तिहार

गुलियो मीठो महँगो

 

२०७० को तिहारमा धनकी देवी लक्ष्मीलाई घर प्रवेश गराउने चाँजोपाँजो मिलाउँदाको यो समयमा सरसामान अझ महँगो भएको स्थिति छ। अहिले कुनै सामान खरिद गर्न थौरै धनले नपुग्ने भैसक्यो। रुपैयाँको मूल्य घटेको घट्यै छ, वस्तुको मूल्य बढेको बढ्यै छ। यस अर्थमा लक्ष्मीको मूल्य घटिरहेको छ। महँगो कार, महँगो घर, महँगो खानपिन, महँगो मोबाइलसँगै तिहारमा विशेष रूपले खाइने मिठाईको मूल्य पनि बढ्नु स्वाभाविक हो।

तिहारलाई फूल, झिलिमिली, देउसी-भैलोका साथै मिष्ठान्न परिकारहरूको पर्वका रूपमा पनि लिइन्छ। तिहारका बेला घर-घरमा बनाइने सेलरोटी, फिनीजस्ता मिठाई पसलहरूबाट किनेर खाने र ख्वाउने चलन छ। मारवाडी तथा अन्य केही समुदायमा आफन्त तथा साथीभाइहरूलाई मिठाई उपहारस्वरूप पठाएर शुभकामना दिने चलन पनि छ। महँगो बजारले मिठाई बनाउन प्रयोग हुने सामग्रीहरूको मूल्यले आकाश छोए पनि मिठाई ख्वाउने वा उपहार दिने प्रचलनमा कमी भने आएको छैन। भर्खरै सिभिल मलनजिकै सञ्चालनमा आएको, भारतमा सय वर्ष लामो इतिहास बोकेको मिठाई पसल गुलाब स्विट्सका शाखा सञ्चालक गौरव जजोडिया भन्छन्-‘नेपालमा मिठाईका पारखी धेरै छन् भन्ने थाहा पाएरै हामीले गुलाब स्विट्सको शाखा यहाँ सञ्चालन गरेका हौं। अहिले तिहारमा मिठाईको अर्डर यति आएको छ कि हाम्रा स्टाफ तथा सेफहरू दिनरात खटिरहेका छन्। मिठाई महँगो भैदिए यति अर्डर आउने नै थिएन होला नि।’

झापाको दमकबाट सुरु भएर काठमाडौंको कमलादी र नयाँ बानेश्वरमा सञ्चालन भैरहेको संगम स्विट्सका समीर दाहाल पनि अरू बेलाभन्दा तिहारमा मिठाईको माग बढी हुने बताउँछन्। दसैंमा मासुको माग अत्यधिक भएजस्तै तिहारमा मिठाईको बिक्री निकै बढ्छ। त्यसमाथि लक्ष्मीपूजा र भाइटीकामा त मिठाई नभै हुँदैन, त्यसैले पनि मिठाई खरिद गर्नेहरूको लाम उपत्यकामा रहेका मिठाई पसलहरूमा टन्नै देखिन्छ।

किलोको ३० हजार

भारतको लखनउ सहरस्थित एक मिठाई विक्रेता छप्पन भोगले दुई वर्षअघिको तिहारमा बनाएको विशेष मिठाईमा खर्च यति लाग्यो कि त्यो मिठाई प्रतिकिलो ३० हजार भारतीय रुपैयाँमा बिक्री भएको थियो। महँगो भए पनि तिहारकै लागि बनाइएको उक्त मिठाईको बिक्री राम्रै भएको भारतीय समाचार च्यानल एनडी टिभीले आफ्नो समाचारमा देखाएको थियो। ‘एक्सपेन्सिभ मिठाई’ लेखेर गुगलमा खोजियो भने एनडी टिभीको उक्त रिपोर्ट हेर्न पाइन्छ। केसर, सुनको तपक, ड्राइफ्रुटस् आदि मिसाएर बनाइएको उक्त मिठाई जत्तिको महँगो मिठाई अहिलेसम्म भारतीय बजारमा पाइएको छैन।

नवाबहरूको सहर लखनउको छप्पनभोगको जत्तिको महँगो मिठाई काठमाडौं सहरमा भने पाइँदैन। एक प्रकारले काठमाडौंमा रहेका स्तरीय मिठाई पसलमा समेत धेरैमा प्रतिगोटा ४० रुपैयाँ र प्रतिकिलो २ हजार ५ सय रुपैयाँसम्म पर्ने मिठाई पाइन्छन्। सामान्य मिठाई पसलहरूमा साढे ४ सयदेखि १ हजार २ सय रुपैयाँ किलोसम्ममा मिठाई पाइन्छ। मधुमेहका कारण गुलियो खानै नहुनेहरूका लागि समेत मिठाई व्यापारीहरूले ‘सुगर फ्री’ मिठाई बनाउने गरेका छन्।

तिहारमा झिलीमिली बत्ती

 

रङ्गीन तथा उज्यालो पर्व तिहार नजिकिँदै जाँदा सहर बजार रङ्गीन हुन थालिसकेका छन्। उत्साह र उमंगको पर्व भएकाले तिहारलाई उज्यालो पर्वका रूपमा पनि मनाइन्छ। यतिबेला ठूला व्यापारिक कम्प्लेक्स, मल तथा पसलहरूमा तिहारको उज्यालो देखिन थालेको छ। रङ्गीविरङ्गी फूल तथा झिलीमिली बत्तीले तिहार भित्रिएको अनुभूति दिलाइरहेका छन्। काठमाडौंका भित्री बजारहरूमा झिलीमिली बत्ती तथा प्लास्टिकका फूलको व्यापार पनि उसैगरी चम्किएको छ।

अहिले सबै जना धनकी देवी लक्ष्मीलाई खुुसी पार्न र आफ्नो घरलाई उज्यालो बनाउन झिलीमिली बत्तीको किनमेलका लागि पसलहरूमा झुम्मिएका छन्। यस्ता बत्ती चीनको ग्वान्जाओ, यूउ आदि सहरबाट खासा हुँदै नेपाली बजारमा भित्रिने व्यवसायीहरू बताउँछन्। बजारमा साना-ठूला गरी करिब एकसय थरीका बत्ती उपलब्ध छन्।

