न तिम्रो, न मेरो, अब हाम्रो छठ

 

नेपालीहरूको अर्को महापर्व छठ नजिकिएको छ। भाइटीकाको तीन दिनपछि औपचारिक रूपले सूर्य पूजाको यो महाअनुष्ठान प्रारम्भ हुन्छ। दीपावलीको रमझमबीच नै व्रतालुहरूले महापर्व छठको तयारीलाई गति दिन थाल्छन्। तिहारको थकान मेटिन नपाउँदै परिवारजन, छरछिमेक र सहयोगी जलाशय किनारलाई चिटिक्क र झकिझकाउ पार्न व्यस्त हुन्छन्।

चार दिनसम्म मनाइने छठको अन्तिम दुई दिन मुलुकका विभिन्न भागका नदी, खोला, पोखरी तथा इनार छेउमा फेरि तिहार सुरु भएजस्तो लाग्छ। वीरगञ्जको घडिअर्वा पोखरी, जनकपुरको गंगासागर, विराटनगरको सिंगिया खोला र मोरङको रंगेलीस्थित बक्राहा-चिस्याङ आदि जलाशय किनारलाई केराको बोट, माटोको दियो र रंगीचंगी विद्युतीय बत्तीले मोहक बनाइरहेको हुन्छ।

वैदिक कालदेखि गरिंदै आएको छठ पूजालाई लोक गीत, भजन, कथा वाचन तथा स्तुतिले पनि मर्मस्पर्शी बनाएको छ। ती सबैमा परिवार, समाज, पीडीत र अन्यायमा परेकाको कल्याणको कामना गरिएको हुन्छ। प्रकृतिको संरक्षणकर्ता सूर्य देवप्रति अगाध आस्थाका कारणले सहज ढंगले यो परम्परा हस्तान्तरण हुँदै आएको छ। विज्ञानले समेत ऊर्जाको मूल स्रोतका रूपमा सूर्यलाई स्वीकारेकाले यसको महत्त्व थप बढेको हो।

मुख्य व्रतालुले जलमा उभिएर शरद् ऋतुको कात्तिक शुक्ल षष्ठीका दिन अस्ताइरहेको र सप्तमीको बिहान उदाइरहेको सूर्यलाई पुजन सामग्रीसहित विधिवत् अर्घ दिएर यो बहु प्रतिक्षित पर्वको समापन गर्छन्। संस्कृत शब्द ‘षष्ठी’ लाई छठ वा छैठ भनिएको हो।

मुख्यतः तराईवासीले सूर्यको विविध रूपलाई समान श्रद्धाका साथ पुज्दै छठ मनाउँछन्। नेपालीहरूबीच बढ्दै गएको अन्तर्जातीय विवाह र समावेशी संस्कारले जातपातको दूरी घटाउँदै गएकाले यसको सीमाविहीन रूपमा विस्तार भएको छ। अब छठ कसले र कहाँ मनाउँछ भन्ने सोध्नु मूर्खता ठहरिनेछ। यसमा पहाड, हिमाल र उपत्यकावासी सबैले उही उमंग र हर्षकासाथ सहभागिता जनाउन थालेका छन्। यही फराकिलो सोचले केही वर्षयता दसैंसँगै तिहार एवं छठको शुभकामना दिने चलन बढेको छ।

छठ पर्व तराईको समथर भूमिबाट पहाड र उपत्यकातर्फ बढिसकेको छ। यकिन तथ्यांक नभए पनि गत वर्ष उपत्यकामा ३ लाखभन्दा बढी नागरिक छठ पूजामा सहभागी भएको आयोजकहरूले अनुमान गरेका थिए। यो संख्या बर्सेनि बढ्दो छ।

समाजको एउटा ठूलो समूह मानिने महिलाको नेतृत्व एवं युवावर्गको सहभागितामा सम्पन्न हुने हुँदा यो पर्वले पुस्तान्तरको भेद र असमानतालाई मेट्न सकेको हो। शिक्षा एवं चेतनाको अभिवृद्धिसँगै मधिसे समुदायका घरमा पहाडे समुदायका बुहारी र पहाडे समुदायको घरमा मधिसे समुदायका बुहारी भित्रिन थालेकाले धेरैजसोले यसको धार्मिक, सांस्कृतिक एवं सामाजिक पक्षलाई मजाले अंगालेका छन्।

