दसैंमा भनेजस्तो खर्च भएन भने के होला ?

दसैंमा भनेजस्तो खर्च भएन भने के होला ?

 

 

नरमाइलो लाग्छ।

  – ज्याक लामा

भनेजस्तो त कहिले हुन्छ र ? चाहनाहरू बढ्दै जान्छन्। त्यसैले आफ्नो हैसियतअनुसार घाँटी हेरेर हाड निल्नुपर्छ। संस्कृति पनि जोगाउनुपर्छ।

  – मनोज ढोडरी

अरूले नयाँ लत्ताकपडा लगाएको, मीठो खाएको आँगनको डिलमा बसेर टुलुटुलु हेरेर चित्त बुझाउनुबाहेक अरू के हुन्छ र ? कसैले सहयोग गर्ने होइनन् क्यारे।

  – सन्तोष सिम्खडा

एक बोतल तीन पाने आँखा बन्द गरेर तानेपछि खर्चसर्च सबै बिर्सिइन्छ।

  – मनिराज गुरुङ

दसैं आउँछ जान्छ, बालै भएन।

  – शिव क्षेत्री

जे छ त्यसैमा चित्त बुझाउने।

  – सम्झना मगर्नी

दसैंमा गोजीभरि पैसा नभएर के भो र ? मनभरि खुसी भए त भैगयो नि।

  – कमल श्रेष्ठ

तास र लंगुरबुर्जा खेल्ने, हारे चुप लागेर बस्ने, जिते भनेजस्तै गरी दसैं मनाउने।

  – सिर्जना श्रेष्ठ

लास्ट खल्लो हुन्छ नि हौ, पानीबिनाको माछोजस्तो भइन्छ।

  – सन्दिपजंग कार्की

मान्छेले जस्तो सोच्यो उस्तै हुने हो, त्यसैले आफूसँग जति छ त्यतिमै रमाउनुपर्छ। सादा जीवन उच्च विचार।

  – चन्द्र ठटाल

केको दसैं ? नेपाल आउन नपाएर आफूलाई कस्तो टेन्सन भैरहेको छ।

  – शम्भु सापकोटा

अरूले तास खेलेको हेरेर चित्त बुझाउनुपर्ला।

  – इन्द्र मानन्धर

दसैं दशा नै भैहाल्छ नि।

  – खिम थापा

के हुनु नि ? टुलुटुलु हेर्ने, बस्ने।

  – रुक्मागत सिग्देल

पैसा नभएर बाल छ र ? तीनपाने खाने बस्ने।

  – महेश चौधरी

टीका लगाउँदा दक्षिणा दिएन भनेर आफ्नो इज्जत जान्छ। अरू के हुनु ?

  – गंगा मगर

फस्टेसन हुन्छ।

  – भगवान अधिकारी

मर्न बरु गार्‍हो हुन्न, पैसाबिना दसैं मान्न सकिन्न- भनेजस्तै हुन्छ।

  – किरन मैनाली

दसैं नै दशा हुन्छ।

  – शारदा राई

दसैं दसैंजस्तो हुँदैन नि।

  – कमल श्री

रसबिनाको फलजस्तो हुन्छ।

  – सन्दीप थिङ तामाङ

झुर हुन्छ।

  – विक्रम ज्ञवाली

एकदम राम्रो हुन्छ। पैसा नभएकै राम्रो, खर्च त हुँदैन।

  – निमेश बस्नेत

तासको मज्जा लुट्न पाइन्न यार !

  – निरज जोशी

नो मनि, नो टेन्सन हैन र ?

  – विराट थापा

दसैं नै बोर हुन्छ।

  – प्रतीक लिम्बू

बेहाल हुन्छ नि हौ।

  – अनु राई

जिन्दगीदेखि विरक्त लाग्छ।

  – मदन खड्का

बोरिङ हुन्छ नि।

  – अभिनन्दन थारु

दसैंमा खर्च गर्नैपर्छ भन्ने छैन। मनमा सन्तुष्टि हुनु ठूलो कुरा हो।

  – रबिना राजवंशी

विकल्पको खोजी गर्ने।

  – जीसी सिद्धिमान

किन र ? दसैं खर्च दिने विचार गरेको हो ?

