नेपालीले ७५ हजारमै सगरमाथा चढ्न पाउने

मिति : २०७० मंसिर १६, आइतबार

काठमाडौं : सरकारले नेपाली पर्वतारोहीका लागि सगरमाथा आरोहण शुल्क ह्‍वात्तै घटाएको छ। यसअघि विदेशी नागरिकसँग लिने सरहको २५ हजार डलरबाट घटाएर ७५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले सबै नेपालीको पहुँचमा हुनेगरी शुल्क घटाइएको जानकारी दिए।

यसअघि नेपाली टोलीलाई सगरमाथा आरोहण दस्तुर महँगो भएकोले सरकारी निर्णयबाट हरेक टोलीका लागि शुल्क मिनाहा गर्ने झन्झटलाई हटाउन सहज बनाउने प्रयास गरिएको मन्त्रालयले जानकारी दिएको छ।

अहिले नेपाली तथा विदेशी आरोहीका लागि प्रतिव्यक्ति २५ हजार डलर र १० जनाभन्दा बढीको टोली भएको अवस्थामा प्रतिव्यक्ति १० हजार डलर लिने व्यवस्थालाई परिमार्जन गरी नयाँ शुल्क तोकिएको भट्टराईले अन्नपूर्णलाई जानकारी दिए।

नेपाली र विदेशीलाई एउटै दर भए पनि नेपालीले तिर्न नसकेकै कारण हरेक टोलीलाई सरकारी निर्णयबाट मिनाहा गरिँदै आएको थियो।

यो व्यवस्थापछि सगरमाथा आरोहण गर्न जाने नेपालीले सहयोगीको रूपमा जानुपर्ने व्यवस्थासमेत हट्ने मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हाल सगरमाथा आरोहणमा लाग्ने रोयल्टी महँगो भएको र सरकारी निर्णयबाट मात्रै पूर्ण रोयल्टीको मिनाहा हुने व्यवस्थाका कारण अघिकांश नेपालीले सहयोगीकै रूपमा सगरमाथा आरोहण गर्ने गरेका छन्।

सरकारले विदेशी नागरिकको लागि समेत १४ हजार डलर आरोहण दस्तुर छुट दिएको छ। व्यवसायीले आरोहण दस्तुर छुटका लागि १० जनासम्मको नक्कली टोली बनाउने र सरकारी राजस्व छल्ने प्रयास गरेकोले प्रतिव्यक्ति शुल्क लिने व्यवस्था गरेको मन्त्रालयले जानकारी दिएको छ।

नयाँ व्यवस्थाअनुसारको शुल्क आगामी वसन्त ऋतुबाट लागू हुने मन्त्रालयले जानकारी दिएको छ।

नेपाली आरोहीका लागि आठ हजार मिटर माथिका अन्य हिमालका लागि भने प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने व्यवस्था गरिएको छ। विदेशी नागरिकको हकमा आठ हजार मिटरमाथिका सबै हिमालको आरोहण शुल्क एक हजार आठ सय डलर लिने व्यवस्था गरेको मन्त्रालको भनाइ छ।

सरकारले पहिचान भएका र पर्यटकीय सम्भावना भएका ६ हजार मिटरदेखि आठ हजार मिटरसम्मका नयाँ ३२ वटा हिमाल खुला गर्ने भएको छ।

आठ हजार ७७ मिटरको यालुङ खाङ वेस्ट, नेपाल र चिनियाँ सीमा नाका लासा, यार्वालगायत मुस्ताङको भृकुटीको नयाँ नामकरण गरी बनाइएको यूआईएएए पिकसहित मेचीदेखि महाकालीसम्मका नयाँ हिमाल खुला हुने भएका छन्।

नेपालमा साहसिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न र हिमाली क्षेत्रमा खेलिने विभिन्न मनोरञ्जनात्मक खेल प्रवद्र्धनका लागि नयाँ हिमाल खुला गर्ने निष्कर्षमा पुगिएको भट्टराईले जानकारी दिए।

हाल नेपालमा तीन सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको भए पनि एक सयभन्दा बढी हिमालमा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s