बिदा सकेर फर्किएका तराईका युवा छात्रछात्रालेे राजधानी बस्ने अन्य समुदायका मित्रका लागि छठको निकै लोकपि्रय प्रसाद भुसुवा र ठेकुवा लिएर आउनुले गहिरिंदै गएको सम्बन्धलाई प्रस्टयाउँछ। ‘मित्रजन तथा विशेष गरी गर्लफ्रेन्डका लागि झोला भरेर ठेकुवा लिएर आउँछु,’ राजधानीमा इन्जिनियरिङ अध्ययनरत जनकपुरका अजय शर्मा भन्छन्, ‘ल्याएन भने त बबाल गाली सुन्नुपर्छ।’

युवा नेता गगन थापाले गत वर्ष कमलपोखरीमा छठको आयोजना गरेको प्रसँगलाई महत्वका साथ टि्वटरमा लेख्नुले पनि राष्ट्रिय एकतालाई झल्काउँछ। जो-कोही पनि सहभागी हुनसक्ने यो बहुजातीय महोत्सवले पनि साम्प्रदायिक सदभावको सन्देश बोकेको छ। यो पर्व आपसमा प्रेम, समझदारी र सम्मान भए जातीयता वा भौगोलिक सीमाले छेकवार लगाउँदैन भन्ने आफैंमा ठूलो उदाहरण हो।

दुर्गम क्षेत्रका सरकारी कार्यालयमा कार्यरत तराईवासीहरूलाई स्थानीयवासी र सहकर्मीहरूले छठ पर्वका बेला टिका लगाइदिएर शुभकामना दिने चलन यसकै एक सुन्दर पक्ष हो। पहाडेे समुदायको वर्चस्व रहेको पोखराको लेकसाइडस्थित केदारेश्वर महादेव मन्दिर परिसर, धरानको सर्दु र सेउती खोला, भद्रपुरको मेची नदि, चितवनको नारायणीतिर एवं हेटौंडाको राप्तीमा छठको आयोजनले यसलाई पुष्टि गर्छ।

बर्सेनि ती थलोमा तराईको कुनै गाउँको जस्तै एक-दुई घर-परिवारले नभएर हजारौं पहाडी र मधेसीले यो पर्व मनाउँछन्। उपत्यकामा देखिने स्थानीय ब्रतालुको भीडले तराईलाई पनि बिर्साउन थालेको छ। राजधानीको पूजा स्थलमा ठेकुवा, भुसुवा, मिठाई र फलफूल आदि प्रसाद लिन उर्लिएको भिडले बढ्दो सामीप्यतालाई झल्काउँछ। पर्वको महत्व त्यतिबेला बढ्छ, जब अन्य जाति र समुदायले त्यसलाई सहर्ष स्वीकार गर्छन्।

सम्मानको पर्व – तिहार

 

अँध्यारोबाट उज्यालोतर्फ लाने पर्व हो— दीपावली अर्थात् तिहार। तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म अर्थात् पाँच दिन मनाउने परम्परा छ। मृत्युदेव यमराजसँग सम्बन्धित पाँच दिनको समूह भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। तिहारको अवधिभर मानिसका लागि उपयोगी काग, कुकुर, गाई, गोरु आदिको पूजा गरिन्छ। कात्तिक कृष्ण औंसीको रात दीपावली गरी लक्ष्मीपूजा गर्ने परम्परा छ। धर्मशास्त्रहरूले तमसोमा ज्योतिर्गमय अर्थात् अँध्यारोबाट उज्यालोतर्फ लान निर्देश गरेका छन्। श्रीरूपी लक्ष्मीको आगमनको कामना गर्दै दीपावली गरिन्छ। लक्ष्मी सधैं सफा र उज्यालो ठाउँमा मात्र बास गर्छिन् भन्ने विश्वास छ। यसले अर्कातर्फ लक्ष्मी त्यत्तिकै प्राप्त हुन्नन् त्यसका लागि श्रम र बुद्धिको पनि आवश्यकता पर्छ भन्ने तथ्यलाई पनि उजागर गर्छ।