  – मणि श्रेष्ठ

अरू बेला जस्तो हुन्छ, त्यस्तै हुन्छ। दसैंमा पैसा हुनैपर्छ भन्ने पनि त छैन नि।

  – महानन्द भट्टराई

के हुनु घुम्न पाइँदैन नि।

  – बिमल पाठक

कसरी म्यारिज खेल्ने भन्ने टेन्सन हुन्छ।

  – राजन दिल गुरुङ

भनेजस्तो दसैं खर्च भएन भने सोचेजस्तो दसैं मनाइँदैन।

  – लीला नेपाल

दसैं दशा बनिदिन्छ।

  – सुबास क्षेत्री

पैसा नभए के भो र ? बैंकको के काम ?

  – उमेश विष्ट

गरिबलाई के दसैं, के पैसा ? एक थाल भात नै ठूलो कुरा हो।

  – केशव घिमिरे

दसैं मनाउन पैसा हैन पासा, मन चाहिन्छ मन।

  – प्रतीक श्रेष्ठ

दारु खान नपाएर टेन्सन हुन्छ नि।

  – प्रसन्न थापा

केही हुँदैन जुठो परेको छ भन्दिने नि।

  – प्रतीक पौडेल

दसैं पैसाले होइन, मनले मनाउने हो।

  – मदन मगर

पैसा नहुने लाखौं नेपाली छन्। के उनीहरूको दसैं हुँदैन ?

  – शिव दाहाल

जति छ, त्यसैले काम चलाउने।

  – सुनिता सापकोटा भट्टराई

के हुनु नि, हरि बिजोग हुन्छ।

  – मनोज तामाङ

घाटी हेरेर हाड निल्नु नै उचित हुन्छ।

  – शंकर अर्याल

हैन, यो प्रश्न त मंसिरमा चुनव भएन भने के होला भनेजस्तो पो छ त ? चुनाव भएन भने म्याद थप्ने, यस्तै दसैंमा पनि खल्तिमा पैसा नभए ऋण थाप्ने

  – बिमल पौडेल

गीत गाउने नि। दसैं नै हो कि यो मेरो दशा भन्ने गीत।

  – आनन्द जोशी

दसैंमय फेसबुक

 

खुलेको मौसममा यत्रतत्र उडिरहेका चङ्गाहरू र ठाउँ-ठाउँमा थापिएको लिङ्गेपिङ देख्दा लाग्थ्यो, दसैं आयो। समय फेरिएको छ। दसैंको आगमनको छनक पाउन अब सामाजिक सञ्जालसँग जोडिनुपर्छ। दसैं आउनुअघि नै यो भर्चुअल माध्यममा रातो टिका र जमरा, चङ्गादेखि लिङ्गेपिङसम्म अपलोड भैरहेका हुन्छन्। कतिपयले घोर्ले खसीको तस्बिर राखेर लेखेका छन्- ह्याप्पी दसैं। यही माध्यमबाट एकअर्कामा शुभकामना आदान-प्रदान भैरहेका छन्। यतिबेला दसैंको सन्दर्भ जोडेर राखिएका घतलाग्दा स्टाटसले नै फेसबुकलाई दसैंमय वनाएको छ।

‘फोन गर्दा नेटवर्क लागोस्

कुरा गर्दा च्वाट्टै नकाटियोस्

लोडसेडिङ हटोस्, महँगी घटोस्

भत्किएको बाटो बनोस्

नेताहरूको जे-सुकै होस्।

३ करोड नेपालीको जय होस्,

विजयादशमीको शुभकामना…’

नजिकिँदो दसैंलाई लक्षित गरेर एक प्रयोगकर्ताले आफ्नो फेसबुक वालमा राखेको स्टाटस हो यो। सरल भाषामा लेखिएका यी पंक्तिले मुलुकको विद्यमान बेथितिप्रति कटाक्ष गरेको छ। यसमा राजनीतिप्रतिको वितृष्णा पनि व्यक्त भएको छ। अर्का प्रयोगकर्ताले ‘पानी खाँदा बियर भेटियोस्’ भन्ने मनोकांक्षासहितको स्टाटस राखेका छन्।

‘पानी खोज्दा बियर भेटियोस्,

धारा खोल्दा वाइन बगोस्,

कुखुरा खाँदा साँप्रो परोस्,

खसी खाँदा ह्याकुला आवोस्,

यही नै दसैंको शुभकामना’

दसैंमा मान्यजनबाट टीका थापेर आशीर्वाद लिने चलन छ। आशीर्वादमा पौराणिक पात्रहरूलाई प्रतीक बनाइएको हुन्छ। फेसबुक प्रयोगकर्ताले चाहिँ नेपाली कलाकारहरूलाई विम्बका रूपमा उतारेका छन्।

