स्वर्ग कतै छ भने नेपालमा छ

स्वर्ग कतै छ भने नेपालमा छ

 

दक्षिण कोरियाका पर्वतारोही अम होङ गिल संसारका ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो व्यक्ति हुन्। सन १९८५ देखि आरोहण यात्रा सुरु गरेर २००७ मा लक्ष्य पूरा गरेका गीललाई ‘ट्यांक अफ द हिमालयज’ उपनामले पनि चिनिन्छ। कोरियाली सञ्चारमाध्यमहरूमा नेपालको प्रकृति, संस्कृति एवं जैविक विविधताको प्रचार-प्रसारमा अहम भूमिका खेल्दै आएकाले नेपाल भित्रिने कोरियाली पर्यटकको संख्या वृद्धिमा उनको योगदान महत्व मानिन्छ। बिगत २८ वर्षदेखि नेपाल यात्रा गरिरहेका गिलले नेपाललाई दोस्रो जन्मभूमि मान्दै आएका छन्। नागरिकस्तरमा नेपाल र कोरियाको सम्बन्ध विकासमा समेत उनको उल्लेखनीय भूमिका छ। ‘ब्लु हाउस’ -कोरियाको राष्ट्रपति कार्यालय) सँग राम्रो सम्बन्ध भएका गिल २०१० देखि नेपालमा १६ वटा विद्यालय स्थापना गर्ने अभियानमा छन्। गीलसँग साप्ताहिकका कोरिया प्रतिनिधि देवेन्द्र सम्बाहाम्फेले सियोलमा गरेको कुराकानीको सारसंक्षेप ः

तपाईंको बाल्यकाल कसरी बित्यो ?

मेरो जन्म १९६० सेप्टेम्बर १४ मा ख्यङसाङ नाम्दो कोसङमा भए पनि म तीन वर्षको हुँदा आमाबुबा ख्यांगिदो वाइजङबो वन्दोङ पहाडमा बसाइँ सर्नुभयो। त्यसैले मेरो बाल्यकाल त्यही पहाडको फेदीमा बित्यो। घरको आर्थिक स्थिति कमजोर भएकाले आमाबुबाले त्यहाँबाट पहाड चढ्नेहरूका लागि आवश्यक सामग्री बेच्ने सानो स्टोर सञ्चालन गर्नुभएको थियो। मैले त्यही गाउँको विद्यालयबाट माध्यमिक स्तरको पढाइ सकेको थिएँ। गाउँ दुर्गम र आर्थिक स्थिति नाजुक भएकाले मेरो बाल्यकाल दुःखमै बित्यो।

हिमाल चढ्ने प्रेरणा कसरी पाउनुभयो ?

वन्दोङ पहाड कोरियाकै नाम चलेको पहाड भएकाले हप्ताको अन्त्यमा त्यहाँ विभिन्न ठाउँका मानिस रक क्लाइम्बिङ गर्न आउँथे। उनीहरूको काम मलाई रमाइलो लाग्थ्यो। त्यसैले निम्न माध्यमिक तह अध्ययनरत रहँदै म पनि रक क्लाइम्बिङ सिक्न थालेँ। त्यसैको प्रभावले पछि हिमाल चढ्ने प्रेरणा मिल्यो।

सगरमाथा आरोहण यात्रा कसरी सुरु भयो ?

सन् १९७५ सेप्टेम्बर १५ को दिन कोसाङ दोन पहिलो कोरियाली नागरिकका रूपमा सगरमाथाको शिखरमा पुगेका थिए। त्यो दृश्य मैले टेलिभिजनमा हेरेको थिएँ। सगरमाथाको नाम पनि त्यही दिन सुनेको थिएँ। त्यो दृश्य देखेर संसारमा यति सुन्दर हिमाल पनि रहेछ भन्ने लाग्यो र त्यही दिन मैले सगरमाथा आरोहण गर्ने अठोट गरें। त्यसपछि प्रशिक्षण लिएर पहिलो पटक १९८५ को हिउँदयाममा प्रयास गरें तर असफल भएँ। त्यसको ठीक एक वर्षपछि दोस्रो पटक प्रयास गरें। त्यतिबेला पनि मलाई असफलता मात्र हात लागेन, सहयोगी दोर्जे शेर्पाको डोरी चुँडिएर दुर्घटनामा परी निधन भयो। उहाँको लास अझै फेला परेको छैन। आफ्नै आँखाअगाडि साथी गुमाएपछि म मानसिक रूपमा विक्षप्ित भएँ। आरोहण यात्रा नै त्यागौं कि जस्तो लागेको थियो, तर पनि लक्ष्यबाट भाग्नु हुँदैन भन्ने लाग्यो। त्यसैले तेस्रो पटक १९८८ को शरद याममा पुनः आरोहण प्रयास गरें र सफलता हासिल गरें।

सगरमाथाको शिखरमा पुगेको क्षण कस्तो अनुभूति भयो ?