पशुपन्छीप्रति सम्मान

प्राचीन युगदेखि नै मानिसले आफ्ना विविध कार्यमा सहयोगीका रूपमा पशुपन्छीको सहायता लिँदै आएको छ। आजको वैज्ञानिक युगमा समेत मानिसले जनावरबाट सहयोग लिइ नै रहेको छ। प्राचीन कालमा मनोरञ्जन, यातायात आदिका साथै चिठीपत्र आदान-प्रदान गर्ने माध्यमका रूपमा पशुपन्छीको प्रयोग गरिन्थ्यो। आज पनि सुरक्षा, भोजनलगायत वैज्ञानिक अनुसन्धानमा समेत जनावरको प्रयोग भैरहेको छ। कुनै पनि नयाँ खोज एवं आविष्कारको प्रयोग मानिसमा गरिनुअघि वैज्ञानिकहरूले जीवजन्तुमा प्रयोग गर्दै आएका छन्। हाम्रो जस्तो कृषिप्रधान मुलुकमा त हरेक जीवजन्तुको ठूलो महत्त्व छ। यमपञ्चक यिनै विविध उपयोगी जनावरहरूप्रति सम्मान प्रकट गर्ने पर्व पनि हो। यसै क्रममा कार्तिक कृष्ण त्रयोदशीको दिन काग, चतुर्दशीमा कुकुर, औंसीमा गाई र कार्तिक शुक्ल प्रतिपदाको दिन गोरुको पूजा गर्ने परम्परा चलेको हो।

हिन्दूधर्ममा कागलाई यमराजको दूत मानिन्छ। काग घरको धुरी वा रूखमाथि बसेर कराउँदा उसले स्वरको प्रकृतिअनुसार लच्छिन, अलच्छिनको खबर ल्याएको विश्वास गरिन्छ। हाम्रो समाजमा कागले ल्याएको सन्देश साँचो हुने कुरामा विश्वास गर्नेहरूको संख्या अझै पनि कम छैन। कागले बालीबिरुवामा लाग्ने कीराफट्याङ्ग्रा खाइदिएर मानिसलाई सहयोग गर्छ। कागको पूजा गर्नाले नराम्रो खबर सुन्नुपर्दैन भन्ने विश्वासका साथ हरेक वर्ष यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने र खानेकुरा ख्वाउने चलन छ।

यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी मीठा-मिठा खाद्यपदार्थ ख्वाइन्छ। कुकुरलाई यमराजको दूत पनि भनिन्छ। वैज्ञानिक खोजका लागि पनि कुकुरको प्रयोग ज्यादै उपयोगी मानिएको छ। यिनै गुणहरूको कदर गर्दै तिहारको दोस्रो दिन कुकुरको पूजा गरिएको हो।

यमपञ्चकको तेस्रो अर्थात् औंसीको दिन बिहान गाईको पूजा गर्ने परम्परा छ। हिन्दूधर्ममा गाईलाई गौमाता वा लक्ष्मीका रूपमा अरूबेला पनि पूजा गरिन्छ। गाईबाट प्राप्त हुने दूध र दूधबाट बन्ने दही, घ्यू आदि पदार्थले मानिसको शरीर र बुद्धिलाई स्वस्थ राख्नुका साथै दीर्घायु पनि बनाउँछ। यसैगरी गाईको गोबर र गहुँत आयुर्वेदिक उपचारका लागि महत्वपूर्ण औषधी मानिन्छ। गहुँत र गोबरबाट निर्मित कम्पोष्ट मल खेतबारीमा प्रयोग गर्नु कृषकले अपेक्षित फल पाउँछन्। अन्त्यपछि पनि गाईका अंगहरू विभिन्न वस्तु बनाउन प्रयोग गरिन्छ।

कार्तिक शुक्ल प्रतिपदाको दिन गोरुको पूजा गर्ने परम्परा छ। गोरुले आफू जोतिएर खेतबारीमा अन्न उत्पादन गर्ने कार्यका सहयोग पुर्‍याउँछ। कृषकको सहयोगीका रूपमा रहेको गोरुको सम्मान गर्ने दिन हो- यमपञ्चकको चौथो दिन।

प्रकृतिको सम्मान

श्रीमद्भागवत्अनुसार भगवान् श्रीकृष्णले गोकुलवासीको रक्षार्थ औंलामा गोवर्धन पर्वत उठाएर आश्रय दिए। प्रकृतिको सम्मान गर्ने हो भने प्रकृतिले पनि आश्रय दिन्छ भन्ने सन्देश उक्त घटनाबाट प्रस्ट हुन्छ। यसकारण यमपञ्चकको चौथो दिन गोवर्धन पर्वतको प्रतीकस्वरूप गोबरको पर्वत बनाई पूजा गर्ने चलन छ, तर यो पर्वले गोबरको पर्वतलाई गोवर्धन मानेर पूजा गर्ने मात्र नभै हाम्रो वरिपरिको प्राकृतिक सम्पदाहरूको सम्मान वा संरक्षण गर्नसमेत प्रेरित गर्छ।

