समयसँगै बदलिँदै तीज

 

कल्पना खनाल ,
काठमाडौं , भदौ २२ ,



आज हरितालिका तीज । देश तथा विदेशमा रहेका नेपाली महिलाहरु श्रीमान्को दीर्घायुको लागि निराहार व्रत बसेर नाचगान गर्दै भव्य रुपमा मनाइरहेका छन् । नेपाली हिन्दु नारीहरुको महान् पर्वको रुपमा मनाइने हरितालिका तीज स्वदेश विदेश, गाउँ, शहर सबै ठाउँमा छरिएर रहेका नेपाली महिलाहरुले परापूर्व कालदेखि मनाउँदै आएका छन । विशेषगरी विवाहित नारीले आफ्नो पतिको सु –स्वास्थ्य र दिर्घायुको कामना गदै र अविवाहित नारीहरुले राम्रो पति पाऊँ भन्दै व्रत बसेर तीज पर्व मान्ने इतिहासदेखिको प्रचलन छ । कहिलेदेखि तीज मनाउन सुरु भयो भन्ने यकीन तथ्याङ्क नभए पनि विभिन्न ग्रन्थहरुमा तीज महादेव र पार्वतीसँगै जोडिएर आउने गर्दछ । पछिल्लो समयमा तीज विकृत र छाडा बन्दै गइरहेकोतर्फ महिलाअधिकारवादी तथा परम्परावादी  महिलाहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन् । आधुनिकताको नाममा तीज संस्कार विहीन, भड्किलो र सामाजिक रवाफ बन्दै गएकोमा कडा आलोचना पनि तीजको भइरहेको छ ।
विशेषगरी विवाह गरेर पराइको घरमा गएका महिलाहरु तीजको एक दिन आफ्नो जन्मघर फर्केर आफूले भोगेको पीडा, हिंसा तथा अन्याय र अत्याचारका विरुद्धमा स्वतन्त्रतापूर्वक नाचगानको माध्यमबाट अभिव्यक्त गर्ने दिनको रुपमा समेत तीजलाई लिइन्छ । विवाह गरेर घरमा गएकी महिलालाई तीजमा आफ्नो जन्मघर जानुलाई अधिकारको रुपमा समेत लिँदै आएका छन् । त्यसैले यही विषयमा जोडिएर धेरै कलाकारहरुले कैयौं गीत समेत रचना गरिसकेका छन् । त्यसैगरी, तीजमा माइती लिन नआउँदा विवाहिता महिलालाई हुने पीडा पनि छुट्टै खालको हुने कुरा तीजको अवसरमा निर्माण गरिएको विभिन्न गीतहरुबाट स्पष्ट हुन्छ । तीजमा महिलाहरुले आफूलाई वर्षदिनमा एक दिन स्वतन्त्र महसुस गर्ने दिनको रुपमा पनि लिन्छन् । त्यसैले तीजको अवसरमा आयोजित नाचगानमा श्रीमान्को बानी व्यहोरादेखि सासु–ससुरा, देवर, जेठाजु सबैंको आनीबानीलाई समेटिएको कथाको लामै श्रृंखलाबारे प्रस्तुत गरिएको हुन्छ ।
नेपाली महिलाको विशिष्ट र धार्मिक महत्व बोकेको यस पर्वलाई घरदेखि टाढा गएका दिदीबहिनीको मिलनको रुपमा पनि मनाउने गरिन्छ । पहिले पहिले दिदी बहिनीहरु एकै ठाउँमा जम्मा भएर मिठो मसिनो जे छ त्यही खाएर रमाउने र दिदीबहिनी एक आपसमा सुख दुखका कुरा साटासाट गरी  घरपरिवारसँग सँगै बसेर तीज पर्व मनाइने गरिन्छ। यस अवसरमा मौलिक बाजा मादलुको तालमा मन्दिर तथा घरहरुमा नाच्दै गीत गाइने पनि  गरिन्छ । मेरी हजुरआमाले भन्नुहुन्थ्यो –भदौ महिना लागेपछि छोरी आउने दिन गन्दै बसिन्थ्यो  र एक दिन भए पनि छोरीचेलीको लागि मिठो मसिनो पकाएर खाइन्थ्यो ।

