बाबुबाजेको लगानीले राजनीतिमा ब्याज खान सकिँदैन

अश्विनी कोइराला

यसपटकको संविधानसभा निर्वाचनमा केही प्रतिभाशाली युवाले निर्वाचन जिते। तीमध्ये उदयशमशेर राणा पनि एक हुन्। उदयशमशेरलाई लोकप्रिय एवं संसार बुझेका युवा नेता मानिन्छ। तरुण दलको अध्यक्ष भएर देशभर घुमेका राणाले ललितपुरको सबैभन्दा दुर्गम मानिने क्षेत्रबाट अत्यधिक मतले निर्वाचन जितेका हुन्। गरिब तामाङहरूको बाहुल्य रहेको ललितपुर-१ मा राणा परिवारका उदयले टिकट पाउँदा नेकपा (एमाले) तथा एमाओवादीका उम्मेदवारले उनलाई त्यति महत्त्व दिएका थिएनन्। कांग्रेसका जिल्ला सदस्य गणेशबहादुर केसी उदयको बागी उम्मेदवार बनेका थिए भने राप्रपा नेपालका चर्चित नेता केशरबहादुर विष्टले कांग्रेसकै मत तान्ने धेरैको अनुमान थियो। त्यहाँ नेकपा (एमाले) र एमाओवादीबीच नै प्रतिस्पर्धा हुने अनुमान थियो। यद्यपि निर्वाचन परिणाम सार्वजनिक हुँदा उनी निकटतम प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मतले विजयी भए। उदयको आश्चर्यजनक जितका पछाडि के कारण थियो? २० वर्षसम्म विदेश बसेर पढेका र नेपाल र्फकंदा राम्रोसँग नेपाली बोल्न नआउने उदयले केही वर्षमै के त्यस्तो विशेषता हासिल गरे, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो? यसपटक साप्ताहिकले उदयलाई अघि राखेर राजनीतिमा लोकप्रिय हुने कारण खोतल्ने प्रयास गर्‍यो।

तपाईंले निर्वाचन जित्ने कुनै कारण थिएन, तैपनि जित्नुभयो भन्छन् नि?

नजित्ने कुनै कारण थियो र? अघिल्लो वर्षको संविधानसभा निर्वाचनमा वर्षमान पुनसँग केवल ७ सय मतले हारेको थिएँ। केही सय मतले पछाडि परेपछि मैले थप मेहनत गरें, जसका कारण मेरो जित सुनिश्चित थियो।

यो निर्वाचन तपाईंले युवा भएका कारण जित्नुभएको हो कि नेपाली कांग्रेसले जितेको हो?

मैले थाहा पाएअनुसार पहिले मेरो क्षेत्रमा जम्मा ४ घर मात्र कांग्रेस थियो। संसदीय निर्वाचनमा यहाँ कांग्रेसले कहिल्यै जितेन। मेरो बुवाले पटक-पटक निर्वाचन हार्नुभयो। यस पटक कांग्रेसले जितेको छ। यस अर्थमा निर्वाचन जित्न मेरो मेहनतले पनि काम गरेको छ। यद्यपि मुख्य कुरा जनताले नेपाली कांग्रेसको नीतिलाई जिताएका हुन्।

तपाईं सानैदेखि विदेशमा बसेर पढ्नुभयो, नेपालको वस्तुस्थिति रामोसँग बुझ्नुभएको थिएन। तैपनि तपाईंलाई लोकप्रिय मानिन्छ, किन होला?