दाजुभाइ तथा दिदीबहिनीबीच सम्मान

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन हरेक दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्छन्। दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई तेलको धारले परिक्रमा गर्दै सप्तरंगी टीका, मखमली, सयपत्री, गोदावरीको माला लगाई सम्मान गर्छन्। यही अवसरमा सगुनस्वरूप सेल-रोटी, पान, मसला आदि दाजुभाइलाई दिन्छन्। दाजुभाइले पनि आपmनो गच्छेअनुसारको दक्षिणा एवं लुगाफाटा लुगाफाटा प्रदान गरी दिदीबहिनीको सम्मान गर्छन्।

भाइटीका

 

 

प्रियंका कार्की (नायिका)

झिलीमिली, सेलरोटी, अनरसा, लक्ष्मीको पाइला, देउसी भैलो, जमघट, मिष्ठान्न परिकार यति नै पर्याप्त छ तिहारलाई सम्झन। तिहार भनेपछि मेरो मन उमंगले भरिएर आउँछ। गीत-संगीत तथा नृत्य मलाई सबैभन्दा मनपर्ने भएकाले पनि तिहार मलाई सांगीतिक पर्व लाग्छ। यति बेलाको मौसम रमाइलो र घमाइलो हुने भएकाले म यो पर्व विशेष रूपले मनाउँछु। लक्ष्मीपूजाका दिन साँझ लक्ष्मीको पूजा गरेपछि भोलीपल्ट तास खेल्दै र देउसी भैलोलाई स्वागत गर्दै दिन बित्छ, तर मेरा लागि महत्त्वपूर्ण भने भाइटीका हुने गरेको छ। भाइटीकाका लागि सेलरोटी बनाउने, मिठाईहरू किन्ने, मखमलीको मालाको व्यवस्था गर्ने, मसला खरिद गर्ने जस्ता काममा म निकै रमाउँछु। मेरो भाइटीका पाँच वर्षदेखि खल्लो भैरहेको छ। मेरो सहोदर भाइ प्रनित पाँच वर्षदेखि अमेरिकामा छ। त्यो बेलादेखि हरेक तिहारमा म भाई प्रनितलाई मिस गर्छु। विगतमा हामी टीका लगाउँदा निकै रमाइलो गथ्र्यौं। ऊ जन्मिएपछि मैले टीका लगाइदिने भाइ पाएकोमा म निकै खुसी भएको थिएँ। हरेक वर्ष उसलाई टीका लगाइदिँदा म ऊजस्तो प्यारो भाई पाएकोमा गर्व गर्थें। यो वर्ष पनि तिहारमा उसलाई टीका लगाउन नपाउने भएँ। भविष्यमा कुनै तिहारमा फेरि ऊसँग भाइटीका लगाउन पाइहालिन्छ नि भनेर म आफ्नो चित्त बुझाउँछु।

मेरो सहोदर भाइ यहाँ नभए पनि गत वर्षदेखि मैले छायाँकार हरि हुमागाईंलाई दाइ मानेर टीका लगाइदिँदै आएकी छु। ‘कलिउड’को छायांकनताका हरि दाइले गरेको केयरबाट प्रभावित भएर उहाँमा मैले आफ्नो दाइ देखेँ। यो वर्षदेखि सनम बस्नेतलाई पनि भाइटीका लगाइदिँदैछु। उनीहरू दुवै मेरो सहोदर दाजुभाइ नभए पनि जन्मको नाताभन्दा कम छैनन्। त्यसैले प्रनित यहाँ नभए पनि मेरो तिहार त्यति खल्लो चाहिँ हुँदैन।

झिलीमिली

सुरजसिंह ठकुरी (अभिनेता/कार्यक्रम सञ्चालक)

तिहार भन्नेबित्तीकै म पटाकाको आवाज र झिरझिरे सम्झन्छु। सरकारले पटाका पड्काउन वर्जित गरेकाले बिस्तारै अहिले त्यसप्रतिको लगाव घट्दै गएको छ। तिहारको प्रतिबिम्बका रूपमा रंगोली, सेलरोटी र लंगुरबुर्जाको पनि सम्झना आउँछ। विशेषगरी कंक्रिटको जंगल बन्दै गएको सहरिया जीवनमा वर्षको एकपटक लक्ष्मीको पाइला बनाउन प्रयोग गरिने गोबर र रातो माटोको बास्ना पनि मलाई मनपर्छ। तिहारका बेला घर नै छोप्ने गरी बालिने लहरे बत्तीको झिलीमिलीेले मेरो मनलाई आनन्दित तुल्याइरहेको हुन्छ।