पहिले-पहिले केराको दाम्चा, क्यामुनाको पातको खोरी, सिरुको बाती साथै कपासको सलेदो बनाएर माटाको पालामा दियो बालेर तिहार मनाइए पनि हिजोआज प्रविधिले तिहार मनाउने शैली बदलिएको छ। आकर्षक एवं सस्ता चिनियाँ फेस्टिभल लाइटले नेपाली बजारमा राम्रो पकड जमाउँदै लगेका छन्। राजधानीको महाबौद्धस्थित तलेजु आर्केड, प्रधान आर्केड आदि व्यापारिक भवनमा रहेका अधिकृत विक्रेताहरूले देशभरका बजारहरूमा झिलीमिली बत्ती पुर्‍याउने काम गरिरहेका छन्। प्रधान आर्केडका विनोदकुमार अग्रवाल भन्छन्— हामीले भित्र्याएका बत्तीहरू देशभरका बजारमा पुर्‍याइरहेका छौं तर यो वर्ष बत्तीको मूल्य ३० प्रतिशतसम्म बढेकाले व्यापार उत्साहजनक छैन। यो वर्ष २५ करोड रुपैयाँसम्मको कारोबार हुने व्यवसायीहरूको अनुमान छ।

कस्ता छन् तिहारका बत्ती

नेपालमा बर्सेनि फरक-फरक डिजाइनका बत्ती भित्रिने गरेका छन्। ५० रुपैयाँ पर्ने लहरे लाइटदेखि लेजर लाइट अर्थात फ्रायल बलसम्मका लाइटहरू तिहारका लागि उपलब्ध छन्, तर तिहारमा दियोलाइट, रोपलाइट, नेटलाइट, फ्रुटलाइट, एलइडी लाइटहरू धेरैको रोजाइमा पर्छन्। महाबौद्धस्थित तलेजु आर्केडका अरुण गुप्ताका अनुसार सस्तो मूल्यका पाइट लाइट, झुप्पा लाइट, लहरे लाइट मात्र नभै डिस्को लाइट तथा रूखलाइट पनि ग्राहकको रोजाइमा पर्छन्। सामान्यतः सस्तोमा २५ देखि १ सय रुपैयाँसम्मका र महँगोमा ८ हजारसम्मका लाइट बजारमा उपलब्ध छन्। देवीदेवताका तस्बिरसहितको फ्रेम पनि विभिन्न डिजाइनमा उपलब्ध छन्।

रोजाइमा प्लास्टिकको फुल

घर सजाउन जति प्राकृतिक फूलको महत्त्व छ त्यति नै प्लास्टिकका फूलहरूको पनि महत्व छ। तिहारमा घर सजाउने प्लास्टिकका फूल बजारमा सर्वत्र उपलब्ध छन्। तिहारको पूर्वसन्ध्यामा आकर्षक फूलको बजारले ग्राहकहरूलाई तानेको छ। काठमाडौंका ठूला व्यापारिक कम्प्लेक्सदेखि सामान्य पसलहरूमा फूलको व्यापार बढेको छ। मखमली, सयपत्री, गोदावरीका साथै अन्य फूल पनि बिक्रीमा राखिएको छ। त्यसबाहेक टोकरी फूल, लहरा फूलहरू पनि बजारमा देखिन्छन्। महाबौद्धकी व्यवसायी मनु लामा भन्छिन्-विभिन्न प्रकारका फूल आएका छन्, सबै ग्राहकको रोजाइमा पर्छन्। यस्ता फूल लहरामा दर्जनका हिसाबले बिक्री गरिन्छ। सामान्यतः फूलको मूल्य १ सय रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्म पर्छ।’

विदेशको तिहार

 

अमेरिकाको तिहार

अमेरिकाको न्युयोर्कमा बस्न थालेको नौ वर्ष बितिसक्यो। हेयर स्टाइलिस्ट मेरो पेसा हो। परदेशमा रहँदा आफ्नो देशका चाडपर्व खुब मिस हुन्छन्। अतीतका ती सुनौला पल सम्झदा मन कस्तो-कस्तो हुन्छ। बालापनमा देउसी, भैलो खेलेको, दिदी-बहिनीहरूको हातबाट टीका लगाएको घरघरी याद आइरहन्छ। अहिले तिहार नजिक आउँदा ती क्षणहरू सम्झिरहेको छु। मन एकदमै कुँढिन्छ।

हाम्रा रीतिरिवाज भावनात्मक आस्था हुन्। न्युयोर्कमा तिहारका बेला केही साथीभाइ तथा दिदी-बहिनीहरूले बोलाउने गरेका छन्। म सकेसम्म सबैको घरमा पुग्छु। यसपालिको तिहारमा पनि न्युयोर्कका साथीभाइ तथा दिदी-बहिनीले बोलाएका छन्।  तिहारको शुभकामना आदान-प्रदान गर्नेछु र दिदी बहिनीहरूवाट शुभेच्छा लिनेछु, टीका लगाउनेछु। सकेसम्म धेरैलाई भेटेर रमाइलो गर्ने विचारमा छु जहाँ रहे पनि हामी नेपाली हौं, आफ्नो परम्परालाई निरन्तरता दिन्छौं।

         – पासाङ नुरु शेर्पा, न्युयोर्क, अमेरिका

कसरी तिहार मनाउनु हजुर ? दैनिक ड्युटी जाने-आउने। त्यही त हो। छुट्टी भए पो मनाउनु ? पोहोर त देउसी-भैलो खेलेर गाउमै रमाइलो गरियो। यसपालि परदेशमा काम गरेर बित्ने भयो।

         – देव बुढाथोकी, युएई

विदेशमा रहँदा नेपालका हरेक पर्व मिस गर्छु। तिहारको त माया अझ बढी लाग्छ। दिदी-बहिनीहरूले लगाइदिएका मखमली माला, ढाकाको टोपीको खुब सम्झना आउँछ। झिलिमिली दियो, बत्तीको उज्यालो कति रमाइलो हुन्थ्यो। त्यसमाथि देउसी खेलेको सम्झना आउँछ। यहाँ तिहार मनाउने खासै योजना छैन। दिदी-बहिनी यता हुनुहुन्न।

         – सोम थापा सिंजाली, बहराइन

विदेशमा खासै तिहार मनाउन पाइँदैन। पोहोरको तिहार पनि ड्युटी गरेर मनाइयो। यसपालि पनि काम गरेरै मनाइन्छ। खासै योजना केही छैन। छुट्टी नमिलेकाले अलि खल्लो हुने भयो।

