कसले जित्ला चुनाव ?

प्रा. महेन्द्र लावती

भाद्र २४ –
निर्वाचनले अनिश्चिततालाई संस्थागत गरी लोकतन्त्रलाई बिभिन्न्ा व्यक्ति, समुदाय र पक्षबीच मान्य बनाइदिन्छ भन्ने मान्यता छ । हारजित निश्चित नहुने भएकोले नेताहरू जनताको मन र भोट जित्न केही मात्रामा जवाफदेही हुन बाध्य हुनपर्छ । निर्वाचनको अनिश्चितताल्ााई सरोकारवालाहरू बिभिन्न कारणले चिर्न खोज्छन् । यसका लागि चुनावका भविष्यवाणीवेत्ताहरू विगतका मतदानका प्रवृत्तिहरू र नयांँ सिर्जना भएका वातावरणको आधार लिन्छन् ।

निर्वाचनको परिणामलाई पार्टी विशेषप्रतिको जनलहर, संगठन विस्तार, पार्टी एकता वा विभाजन, नयांँ पार्टीको उदय, दलहरूको चुनावी अभियान, मिडियाको भूमिका, कुनै ठूलो घटना आदिले असर पार्न सक्छन् । यी बिभिन्न तत्त्वहरूको असरपश्चात समग्र रूपमा प्रमुख दलहरूको निकट निर्वाचनमा कतिसम्म मत बढ्ने वा घट्ने सम्भावना रहन्छ भनेर विगतमा भएका निर्वाचनहरूमा देखिएको मतपरिणामका अन्तरालहरू हेरेर कही अनुमान गर्न सकिन्छ ।

विगत दुई दशकमा नेपालमा भएको निर्वाचनहरूको -१९९१, १९९४, १९९९ र २००८) अध्ययनले दुईवटा प्रवृत्तिहरू देखाउँछ । पहिलो, १९९० को दशकमा दुइटा मुख्य शक्ति नेपाली काङ्ग्रेस र नेकपा एमाले र तेस्रो शक्तिको रूपमा राप्रपा रहेको अढाई दलीय पद्धति स्थिर थियो । तीनवटै चुनावहरू एउटै निर्वाचन प्रणाली र सालाखाला उस्तै राजनीतिक र सामाजिक वातावरणमा भएका थिए ।

९० को दशकको दांँजोमा सन् २००८ को निर्वाचनमा कांग्रेसले १५ प्रतिशत र एमालेले ९ प्रतिशत मत हारेर दलीय संरचना परिवर्तन भयो । तीनवटा ठूला दल र प्रमुख भूमिकाको साथ मधेसी पार्टीहरू स्थापित भएको साढे तीन दलीय पद्धति र मिलीजुली राजनीतिको उदय भयो । माओवादी, दोस्रो जनआन्दोलन र मधेस आन्दोलन, प्रणाली परिवर्तन र त्यसपछि भएका ठूला संरचनागत परिवर्तनहरूपछि मात्र दलीय संरचना परिवर्तन भएको थियो । यसले के देखाउँंछ भने ठूलै राजनीतिक घटना र निर्वाचन संरचनामा परिवर्तन नहुने हो भने दशक जतिको समयमा भएका निर्वाचनहरूमा दलहरूले प्राप्त गर्ने मतको परिणाम परिवर्तन हुनसक्छ, तर दलीय संरचनामा परिवर्तन नहुन सक्छ ।

दोस्रो, उस्तै-उस्तै वातावरणमा भएका निर्वाचनहरूमा दलहरूले पाउने मत परिवर्तन एउटा निश्चित सीमाभित्र हुने सम्भावना रहन्छ । सन् १९९० को दशकमा भएका तीनैवटा निर्वाचनहरूमा प्रमुख दुई राजनीतिक दलहरूले धेरै वा थोरै मत पाएको अन्तराल पांँच प्रतिशतभन्दा कममात्र थियो -तालिका हेर्नुहोस्) । सन् १९९० को दशकमा काङ्ग्रेसले सवैभन्दा धेरै र थोरै पाएको मतको अन्तराल ४.३७ प्रतिशत थियो भने नेकपा एमालेको लागि ३.१ प्रतिशत थियो । यो प्रवृत्तिको आधारमा प्रमुख दलहरूले आगामी निर्वाचनमा अधिकतम बढाउन र गुमाउन सक्ने मत सन् २००८ को चुनावमा ती दलले पाएका मतको ५ प्रतिशतको हाराहारीमा हुनसक्छ भन्ने देखाउंँछ । किनकि आगामी निर्वाचन सन् २००८ को जस्तै निर्वाचन प्रणाली र लगभग उस्तै राजनीतिक र सामाजिक वातावरणमा हुन गइरहेको छ । यी दुईवटा ऐतिहासिक प्रवृत्तिलाई आधार मान्ने हो भने र ठूला आन्दोलनहरू, संकट र संरचनागत सुधार नभएको पृष्ठभूमिमा निकट भविष्यमा निर्वाचन भएमा एमाओवादी सवैभन्दा ठूलो राजनीतिक दल हुने संकेत गर्छ ।