इलेक्टि्रसियनले भाडामा ल्याएर लक्ष्मीपूजादेखि भाइटीकाको रातसम्म बालिदिने लहरे बत्तीले घरमा उत्सव आएको अभास दिन्छ। घरको अन्तरकुन्तर सरसफाई गरिसकेपछि बत्ती बालेर झिलिमिली पारिसकेपछि आफ्नो घर निकै राम्रो लाग्छ। मलाई आर्टिफिसियल बत्तीहरूभन्दा दियोमा तेल हालेर बालिने बत्तीको लहर अझ सुन्दर लाग्छ। म घरमा यी दुवै थरीका बत्ती बाल्छु। लक्ष्मीपूजाको राति ९-१० बजे श्रीमती र छोरीलाई लिएर काठमाडौंको झिलिमिली हेर्न निस्कन्छु। लक्ष्मी पूजाको राति कार ड्राइभ गर्दै झिलीमिलीसहर हेर्नुको मज्जा बेग्लै हुन्छ। लोडसेडिङले सताएको देशको राजधानी त्यो रात जेनरेटर र इन्भर्टरबाट बिजुली सापट लिएर पनि दुलही जसरी सिंगारिएको हुन्छ। हरेक वर्ष यो झिलिमिली हेर्दा लाग्छ, जलस्रोतमा धनी भनिएको देशका जनताले जेनरेटरबाट जेनरेट भएको बत्ती बालेर देश हाँक्ने जिम्मेवारी पाएका विभिन्न राजनैतिक दलका नेताहरूलाई व्यंग्य गरिरहेका छन्। मलाई यसपटक काठमाडौंको झिलिमिली हेर्न परिवारसहित पूरै उपत्यका देखिने कुनै अग्लो स्थानमा जान मन छ। म भ्याएसम्म हात्तिबन रिसोर्ट नत्र स्वयम्भूको डाँडाबाट भए पनि काठमाडौंको झिलिमिली नियाल्ने विचारमा छु।

देउसी भैलो

सीताराम पोखरेल (नायक)

संगीतकर्मी भएकाले संगीतमय पर्व तिहारलाई म आफ्नै ढंगबाट व्याख्या गर्छु। मलाई संगीतकर्ममा उत्प्रेरणा यही पर्वका कारण पनि मिलेको हो। मेरो घर विराटनगरको तीनपैनीमा छ। सानोछँदा टोलका साथीभाइहरू बटुलेर हामी देउसीभैलो खेल्न जान्थ्यौं। कोही साथी खैजडी, कोही मादल बजाउँथे भने बाँकी नाचेर, गाएर साथ दिन्थे। म चाँही भट्टयाउन खप्पिस भएकाले म अगाडि बढेर भट्टयाउँथे। विशेष गरी हामी बजारतिर मारवाडीहरूको पसल तथा घरमा देउसी खेल्थ्यौं। उनीहरू हामी स-साना देउसी समूहलाई सहृदय स्वागत गर्थे। पैसा पनि अरूको दाँजोमा राम्रै दिन्थे। सानोमा देउसी-भैलोबाट बटुलेको पैसा एक आपसमा बाँडि्न्थ्यो। म आफ्नो भागमा आएको पैसा साथीहरूसँग फिल्म हेरेर, पटाका किनेर तथा मिठा-मिठा खानेकुरा खाएर सक्थेँ।

०३३ ताका एसएलसीपछि मलगायत भूपेन्द्र रायमाझी, हरिश माथेमा, विरोज लामिछाने, दीपक क्षेत्री, मोहन शर्माहरू मिलेर एउटा सांगीतिक समूह गठन गर्‍यौं। ‘द टिरोज ब्यान्ड’ नामकरण गरिएको उक्त समूहले देउसी भैलोमा विभिन्न उद्योगपति, नेता, व्यापारी आदिको घरमा चिठी पठाएर देउसी खेल्थ्यौं। देउसीबापत राम्रै रकम संकलन हुन्थ्यो। हामी उक्त रकमले समूहका लागि आवश्यक इन्स्ट्रुमेन्ट खरिद गथ्र्यौं। एक प्रकारले विराटनगरतिर हुने विभिन्न सांगीतिक कार्यक्रमहरूका अतिरिक्त हरेक वर्ष देउसीबाट प्राप्त हुने रकमले हाम्रो सांगीतिक समूहको चलेको थियो। सानैदेखि देउसीमै गाउँदा-गाउँदै म कतिबेला गायक भैसकेछु, थाहै भएन। देउसीको पूर्वाभ्यासदेखि घर-घरमा भट्टयाउने र गाउने क्रममा गायनको चस्का बसिसकेको रहेछ।