‘राजेश हमालको जस्तो

नाम होस्

हरिवंशको जस्तो काम होस्

मदनकृष्णको जस्तो मान होस्

करिश्माको जस्तो सान होस्

तर

रेखा थापाको जस्तो कपडा

भुवन केसीको जस्तो लफडा

कसैलाई नहोस्।

दसैको शुभकामना ……… ‘

रोजगारीको खोजीमा तथा अध्ययनका सिलसिलामा थुप्रै नेपाली युवा बिदेसिएका छन्। तिनै युवाहरूलाई घर-परिवार र पुराना दौतरीसँग जोड्ने माध्यम बनेको छ, फेसबुक। उनीहरूले फेसबुकवाट दसैं शुभकामना साटिरहेका छन्। विगतका तस्बिरहरू राखेर दसैंको सम्झना गरिरहेका छन्।

‘घरमा फोन गरें,

आमाले उठाउनुभो।

विजयदशमीको आशीर्वाद लिएँ

अनि सोधें- आमा मासु पाक्यो ?’

रोजगारीको खोजीमा घर-परिवारवाट टाढिएका एक प्रयोगकर्ताले फेसबुकमा विलौना गरेका छन्। परिवारले हर्षोल्लास साथ दसैं मनाइरहँदा आफू भने विदेशी भूमिमा दुःखसाथ गुजारा गरिरहेको उल्लेख गर्दै उनले लेखेका छन्- ‘यहाँ त यस्तै छ साथी। समयको साथ पाउनुहुने भाग्यमानी मित्रहरूले खुसीका साथ दसैं मनाउनुहोला।’ अर्का प्रयोगकर्ताले चाहिँ ‘दसैंमा घर आउँछु’ भनेर आमालाई सम्बोधन गर्दै लेखेका छन्-

‘यसपालि त अवश्य मैले छुट्टी पाउँछु आमा

खरको छानो चुहियो होला, राम्रोसँग छाउँछु आमा

खुसीहरू आफैसँग पोको पारी ल्याउँछु आमा।’

दसैंको नाममा फेसबुक पेजहरू पनि बनाइएका छन्, जसमा दसैका विविध पक्ष झल्काउने सामग्रीहरू राखिएका छन्। यस्ता पेजहरू लङ्गुर-बुर्जादेखि तासको खालसम्मले रंगिएका छन्।

‘चङ्गा चेट, रमाइलो भेट

खसीको रेट, मासुको प्लेट

जुवाको खाल, चिउराको थाल

२०७० को दसैं बबाल।’

यस्तै खालका घतलाग्दा स्टाटस फेसबुकमा छ्याप्छ्याप्ती छन्। अर्कातिर घोर्ले खसी, गाडीको टिकट, दक्षिणाको तस्बिर अपलोड गरेर चिनेजानेका साथीभाइलाई ‘ट्याग’ गरिदिने ट्रेन्ड बढ्दो छ। ‘एक महिनादेखि प्रयास गर्दा पनि बसको टिकट पाइएको छैन,’ झापाका ज्ञानु गुरुङले भने- ‘यता साथीले फेसबुकमा एयर टिकट पठाइदिए।’ प्रत्युत्तरमा उनले ‘घोर्ले खसी’को तस्बिर पठाइदिदै लेखेछन्- ‘दसैं राम्रोसँग मनाउनु।’

विगतमा सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरिन्थ्यो। सभ्य र शिष्ट भाषामा लेखिएका यस्ता सन्देश प्रापकप्रति लक्षित हुन्थ्यो। गि्रटिङ कार्ड बाँडेर एवं चियापान कार्यक्रम गरेर पनि दसैंको शुभकामना दिने चलन थियो, नेपाली समाजमा। कतिले आफ्नो नाममा कार्ड छपाएर बाँड्थे। ‘शुभकामना दिने अरू माध्यम थिएन,’ नोबेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठ सम्झन्छन्- ‘कार्ड नै छपाउनुपथ्र्यो।’ अहिले यो शैलीमा पूरै परिवर्तन आएको उनले महसुस गरेका छन्। खासगरी फेसबुकको बढ्दो प्रचलनसँगै शुभकामनाको शैलीमा विविधता देखिन थालेको श्रेष्ठ बताउँछन्।

‘घ्याम्पोभरि रक्सी होस्

निधारमा टीका होस्

साथीभाइसँग रमाइलो होस्

हातमा एक्का ट्रायल होस्।’

ह्याप्पी दसैं !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s