ओहो ..त्यो क्षणको खुसी म शब्दमा व्यक्त गर्न सक्दिनँ, सार्‍है गौरव लाग्यो। चुचुरोलाई पटक-पटक चुमे।

संसारका १६ वटा अग्ला शिखर चढ्ने योजना कहिले, कसरी बन्यो त ?

तीन पटक सगरमाथा आरोहण गर्दा साथी गुमाएँ भने धेरै मानसिक कष्ट पनि भयो, तर म जहिल्यै हिमाल चढ्ने मौका पर्खेर बस्ने भएकाले १९९३ मा चोयु र सिस्याफाङमाको सफल आरोहण गरें। यहाँसम्म आइपुग्दा १४ वटा अग्ला हिमाल चढ्नुपर्छ भन्ने अवधारणा विकास भएको थिएन। सन् १९९५ मा स्पेनिस साथीसँग मकालु आरोहण गरेर र्फकने क्रममा १४ वटा हिमाल चढ्ने योजना बन्यो। त्यो लक्ष्य मैले २००० मा पूरा गरें। २००४ मा यालुङकाङ र २००७ मा लोत्सेस्यारोको सफल आरोहण गरेर संसारका १६ वटा अग्ला हिमाल चढ्ने संसारको पहिलो व्यक्ति बन्न सफल भएँ।

प्राण नै बाजीमा राखेर हिमाल अरोहणमा निस्कँदा परिवारले के भन्थ्यो ?

हिमाल आरोहण गर्नु वास्तवमै जोखिमपूर्ण काम हो। त्यसैले परिवारलाई चिन्ता हुनु स्वाभाविक हो, तर पनि मेरो मन मस्तिष्कमा नेपाली हिमालहरूको प्रगाढ छाप परेकाले मेरा आँखाले हिउँका दृश्यबाहेक अरू केही देख्दैनथे। मेरो सपना, मेरो लक्ष्य नै हिमालहरूमा भएकाले म कसैको कुरा सुन्ने पक्षमा थिइनँ। यो कुरा बुझेर पनि परिवारले अवरोध गरेन।

हिमाल आरोहणको २२ वर्षे करियरमा थुप्रै साथी पनि गुमाउनुभयो नि ?

मेरो हिमाल आरोहण यात्रा १९८५ सुरु भएर २००७ मा रोकिएको छ। त्यो २२ वर्षे अवधिमा ८ हजार मिटरभन्दा उचाइका हिमालको आरोहण प्रयास ३८ पटक गरेको थिएँ, तर २० पटक मात्र सफलता हासिल गरें। सगरमाथा शिखरमा मात्र तीन पटक पुगेँ। मैले आफ्नो लक्ष पूरा गरे पनि यो अवधिमा १० जना सहयात्री गुमाएँ। तीमध्ये ४ जना शेर्पा तथा ६ जना कोरियाली छन्। आफ्नो आँखाअघि नै साथी दुर्घटनामा पर्दा सार्‍है मर्माहत हुन्थे। त्यो क्षण कसैले चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था हुन्थ्यो। मसँग ती घटनाहरूको व्याख्या गर्ने शब्द नै छैनन्। एक प्रकारले हेर्ने हो भने म यसरी जीवित नहुनुपर्ने मानिस हुँ। धेरै साथी एवं शुभ चिन्तकहरूले पनि म बाँच्नुलाई आश्चर्य मानेका छन्। त्यति जोखिम हुँदाहुँदै पनि आफू बाँच्नुलाई मैले हिमालयको देन र पे्रम सम्झिएको छु।

३८ पटकसम्म प्रयास गर्नुभयो, सबैभन्दा गार्‍हो कुन हिमाल लाग्यो ?

हिमाल आरोहण सजिलो वा कठिन हुने भन्ने कुरा त्यतिबेलाको मौसमले निर्धारण गर्छ। सजिलो हिमाल पनि मौसमले गर्दा कठिन र कठिन मानिएको हिमाल पनि मौसमले गर्दा सहज हुन्छ। यति हुँदाहुँदै पनि अन्नपूर्ण आरोहण गर्न धेरै गाह्रो भयो। त्यसमा धेरै पटक असफल पनि भएँ। त्यसैमा धेरै दुर्घटना र जोखिम पनि भोगें। मेरो आँसु पनि त्यसमै धेरै झर्‍यो।

कोरियाली सञ्चारमाध्यमहरूमा नेपाललाई दोस्रो जन्मभूमि भन्नुभएको छ नि ?