अहिले म काठमाडौं बस्छु, तर भ्याएसम्म हरेक तिहारमा विराटनगर जान खोज्छु। तिहारका बेला विराटनगर सहरमा हुने रौनकले मलाई सधैं तानिरहन्छ। बालबालिका तथा ठूलाहरूको देउसी-भैलो समूह देख्दा म आफ्नो पुरानो दिन सम्झन्छु र उनीहरूसँग रमाइलो गर्छु।

लक्ष्मीपूजा

नम्रता श्रेष्ठ (नायिका)

तिहारको कल्पना गर्दा नै सर्वत्र झिलीमिली बत्तीहरू बलेको रमाइलो लक्ष्मीपूजाको रातको सम्झना आउँछ। झिलीमिली बत्ती तथा देउसी-भैलोको संगीतले निकै रमाइलो हुन्छ लक्ष्मीपूजाको रात। सानैमा धरानबाट काठमाडौं आएर यतै नर्सरीमा भर्ना भएकी मलाई काठमाडौंमा मनाइने तिहारको चलन पनि थाहा छ। सानोमा गोबर र रातो माटोले सानो बाटो बनाएर घरको लक्ष्मीपूजा गर्ने स्थानसम्म पुर्‍याइसकेपछि चामलको पीठो र मैदा मिसाएर बनाइएको लेदोले त्यसमाथि लक्ष्मीका पाइला बनाउन मलाई निकै उत्साह जाग्छ। घर सरसफाइ गर्ने, ढोकाहरूमा माला झुन्डयाउने, दियो र बत्तीहरू बाल्ने काम घरका अरू सदस्यले गर्नुहुन्छ। लक्ष्मीको पाइला बनाउने कामचाहिँ मेरा लागि छुट्याइन्छ। सानोमा म चिटिक्क परेको लक्ष्मीको पाइला बनाउँथें, अहिले त्यतिबेलाको जस्तो हुँदैन। मेरी दिदीकी छोरीले केही वर्षअघिको लक्ष्मीपूजामा मैले लक्ष्मी पाइला बनाइरहेको देखेर ‘किन त्यति मेहनत गर्नुपर्‍यो, भाइको खुट्टाको स्ट्याम्प बनाए हुन्न ?’ भनेको अहिलेसम्म सम्झन्छु। मलाई सबैतिर झिलीमिली भएपछि देउसी-भैलो खेल्न आएको हेर्न रमाइलो लाग्छ, तर सुरक्षाको बहानामा राति खेलिने परम्परामा प्रशासनले पनि रोक लगाएको छ। त्योचाहिँ मलाई त्यति मन परेको छैन।

लक्ष्मीपूजा गर्न हामी परिवारका सबै सदस्य एक ठाउँमा भेला हुन्छौं। ममीले पूजा गरेपछि लक्ष्मीको भजन गाउनुहुन्छ र प्रसाद बाँड्नुहुन्छ। घर-परिवारका सबै भेला भैसकेपछि यसै पनि रमाइलो त हुने नै भयो। घरको लक्ष्मीपूजा सकिएपछि मेरो पार्टनरसिप रहेको रेस्टुराँ एटिक पुग्छु। मसँग प्रायः दिदी जानुहुन्छ र कहिलेकाहीं परिवारका अन्य सदस्यहरू पनि। एटिकमा मेरा साथीहरूले लक्ष्मीको पाइला बनाइसकेका हुन्छन्, तर कहिल्यै मिलेको हुँदैन। म त त्यो देखेरै हाँस्न थाल्छु। एटिकमा हामी सबै भेला भएर कुनामा बनाइएको पूजा थानमा लक्ष्मीको पूजा तथा आरती गर्छौं। रेस्टुराँ त्यो रातका लागि बन्द भए पनि हामी स्टाफहरूसँग मिलेर तिहारको रमझममा रमाउँछौं। स्टाफहरू भैलो खेल्छन्। उनीहरूलाई हामी नाङ्लोमा पैसा, चामल, सेल, फलफूल, मिठाई आदि राखेर दिन्छौं र उनीहरूसँगै नाच्दै-गाउँदै रमाइलो गर्छौं। रमाइलो पर्वलाई रमाइलो ढंगले मनाए त्यसै रमाइलो हुन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s