यदि बिभिन्न कारणवश अघिल्लो निर्वाचनमा प्राप्त गरेको भन्दा अधिकतम मत गुमायो भने पनि एमाओवादीले २५ प्रतिशत वरिपरि मत पाउनेे सम्भावना रहन्छ भन्ने माथिको विश्लेषणले देखाउंँछ -२०६४ मा २९.२८ प्रतिशत पाएको थियो) । अर्कोतर नेपाली कांग्रेस र नेकपा एमालेले चुनावमा अधिकतम मत प्राप्त गरे भने पनि २५ प्रतिशतको हाराहारीमा मत पाउने सम्भावना छ -अघिल्लो चुनावमा कांगे्रसले २१.१४ र एमालेले २०.३३ प्रतिशत मत पाएका थिए) । यसरी एमाओवादीले अधिकतम मत गुमाए र नेपाली कांग्रेस वा नेकपा एमाले अधिकतम राम्रो गरे भनेमात्र बल्ल तीन दलहरूबीच प्रतिस्पर्धा हुनसक्छ । तर प्रतिस्पर्धा होला भन्ने गतिला आधारहरू भने छैनन् ।

पहिचान सहितको संघीयता विरुद्ध खडा भई संविधान बन्न नदिएपछि आदिवासी जनजाति, मधेसी, मुस्लिमहरूका नेता र कार्यकर्ताहरूको ठूलो हुद्दाले एमाले छाडे । वरिष्ठ नेता अशोक राई आदिले संघीय समाजवादी पार्टी बनाएपछि एमालेको पहिलाको पूर्वी पहाडी किल्लामा भुइँचालो आएको मात्र होइन, अन्य जिल्लाहरूमा पनि क्षति पुगेको पर्यवेक्षकरु बताउँंछन् । पहिले पनि मजबुत नरहेको मधेसमा पनि एमाले छोड्ने प्रक्रिया नेतृत्व तहमा मात्र होइन, स्थानीय तहमा जारी छ भनेर दलहरूको गतिविधिहरू समीक्षा गरिरहेका विज्ञ र संगठनहरू बताउंँछन् । पहिचानको विरोधमा उत्रेपछि एमालेको प्रगतिशील छविमा धक्का लागेको हुनाले सर्वसाधारणहरू एमालेप्रति वितृष्णा भई मत क्षयीकरण हुने सम्भावना छ । अर्कोतिर पार्टीलाई अझै पनि साम्यवादी भनेर नथाक्ने एमालेलाई अनुदारवादी मतदाताहरूबाट मत झर्ने सम्भावना पनि देखिँदैन ।

१९९० को दशकको दाँजोमा सन् २००८ मा धेरै मत गुमाएको नेपाली कांग्रेसले विगत चार-पाँच वर्षमा मधेसको आफ्नो पुरानो भोट तान्न भाषणमा बाहेक नीतिमा खासै परिवर्तन गरेको छैन । कुमार राई लगायत धेरै नेता र कार्यकर्ताहरूले पनि कांग्रेस परित्याग गरी सामाजिक लोकतान्त्रिक पार्टी खोलेका छन् । भिन्न धार बोकेको कांग्रेसले जनताको आकांक्षालाई सम्बोधन नगरी त्यतिकै मतको लहरको आशा गर्नु उसैको अकर्मन्यता हो । विभाजनबाट ग्रस्त मधेसी पार्टीहरूको फाइदा यदि कसैले लिन सक्यो भने बढी एमाओवादी र कममात्र कांग्रेसले लिन सक्छ भनेर मधेस अध्ययनकर्ताहरू बताउंँछन् । मधेसी पार्टीहरूबीच चुनाव अगाडि मोर्चा बनेमा उक्त सम्भावना पनि नरहला । एमाओवादीले मधेसमा गरेको ब्यापक नीतिगत, संगठनात्मक र स्रोत र साधनको  लगानीको प्रतिफल पाउने अडकल अनुसन्धानकर्ताहरूको छ । राजावादी र पुनःरुत्थानवादी राप्रपा नेपालको पहिल्ााभन्दा मत बढ्छ भनेर धेरैले स्वीकार्छन्, तर यसले पनि बढी क्षति कांग्रेसलाई नै पुग्ने सम्भावना छ । सन् २००८ मा दम भएको अनुदारवादी पार्टीको अभावमा कट्टरपन्थी मतदाताहरू कांग्रेसलाई मत दिन पुगेका थिए, तर यसपालि ती मतहरू राप्रपा नेपालमा झर्ने सम्भावना बढी छ ।  