         – चित्रकुमार श्रेष्ठ, कतार

परदेशमा के दसैं- के तिहार ? नेपाली कलाकारहरू आउँदा कार्यक्रममा गएर रमाइलो गरिन्छ। अरू त्यस्तो कुनै स्पेसल हुँदैन।

         – जेबी विष्ट, कतार

के गर्नु ? परदेशीलाई न तिहार आउँछ, न दसैं आउँछ। बिहानै उठ्यो, ड्युटीमा गयो, खासै कुनै योजना छैन।

         – सन्तोष लिम्बू, दुबई

यसपालिको तिहार क्वालालम्पुरमा मनाइने भैयो। प्रवासीहरूले अरू के नै योजना बनाउन सक्छन् र ? आफ्नो घर-परिवार, आमा-बुबा, साथीसंगीको सम्झनाको कुरै नगरूँ। सम्झेर मात्र के गर्नु ? गत वर्ष नयाँ बानेश्वरको शङ्खमुलस्थित मामाघरमा बैनीको हातबाट सप्तरङ्गी टीका लगाएर तिहार मनाएको थिए। अब ती सबै कुरा सम्झनामा मात्र सिमित हुने भए।

         – युवराज बन्दी, मलेसिया

तिहारमा दिदी-बहिनी र दाजु-भाइबीचको आत्मीयता नै प्रमुख पाटो हो। तिहारको मौसम पनि मलाई मनपर्छ। चारैतिर सफा र उज्यालो हुन्छ। तिहार स्वदेशमा मनाउन नपाएको यो दोस्रो पटक हो। कामको सिलसिलामा बिदा पर्ने भएकाले नजिकको दिनमा पर्व मान्नुपर्ने हुन्छ। म कोरियाका लागि नयाँ हुँदा गत वर्ष काम गरेरै बित्यो। यसपटक साथीभाइ भेटघाटसँगै वुमन फर वुमनका दिदी-बहिनीसँग तिहार मनाउने योजना छ।

पारिवारिक सदस्यहरू धेरै भएको हाम्रो परिवारमा खुसी धेरै हुन्थ्यो। सबै जम्मा भएर टीका लगाउन नपाएको धेरै वर्ष भयो। अस्ट्रेलिया र बुटवलमा रहने दिदीहरू र बहिनीलाई यो बेला धेरै सम्झिरहेको छु। बालापनको तिहार अलि बढी नै सम्झिन्छु। बाटो हिलाम्य र रातो नभए पनि देउसीमा हिलाम्य बाटो र रातो माटो भन्दै भट्याएको खुबै सम्झना आउँछ।

         – लिलु डुम्रे, दक्षिण कोरिया

पोहोरको तिहार कोरियामा मनाइयो। नेपालबाट टाढा रहेकाले नरमाइलो लाग्यो। यसपालि पनि कोरियामै तिहार मनाउँदैछु। के गर्नु काम गर्नैपर्‍यो। सकेसम्म साथीभाइलाई जम्मा गर्ने रमाइलो गर्ने सोच छ। रेडियो सुन्ने, युट्युबमा देउसी-भैलो हेर्ने।

         – हरि भण्डारी, कोरिया

फ्रान्समा देउसी, भैलो

तिहार मलाई सबैभन्दा मन पर्ने चाड हो। बाल्यकालमा साथीसंगीहरूसँग समूह बनाएर देउसी खेल्न गएको झल्झली सम्झना आइरहन्छ। विगत चार वर्षदेखि म फ्रान्समा छु। नेपाल धेरै मिस हुन्छ। अझ अनलाइन रेडियो वा टेलिभिजन त हेर्नै मन लाग्दैन। देउसी गीत सुन्दा गीतमै हराइन्छ। तिहार सप्ताहन्त -विक-एन्ड) मा पर्‍यो भने पेरिसमा अध्ययनरत साथीसंगीहरूसँग मिलेर एकदिन भए पनि सँगै खानपिन गरिन्। अनि यसो तास पनि खेलिन्छ।

म घरको कान्छो छोरो अनि चारवटी दिदीको भाइ भएकाले सबै दिदीले धेरै मिस गर्नुहुन्छ। भाइटीकाको दिन बिहानै उठेर नुहाएर दिदीहरूलाई फोन गर्ने गरेको छु। म फोनबाटै आशीर्वाद लिन्छु। स्नातकोत्तर अध्ययनका क्रमको तिहार सबैभन्दा धेरै सम्झनामा आउँछ। हामी मिल्ने साथीहरू जुटेर त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरूको घरमा देउसी खेल्न सार्‍है मज्जा हुन्थ्यो। हामी आउछौँ भन्ने थाहा पाएपछि प्राध्यापकहरू कुरेर बस्नुहुन्थ्यो। हाम्रो देउसीमा राजनीतिलाई छेडछाड गर्दै आफ्ना गुरुहरूको गुणगान गथ्र्यौं। कतिपय अवस्थामा गुरुहरूलाई पनि छेडछाड गरिन्थ्यो। मेरो भागमा सधैं र्‍याप हान्ने काम पथ्र्यो। ती पल सार्‍है रमाइला थिए।

यता पेरिस आएदेखि तिहारमा टीका लगाएको छैन। आएको दोस्रो वर्ष भने एनआरएन फ्रान्ससँगै देउसी-भैलो खेलियो। सार्‍है रमाइलो भएको थियो। अन्य समुदायले हाम्रो देउसीभैलो देखेर सँगै नाच्न आउँदा साँच्चिकै हामी नेपाली सांस्कृतिक रूपमा अत्यन्तै धनी छौं भन्ने महसुस हुन्छ। आशा छ, यो वर्ष पनि एनआरएनले देउसी-भैलोको आयोजना गर्नेछ अनि धक फुकाएर नाच्न पाइनेछ। अझ यसपालि तिहार सप्ताहान्तमा -विक-एन्ड) परेकाले पक्कै रमाइलोसँग बित्नेछ।