म भाग्यवश सम्पन्न परिवारमा जन्मिएँ। त्यसैले अध्ययन पनि विदेशमै गर्ने अवसर पाएँ। यसको अर्थ मैले नेपाल बुझेको थिइनँ वा छैन भन्ने अर्थ लगाउन सकिँदैन। मेरो घरमा नेपाली कांग्रेसको नीति बन्थ्यो। मेरो बुवा सागरशमशेर राणा कांग्रेसका पुराना नेता भन्ने कुरा सबैलाई थाहा छ। त्योभन्दा महत्वपूर्ण कुरा ठूलो बुवा भरतशमशेरलेको नेतृत्वमा रहेको गोर्खा परिषद् २०१५ सालमा प्रमुख प्रतिपक्षी दल थियो। बीपी कोइरालाको प्रतिभाबाट प्रभावित भएर उहाँले बिना कुनै सर्त गोर्खा परिषद्लाई नेपाली कांग्रेसमा विलय गराउनुभयो। त्यसको एउटै मात्र कारण थियो, देशमा सुदृढ प्रजातान्त्रिक दल बनाउने र देशको विकास गर्ने। यस्ता व्यक्तिहरूको घरमा जन्मिएको व्यक्ति स्वभावैले राजनीतिप्रति आकषिर्त हुन्छ। राजनीति गर्नेले देशलाई राम्रैसँग बुझेको हुन्छ।

तपाईं अचानक राजनीतिक वृत्तमा उदाउनुभयो। राजनीतिमा बुवा-बाजेले गरेको योगदानको ब्याज काम लाग्दो रहेछ, होइन?

म त्यसो भन्दिनँ। हो, नेपाली कांग्रेसले मलाई जिल्ला अध्यक्ष पद दिँदासम्म परिवारको योगदान सम्झिएको थियो। नेता बालकृष्ण खाँणले मलाई राजनीतिमा लाग्न प्रोत्साहित गर्नुभएको हो। राजनीतिमा चासो राख्नेबित्तिकै नेता हुनुपर्छ भन्ने पनि थिएन। जब मैले जिल्ला अध्यक्षका रूपमा काम गर्न थालें। सम्भवतः मेरो काम गर्ने शैलीबाट सबै प्रभावित हुनुभयो। यही काम गर्ने शैलीले मलाई माथि ल्याएको हो। मलाई तरुण दलको अध्यक्ष पनि यही काम गर्ने शैलीले बनायो। यही काम गर्ने शैलीका कारण मलाई पार्टीले टिकट दियो। यही काम गर्ने शैलीले जनताले मलाई पत्याए। त्यसैले म छोटो समयमै राजनीतिमा स्थापित भएँ। राजनीतिमा बुवा-बाजेको योगदानले मात्र हुँदैन।

राजनीतिमा स्थापित हुने तपाईंको शैली के हो? कसरी काम गर्नुहुन्छ?

मेरो क्षेत्र ललितपुरको ग्रामीण इलाकामा पर्छ। यसलाई म राजधानीनजिकको रोल्पा-रुकुम भन्छु। यो क्षेत्र अन्य ग्रामीण क्षेत्र जस्तै गरिबीलाई भजाएर राजनीति गर्ने थलो बनेको थियो। मैले संगठन गर्ने शैलीचाहिँ कम्युनिस्ट दलका साथीहरूबाट सिंके। राजनीतिचाहिँ यथार्थमा आधारित गरें। अहिलेका जनता निकै सचेत छन्। उनीहरूलाई नबुझिने शब्दजालमा फसाएर राजनीति गर्न सकिँदैन। कम्युनिस्टहरूको कमजोरीबाट मैले यो कुरा सिकंे। गएको संविधानसभामा मैले निर्वाच्ान हारें, तर व्यक्तिगत प्रयासमा विभिन्न दातृ निकायसँग समायोजन गरेर १० करोडको बजेट आफ्नो क्षेत्रमा लगें। त्यसबाट जनताको विश्वास जित्दै गएँ। त्यति मात्र होइन, तरुण दलको अध्यक्षका नाताले देशभरका युवाहरूलाई संगठित गर्दै गएँ र नेपालको धरातल पनि बुझ्दै गएँ।

एकथरी व्यक्ति के भन्छन् भने जसले ग्राउन्डमा गएर राजनीति गरेको छैन, ऊ अघि बढ्न सक्दैन। के पढेर मात्र राजनीति गर्न सकिन्छ?

