‘युवाहरू परिवर्तनका संवाहक हुन् । मुलुकका ठूला राजनीतिक परिवर्तनहरू युवाकै जगमा सम्भव भएको थियो । तर पछि नेताहरूमा देखिएको सत्तामोह, आपसी खिचातानी, बढ्दो कुसंस्कार र अराजकताले युवाहरूमा नैराश्यता पैदा गर्‍यो ।

उनीहरू भन्न थाले, ‘पोलिटिक्स इज डर्टी गेम ।’ यस्तै भीडमा केही पृथक् भेटिइन्, टि्वंकल अग्रवाल । उनी राजनीतिलाई ‘डर्टी गेम’ मान्न पटक्कै राजी छैनन् । काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए गर्दै गरेकी टि्वंकल भन्छिन्, ‘यो आफंैमा फोहोरी छैन ।’ यद्यपि नेताहरूको खराब आचरणका कारण युवाहरूमा निराशा छाएको उनले स्विकारिन् ।

युवाहरू राजनीतिमा सक्रिय सहभागी हुनुपर्ने उनको सुझाव छ । किन ? ‘किनभने, हामी शिक्षित छौं,’ उनले सरल भाषामा भनिन्, ‘त्यसैले सही निर्णय लिन सक्छौं, को सही, को गलत भन्ने कुरा ।’ योग्य उम्मेदवारलाई छनोट गर्न युवाहरूको भूमिका अहम् हुने टि्वंकलको बुझाइ छ । तर, श्वेता युवाहरू राजनीतिमा लाग्नुपर्छ भन्ने भनाइमा विमति राख्छिन् ।

‘मलाई त राजनीतिमा लाग्नुपर्छ भन्ने लाग्दैन,’ उनले भनिन्, ‘यसले समय र क्यारियरमात्र नष्ट गर्छ ।’ राजनीतिमा लाग्ने/नलाग्ने कुरालाई उति महत्त्व दिँदैनन्, शारदा बजगाईं । यद्यपि कसरी, केका लागि लाग्ने ? यो महत्त्वपूर्ण हो । ‘यदि कुनै स्पष्ट विचार, आस्था लिएर लाग्ने हो भने हुन्छ,’ शारदा भन्छिन्, ‘तर, नेताहरूबाट केही पाउने अपेक्षा नराख्नु राम्रो ।’

अहिले धेरै युवाहरू क्षणिक प्रलोभनमा परेर नेताको पछि लागेको उनले बताइन् । त्यस्ता कोही नेता होलान्, जसलाई युवाहरूले आफ्ना आदर्श मान्न सकोस् । ‘कोही त अवश्य होला,’ टि्वंकलले भनिन्, ‘तर, अहिले ठ्याक्कै सम्झन सकिनँ ।’ श्वेताले त्यस्तो नेता हँुदै नभएको जिकिर गरिन् । ‘कोही छैन,’ उनले उदाहरण प्रस्तुत गर्दै भनिन्, ‘पहिला राम्राजस्ता लाग्नेहरू पनि सत्तामा पुगेपछि भ्रष्ट बन्छन् ।’

संविधान बन्नेमा पनि उनीहरूको मिश्रति प्रतिक्रिया पाइयो । शारदालाई विश्वास छ, विगतका गल्तीलाई सच्याएर नेताहरूले यसपालि मुलुकलाई नयाँ संविधान दिनेछन् । तर, कतिपयमा भने आशंका बाँकी नै छ । ‘पहिलाकै जस्तो ताल होला,’ निरका भन्छन्, ‘संविधान बन्छ जस्तो लाग्दैन तैपनि आशा गरौं र सकारात्मक रहौं ।’
प्रकाशित मिति: २०७० मंसिर ७ ०१:११

