अन्तिम नतिजा यस्तो (सिट संख्यासहित)

काठमाडौं, मंसिर १४ – समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सकिँदा संविधानसभामा कांग्रेसको १९६, एमालेको १७५ र एमाओवादीको ८० सिट हुने देखिएको छ । १८ हजारदेखि ३६ हजारसम्म मत प्राप्त गर्ने दलले एक/एक सिट प्राप्त गर्ने भएकाले संविधानसभामा ३१ दलको प्रतिनिधित्व हुने भएको छ ।

 दुई ठूला दल कांग्रेस र एमालेको मिल्दा दुईतिहाइ निकट हुनेछ । तर, ती दुईमध्ये कुनै एकले तेस्रो दल एमाओवादीसँग मात्र मिल्दा सामान्य बहुमत पनि नपुग्ने अवस्था देखिएको छ । समानुपातिकतर्फको मतगणना बिहीबारै सकिए पनि निर्वाचन आयोगले दलहरूलाई औपचारिक रूपमा सिट वितरण गर्न बाँकी छ ।

निर्वाचन आयोग स्रोतले दिएको जानकारी र कांग्रेस नेता मीनेन्द्र रिजालले ‘सेन्टलग’ पद्धतिअनुसार गरेको तथ्यांक विश्लेषणअनुसार समानुपातिक निर्वाचन प्रणालीबाट कांग्रेसले ९१ र एमालेले ८४ सिट पाउने भएका छन् । एमाओवादीले समानुपातिकतर्फ ५४ सिट पाउनेछ । प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा नेपालले समानुपातिकतर्फ २३ सिट पाउनेछ । मधेस केन्दि्रत साना दलहरूले दुवै प्रणालीमा गरी ५० सिट पुर्‍याउने देखिएको छ । अघिल्लो संविधानसभामा ८३ सिट जितेका मधेस केन्दि्रत दलहरू विभाजनको असर प्रत्यक्षमा भन्दा समानुपातिकमा थोरै देखिएको छ । 

कांग्रेस-एमालेले प्रत्यक्षतर्फभन्दा समानुपातिकमा करिब ४ प्रतिशत घटी मत प्राप्त गरेका छन् । राप्रपा नेपालले प्रत्यक्षमा भन्दा समानुपातिकमा ४ प्रतिशतभन्दा बढी मत ल्याएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मत ९४ लाख ५७ हजार ८४४ मध्ये कांग्रेसले २५ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको छ भने एमालेले २३ दशमलव ७ प्रतिशत मत ल्याएको छ ।

 प्रत्यक्षतर्फ कांग्रेसले २९ दशमलव ८ र एमालेले २७ दशमल ६ प्रतिशत मत प्राप्त गरेका थिए । प्रत्यक्षतर्फ १७ दशमलव ८ प्रतिशत प्राप्त गरेको एमाओवादीले समानुपातिकतर्फ १५ दशमल २ प्रतिशत मत पाएको छ । प्रत्यक्षमा २ दशमल ८ प्रतिशत मात्र मत प्राप्त गरेको राप्रपा नेपालले समानुपातिकमा भने ६ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको छ ।

दुई प्रतिशतसम्म मत प्राप्त गर्ने दलहरूको संख्या ७ छ भने १ प्रतिशत मत कटाउने दलको संख्या ११ छ । दुई प्रतिशतभन्दा थोरै मत प्राप्त गरेर पनि तमलोपाले ७ र सद्भावना, नेकपा -माले), र संघीय समाजवादी पार्टीले ५/५ सिट पाउने निश्चित भएको छ । अन्य साना दलहरूमा राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीले ३/३ सिट पाउने छन् ।

