बजार विस्तारको लागि जुम्लाको स्याउ राजधानीमा

विश्वनाथ खरेल ,

भारत र चीनको स्याउले बजार ओगटिरहेको बेला राजधानीमा जुम्लाको स्याउ भित्रिएको छ । स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थानीय कृषकहरुको सक्रियतामा हाल राजधानीमा स्याउ भित्रिएको हो । जुम्लाको लाम्ब्रा गाविसका प्रकाश खड्काले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्नका लागि राजधानीमा स्याउ ल्याएको जानकारी दिए । यातायातको सुविधा नहुँदा कर्णाली अञ्चलमा फल्ने स्याउको उचित मूल्य नपाएर बोटमै लाखौं रुपैयाँको स्याउ कुहिनुभन्दा काठमाडौंमा बेच्न उपयुक्त ठानी ल्याइएको सम्बन्धित क्षेत्रका कृषकहरुको भनाइ रहेको छ । हाल यस स्याउको बिक्री केन्द्रका रुपमा राजधानीको भक्तपुरको बालकोट, भक्तपुर, ललितपुर र काठमाडौंमा बिक्रीको लागि राखिएको छ । यी स्याउको मूल्य पनि गुणस्तर हेरी तीन किसिमको मूल्य तय गरिएको छ । यसको मूल्य १ सय १० देखि बढीमा १ सय ५० सम्म मूल्य कायम भएको छ । उच्च हिमाली क्षेत्रको स्वच्छ हावापानीमा उत्पादन भएकाले पनि खानका लागि धेरै स्वादिलो रहेको कृषकहरु बताउँछन् । हाम्रो देशमा स्थानीय उत्पादनले माग धान्न नसकेपछि ७० प्रतिशत चीन र भारतबाट आयातीत हुने गरेको छ भने बाँकी ३० प्रतिशतले बढीमा तीन महिनासम्म पुग्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको पाइन्छ । यसमा पनि सबैभन्दा बढी चीनबाट आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष नारायण धितालले बताउनुभयो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि करोडौं रुपैयाँको स्याउ आयात गर्नु परेको छ ।
हाम्रो देशका उच्च तथा मध्यपहाडका ५४ जिल्लाहरुमा स्याउ खेती गरिँदै आएको छ । यसमध्ये धेरै जसो हिमाली क्षेत्रका १२ जिल्लाहरु सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, मुस्ताङ, रुकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, मुगु, बझाङ र बैतडीमा स्याउको खेती धेरै हुन्छ । यसका साथै कर्णालीको पाँच वटै जिल्लाहरुमा स्याउको राम्रो उत्पादन हुने गरेको र यी पाँचमध्ये जुम्ला जिल्लालाई अति राम्रो प्रांगारिक स्याउ खेतीका लागि प्रमुख मानिएको छ । स्याउ खेतीका लागि जुम्लाको हावापानी ज्यादै राम्रो रहेको सम्बन्धित विज्ञहरुको भनाइ छ । यहाँ स्याउलाई आवश्यक पर्ने प्राकृतिक वातावरणले भरिभराउ भएको छ । यस जिल्लाको सबै गाविसहरुमा प्राविधिक दृष्टिकोणबाट उत्तम स्याउ खेती गर्न सकिन्छ । स्याउसम्बन्धी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि जुम्ला लगायत कर्णाली अञ्चलकै आर्थिक, प्राविधिक, प्रशोधन कार्यमा सहयोग गर्दै आएको देखिएको छ । सरकारी स्तरमा पनि जुम्लाको स्याउ विस्तार गर्न एक घर एक बगैंचा जस्ता कार्यक्रम घोषणा गरी आर्थिक विकासको प्रथम प्राथमिकतामा स्याउ खेतीलाई राखेको देखिन्छ । तर, अझ यसको गुणस्तरलाई वृद्धि गर्न प्रांगारिक स्याउ उत्पादन गरी भविष्यमा स्वदेशी तथा विदेशी बजारमा उच्च भाउमा बिक्री गरी स्याउ खेतीलाई प्रांगारिक व्यवसायीकरण गर्न सकिने उद्देश्य लिइएको छ । आर्थिक वर्ष २०६३÷०६४ मा देशमा झन्डै ३४ हजार ५ सय ४६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । सोमध्ये कर्णाली अञ्चलमा ११ हजार ३ सय १८ मेट्रिक टन उत्पादन भएको थियो ।