म कोरियामा जन्मिए पनि मेरो जीवनको महत्वपूर्ण समय नेपालमै बित्यो। मेरो आधा जीवन नेपालकै पाखापखेरा र घामछायाँमा बितेको छ। अर्कातिर नेपालका हिमश्रृंखलाहरूले नै मलाई संसारमा चिनाए। अहिले पनि यो उकुसमुकुस सहरिया जीवन छोडेर नेपालको हिमाली क्षेत्रमा हिउँ खेल्दै, हिउँ हेर्दै बस्न मन लाग्छ। त्यसैले मैले गर्वका साथ भन्दै आएको छु- नेपाल मेरो दोस्रो जन्मभूमि हो, दोस्रो देश हो, दोस्रो घर हो।

गलामा लगाएको यो माला नि ?

यसलाई जी माला भन्छन्। यो मेरो जीवन रक्षा गर्ने कवच हो। यो माला मैले नेपालको मनास्लु क्षेत्रमा पाएको हुँ। यसका दुईवटा आँखालाई भगवान् बुद्धको आँखा मानिन्छ। यसले मलाई कुनै पनि मानिसले दिन नसक्ने शक्ति र सुरक्षा दिइरहेको छ।

नेपालको विकास कसरी सम्भव होला ?

हामी सबैलाई थाहा भएको कुरा के हो भने कुनै पनि देश विकसित र समृद्ध हुन त्यस देशको राजनीतिमा भर पर्छ। दलका नेता एवं कार्यकर्तामा देश र जनताप्रति प्रेम हुनु आवश्यक छ। व्यक्तिगत लाभका लागि गरिएको राजनीतिले समाज र देशको उत्थान गर्न सक्दैन। नेपालमा लामो समयदेखि राजनैतिक अस्थिरता छ। यो नेपाल र नेपालीका लागि निकै हानिकारक छ। देश सुधार्ने सन्दर्भमा ‘स्ट्रङ लिडरसिप’ पनि आवश्यक हुन्छ। दक्षण्िा कोरियामा पनि पार्क जुङ हीजस्ता ‘स्ट्रङ लिडरसिप’ भएको नेता नजन्मिएका भए आज हामी यो अवस्थासम्म आइपुग्ने थिएनौं। म नेपालको सुख र समृद्धि चाहने मानिस भएकाले नेपालमा ‘स्ट्रङ लिडरसिप’को आवश्यकता देखेको छु।

नेपालमा विद्यालय बनाइरहनुभएको छ। यो कसरी तर्जुमा भएको योजना हो ?

संसारका सबैभन्दा अग्ला १६ वटा हिमाल सफलतापूर्वक आरोहण गरेको अर्थमा मैले नेपालका दुर्गम क्षेत्रमा १६ वटा प्राथमिक विद्यालय निर्माण गर्ने योजना बनाएको हुँ। वास्तवमा नेपाली हिमालहरूकै कारण मैले विश्वकीर्तिमान कायम गर्न पाएको हुँ। त्यसैले मेरो सफलताको श्रेय नेपाली हिमाललाई दिने गरेको छु। हिमाल आरोहण गर्न थालेदेखि नै सफलता पाए नेपालका लागि केही गरिदिन्छु भनेर ती हिमालहरूसँग वाचा गरेको थिएँ। त्यही वाचा पूरा गर्न यो अभियान सञ्चालन गरिरहेको छु। यो अभियानलाई मैले हिमाल चढ्नुजत्तिकै चुनौतीका रूपमा लिएको छु। यसका लागि २००८ को मे २८ मा अम होङ गील ह्युमेन फाउन्डेसन स्थापना गरेको छु। उक्त फाउन्डेसनमार्फत नै सबै काम भैरहेको छ।

नेपाललाई अरू हिसाबले पनि त सहयोग गर्न सक्नुहुन्थ्यो नि ? किन विद्यालय नै स्थापना गर्ने अभियान चलाउनुभयो ?

हो, मैले नेपाललाई अरु भौतिक विकासका पूर्वाधार निर्माण गरिदिएर पनि सहयोग गर्न सक्थें, तर विद्यालय स्थापना गर्नुका दुईवटा कारण छन्। मैले नेपालमा विभिन्न दुर्गम क्षेत्रहरूको यात्रा गर्ने मौका पाएँ। ती क्षेत्रका धेरै बालबालिका शिक्षाबाट वञ्चित थिए। त्यसैले ती नानीहरूलाई राम्रो र स्तरीय शिक्षा दिनु मेरो लक्ष्य हो। राम्रो शिक्षा दिएर नेपालमा असल नागरिक, कर्मचारी, कार्यकर्ता र नेता जन्मन सकून् भन्ने मेरो चाहना छ।

यो योजना कहिले पूरा होला ?