आर्टिफिसियल इन्टेलिजेन्स

रोशन अधिकारी

काठमाडौ, मंसिर २७ –
सूचना प्रविधि दिनदिनै परिवर्तन हँुदैछ । मोबाइल स्माट भएपछि यस्ता परिवर्तन अझ छिटो हुन थालेका छन् । सन् २०१३ को अन्त्यतिर आउँदा यो वर्ष के कस्ता प्रविधि र उपकरणले ठूला परिवर्तन ल्याए भन्ने चर्चा पनि सुरु भएको छ । विभिन्न विश्लेषकले आ-आफ्ना तर्क यसमा प्रस्तुत गर्न थालेका छन् । १ सय १४ वर्ष पुरानो संस्था एमआईटीले पनि २०१३ का प्रमुख प्राविधिक परिवर्तनमा आर्टिफिसियल इन्टेलिजेन्समा भएका विकासलाई प्राथमिकता दिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् प्रविधि जसमा ‘बाठो’ सफ्टवेयर वा मेसिन बनाइन्छ । यो शब्द सूचना प्रविधि क्षेत्रमा सुनिन थालेको केही वर्ष बितिसकेको छ । ठीक टाइममा उत्तर दिने र भाषा बुझ्ने प्रविधिको विकास हुन थालेपछि अब दिमाग पनि उत्पादन हुन थाल्ला भन्ने विचार अघि बढेको छ ।

अमेरिकी लेखक र आविष्कारक रे क्रुजविलले चालेका कदमले पनि यो वर्ष चर्चा पाउन योग्य काम गर्‍यो । उनले गुगलका प्रमुख कार्यकारी अधिकृत ल्यारी पेजलाई भेटेपछि यो क्षेत्रमा ठूलै विकास होला भन्ने आशा धेरैमा पलाउन थालेको हो । क्रुजविलले ‘हाउ टु क्रिएट ए माइन्ड’ भन्ने पुस्तक र त्योसँगै भाषा बुझेर आफैं निर्णय लिन सक्ने मेसिन बनाउने कुरा गुगलसमक्ष राखेका छन् । ज्यादै ठूलो परिवर्तनकै तयारी भएर होला कतै काम नगरेका क्रुजविलले पनि गुगलमा जागिर खान थाले । धेरै सोचिरहनु नपर्ने देखेरै होला क्रुजविलले पनि गत जनवरीदेखि गुगलमा इन्जिनियरिङको निर्देशक पद सम्हाल्न भ्याएका छन् । ‘यो मेरो आर्टिफिसियल इन्टेलिजेन्समा खर्च भएको ५० वर्षको सारांश हो,’ उनले भनेका छन् ।

क्रुजविलको यो कदम किन पनि महत्त्वपूर्ण भयो भने गुगलजस्तो इन्टरनेटको तथ्यांक भएका अन्य कुनै पनि कम्पनी छैनन् । गुगलका सबै तथ्यांक एउटै दिमागमा राख्ने र त्यसलाई प्रयोग गर्न थाल्ने हो भने गर्न नसकिने कुरा सायदै कम होलान् । गुगल आफंैले पनि डिप लर्निङ ब्रान्डबाट सुरु गरेको आर्टिफिसियल इन्टेलिजेन्सको कामले पनि धेरैलाई आकषिर्त गरेको हुनुपर्छ । कम्पनीको डिप लर्निङ सफ्टवेयरले आवाज, तस्बिर र अन्य डाटालाई छुट्याएर अध्ययन गर्न थालिसकेको छ ।

गएको जून महिनामा मात्रै गुगलको डिप लर्निङ प्रणालीलाई देखाइएको १ करोड तस्बिरलाई युट्युबमा भिडियोसँग जाँच गरिएको थियो । जसमा अघिल्ला परीक्षणभन्दा दोब्बर सफलता मिलेको समाचार सार्वजनिक भएका थिए । गुगलले नै ‘स्पिच रिकग्निसन’ लाई एन्ड्रोइडको नयाँ संस्करणमा सुधार गरेर राखेको छ ।

अर्को ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले थालेका कामले पनि सबैको ध्यान तानेको हुनुपर्छ । गएको अक्टोबर महिनामा माइक्रोसफ्टले पनि यस्ता प्रयोगमा आफ्नो दक्षता देखाएको थियो । जसमा कम्पनीका अनुसन्धान अधिकृत रिक रासिदले अंग्रेजीमा बोलेका कुरा चिनियाँ भाषामा प्रत्यक्ष प्रसारण गरेर देखाएका थिए । यो प्रयोगमा जम्मा ७ प्रतिशतमात्र खराबी देखिएको थियो ।

अब हेरौं अर्को कम्पनीलाई । सामाजिक सञ्जालबाट संसारलाई जोड्ने फेसबुकले पनि यही क्षेत्रमा कम अघि बढाइसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्सका लागि छुट्टै युनिट बनाएको र स्पिच रिकग्निसनको काममा पनि कम्पनी लागेको बताइसकेका छन् । फेसबुकमा यस्ता प्रविधि कसरी जोड्ने वा जोडिने छन् भन्ने स्पष्ट भइनसके पनि उनले गरेको चर्चाले नयाँ विकासको सम्भावना भने देखाउँछ । पत्रिका बिजनेस इन्साइडरका अनुसार जुकरबर्गले सोही कार्यक्रममा पोस्ट सर्च र ग्राफ सर्चका बारेमा व्याख्या गरेका थिए । जसलाई आधार मानेर अब कम्पनीले पुनः नयाँ प्रविधिलाई आफ्नो सञ्जालमा छिराउँदै छ भन्ने अनुमान गरिएको छ ।