राजनीति गर्नेहरूले राम्रोसँग पढेकै हुनुपर्छ। मैले अमेरिकामा अन्तर्राष्ट्रिय सम्बन्ध्ामा स्नातकोत्तर गर्दा के थाहा पाएँ भने देश भनेको देश मात्र होइन, आजको संसार कसरी एक-अर्कासँग गाँसिएको छ, त्यो नबुझी राजनीति गर्दा ठूलो दुःख हुँदो रहेछ। केही वर्ष यता नेपालीले पाएको दुःख हामी सबैले बुझेकै छौ। यथार्थ नबुझी सिद्धान्तका भरमा गरिएको राजनीतिले हामी सबैलाई दुःख दियो। अध्ययनका हिसाबले अघिल्लो संविधानसभा निर्वाचनमा धेरै जसो सभासद्को अवस्था निकै दयनीय थियो। सभासद् भनेको जनता र सिंहदरबारको पुल हो, जनता र दातृ निकायबीचको सेतु हो। जुन व्यक्तिले आफ्ना जनताको वास्तविक समस्या के हो बुझ्न सक्दैन, सिंहदरबार र दातृ निकायलाई बुझाउन सक्दैन उसले जनतासम्म कसरी विकास पुर्‍याउन सक्छ? त्यसकारण जनताको प्रतिनिधि पढेलेखेको हुनुपर्छ, संसार बुझेको हुनुपर्छ।

जनतासँग उसको सम्बन्ध कस्तो हुनुपर्छ?

जनतासँग बसेर काम गर्नुपर्छ। नेता भएर म माथिल्लो तहको व्यक्ति हुँ भन्ने भावना त्याग्नुपर्छ। संगठन बनाउनुपर्छ। मेहनत हुनुपर्छ र सधैं एकै किसिमको व्यवहार गर्नुपर्छ।

तपाईं आशालाग्दो युवा व्यक्तित्वका रूपमा देखा पर्नुभएको छ। देश बनाउने केही विशेष खाका छ तपाईंसँग?

हामी दुई ठूला र विकसित देशका बीचमा चेपिएका छौं। त्यसैले हामीले विकासको निश्चित मोडल तयार पार्नुपर्छ। सबै कुरा गर्छु भनेर गफ दिनु भनेको जनतालाई भ्रममा राख्नु हो। मेरो विचारमा हामीले जम्मा ४ वटा काममा बढी फोकस गर्नुपर्छ। पहिलो जलस्रोत र ऊर्जालाई जीवनमरणको प्रश्न बनाएर अघि बढ्नुपर्छ। दोस्रो कृषि र पशुपालनमा बढी बजेट छुट्याउनुपर्छ। तेस्रो विकासलाई सहकारीको मोडलमा अघि बढाउनुपर्छ। चौथो तर महत्त्वपूर्ण बुँदा सेवा (अस्पताल, स्कुल आदि) क्षेत्रमा अघि बढ्नुपर्छ। नेपालमा ठूला अस्पताल र अन्तर्राष्ट्रिय स्तरका स्कुल कलेज ल्याएर विदेशीहरूलाई पनि पढाउने व्यवस्था गर्नु सेवा क्षेत्रका आवश्यकता हुन्।

तपाईंले भनेका काम गर्न निकै ठूलो पुँजी चाहिन्छ। नेपालको अर्थतन्त्रले तपाईंका चार बुँदालाई एकैपटक सकारात्मक प्रभाव पार्न सम्भव छ?

एउटा तामाकोसी जलविद्युत् योजना नेपाली पुँजीमा बनाउँछौं भन्दा त हामीलाई पैसा अपुग भयो भने यी सबै काम गर्न हाम्रो पैसाले छेउ टुप्पो केही पनि पुग्दैन। हामीलाई अर्बौ अर्ब डलर एकसाथ चाहिन्छ। त्यसका लागि विदेशी पुँजी परिचालन गर्नुपर्छ। विदेशीलाई नेपालमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ। २०४८ सालमा नेपाली कांग्रेसले खुला बजार अर्थनीति लागू गरेपश्चात् प्रशस्त विदेशी पुँजी नेपाल आउन थालेको थियो। आर्थिक विकासका सूचकाङ्कहरू बढ्दै जान थालेका थिए, तर हामीले के गर्‍यौं? विदेशी पुँजीमात्र होइन, स्वदेशी पुँजीबाट बनेका कलकारखानामा समेत हड्ताल गर्‍यौं। बहिष्कारको नारा लगाएर राष्ट्रवादी हुने भ्रम पाल्यौं। भएका कलकारखाना बन्द गर्‍यौं। औद्योगिक जग नै हल्लाइदियौं। अब नेपालमा वातावरण नै छैन भनेर सबै तर्कन थालेका छन्। यो दुःखद कुरा हो।

