खाद्य सुरक्षा र पोषणको सम्बन्ध

खाद्य सुरक्षा र पोषणको सम्बन्ध

विश्नाथ खरेल
विश्व खाद्य दिवस मनाउनका लागि यस वर्ष खाद्य तथा कृषि संगठनले अंग्रेजी नारा ‘सस्टेनेबल फुड सिस्टम फर फुड सेक्युरिटी एन्ड न्युट्रिसन’ तय गरेको छ । सदस्यराष्ट्रहरू उक्त नारालाई आधार बनाएर आ–आफ्नो देशको नारा बनाउँछन् ।  नेपालले उक्त नारालाई नेपालीकरणमा परिमार्जित तथा परिष्कृत गरी ‘खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार’ भन्ने राखेको छ । कुपोषणका लागि समाजले बढीभन्दा बढी लागत लगानी गर्नुपर्ने स्थिति भएको छ । विश्वका प्रत्येक ५ वर्षमुनिका ४ बालबालिकामध्ये १ जना कुपोषणले ग्रसित छन् । यस्ता खालका बालबालिकाहरू संसारमा १६ करोड ५० लाख छन् । तिनीहरू शारीरिक र मानसिक रूपमा क्षमतावहन गर्न सक्दैनन् । त्यसरी नै विश्वमा झन्डै २ अर्ब मानिस अति आवश्यक भिटामिन, खनिज पदार्थ आदिको कमीबाट बाँच्न बाध्य भएका छन् । त्यसैगरी विश्वमा १.४ अर्ब मानिस मोटोपनको सिकार हुन पुगेका छन्, जसका कारण लगभग एकतिहाइ धेरै मोटा व्यक्ति छन् । उनीहरू मुटुसम्बन्धी समस्या, मधुमेह र अन्य शारीरिक समस्याबाट ग्रसित छन् । कुपोषणले गर्दा विश्व अर्थतन्त्रको आय ५ प्रतिशतले घट्ने कुपोषण खर्च हुन्छ । त्यसलाई अर्को शब्दमा भन्नुपर्दा ३.५ ट्रिलियन डलर प्रतिव्यक्ति खर्च हुन्छ वा ५ सय डलर प्रतिव्यक्ति खर्च हुने गरेको छ ।
समाजमा विद्यमान कुपोषण हटाउन ज्यादै चुनौतीपूर्ण कार्य हो । तर, यसको प्रतिफल लागतभन्दा बढी छ । कुपोषण हटाउन विश्व समाजले प्रतिवर्ष १.२ अर्ब डलर ५ वर्षका लागि खर्च गरेका छन् र यसबाट वार्षिक लगभग १५.३ अर्ब डलर फाइदा हुन्छ । यसको सही प्रयोग हेर्ने हो भने १३ गुणाले फाइदा भएको हुन्छ । स्वस्थ्य आहार र गुणात्मक खानाले मात्र सन्तुलित भोजन हुन सक्छ । विश्वभर खाद्य विशेषज्ञहरूले विभिन्न किसिमका फलफूल, ताजा तरकारी आदिको दैनिक सेवनबाट नै स्वस्थ शरीर निर्माणका लागि सहयोग पुग्ने कुरा औंलाएका छन् । कुपोषणको मूल कारण धेरै छ र जो सामाजिक, आर्थिक, राजनीतिक र भौतिक वातावरण आदि क्षेत्रमा छ । यसका लागि सार्वजनिक स्वास्थ्य र शिक्षाक्षेत्रमा, प्राकृतिक संसाधन प्रवद्र्धन, कृषि र खाद्य प्रणालीमा समेत उपाय अपनाएर यस्ता समस्या बेलैमा निराकरण गर्नुपर्ने हुन्छ ।
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अझ राम्रो भविष्यका लागि पोषणमा लगानीका नाराका साथ मनाइएको यो दिवसमा पोषणयुक्त खानाले व्यक्ति, समाज र अर्थतन्त्रलाई नै रूपान्तरण गर्ने कुरामा जोड दिइएको छ ।
सन् २०१५ सम्ममा विकासशील मुलुकको कुपोषण कम गर्न सके विश्वले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न सक्ने सम्भावना अधिक छ । सन् २००० मा राष्ट्रसंघमा विश्वका नेताहरूले राखेको विभिन्न लक्ष्यमध्ये २०१५ सम्ममा भोकमरी, गरिबी र अन्य रोगहरू नियन्त्रणलाई पनि मानिएको छ । एफएओ, विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश कृषकलाई कुपोषणबारेमा केही थाहा छैन । हालको सहरीकरण विकासको क्रमसँगै अर्थव्यवस्थाको वृद्धिको सुरुवात भइरहेको छ । यसका लागि आधुनिक आपूर्ति, खाद्य भण्डारण, वितरण प्रणाली एकसाथ रूपमा लैजानुपर्ने हुन्छ । कृषकवर्गको हितलाई ध्यानमा राखेर कम आयमा उत्पादन गरेको खाद्यान्नलाई सकभर कम मूल्यमा बिक्री वितरण गर्न सके उपभोक्ताहरूलाई राहत हुन जान्छ । मानवलाई आवश्यक पर्ने दूध, फुल, माछामासु, फलफूल, तरकारी आदि पौष्टिक तत्वहरूको गुणस्तरीय प्याकेजिङ व्यवस्था राम्रो हुनुपर्छ । प्रायः गरी अधिकांश कृषक ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकाले सुपर मार्केटिङभन्दा स्थानीय स्तरमा बजारको बढी महत्व रहेको छ ।
खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो भने अब आउँदो सन् २०१४ को नोभेम्बर १९ देखि २१ सम्म इटालीको रोममा हुँदैछ । सो अन्तर्राष्ट्रिय पोषण सम्मेलन दोस्रोमा पहिलो सम्मेलनको प्रगतिको समीक्षा गर्ने आउँदो दिनको चुनौतीलाई कसरी समाधान गर्दै सुधारको बाटोमा कसरी अगाडि बढ्नेमा व्यापार छलफल गरिनेछ । हालको दशकमा केही राष्ट्रहरूले कुपोषणमा महत्वपूर्ण कटौती हासिल गरेका छन्, तर प्रगति असमान किसिमको छ र राम्रो पोषणका लागि राम्रो भोजन व्यवस्थापनको उपभोग गर्नुपर्ने जरुरी छ । यसको साथसाथै कुपोषण र यसको मूल कारणहरू जटिल छन् । यसका लागि धेरै क्षेत्र र अभिनेताहरूको सहयोगको आवश्यकता पर्छ । त्यसकारण प्रभावकारी नियोजन, सहयोग, समन्वयको साथमा सही तथ्यांक, आमदृष्टि, कुशल प्रशासन र सबभन्दा महत्वपूर्ण राजनीतिक नेतृत्व हुनु अति आवश्यक छ । त्यसैगरी हाम्रो देशको कुरा गर्ने हो भने खाद्यसंकट उत्पन्न हुनुको प्रथम कारण जलवायु परिवर्तनका कारण अहिले विश्वमा खाद्य उत्पादन अत्यन्तै न्यून हुँदै गएको छ । प्रतिकूल असर पार्ने सबैभन्दा प्रमुख कारक तत्वका रूपमा अहिले जलवायु परिवर्तनलाई मानिएको छ । एसियाली विकास बैंकले हालै गरेको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियाका अधिकांश मुलुकहरूले खाद्यान्न र पिउने पानीको अभाव झेल्नुपरिरहेको छ । जलवायु परिवर्तनकै कारण विश्व तापक्रममा भएका वृद्धिले नेपाल, भारत, अफगानिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकहरूमा हिमाल पग्लने, बाढी, पहिरो, खडेरी र बैमौसमी तथा असन्तुलित वर्षा आदि जस्तो प्राकृतिक प्रकोपका कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको छ । अर्को, दोस्रो प्रमुख र जल्दोबल्दो कारण हो, भूमिको असमान वितरण । प्राप्त जानकारीअनुसार करिब ४७ प्रतिशत कृषक परिवारसँग जम्मा ५ प्रतिशतमात्र जमिन छ भने धनी किसानहरूले ३७ प्रतिशत जमिन ओगटेर बसेका छन् । ७० प्रतिशतभन्दा बढी गरिब किसानसँग १ हेक्टरभन्दा कम भूमि छ, जसबाट हुने उत्पादनले वर्षभरिको खाद्य आवश्यकता परिपूर्ति गर्न सक्दैन । त्यसमाथि बढ्दो अव्यवस्थित सहरीकरणसँगै जग्गाको खण्डीकरण बढ्ने क्रमले गर्दा दिन दुई गुना र रात चौगुनाका दरले खेतीयोग्य जमिनमा भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । केही वर्षयता आएर बचेखुचेको त्यही खेतीयोग्य जमिनको माटोमा पनि अम्लीयपन बढिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ । अतः विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्य सुरक्षा खस्कँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने विभिन्न निकायले खाद्य अभावका कारण विश्वमा हजारौं व्यक्तिको ज्यान गइरहेको र यो संख्या अझै बढ्न सक्ने चेतावनीसमेत दिएका छन् ।

Source: http://www.karobardaily.com/nepali/news/700713.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s