राष्ट्रिय जनमुक्ति, थरुहट तराई पार्टी, तराई मधेस सद्भावना पार्टी, परिवारदल र दलित जनजाति पार्टीले पनि २/२ सिट पाउने भएका छन् । अखण्ड नेपाल पार्टी, नेपाली जनता दल, फोरम गणतान्त्रिक, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाः पार्टी, जनजागरण पार्टी, संघीय सद्भावना, मधेस समता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -थरुहट) समाजवादी जनता पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टीका १/१ प्रतिनिधि संविधानसभा प्रवेश गर्नेछन् ।

कांग्रेस नेता मीनेन्द्र रिजालका अनुसार निर्वाचन कानुनमा कांग्रेस-एमालेले प्रस्ताव गरेजस्तो १ प्रतिशतको ‘थ्रेस होल्ड’ राखिएको भए संविधानसभामा ११ दलको मात्र प्रतिनिधित्व हुन्थ्यो । थ्रेसहोल्ड नराखिएका कारण १८ हजार ६ सय ८० देखि ३६ हजार ५ सय ८१ सम्म मत पाउने साना दलहरूले एक/एक सिट पाएका हुन् ।

निर्वाचन कानुनमा उल्लिखित ‘सेन्टलग’ पद्धतिअनुसार सिट विभाजन गर्दा कांग्रेसले २६ हजार ६ सय ७ मत बराबर एक सिट पाउनेछ । एमालेले एक सिटका लागि २६ हजार ७ सय ८ मत खर्चिनुपर्छ ।

एमाओवदीले २६ हजार ६ सय ४२ मत बराबर एक सिट पाएको छ भने राप्रपा नेपालले एक सिटका लागि २७ हजार १ सय ४३ मत खर्चिनुपर्ने देखिएको छ । देशभरिबाट दलले प्राप्त गरेको मतलाई सिटमा भाग लगाउँदा बाँकी रहने मतको आकारका कारण सबै पार्टीले समान सिटका लागि खर्चिनुपरेको मत संख्यामा केही फरक पर्ने रिजालले बताए ।

नयाँ संविधानसभामा एक सिट ल्याउने दलको संख्या नै १६ पुग्ने भएको छ । तीन सिट पाउने दलले पनि दोस्रो सिटमा मात्र महिला प्रतिनिधित्व गराई दुई/दुई पुरुष सहभागी गराउन सक्छन् । यसले संविधानसभामा महिला सभासद संख्या ३३ प्रतिशतभन्दा कम हुनेछ । संविधानसभा प्रवेश गर्न लागेका साना दलमध्ये ४ दलले ३/३ सिट र अरू ४ दलले २/२ सिट पाउनेछन् । २५ दलको प्रतिनिधित्व भएको अघिल्लो संविधानसभा १ सिट पाउने दलको संख्या ५ थियो भने ७ दलको दुई/दुई सिट थियो ।

आयोगले देशभरबाट प्राप्त गरेको मतका आधारमा दलले पाउने सिट संख्या निर्धारण गरी विजयी उम्मेदवार सिफारिस गर्न आइतबार सम्बन्धित दलको केन्द्रीय समितिलाई पत्राचार गर्ने तयारी गरेको छ । आयोगको कार्यविधि बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट विजयी उम्मेदवारको नाम सिफारिस गर्न दलहरूले ७ दिनको समय पाउनेछन् । दलले केन्द्रीय समितिबाट निर्णय गरी आयोगमा पठाएको नामावलीमा कानुनमा उल्लिखित समावेशी सिद्धान्त नमिलेमा आयोगले तीन दिनको समय दिनेछ ।

दलहरूले यसअघि नै बुझाएको बन्दसूची भित्रैबाट विजयी उम्मेदवार पठाउनुपर्नेछ । दलले निर्वाचन कानुनअनुसार बन्दसूचीको जुनसुकै क्रमबाट पनि विजयी उम्मेदवार पठाउन सक्नेछन् ।

प्रकाशित मिति: २०७० मंसिर १४ ०७:०८

Source :- See more at: http://www.ekantipur.com/np/2070/8/14/full-story/379906.html#sthash.6gDzUTbA.dpuf

 
 
 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s