खसी

शिव मुखिया

सदीक्षा श्रेष्ठ, पूर्व मिस नेपाल

दसैंका लागि हजुरबुबाले खसी किनेर ल्याउनुहुन्थ्यो। खसीलाई कौसीमा बाँधेपछि हामी केटाकेटीमा बेग्लै उत्साह छाउँथ्यो। मभन्दा पनि मेरी सानी बहिनी र भाई असाध्यै खुसी हुन्थें। हामी खसीकै वरिपरि झुम्मिन्थ्यौं। खसीलाई ‘म्याँ-म्याँ’ भनेर जिस्काउँथ्यौं। घाँस हालिदिन्थ्यौं, सुमसुम्याउँथ्यौं।

घरमा किन खसी ल्याएको होला ? भाइ-बहिनीलाई थाहा थिएन। नवमीको दिन मार हानिन्छ र त्यसैको मासु पकाएर खाइन्छ भन्ने कुरा बुझेका भए, सम्भवतः उनीहरू खसीसँग त्यति निकट हुँदैनथे होला। म अलि हुर्किसकेकी हुनाले यी सबै कुरा बुझ्थें। यद्यपि मार हान्ने कुरा बिर्सेर भाइबहिनीसँगै खेल्न रमाइलो लाग्थ्यो, मलाई पनि।

नवमीको दिन जब खसी मार हान्न लगिन्थ्यो, त्यसपछि भने घरमा एक किसिमको सन्नाटा छाउँथ्यो। खसीको ‘म्याँ-म्याँ’ को आवाज सुनिँदैनथ्यो। त्यतिबेला भाइले निकै सोधी-खोजी गथ्र्यो- ‘म्याँ-म्याँ खोई ?’ हामी सत्य कुरा लुकाएर जवाफ दिन्थ्यौ- ‘उसको साथीसँग खेल्न गयो। पछि फर्केर आउँछ।’ अहिले हाम्रो घरमा त्यस किसिमको काटमार हुँदैन।

अस्वस्थ

सुष्मा अधिकारी, नायिका

गएको वर्ष दसैं मनाउन घर -धनगढी) गइयो। सबै आफन्त भेला भएका थिए। रमाइलो भैरहेको थियो। मनोरञ्जनका लागि हामी तास खेल्न बस्यौ। केही बेरमै मेरो पेट कराउन थाल्यो। हतार-हतार ट्वाइलेट गएँ। अनि फेरि आएर तास खेल्न बसें तर, फेरि पेट दुख्यो। जति पटक ट्वाइलेट गए पनि ठीक भएन। त्यसपछि त निरन्तर ट्वाइटेल जानुपर्ने भयो। औषधी खाएँ तर डाइरिया ठीक भए पो ?

यस्तो बेला दही र केरा खायो भने निको हुन्छ भनिन्छ। मेरो डाइरियालाई भने दही केराले पनि ठीक गर्न सकेन। दिनभरि, रातभरि ट्वाइलेट कुद्दाको हैरानी। घरमा त्यतिका पाहुना छन्, सबै रमाइलो गरिरहेका छन्। मचाहिँ ओछ्यान परें।

 घरमा दुईवटा ट्वाइलेट भए पनि प्रायः खाली नहुने। दसैंमा पाहुना भएकाले पनि होला। यता आफूलाई डाइरियाले च्याप्छ, उता ट्वाइलेट खाली छैन। सहनै पर्‍यो, पेट थिचेर बसें। एकसाथ धेरै परिकार खाएकाले त्यस्तो समस्या भएको थियो। मलाई खसीको भुटन एकदमै मनपर्ने। दसैंमा भुटन, खीर, सेलरोटी, अनरसा, आलु र काँक्राको अचार खुब खाइयो। त्यतिबेला त स्वाद मानेर खाएकी थिएँ। डाइरियाले सताएपछि मनमनै भने-‘हे भगवान्, अब कहिल्यै मासु खादिनँ।’ तर, अहिले फेरि दसैं नजिकिँदै जाँदा भुटनको तलतल लाग्न थालेको छ।