         – उद्धव चौलागाईं (विवस), फ्रान्स

जर्मनीमा नेपालको झझल्को

नेपालमा रहेका काकाका छोरीहरू नै मेरा दिदी-बहिनी हुन्। त्यसैले उहाँहरू सबैसँग टेलिफोनबाट आशीर्वाद माग्छु। यहाँ जर्मनीमा तिहारको दिन बिदा त हुँदैन, तर पनि बिहानभरिको समय बहिनीहरूका लागि छुट्याएकै हुन्छु। यसपालि पनि तिहारको दिन त्यस्तै गरेर बिताउने योजना छ। यसरी नै तिहार मनाएको दस वर्ष भैसकेछ। के गर्नु ? अझै नेपाल फर्किने मेसो मिलेको छैन, तर जसरी पनि नेपाल फर्किएर त्यतै काम गर्ने विचार भने अझै हराएको छैन।  

म एनआरएनए जर्मनीको वरिष्ठ उपाध्यक्ष भएकाले यसपालिको तिहार भने जर्मनीका विभिन्न सहरमा सम्पूर्ण नेपालीहरूसँग संयुक्त रूपमा मनाएर बिताउँदैछौ। विदेशमा चाडपर्वको दिन बिदा नहुने भएकाले त्यसै दिन रमाइलो गरौं भन्ने हुँदैन, चाडपर्वको अघि पर्ने शनिबार, आइतबार हेरेर कार्यक्रम तय गरिन्छ। हामी जर्मनबासी नेपालीहरूले यसरी संयुक्त रूपमा तिहार मनाउनुको उद्देश्य सांकेतिक रूपमा  नेपालका विभिन्न राजनीतिक संस्था तथा संगठनहरूलाई आपसमा एकता प्रदर्शन गरेर संविधान निर्माण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नु नै हो। त्यसैले जर्मनीका नेपालीहरूबीचको एकताले  नेपालमा सबै नेपालीबीच समझदारी र सद्भाव कायम गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्न चाहन्छौं।

         – नवराज रोस्यारा, जर्मनी

अमेरिकामा देउसी-भैलो

अमेरिका आएको २ वर्ष भयो। तिहार नजिकिँदै जाँदा नेपालको बिछट्टै सम्झना आउँछ। अघिल्लो वर्ष टेक्सासमा भएका नेपाली दाजु-भाइहरूको घरघरमा गएर देउसी, भैलो खेलियो। घरमा सेलरोटी पकाएर खाइयो। लक्ष्मीपूजा गरियो। मेरा छोरीहरूले आफ्ना भाइलाई पूजा गरेर तिहार मनाए।

मेरो एक जना भाइ र दिदी नेपालमै हुनुहुन्छ। यस्तो बेला घर, गाउँ, देश, भाइबहिनी एकदम मिस हुने रहेछन्। यसपालि हामीले अन्तर्राष्ट्रिय सोसाइटी होस्टन च्याप्टरका तर्फबाट देउसी, भैलो खेल्ने योजना बनाएका छौं। युनिभर्सिटी अफ टेक्सास हस्टन टेक्सासमा पढ्ने भाइ-बहिनीहरू पनि हामीसँग मिलेर  देउसी खेल्दैछन्। यसपालि अफिसमा पनि  बिदा छ। पूरै समय चाडबाडका लागी छुट्याएका छौं। यहाँ मेरा मामारा र दाइका छोरा छन्। उनीहरूलाई टीका लगाइदिन्छु। यहाँ बस्ने सबै जना नेपाली जम्मा भएर नाचगान गर्ने, रमाइलो गर्ने तयारीमा छौं।

         – विद्या गौतम, अमेरिका

तिहार मेरा लागि निकै सम्झन लायक चाड हो, सबैभन्दा मन पर्ने चाड भएर होला। झिलिमिली बत्ती, देउसी-भैलो खेलेका पुराना सम्झनाले तिहार आउँदा निकै नरमाइलो अनुभव हुन्छ। बिगत केही वर्षदेखि अध्ययनको सिलसिलामा कोरियामा भएकाले मसँग सम्झन लायक तिहार छैन।

यो वर्ष साथीहरूसँग तिहारमा रमाइलो गर्ने योजना छ। यद्यपि निधार भने खाली नै हुने भयो। नेपाल हुँदा सबै दिदीहरूबाट भाइटीका लगाउँथे। मेरी एक जना दिदी अमेरिका र अरू नेपालमा हुनुहुन्छ। दिदीबाट भाइटीका लगाएको र साथीहरूसँगको देउसी, भैलो खेलेको एकदम मिस हुन्छ।

         – जितेन्द्र उपाध्याय (जितु), दक्षिण कोरिया

अघिल्लो वर्षको तिहार मलेसियामा मनाइयो। यसपालि पनि मलेसियामै छु। यहाँका केही नयाँ ठाउँ घुम्न जाने सोच छ। प्रवासी भूमिमा बसेकाले नेपालको झझल्को आइरहन्छ। विशेष गरी तिहारमा नेपालमा रहेका दिदी, बहिनीहरूलाई खुब सम्झिन्छु। हरेक तिहारमा लगाइदिएको फूलको मालाको सम्झना आउँछ।

         – दीप लिम्बू, मलेसिया

कतारको तिहार

परदेशीको जीवनमा चाडबाडले कुनै प्रभाव पार्दैन। किनभने त्यो दिन पनि अरू दिन जस्तै सामान्य गरी बित्छ। ड्युटी गरेर रातको ९ बजे कोठा आइपुगिन्छ। त्यसपछि खाना बनाएर खादा रातको साढे १० भैसक्छ। अर्को दिन ड्युटीमा हिंड्नुपर्छ। त्यसैले खास केही हुँदैन। अघिल्लो वर्ष मैले आफ्ना चार जना दिदी-बहिनीका हातबाट टीका लगाएको थिए। यो वर्ष मेरो निधार खाली नै हुने भयो। तिहार आउँदा आमाले बनाएको सेलरोटीको एकदम सम्झना आउँछ।

         – शम्भु भण्डारी, कतार

कोरियामा भाइटीका

मैले तिहारलाई दिदी-बहिनीहरूको मायाको प्रतीकका रूपमा आत्मसात् गरेको छु। यो चाड मेरा लागि एकदमै महत्वपूण्र्ा छ। मेरो एक जना भाइ र २ जना बहिनी गंगा-जमुना छन्। उनीहरू पनि अध्ययनका क्रममा कोरियामै छन्। मेरो छोरा, श्रीमती र उनको भाइसमेत यहीं छन्। यसपालिको तिहारलाई एकदमै महत्त्वपूण्र्ा रूपमा लिएको छु। अघिल्लो तिहारमा एउटी बहिनी मात्र यहाँ भएकाले अर्की बहिनीलाई धेरै मिस गरेको थिए।

