कुमारी पूजामा सहभागी

राजधानीको हनुमानढोका दरबार परिसरमा मंगलबार आयोजित कुमारी पूजामा सहभागी बालिका । आयोजकहरूका अनुसार मुलुकमा शान्तिको कामना गर्दै १ सय ९७ कुमारीको पूजा गरिएको हो ।
फोटो : लक्ष्मीप्रसाद ङाखुसी/कान्तिपुर

आज कुमारीजात्रा

चेतबहादुर सिंह

काठमाडौ, आश्विन १ –
जीवित देवी मानिने कुमारीको रथ जात्रा बुधबार राजधानीमा हुँदै छ । साथमा जीवित देवकै रूपमा रहेका गणेश र भैरवको पनि रथ जात्रा हुनेछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजा उत्थान गरेपछि राजधानीमा सप्ताहव्यापी इन्द्रजात्रा मनाउने चलन छ । देवराज इन्द्रको मूर्तिलाई भने ठाउँठाउँमा पाता कसेर बाँधी प्रदर्शनमा राखिन्छ र कुमारी, गणेश एवं भैरवको रथजात्रा गर्ने परम्परा छ । यसरी इन्द्रजात्राका अवसरमा कुमारी जात्रा गर्ने परम्परा अन्तिम मल्ल राजा जयप्रकाश -१७९३—१८२५) ले चलाएका हुन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन शाक्य जातकी एक बालिका तथा गणेश र भैरवको रूपमा दुई बालकलाई वसन्तपुरस्थित गद्दी बैठक अगाडि बेग्लाबेग्लै रथमा आरोहण गराई तानेर नगर परिक्रमा गराई कुमारी जात्रा मनाइन्छ । त्यस अवसरमा देवीदेवता दर्शनको लागि गद्दी बैठकमा राष्ट्रपति समेतको उपस्थित हुन्छ ।

यात्रामा पहिले गणेश त्यसपछि भैरव र कुमारीको रथलाई मानिसहरूले तानी तल्लो टोलहरू मरू, चिकंमुगल, मजिपाट, जोशीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, ह्युमतःटोल, क्वहिटी, भीमसेनस्थान भएर पुनः वसन्तपुरमा नै पुगिन्छ । त्यस क्रममा सांस्कृतिक बाजागाजाहरू, पञ्चेबाजा, गुरुजुको पल्टन, सैनिक बैन्डबाजा, पञ्च बुद्ध -बैरोचन, अक्षभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव) ले परिक्रमा गराइन्छ । राजप्रतिनिधिको रूपमा कुमारीको रथमा राजखड्ग राख्ने गरिन्छ ।

त्यस अवसरमा हल्चोकको आकाश भैरव -सव भकु), मजिपाः लाख नाचे, किलाखगको पुलुकिसी -ऐरावत हात्ती), भक्तपुरको महाकाली नाच पनि नचाउँदै नगर परिक्रमा गराइन्छ ।

कुमारीको रथयात्रापछि इन्द्रको आमा भनिने डागीं निकाली बाजागाजाको साथमा नगर परिक्रमा गराइन्छ । डागींका साथ मृतकहरू स्वर्ग गएको हेर्न जाने भनी मृतकका आफन्तहरू बाटाभरि शत्बीज छर्दै नगर परिक्रमा गर्ने गर्दछन् । त्यसको केही बेरपछि उनीहरूको बाटो हेर्न जाने भनी नर्कटका लामो सर्पाकार बनाई त्यसमा पंक्तिबद्ध गरी बलेका दियोहरू राखी नगर परिक्रमा गराइन्छ । नेपालभाषामा यसलाई ‘बौ मतः’ भनिन्छ । डागींले नगर परिक्रमा गरिसकेपछि यस वर्ष दिवंगत भएका आफन्तहरु डागींसंगै थानकोटतिर अवस्थित इन्द्रदह -युकी दह) मा स्नान गर्न जाने गर्दछन् । त्यहाूसम्म पुग्न नसक्नेहरुले इन्द्र दहकै पानी आइरहेको विश्वासले मरु हिटी -ढुंगेधारा) मा स्नान गर्ने गरिन्छ ।

इन्द्रजात्रा वा इन्द्रोत्सव कुमारी जात्रा सुरु हुनुभन्दा धेरै पहिलेदेखि चलेको हो । इन्द्रजात्राको परम्परा उत्तरप्राचीनकालमा भएको अनुमान संस्कृतिविद् हरिराम जोशीले गरेका छन् । इन्द्रजात्रा शब्द नै अंकित भएको पहिलो अभिलेख नेपालसंवत् ५६१ को भक्तपुरमा टौमडी टोलको भएकाले त्यसै समयदेखि इन्द्रजात्राको परम्परा सुरु भएको उनको भनाइ छ । नेपालभाषामा इन्द्रजात्रालाई ‘येयाः भन्ने गरिन्छ । ‘ये’ को अर्थ इन्द्र र ‘याः’ को अर्थ जात्रा हो ।

इन्द्रजात्रा मनाउन द्वादशीदेखि राजधानीको मरु सत्तल र सिंल्यु सत्तलको बीचको ठाउँमा अग्लो खट बनाई त्यसमाथि इन्द्रको मूर्तिलाई डोरीले बाँधि प्रदर्शनका लागि राखिएको छ । आफ्नी आमाले बसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो लिन आएका इन्द्रलाई चोरी गरेको आरोपमा पक्रेर त्यसरी बाँधेर राखेको भन्ने लोक कथन छ । त्यस मूर्तिलाई बिहानैदेखि भक्तजनहरूद्वारा पूजा-अर्चना गर्ने र दिवंगत भएका आफन्तका नाममा बत्ती बाल्ने गरिन्छ । इन्द्रको मूर्तिलाई डोरीले बाँधेर इन्द्रचोक, किलाघः, नरदेवी आदि ठाउँमा पनि राखिएका छन् ।
प्रकाशित मिति: २०७० आश्विन २ ०८:०७

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=305247

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s