दक्षिणा

सुमिना घिमिरे, नायिका

सानो छँदा दसैंमा दक्षिणाको खुब आशा हुन्थ्यो। त्यो उमेरमा दसैं किन मनाइन्छ, यसको महत्व के हो ? थाहा हुने कुरै भएन। चासो पनि हुँदैनथ्यो। केवल पैसा पाइन्छ भन्ने बुझिएको थियो। घरमा बुबा-मम्मी टीकाको तयारी गर्नुहुन्थ्यो, हामीलाई चाहिँ खाम खोतल्ने हतार। टीका लगाइरहँदा पनि हाम्रो ध्यान अन्त होइन, खाममै हुन्थ्यो। जब बाबा-ममीले दक्षिणा दिनुहुन्थ्यो, हामी कुदेर बाहिर निस्कन्थ्यौं।

हामीलाई आफ्नो भागमा परेको पैसा कति होला भन्ने कौतूहलता हुन्थ्यो। त्यसैले आ-आफ्नो खाम च्यातेर पैसा गन्थ्यौं। अनि, कसले कति पाए ? दाँज्थ्यौं। घरमा सबैभन्दा सानी म। दिज्युहरूले पनि मलाई टीका लगाइदिने। त्यसैले सबैभन्दा बढी दक्षिणा मेरो भागमा पथ्र्यो।

आफन्त एवं छिमेकीकहाँ टीका लगाएर दक्षिणा जम्मा गरिन्थ्यो। हातमा पैसा परेपछि के गर्ने ? केटाकेटी यमेरमा त्यसको कुनै योजना हुँदैन। हामीमा त्यो पैसा किन दिएको होला भनेर जिज्ञासा उठ्थ्यो। गोजीभरि पैसा भएपछि मन त्यसै पनि फुरुङ्ग हुने। आफूलाई मन लागेको खानेकुुरा, खेल्ने कुरा किनेर केही पैसा उडाइन्थ्यो। बाँकीचाहिँ मम्मीलाई राख्न दिन्थ्यौं। अहिले त दक्षिणा लिने मात्र होइन, दिनु पनि पर्छ। अहिले मलाई आन्टीका छोरीहरूलाई टीका लगाएर पैसा दिँदा बेग्लै सन्तुष्टि मिल्छ।

शाकाहारी

विजय शिवाकोटी, गीतकार

दसैं भन्नासाथ मासु भात खाने, नयाँ लुगा लगाउने चाड बुझिन्छ। दसैंमा मासुको खपत अत्यधिक हुन्छ। यस्तो लाग्छ, मासुबिना दसैं पूर्ण हुँदैन। आफूचाहिँ माछामासु नखाने। सानैदेखि यसमा रस भिजेन। अरू बेला त शाकाहारीलाई केही समस्या हुँदैन तर दसैंमा भने अलि अप्ठ्यारो हुँदो रहेछ।

दसैं आउनासाथ अधिकांशको भान्सामा माछामासु पाक्छ। पाहुनालाई सत्कार गर्न पनि मासुकै परिकार अगाडि सारिन्छ। यस्तो अवस्थामा शाकाहारीलाई गाह्रो हुन्छ। खानेकुरा तयार गर्नुअघि ‘म मासु खाँदिनँ’ भन्न पनि नमिल्ने। अनि, हार्दिकतासाथ पस्किएको परिकार ‘खान्न’ भनेर अस्वीकार गर्न पनि नसकिने। त्यस्तो परिस्थितिमा मासुको आइटम हटाएर खाना खाँदा अलि खल्लो महसुस हुँदो रहेछ।

पाहुना गएका बेला मैले धेरै पटक यस्ता घटना बेहोरेको छु। कतिपयले मासुको आइटम मात्र बनाएका हुन्छन्। त्यस्तो बेला के गर्ने? उपाय नै हुँदैन। अनि म केही पनि नखाई र्फखन्छु। कसै कसैले चाहिँ हतार-हतार मिठाईको बन्दोबस्त गरिदिन्छन्। मलाई करेलाको अचार, मसरुम, कालो दाल, आलु तथा पनिरको परिकार असाध्यै मन पर्छ। आफू मासु नखाए पनि मलाई मासु पकाउन र सर्भ गर्न भने मन लाग्छ। कहिलेकाहीं मासुको परिकार बनाएर अरूलाई चखाउने पनि गरेको छु।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s