अघिल्लो वर्ष हामी दुई भाइले बहिनीको हातबाट टीका थापेर तिहार मनाएका थियौं। विदेशको भाइटीका नेपालमा मनाएजस्तो भने नहुने रहेछ। नेपालमा भाइटीका मनाएपछि दिनभरि त्यहीं टीका र माला लगाएर जहाँ पनि जान सकिन्छ, तर विदेशमा त्यसो गर्दा बाटोमा हिंड्नेहरूले अनौठो रूपमा हेर्छन्, लाज लाग्छ। त्यसैले निधारको टीका मात्र बाँकी राखी फूलमालाहरू फुकाल्नुपर्ने बाध्यता हुन्छ। विदेशमा चाडपर्व मनाउनु भनेको नेपालको जस्तो रमाइलो नभए पनि दिदी-बहिनीहरू एकसाथ हुँदा रमाइलो नै हुन्छ। यसपाली दिदी-भाइ सबै जना यतै छौं। धेरै रमाइलो हुनेछ तर आमा नेपालमा हुनुभएकाले आमालाई धेरै मिस गर्नेछु।

         – पुरु जोशी, दक्षिण कोरिया

अघिल्लो वर्षको तिहार मलेसियामा मनाइयो। यसपालि पनि मलेसियामै छु। यहाँका केही नयाँ ठाउँ घुम्न जाने सोच छ। प्रवासी भूमिमा बसेकाले नेपालको झझल्को आइरहन्छ। विशेष गरी तिहारमा नेपालमा रहेका दिदी, बहिनीहरूलाई खुब सम्झिन्छु। हरेक तिहारमा लगाइदिएको फूलको मालाको सम्झना आउँछ।

         – दीप लिम्बू, मलेसियायसपालि पहिलो पटक परदेशमा तिहार मनाउँदैछु। घर जान त सार्‍है मन थियो तर चाहेजस्तो हुँदैन। यसबीचमा मेरो परीक्षा छ। नेपालमा हुँदा साथीभाइसँग देउसीभैलो खेलेर मनाइन्थ्यो। ती दिनको एकदम सम्झना आइरहेको छ। नेपाल भएकी मेरी एउटै मात्र दिदीलाई मिस गरिरहेको छु।

         – तुलसी घिमिरे, दिल्ली

उज्यालो देउसी-भैलोको अँध्यारो पाटो

 

उल्लास, उत्साह, उमंग र उज्यालोको पर्व तिहारका पाँच दिनका आ-आफ्नै महत्व छन्। त्यसमध्ये तीन दिनसम्म खेलिने देउसी-भैलोको विशेष महत्व छ। संस्कृति धान्न वा मनोरञ्जनका लागि खेलिने देउसी-भैलोको तौर तरिका समयानुकूल बदलिँदै गएको छ। सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमको धुनमा तालसुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन आजभोलि ठाउँअनुसार परिवर्तन हुँदै गएको छ। भट्याउने भाकाहरू बदलिएका छन।

सांगीतिक समूह बनाएर पुराना बाजागाजा र पुराना लोकभाका अर्थात् भजनमा खेेलिने देउसीको पुरानो स्वरूप हराउँदै गएको छ। परम्पराअनुसार वा पौराणिक कथाहरूलाई आधार बनाएर भट्याउने प्रचलन हिजोआज कम हुँदै गएको छ। पुराना गायक सूर्य थुलुङ तन्नेरी छँदा गाउँले साथीहरूसँग मिलेर सांगीतिक समूह बनाएर रातभर देउसी खेलेको क्षण सम्झँदै भन्छन्- ‘पुराना भाकामा हार्मोनियम, मादल, झ्याम्टा र तालीमा गीत गाएर खेलिने देउसी हिजोआज विरलै देख्न पाइन्छ।’

हिजोआज पाश्चात्य संगीत र भड्किलो पोसाकमा देउसीमा उत्रिने चलन बढेको छ। मादल, खैजडी, बाँसुरी, चाँप आदि बाजामा गाउँघरका लोकगीत, संस्कृतिलाई समेटेर खेलिँदै आएको देउसी आधुनिक पुस्ताले बिर्सिसकेको छ। यमराजकलाई विषयवस्तु बनाएर दिदी-बहिनी एवं दाजुभाइको स्नेहलाई जोड्ने देउसी-भैलोको चलन कम हुन थालेको छ। कवि ठाकुर बेलबासे हिजोआज ड्रम-सेट, गितार आदि आधुनिक बाजाहरूको प्रयोग गरेर भड्किलो तरिकाले देउसी खेल्ने प्रचलनले चाडबाडको अस्तित्व नै समाप्त हुनेे हो कि भन्ने आशंका गर्छन्। बेलबासे भन्छन्- ‘परम्परालाई समयअनुसार परिवर्तन गरेर देउसी खेल्दा संस्कृतिको जगेर्ना हुन सक्छ।’

दानको दुरुपयोग

नाङ्लामा एक पाथी धान, एक माना चामल, चामलमाथि बलिरहेको दियो, फलफूल, सेलरोटी र गच्छेअनुसारको दक्षिणा राखेर घरकी गृहलक्ष्मीले देउसेको स्वागत वा बिदाइ गर्ने चलन आफैंमा मौलिक छ। पहिले-पहिले पाँच पैसे र दस पैसे ढ्याक निकालेर देउसेलाई सगुन दिइन्थ्यो। आजभोलि यो चाडलाई चन्दा संकलनको माध्यम पनि बनाएको छ। संकलन भएको रकम सामाजिक काममा लगाउनुको साटो रमाइलो गर्ने वा पिकनिकमा रमाउने प्रचलन बढेर गएको छ। मुखै फोरेर दान माग्ने वा व्यंग्य गर्ने चलनले तिहार विकृत हुन थालेको छ। देउसीका बेला घरबेटीलाई दिइने आशिक पनि भड्किलो पाराले प्रस्तुत गरिदिने र घरबेटीले थोरै रकम दिए व्यंग्य गर्ने चलन पनि बढेको छ।