यस हिसाबमा जुम्लाको मात्रै हिसाब गर्ने हो भने पनि ३ हजार ५ सय मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । यस तथ्यांकको आधारमा हेर्दा जुम्लाले प्रथम स्थान ओगटेको देखिन्छ । यसका साथै स्याउ खेती प्रवद्र्धनका लागि कृषि क्षेत्रको दीर्घकालीन योजना २० वर्षे तथा दशैं योजनाले पनि उच्च पहाडी भेगमा स्याउ खेतीलाई उच्च मूल्य बालीको रुपमा पहिचान गरी प्राथमिकतामा राखेको थियो । त्यसैगरी तीनवर्षीय अन्तरिम २०६४÷६५,२०६६÷०६७ योजनामा पनि स्याउ खेतीको विकास उच्च प्राथमिकतामा परेको थियो । यसको व्यावसायिक खेतीका कारणले गर्दा साना खाले किसानहरुको हौसलामा वृद्धि भई आर्थिक रोजगारीको गतिविधिमा थप वृद्धि हुन जाने देखिन्छ, जसले गर्दा राष्ट्रकै गरिबी न्यूनीकरणमा पिसिएका साना खाले किसानको आयस्तरमा वृद्धि भई आर्थिक लाभ प्राप्त हुने नीतिगत रुपमा सरकारले महशुस गरेको बुझिन्छ ।
अन्त्यमा भन्नुपर्दा जुम्लामा १ हजार ६ सय घरपरिवारमध्ये ७५ प्रतिशत अर्थात् १ हजार २ सय  घरपरिवारभन्दा बढी स्याउ खेतीमा निर्भर रहेको अनुमान गरिएको छ । हालसम्म २ हजार ४ सय ७२ हेक्टर भूमिमा विभिन्न प्रकारको स्याउ खेती गरिएको एकातिर छ भने अर्कोतिर उत्पादन एवम् क्षेत्रफलमा पनि क्रमिक रुपमा बढ्दै व्यवसायीकरणतर्फ उन्मुख हुँदैछ । यहाँको स्याउ आन्तरिक खपत बाहेक खासगरी सुर्खेत, नेपालगञ्ज निर्यात हुँदै आएको छ । आर्थिक वर्ष २०६९÷०७० मा जुम्लामा स्याउ उत्पादक किसानले १५ देखि २० रुपैयाँ प्रतिकिलोग्राम बेचेका थिए । यस्तो किसिमको बजार भाउले किसानको लगानी तथा मिहेनतमा उचित मूल्य पाउन नसकेको गुनासो बारम्बार आउने गर्छ । हाल जे–जति स्याउ बजारमा आउँछ त्यो केवल जुम्लाको सदरमुकामसम्म जोडिएका ६ वटा गाविसहरुबाट मात्र आउँछ । बाँकी २४ गाविसको स्याउ बिक्री वितरणमा आउँदैन । ती गाविसका स्याउ सबै सडेर, गलेर वा गाईवस्तुहरुलाई ख्वाएर नोक्सान भैराखेको बुझिएको छ । यसर्थ सरकारको तर्फबाट प्रयास नभएपछि जुम्लाका स्याउ उत्पादक आफैं बजार प्रवद्र्धनमा लाग्न थालेका छन् । चीनबाट आयातीत स्याउले मात्र कारोबार भइरहेको काठमाडौं उपत्यकामा जुम्लाका कृषकले १० मेट्रिक टन स्याउ भित्र्याएका छन् । बजारको मागलाई हेरी पुनः स्याउ ल्याउने उनीहरुको भनाइ रहेको छ । यसरी खेर गएको स्याउ र विभिन्न हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलाई काठमाडौं लगायत देशका विभिन्न सहरी क्षेत्रमा ल्याउन सके स्वदेशी स्याउको बजार विस्तार हुने कुरामा दुईमत नहोला ।

Source : http://www.aarthikdainik.com.np/news_details/700609

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s