२०१० मा पहिलो विद्यालय सोलुखुम्बुको पाङबोचेमा स्थापना गरेका थियौं। हालसम्म चारवटा विद्यालय स्थापना गरिसकेका छौं। त्यस्तै पाँचौं, छैटौं विद्यालयको निर्माणकार्य २०१४ को मार्चमा पूरा गर्ने योजना छ। छैटौं विद्यालय राष्ट्रपति रामवरण यादवको गाउँमा निर्माण भैरहेको छ। सातौं र आठौं विद्यालयको क्षेत्र पनि छनौट भैसकेकाले यसै वर्षदेखि निर्माण सुरु गर्नेछौं। यही क्रमले आगामी पाँचदेखि आठ वर्षभित्रमा १६ वटा विद्यालय स्थापना गरिसक्ने योजना छ।

यसरी लामो समय लाग्नुको पनि कारण छ। हामीले निर्माण गरेका विद्यालयहरू एनजीओ- आइएनजीओहरूले निर्माण गरिदिएका भन्दा फरक हुन्छन्। हामीले भवन निर्माण गर्दा उक्त क्षेत्रको तापक्रम, भू-बनोट तथा मौसमलाई आधार मानेर त्यसको डिजाइन गर्ने गरेका छौं। त्यसैले प्रत्येक विद्यालय भवनको बनोट फरक-फरक हुने गरेको छ। त्यस्तै भवनमा प्रयोग हुने सामानमा पनि ध्यान दिएका छौंं। त्यति मात्र नभएर विद्यालयमा पुस्तकालय, कम्प्युटर, खेल मैदानको समेत व्यवस्था गरेका छौं। त्यसपछि पनि लगातार हेरचाह गर्ने, निगरानी गर्ने गरेका छौं। भौतिक संरचनाहरू बिग्रिए-भत्किए पुनर्निर्माण गरेका छौं। अर्को कुरा, जुन-जुन क्षेत्रमा विद्यालय स्थापना गरेका छौं, ती क्षेत्रमा कोरियाबाटै चिकित्सक एवं औषधि लगेर हेल्थ क्याम्प पनि सञ्चालन गरेका छौं।

विद्यालय स्थापना गर्ने क्षेत्रको छनौटचाहिँ कसरी गर्नुहुन्छ ?

यही अभियानका लागि काठमाडांैमा अम होङ गील ह्युमन फाउन्डेसनको शाखा स्थापना गरेका छौं। त्यहाँ हाम्रा निर्देशक हुनुहुन्छ। विभिन्न जिल्ला र गाउँबाट आएको मागलाई हेरेर उहाँले ती ठाउँको प्रत्यक्ष अवलोकन गर्नुहुन्छ। साँच्चै आवश्यक भएको ठहर भएपछि उक्त क्षेत्रमा विद्यालय स्थापना गर्छौं। छनौटमा परेको क्षेत्रका जनताले जग्गा उपलब्ध गराउनुका साथै अप्राविधिक काममा सघाउनु पर्ने हाम्रो सर्त छ।

नेपालका लागि यति मरिहत्ते गर्नुहुन्छ, नेपाल सरकारले चाहिँ तपाईलाई के दिएको छ ?

नेपाल सरकारबाट मैले केही पाएको छैन। दिन्छन् वा पाइन्छ भन्ने आशाले मैले यो काम गरेको पनि होइन।

तपाई ‘ब्लु हाउस’ सँग पनि नजिक हुनुहुन्छ। उसले नेपाललाई कसरी हेरेको पाउनुभयो ?

कोरियाली राष्ट्रपतिहरूसँग मेरो राम्रै सम्बन्ध छ। पूर्व राष्ट्रपति ली म्यङ वाकसँग देश-विदेशको पदयात्रा पनि गरेको थिएँ। उहाँहरूले विशेष गरेर लुम्बिनीको विकासमा चासो राख्नुभएको पाएको छु। समग्रमा विकासोन्मुख राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ भन्ने धारणा छ, उहाँहरूको। त्यसैअनुरूप गत वर्षदेखि कोइकाले दिने आर्थिक सहयोगमा पनि वृद्धि गरिएको छ। दुई देशबीचको सम्बन्ध नजिक हुन सके नेपाललाई नै फाइदा हुन्छ भन्ने मेरो ठहर छ।

नेपाली जनता र सरकारलाई के भन्न चाहनुहुन्छ ?

नेपाल प्राकृतिक, सांस्कृतिक एवं जैविक विविधता सम्पन्न देश भएकाले मेरो दृष्टिमा स्वर्ग कतै छ भने त्यो नेपालमा छ। यस्ता अमूल्य सम्पदाहरू जोगाउनु नेपाली जनता र सरकारको कर्तव्य हो। नेपाली जनता सुखी र समृद्ध हुन् भन्ने मेरो उत्कट चाहना छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s