यसो भन्दैमा म दुःखी भैहालेको चाहिँ छैन। किनभने माओवादीले समेत भारतसँग विप्पा सम्झौता गरेर हामी विदेशी लगानीको विरोधमा छैनौं भन्ने सन्देश दिन खोज्यो। जुन कुरा हामीले खुलेर गरेका थियौं, उहाँहरूले लुकेर गर्नुभयो। आखिर जुन वास्तविक कुरा हो, त्यसलाई लुकेर, डराएर किन गर्नु? जनतालाई यो कारणले विप्पा गर्नुपरेको भनेर किन नभन्ने? राजनीति गर्नेले यथार्थको धरातलमा गएर राजनीति गर्नुपर्छ। यसले देश र जनता दुबैको भलो गर्छ। हामीले अनाहकमा धेरै वर्ष दुःख पायौं, अब विदेशी लगानी ल्याएर एकसाथ माथि उल्लेखित कुरामा अघि बढ्नुको विकल्प छैन।

युवा नेता भएका नाताले अहिलेको सबैभन्दा ठूलो समस्या के देख्नुहुन्छ?

विदेशीएका ४० लाख युवालाई फर्काउन नसक्नु हाम्रो ठूलो कमजोरी हो अथवा यसो भनौ ४० लाख युवालाई विदेशीन बाध्य बनाउने हाम्रो नीति नै ठूलो समस्या हो। अब उहाँहरूलाई फर्काउने जिम्मेवारी हामी युवा नेताहरूको हो। म भन्दिन फोर्स गरेर उहाँहरूलाई फर्काउनुपर्छ  किनभने त्यसो भन्ने नैतिक आधार हामीसँग छैन। विभिन्न बाध्यतामा परेर उहाँहरू विदेश जानु भएको छ। जबसम्म हामीले उहाँहरूका समस्या सामाधान गर्न सक्दैनौं, उहाँहरूलाई र्फकनुस् भन्न सकिँदैन। मैले माथि भनेका चार बुँदामा गम्भीर भएर काम गर्ने हो भने बिदेशिएका नेपालीहरू स्वदेश र्फकने वातावरण तयार हुन्छ।

निर्वाचन जितेपछि फेरि गाउँ जानुभयो, जनताले कुन कुराको माग गरेका छन्?

म महिनाको १५ दिन गाउँमै हुन्छु। कहिले दुई-चार दिनका लागि जान्छु, कहिले १५ दिन पनि बस्छु। जनताका दुईथरी माग देखिन्छ। जो पढेलेखेका हुनुहुन्छ, रोजगार हुनुहुन्छ, उहाँहरू अहिले केही गर्नुपर्दैन, एक वर्षभित्र संविधान लेखेर देशलाई स्थायी शान्ति दिनुहोस् भन्नुहुन्छ। जो गरिव हुनुहुन्छ, निरक्षर हुनुहुन्छ, उहाँहरूलाई संविधानको कुनै मतलब छैन। उहाँहरू विकास चाहनुहुन्छ, रोजगारी चाहनुहुन्छ अनि शान्तिपूर्वक दुई छाक खाना पाइयोस् भन्ने चाहना छ।

यी दुई थरी मतदातालाई कसरी चित्त बुझाउनुहुन्छ?

संविधान त बनाउनैपर्छ। विकासलाई पनि सँगै लानुपर्छ। यो मान्छे आफैं सम्पन्न छ, पढेलेखेको छ, यसले भष्ट्राचार गर्दैन भन्ने एउटा विश्वास मेरो क्षेत्रका जनतालाई छ। यो सत्य जनताले बुझ्नुभएकाले पनि मलाई काम गर्न सजिलो छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s