भैलिनीमा पुरुषहरूको प्रवेश

तिहारमा झिलीमिली बत्तीसँगै गोबरले लिपेको र रेखी हालेको ठाउँमा किशोरी तथा महिलाहरूले भैलिनी गीत गाएर छुट्टै उमङ्ग र रमाइलो थप्ने चलन छ। हुन पनि ‘भैलिनी आइन् आँगन गुन्यूचोली माग न..’ गीतबाट महिलाहरूले मात्र रमाइलो गर्ने साथै रातभर खेलिने भैलिनीमा पुरुषहरूको प्रवेशले भैलिनीको पनि महत्त्व घट्दै गएको पाइन्छ। ज्योतिष डाक्टर सुनिल शर्माका अनुसार वास्तवमा देउसी पुरुष-महिला मिलेर खेल्ने र भैलिनीचाहिं महिलाले मात्र खेल्ने चलन पौराणिक कालदेखिकै हो, तर हिजोआज पुरुष पनि महिलासँग रमाउँदै भैलो खेल्ने क्रम शुरु भएको छ। ‘यसलाई अनौठोचाहिँ मान्नु हुँदैन, समयअनुसार संस्कृतिमा पनि परिवर्तन आएको मान्नुपर्छ,’ शर्मा भन्छन्।

बिर्सिदै गएका कथाहरू

देउसी खेल्दा भट्याइने विषयवस्तुहरू फरक-फरक सन्दर्भका हुन्छन्। विशेष गरेर पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्टयाउँदा सुन्नेहरूलाई पनि आनन्द लाग्छ। यस्ता पौराणिक कथाहरू अब क्रमशः हराउँदै गएका छन्। ‘हामी त्यसै आएनौं, बलिराजले पठाएको..’ भन्ने देउसे र भैलिनीहरूको श्रुतिपरम्पराका कथाहरू पनि अब हराउने क्रममा छन्। त्यस्तैगरी श्रवणकुमार दशरथको कथा साथै यमुनाको कथा पनि चर्चामा छैन। खैंजडीमा भट्याइने रामकथा, कृष्णलीला, राजा हरिश्चन्द्रको कथा, सावित्री र सत्यवान् कथा, महादेव-सतिदेवीको कथा, धुन्धुकारीको कथा हिजोआज चर्चामा छैनन्।

सन्देशमूलक देउसीको प्रभाव

पछिल्लो समयमा देउसी भैलो सन्देशमूलक तरिकाले पनि खेल्न थालिएको छ। विभिन्न संघ-संस्थाले खेल्ने देउसी-भैलो र ती समूहले भट्याउने विषयवस्तुको फेहरिस्तले सामाजिक सन्देश प्रवाह गरे पनि पौराणिक तथा धार्मिक कथा वा विषयवस्तुहरू ओझेल पर्ने गरेका छन्। विभिन्न समुदाय एवं राजनैतिक दलहरूले अर्थ संकलन गर्ने अभिप्रायले खेल्ने देउसीमा पौराणिक, धार्मिक वा सांस्कृतिक कथाहरू बिर्सन थालिएको छ।

तिहार र लोकसाहित्य

 

धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारको महत्त्व जति छ, यसको साहित्यिक पक्ष पनि त्यत्तिकै प्रबल छ। विशेषगरी कार्तिक कृष्ण औंसीमा केटी वा महिलाहरूले गाउने भैलो र कार्तिक शुक्ल प्रतिपदाका दिन केटा वा पुरुषहरूले गाउने देउसी गीत लोकसाहित्यका दृष्टिले महत्वपूर्ण मानिन्छन्। कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी अर्को एकादशीसम्म चल्छ।

वर्षौं अघिदेखि गाउँका कुनाकन्दरामा सिर्जना भएका एवं समय र स्थानअनुसार परिमार्जन हुँदै आएका साहित्य पनि मजबुत हुन्छन् भन्ने प्रमाण तिहारमा खेलिने देउसी भैलो चुट्का, बालन, भजन आदिले दिइरहेका हुन्छन्। तिनमा भएका शब्दको प्रयोग र सबैको मन जित्न सक्ने प्रस्तुतिले त्यसलाई पुष्टि गर्छन्। सुरुदेखि अन्त्यसम्म एउटै फाँकीमा गाइने देउसी-भैलोमा ठाउँअनुसार फरक लबज पाइन्छ। भैली गाउँदा कतै लेग्रो तानेर भइऽऽलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी भनिन्छ। यस्तै देउसीमा पनि कतै देउसी रे, कतै देउसीराम र कतै देउसु रे भनेको पाइन्छ। देउसी-भैलो गाउँदा बीच-बीचमा ठाउँअनुसारका अन्य लोकगाथाहरू पनि जोडिन्छन्।

देउसी-भैलो खेल्ने समूहमा एक जना भट्याउने हुन्छ, अरूले देउसी वा भैली रे भन्छन्। ठाउँअनुसार खैंजडी, मुजुरा, कठताल तथा मादलजस्ता बाजाको प्रयोग गरिन्छ। कार्तिक शुक्ल औंसीको रात घर-घरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई नै भैलो भनिन्छ।

भैलिनीहरू सुरुवातमै मनमोहक दीपावलीसहितको लक्ष्मीपूजाको वर्णन गर्दै यसरी भैलो सुरु गर्छन्-

हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको

हे औंसीबारो गाईतिहारो भैलो…

यसरी भैलो खेल्दा घरबेटीले गाली पो गर्ने हुन् कि भन्ने डर उनीहरूलाई हुन्छ, त्यसैले घुमाउरो भाषामा भन्छन्—

हामी त्यसै आएनौं, बलि राजाले पठा’को

हे औंसीबारो गाईतिहारो भैलो…

भैलिनीहरू घरबेटीलाई खुसी पार्न उनीहरूको प्रशंसासमेत गर्न पछि पर्दैनन्। घरबेटीले आफूहरूलाई के-के देलान् भन्ने अनुमान पनि गर्छन्—

छानामाथि घिरौंला के-के दिन्छन् हेरौँला

हे औंसीबारो गाईतिहारो भैलो…

घरबेटीलाई कसरी फकाउनुपर्छ भन्ने कला भैलिनीहरूसँग हुन्छ—

जसले दिन्छ माना उसको सुनको छाना

जसले दिन्छ मुरी उसको सुनको धुरी

हे औंसीबारो गाईतिहारो भैलो…

अन्त्यमा घरबेटीले श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी, फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरबेटीलाई विभिन्न आशीर्वाद दिन्छन्। भैलिनीहरूले दिएको आशीर्वाद लाग्छ भन्ने विश्वास गरिन्छ।