पत्रिकाका अनुसार गत सेप्टेम्बरमा गठन भएको छुट्टै टोलीले फेसबुकमा रहेका सबै प्रयोगकर्ताको जानकारीलाई समेटेर काम अघि बढाएको छ । फेसबुकमा प्रयोगकर्ताले पोखेका विचारलाई समेटेर विभिन्न प्रश्नको उत्तर खोज्ने काम कम्पनीले गर्ने उनको तर्क थियो । सूचना प्रविधि क्षेत्रमा ठूलो नाम र दाम कमाएका यी तीन कम्पनीले गर्न थालेको खोज र विकासले भोलि सोचिदिने काम पनि मेसिनले गर्न थाल्दा अचम्म नलाग्लाजस्तो छ । २०१३ मा धेरै फड्को मार्ने छाँटकाँट देखाएको आर्टिफिसियल इन्टेलिजेन्सले १४ मा भने पक्कै नयाँ तरंंग ल्याउनेछ । 
प्रकाशित मिति: २०७० मंसिर २८ ११:४०

विश्वकप पुग्दाका साक्षी

कौशल अधिकारी

मंसिर २० –
चितवनको क्रिकेटको माहोलमा हुर्किएर होला सायद मैले सानो उमेरदेखि नै क्रिकेट खेल मन पराएँ । हाम्रो घर वरपर क्रिकेट खेल्यो कि म पुगिहाल्थें, मिडियम पेस बलिङ गर्न । केही समय त खेलाडी बन्ने सनक पनि चढ्यो । विश्वकप होस् या अन्य महत्त्वपूर्ण विदेशी प्रतियोगिता क्रिकेट खेलको म नियमित दर्शक थिएँ । टेलिभिजनको अघि बल र ब्याटको युद्ध हेर्दै मेरो बाल्यकालको बढी समय बित्यो ।

यसपल्ट नेपालले यूएईमा आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोट खेल्न जाँदै थियो । अरू देशले खेलेको विश्वकप टीभीमा हेर्ने मलाई आफ्नै देश त्यही बाटोमा पुग्न अन्तिम संघर्षका लागि यूएई लाग्दा आफूलाई नेपालमै ल्यान्ड गरिराख्न सकिनँ । मैले अठोट गरें, टिमसँग गएरै छाड्छु ।

नेपालका लागि यो प्रतियोगिता कत्तिको महत्त्वपूर्ण थियो । यसलाई मैले यहाँ भन्नुपर्ने जरुरी नै देख्दिनँ । शारजहा र अबुधाबीका विभिन्न मैदानमा गरी नेपालले लिग चरणमा ७ र बाँकी ३ खेल खेल्यो । प्रतियोगितामा मैले धेरै नै उतारचढाव देखें । खेलाडी कहिले निराश त कहिले हौसिरहेका हुन्थे । म बाउन्ड्री बाहिर हुन्थें । म पनि त नेपाली न हुँ । टिमको परिस्थितिअनुसार खेलाडीले जस्तै मैले पनि जानेर वा नजानिकन विभिन्न क्रियाकलाप गरिहन्थें ।

समूह ‘बी’ मा रहेको नेपालले लिग चरणको आफ्नो सबै ७ खेल खेलेको थियो । नेपाल तेस्रो स्थानमा थियो । तर एक खेल कम खेलेको स्कटल्यान्डले डेनमार्कलाई ठूलो अन्तरले हराए नेपाल चौथो स्थानमा पुग्ने थियो । त्यसले नेपालको विश्वकप पुग्ने यात्रामा कठिनाइ हुन्थ्यो । स्कटल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेल खेल्ने दिन नेपालको खेल थिएन । नेपालको खेल नहुँदा मलाई दुबई सहर घुम्न सुनौलो मौका थियो । तर म एकै ठाउँमा बसेर कम्प्युटरको स्त्रिmनमा स्कटल्यान्डको स्कोर हेर्नमा व्यस्त रहें । स्कटल्यान्डले खेल जिते पनि नेपाल समूहमा तेस्रो स्थानमा रहन सफल भयो । खेलाडी बस्ने होटल र म बस्ने दूरी चार पाङ्ग्रे सवारीमा करिब आधा घन्टाको यात्रा थियो । खेलाडीसँग खेल मैदानमा मात्र भेट्ने अवसर मिल्थ्यो । त्यो पनि खेल अघि र पछिमात्र । लिग चरणका खेलमा हार्दा पनि खेलाडी आत्तिएका जस्तो देखिएनन् । बरु अर्को खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्नेमा उनीहरूले ध्यान दिएको जस्तो लाग्थ्यो ।