एमाओवादीको मत केही कारणले क्षय भए पनि अन्य कारणले बढ्न सक्छ । पार्टीमा फुट, सन् २००८ मा जस्तो शान्ति र परिवर्तनको आकांक्षाले सिर्जना गरेको जनलहरको कमी, अन्य दलहरू र मतदातामा त्रासको कमी आदिले मत गुमाउन सक्छ । तर संगठन विस्तार, शक्तिमा पहुंँच र साधन र स्रोतमाथि पकड, मधेस केन्दि्रत गतिविधि, साना दलहरूसँग एकीकरण र एमाले लगायतका वरिष्ठ नेता तथा कार्यकर्ताहरूको पार्टी प्रवेशले मत बढाउँछ । अखण्ड सुदूर पश्चिम आन्दोलनमा नेताहरूको दोहोरो भूमिकाले गर्दा थारुहरूको एमाओवादीप्रतिको पहिलाको जस्तो दह्रो समर्थनमा गिरावट आउन सक्छ । तर कांगे्रस र एमालेको उक्त आन्दोलनप्रतिको समर्थनले थारुहरूलाई झन् बढी क्रुद्ध बनाएको छ ।

सन् २०१२ मा भएको पार्टी विभाजनले गर्दा एमाओवादीलाई ठूलो धक्का लागी हार बेहोर्नुपर्छ भनेर केहीले सम्झेका छन् । तर अघिल्ला पार्टी विभाजनहरूको विश्लेषण गरेमा विभाजनले एमाओवादीलाई सवैभन्दा ठूलो दल बन्नबाट नरोक्ला भनेर अनुमान गर्ने आधार दिन्छ । नेकपा एमालेबाट धेरै केन्द्रीय नेता र सांसदहरूको हिस्सा अलग भएर नेकपा मालेको विभाजन हुँदा पनि सन् १९९९ को निर्वाचनमा माउ पार्टीले ३०.७४ प्रतिशत मत पाएको थियो । उक्त मत सन् १९९४ मा अविभाजित एमालेले पाएको ३०.८५ प्रतिशतजति थियो । नेकपा मालेले १९९९ को निर्वाचनमा प्रत्यक्षबाट एउटा सिट पनि जित्न सकेन, तर ६ प्रतिशत मत प्राप्त गरेको थियोे ।

विभाजनको बाबजुद पनि एमालेले १९९९ मा अघिल्लो निर्वाचनको हाराहारीमै मत प्राप्त गर्नुको पछाडि पार्टीले सरकारमा हुँदा गरेका सुधारहरूले ठूलो भूमिका खेलेको थियो । गाविसहरूलाई अनुदानको व्यवस्था, गाविसहरूमा महिलाहरूलाई प्रतिनिधित्व, वृद्धभक्ता आदि व्यवस्था गरेर प्रगतिशील छविलाई मजबुत पारेको थियो ।

एमाओवादीले पनि विगत पाँच वर्षमा संगठन मजबुत र आधार फराकिलो बनाएको छ । २००८ को निर्वाचनपछि साना पार्टीहरूसँग एकीकरण गरेको छ । अमिक शेरचनले नेतृत्व गरेको जनमोर्चा नेपाल, नवराज सुवेदीले नेतृत्व गरेको नेकपा एकीकृत, नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेकपा एकताकेन्द्र मसाललाई पार्टीमा समाहित गरायो भने रामचन्द्र झा आदिलाई पार्टीमा प्रवेश गराएको छ । विभाजनको घाटालाई यी एकीकरण र पार्टी प्रवेशबाट केही पुरताल गर्ने सम्भावना छ ।

नेपालमा अनौठो कुरा के हो भने नेपाली काङ्ग्रेस र नेकपा एमालेले परिवर्तनकारी र अन्य मुद्दाहरूमा प्रतिस्पर्धा नगरी एमाओवादीलाई सहज वातावरण निर्माण गरिदिएका छन् । त्यसैले अझै पनि वर्गीय र जातीय दुवै सवालमा समानताको चाहना राख्ने मतदाताहरूमाझ एमाओवादी पार्टी आशा र भरोसाको सम्वाहकको रूपमा रहेको छ । स्वतन्त्र आदिवासीहरूले एमाओवादीका नेताहरूलाई धोका दियो भनेर गाली गर्लान्, तर पनि पार्टीका नेता तथा कार्यकर्ताले एमाले र कांगे्रसजस्तै ठूलो हुद्दामा छोडेका छैनन् । वैद्यको दलमा धेरै पिछडिएका समुदायका नेताहरू लागे, तर पहिचानसहितको संघीयताको विरोधमा एमाओवादी प्रस्टसित नउत्रिसकेकोले कार्यकर्ताहरूमा पार्टी छोड्ने तहको वितृष्णा आइसकेको छैन ।

समग्रमा एमाओवादी फेरि पनि सवैभन्दा ठूलो दल बन्नेे सम्भावना ऐतिहासिक प्रवृत्तिले संकेत गर्छ । विगतको निर्वाचनको प्रवृत्तिलाई मात्र हेरेर आगामी निर्वाचनको परिमाण अनुमान गर्न सकिन्छ भन्ने तर्क होइन । निर्वाचनको इतिहास साथै विस्तृत विश्लेषणले महत्वपूर्ण संकेतहरू दिन सक्छन् भन्नेमात्र हो । यो विश्लेषणमा कति दम छ भनेर त आगामी चुनावकोे नतिजाले प्रस्ट पार्नेछ ।
प्रकाशित मिति: २०७० भाद्र २५ ०८:५८

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=304637

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s