यसैगरी गोवर्धनपूजाको दिनदेखि देउसेहरू देउसी खेल्न घरघर डुल्छन्। देउसी खेल्दा परम्परागत वेशभूषा दौरा-सुरुवाल लगाएर— ए भनभन भाइ हो, देउसी रे भन… भन्दै स्वमा स्वर मिलाएर गाउँछन्। देउसी खेल्ने परम्परासँग बलिराजाको कथा जोडिएको छ। दानवराज बलिले वामन अवताररूपी नारायणले मागेको तीन पाइला जमिन दिँदा दुई पाइलाले नै सम्पूर्ण भू-भाग ढाकिएपछि तेस्रो पाइलाका लागि आफ्नो शिर दिएका थिए।

त्यतिबेला नारायणले देऊ शिर भनी मागेकाले अपभ्रंश भै देउसीको गाथा चलेको हो भन्ािन्छ। आफ्नो सर्वस्वहरण भै पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको स्मरण गर्दै मानिसहरूले देउसी-भैलो खेल्ने परम्परा चलाएका हुन् भन्ने विश्वास गरिन्छ। यसैकारण पन्ाि देउसी-भैलोमा बलि राजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाइन्छ। ए झिलीमिली-झिलीमिली, ए केको झिलीमिली, ए तिहारको झिलीमिली, ए बत्तीको झिलीमिली भन्दै भट्याउनेले भट्याउँछ, अरूले एकै स्वरमा देउसी रे भन्छन्।

रातको अध्याँरोमा देउसी खेल्न आइपुगेका देउसेहरू कति जना होलान् भन्ने घरबेटीको मनको जिज्ञासा शान्त गर्दै भन्छन्— ए केराको खम्बा, देउसी रे, ए दस भाइ जम्मा, देउसी रे, ए सुपारीका कुड्का, देउसी रे, ए दस भाइ पुड्का, देउसी रे। आफूहरूलाई यहाँसम्म देउसी खेल्न आउन कम्ती सास्ती खेप्नु नपरेको र अरूपनि धेरै घर देउसी खेल्न पुग्नुपर्ने कुरा यसरी बताउँछन्- ए रातो माटो, ए चिप्लो बाटो, ए लड्दै-पड्दै आएका हामी, ए यहाँमात्र होइन, ए चौधै अञ्चल, ए पचहत्तरै जिल्ला, ए पुग्नैपर्छ, ए घुम्नै पर्छ आदि।

गोवर्धनपूजाको दिन घरबेटीको घरमा पकाएको सेलको बास्नाले लठि्ठएका उनीहरू ए झिलीमिली झिल्ला, ए तातो रोटी मिल्ला भन्छन् भने कसैले यसैमा ए सय रुपिँया मिल्ला भनेर आफूले चाहेको रकम नै तोकेर भन्छन्।

घरबेटीले दानदक्षिणा दिएपछि देउसेहरू ए यो घरमा, ए लक्ष्मी माताले, ए बासै गरुन्, ए ढुंगा छोए, ए सुनै हओस्, ए माटो छोए, ए अन्नै हओस् आदि आशीर्वाद दिँदै बिदा हुन्छन्। यसबाहेक रामायण र महाभारतका एक पात्रलाई लिएर पनि देउसी गाउने चलन छ।

पहाडी क्षेत्रमा देउसी खेल्दा ब्राह्मण-क्षेत्री समुदायले बालन भजन गाउँछन्। बालन गाउँदा रामायण, महाभारतका साथै पौराणिक प्रसंगहरू जोडिन्छ। मादल र खैंजडीको तालमा गाइने बालन निकै मनमोहक हुन्छ र रात बितेको पत्तो हुँदैन।

ए लीला सुरु भो

होऽऽऽऽ हो हो लीला सुरु भो

हरेराम लीला सुरु भो

हो हो लीला सुरु भो

श्रीभद्भागवत लीला सुरु भो

हो हो श्रीमद्भागवत लीला सुरु भो

नारायण हरि हरि

ए सुन राम्ररी

होऽऽऽऽ हो हो सुन राम्ररी

हरेराम सुन राम्ररी

हो हो सुन राम्ररी

बलिराजको कथा भन्छु सुन राम्ररी

हो हो बलिराजकोे कथा भन्छु सुन राम्ररी

नारायण हरि हरि

यसरी गाउँटोल गुञ्जायमान गराउँदै, घरबेटीलाई खुसी पार्दै र साथीभाइबीच आत्मीय सम्बन्ध विस्तार गरिँदै खेलिने देउसीभैलो, चुड्का, बालन, भजन आदि पनि विकृतिबाट मुक्त हुन सकेका छैनन्। आधुनिकताका नाममा मौलिक पक्षहरूलाई बिगार्ने र घरबेटीलाई धम्क्याउने र उठेको पैसाबाट जाँडरक्सी खाएर होहल्ला गर्ने विकृतिले गाँज्दै लगेको छ। यसैगरी मनोरञ्जनका अन्य साधनको व्यापकता तथा गाउने सीप भएकाहरूको अभावका कारण यस्ता मौलिक लोकसाहित्यको अस्तित्व संकटमा परेको छ।

धनतेरसको महत्त्व र किनमेल

 

तिहारको आगमनले सबैतिर रौनक छाएको छ। बजारमा लत्ताकपडा, खानेकुरा एवं गरगहना किन्नेहरूको भीड छ। तिहारलाई एकातिर रंगीन पर्व मानिन्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीहरूको प्यारो पर्व। दसैंमा प्रायः मासु र कपडा किनिन्छ, तर तिहारमा धातुका सामानको जोहो गर्नुपर्छ भन्ने मान्यता छ। त्यसैले पनि मानिसहरू खुलेरै किनमेल गर्छन्। तिहारको पाँचै दिनको आ-आफ्नै महत्व एवं धार्मिक मान्यता छ। हरेक दिनका लागि चाहिने सामान पनि फरक-फरक छन्। पञ्चक लागेदेखि नै घरसरसफाइ गर्ने, माला गाँस्ने, मिठाई बनाउने, दाजुभाइलाई बोलाएर ख्वाउने, सामान किनमेल गर्ने, बत्ती बाल्नेजस्ता काममा मानिसहरू व्यस्त हुन थाल्छन्।