हङकङलाई क्वाटरफाइनलमा हराए नेपाल विश्वकपमा पुग्ने थियो । नेपालले समूहका अधिकांश खेलमा रन पछ्याउँदा जित निकालेको थियो । त्यस दिन पनि अबुधाबीको मैदानमा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएपछि आफ्नै टिमले जित्छ भन्नेमा म विश्वस्त थिएँ । नेपालले राम्रो पनि खेल्यो र जिततिर लम्कियो पनि । क्रिजमा थिए, कप्तान पारस खड्का र अर्का ब्याट्सम्यान शरद भेषवाकर । यी दुवै अन्तिमसम्म बसेमा नेपालको जित निश्चित थियो । पारस रन आउट भएपछि खेलले अर्कै मोड लियो ।

खेल मैदानमा अचानक निराशा छायो । नेपाललाई हुटिङ गरिरहेका दर्शक पनि केहीबेर चुप भए । त्यस समयमा म फोटो खिच्नभन्दा पनि पटक-पटक स्कोरबोर्डतिर हेरिरहें । खेलमा नेपालको हार वा जितको आकलन गर्न थालें । पभेलियनतिर हेरें, सबै जना चुपचाप थिए । खेल जारी नै थियो ।

खेलमा हङकङ हावी देखिन्थ्यो । तर फेरि महत्त्वपूर्ण अन्तिम ओभरमा खेल जिताउन सफल भए, शरद । शरदको ब्याटबाट अन्तिम बलमा एक रन निस्केसँगै नेपालले जित हासिल गर्दै विश्वकपको यात्रा तय गर्‍यो । म पनि उत्साहित भएँ । दर्शकहरू चिच्याइरहेका थिए । टिमका अन्य खेलाडी पनि खुसी साट्न मैदानमा शरद भएतिर दौडिए । सबैले अँगालो मार्न थाले । खेलपछि पो मैले सम्भिmएँ, त्यो खुसीले त मैले फोटो खिच्नै पो बिर्सिएछु । केहीबेरपछि पो मैले फोटो खिच्नुपर्छ भन्ने कुरा थाहा पाएँ । त्यहाँ त म व्यावसायिक फोटो पत्रकारभन्दा पनि नेपाली पो भएछु । आखिर महत्त्वपूर्ण क्षणमा मान्छेको वास्तविकता आपै+m प्रकट हुँदोरहेछ ।

यूएईका मैदान भए पनि नेपाली टिमलाई समर्थक गर्ने दर्शकको कहिल्यै कमी भएन । नेपालको खेल कीर्तिपुरमै भइरहेको छ र त्यही मैदानमा बसेर फोटो खिचिरहेको छु कि भन्ने पनि झझल्को आइरह्यो । शारजहामा भएको नेपाल र अफगानिस्तानको खेलमा करिब ८ हजार नेपाली समर्थक थिए । र, अन्य खेलमा पनि कम्तीमा २ हजारको हाराहारीमा उपस्थित भई नै रहे । उज्ज्वल भविष्य खोज्दै विदेशिएका नेपालीहरू अफिस नै बिदा लिएर नेपालको झन्डा बोक्दै आफ्ना खेलाडीलाई समर्थन गर्न आइरहे । नयाँ सहर बिरानो लागे पनि नेपाली टिमको प्रदर्शनले आफ्नै देशमा बसिरहेको जस्तो ‘फिल’ भई नै रह्यो । आफ्नो देश पहिलोपल्ट विश्वकप पुग्दाकोे क्षणको साक्षी त्यसमा पनि आफ्नै क्यामेरामा कैद गर्न पाउँदाको खुसी मैले अहिलेसम्म अनुभव गर्न पाएको थिइनँ ।  
प्रकाशित मिति: २०७० मंसिर २१ ०९:४३

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s