तिहारका पाँच दिनमध्ये धनतेरसको विशेष महत्व छ। यो दिनलाई हरेकले उत्साहजनक रूपमा मनाउँछन्। धनतेरस कहिले लक्ष्मी पूजाको दिन त कहिले त्योभन्दा अघिल्लो दिन पर्छ। पञ्चाङ्गमा उल्लेख भएअनुसार हरेक वर्ष कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन धन्वन्तरी त्रयोदशी मनाउने चलन छ। यसलाई धन त्रयोदशी तथा धनतेरस पनि भनिन्छ। यो दिन आयुर्वेदका प्रवर्तक धवन्तरी तथा धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ। यो दिन घरमा लक्ष्मीको प्रवेश हुने विश्वास गरिन्छ। त्यसैले पनि यो दिन नयाँ-नयाँ भाँडाकुँडा तथा सुनचाँदीका गरगहना किन्ने चलन छ। धनतेरसका दिन श्रद्धा भक्तिका साथ सामान किनेर घर ल्याउँदा लक्ष्मीको बास हुने अर्थात् प्रवेश हुने तथा धनधान्य भइने धार्मिक विश्वास छ। यो पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने कुरा कहिले र कसरी आरम्भ भयो भन्ने ठ्याक्कै प्रमाण त छैन, तर पनि धन्वन्तरीको प्रादुर्भाव समुन्द्र मन्थनबाट भएकोे मानिन्छ। त्यति बेला उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले पनि यो दिन भाँडाकुँडा किन्दा शुभ हुने विश्वास गरिएको हो।

अर्को कथाअनुसार राजा हिमालयले आफ्नो छोराको जन्मकुण्डली बनाउन जाँदा ज्योतिषीबाट विवाह गरेको चौथो दिन सर्पले डसेर मर्ने कुरा थाहा पाउँछन्। हिमालयका छोराको विवाह भएपछि बुहारीले उक्त कुरा थाहा पाउँछिन्। उनले यमराजबाट आफ्ना पतिको प्राण रक्षा गर्न चौथो दिन पतिको कोठाबाहिर आफ्ना गरगहनाको थुप्रोको पहाड नै बनाउँछिन्। त्यसपछि पतिलाई निन्द्रा नलागोस् भनेर रातभर गीत, भजन गाएर आफू पनि त्यहीं बस्छिन्। राति सर्पको रूप धारण गरेर आएका यमराज गहनाको थुप्रोमाथि त पुग्छन् तर थाकेर त्यसलाई नाघ्न सक्दैनन्। उता कोठाभित्रबाट मीठा-मीठा भजन गाइएको आवाज सुनेर यमराज मन्त्रमुग्ध हुन्छन् र यत्तिकैमा बिहान भएपछि उनले खाली हात र्फकनुपर्छ।

यसरी राजा हिमालयकी बुहारीले आफ्ना पतिको रक्षा गरेको भएर पनि यो दिनलाई सुस्वास्थ्य, दीर्घायु, आरोग्य एवं समृद्धिको पर्व पनि मानिन्छ। धन त्रयोदशीको दिन यमराजलाई रोक्न बाहिर बत्ती बाल्ने चलन पनि छ।

यो दिन गरगहना एवं भाँडाकुँडा किन्दा शुभ हुने भएकाले सधै सुन तथा चाँदीका गहना किन्ने गरेको सामाखुसीकी सबिना पाण्डे बताउँछिन्। धनतेरसको दिन सुन तथा चाँदीका गहना, चाँदीका थाली, पाथी, दियो, घल्चा निकै बिक्री हुने न्युरोड गोल्ड हाउसका प्रकाश ब्रजाचार्य बताउँछन्। सुन र चाँदीका गहना तथा भाँडा किन्न नसक्नेहरूले विशेष गरी तामा, पित्तल, चरेस तथा स्टिलका भाँडा किन्ने चलन छ। चाँदीका भाँडामा पूजा गर्ने खण्डे थाली, करुवा, थाली, पाथी, दियो आदि बढी बिक्री हुन्छन्। चाँदीबाट बनेका विभिन्न देवी-देवताको मूर्ति पनि यही अवसरमा घरमा भित्र्याइन्छ।

केही वर्षयता घरमा सजाउन वा सौखका हिसाबले चाँदीका सामान लानेहरू पनि धेरै भएको वासुदेवको अनुभव छ। चाँदीको भाँडाको मूल्य चाँदीको प्रयोगको मात्रा एवं डिजाइनमा भर पर्ने व्यसायीहरू बताउँछन्। त्यसैगरी तिहारको अर्को आकर्षणमा विभिन्न डिजाइनका तामाका भाँडा पनि पर्छन्। पहिले जस्तो तामाको भाँडाको व्यापार नभए पनि तिहारमा भने राम्रै व्यापार हुने लोकेश्वर ब्रास ट्रेडर्स, इन्द्रचोकका पदम ताम्राकारको अनुभव छ।

तिहारका लागि तामाको झ्याङा, अम्खोरा, गाग्री, पूजाका थाली, पञ्चपात्रो तथा पूजाको दियोको बढी माग हुन्छ। पित्तलका भाँडा भने तिहारमा ठिकै बिक्री हुने ताम्राकार बताउँछन्। पित्तलमा गाग्री, करुवा किन्ने चलन बढी छ। चरेसको भने थाल नै प्रसिद्ध भएको ताम्राकारले बताए। स्टिलका भाँडाहरू हिजोआज सबैभन्दा ठूलो आकर्षण भएको व्यवसायीहरू बताउँछन्। यसको आकर्षण सबै वर्ग एवं समुदायमा छ। त्यसैले पनि तिहारमा स्टिलबाट बनेका भाँडा पनि त्यति नै बिक्री हुन्छ। धनतेरस पारिवारिक दीर्घायु, स्वस्थता र आर्थिक पक्षसँग जोडिएकाले पनि सबैले आफ्नो क्षमताअनुसार खरिद गर्ने गरेका छन्।

Source : http://www.ekantipur.com/saptahik/article/?id=12408

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s