तर, समय परिवर्तन भएको छ । हाल एक महिनाअघिदेखि नै दरखाने कार्यक्रम सुरु हुन्छ, जसले गर्दा अहिलेका बढीजसो सहरिया महिलाहरुलाई दर खान भ्याइ नभ्याइ हुन्छ र कहिले काहीँ त त्यही खाएको दरले बिरामी समेत पर्ने अवस्था सिर्जना हुन्छ । अहिले पतिको स्वास्थ्य वा दिदीबहिनीहरुको मिलन भन्दा पनि आफ्नो भए भरको सम्पत्ति देखाउने पर्वको रुपमा तीजलाई मानिने गरिएको छ, जसले गर्दा धनी र गरिब वर्गको विभेद सिर्जना हुँदै गएको छ । आफूसँग केही नभए पनि देखाउनको लागि ऋण काढेरै भए पनि सहर बजारका दिदीबहिनीहरुले तडकभडकका साथमा तीज पर्व मनाउनुले समाजमा नकारात्मक अवस्था सिर्जना  गर्दै गएको छ । आफ्ना मौलिक बाजा मादलुको ताललाई छोडेर भड्किला गीत लगाई ठूल ठूला पार्टी प्यालेसमा जम्मा भई यो पर्व मनाउने गर्नुले नेपाली समाज र हिन्दु धर्मको पवित्र पर्व  तीज कता जाँदैछ भन्ने प्रश्न चिन्ह पनि सँगसँगै उब्जिन थालेको छ । तीजको नाममा समाजमाथि कब्जा जमाउने, वैभव प्रदर्शन गर्ने तथा संस्कार भन्दा पनि कपडा र गहना प्रदर्शनमा जोड दिन थालिएको अवस्था छ ।     
सहर बजारमा तीजको शैली पनि अचम्मको बन्दै गएको छ । एकातिर दर खाने नाममा एक महिना अगाडिदेखि भोज खाने प्रचलन अर्कोतर्फ व्रतको साटो टन्न खाने, भएका गरगहना प्रदर्शन गर्ने र अरु महिलाहरुलाई होच्याउने प्रकारका कपडा लगाउने तीजको नया चलनमा रुपान्तरित हुँदै गएको छ । यसले गर्दा हुँदा खाने र हुनेखाने महिलाका बीचमा ठूलोे पर्खालको रुपमा तीज अगाडि आएको छ । अर्को तर्फ हुँदा खाने महिलाहरुलाई तीज ठूलो समस्याको रुपमा खडा हुँदैछ ।  पछिल्ला समयमा निस्केका तीजका गीतहरु पनि निकै भड्किला रुपमा बजारमा सार्वजनिक हुदै गएका छन । जसले गर्दा घरपरिवारसँगसँगै बसेर सुन्न र हेर्न पनि निकै कठिन हुने गरेको छ । संस्कार, महिलाको सत्यता तथा आदर्शमाथि प्रश्न चिन्ह लगाउने खालका गीत संगीतको कारण पनि तीज पर्व विवादमा पर्दै गएको हो । महिलामाथिको दमन, अन्याय र अत्याचारको कथा व्यथाहरु सुरिलो स्वरमा घन्किनु पर्ने तीजका गीतहरु आधुनिकताको नाममा श्रीमान फेर्दै हिड्ने महिलाको रुपमा चित्रित गरिनुलाई स्वयम् महिलाहरुले गम्भीर रुपमा लिएर मनन् गर्नुपर्ने विषय बन्न पुगेको छ ।
अर्कोतर्फ श्रीमानको दीर्घायुको नाममा केही महिलाहरु निराहार व्रत बस्ने भन्दै पानी समेत पिउन छोड्दै जाने अतिवादी तीज पनि हाम्रो समाजमा छ । जसले गर्दा महिलाहरुको स्वास्थ्य कमजोर हुने तथा विरामी पर्ने समस्या उत्पन्न हुने गरेको  छ । श्रीमानको दीर्घायुको नाममा भोकभोकै व्रत बस्नु भन्दा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै संस्कार जीवित राख्नेतर्फ सबै महिलाले ध्यान दिनु उचित हुने देखिन्छ । त्यसैले तीजलाई भड्किने, संस्कार विहीन र अतिवादी तीज भन्दा पनि इतिहासदेखि मानिदै आएको तीजलाई कसरी सरल तरिकाले मनाउने र तीजको संस्कार जीवित राख्ने भन्नेतर्फ सबैले ध्यान पु-याउनु पर्ने देखिन्छ ।

मन्दिरमा जादा  ध्यान दिनुपर्ने कुरा

–    तीजमा विशेषगरी महादेवको पूरा गर्ने हुनाले कुनै निश्चित मन्दिरमा नै पुग्नुपर्दछ भन्ने छैन । त्यसैले आफूलाई पायक पर्ने मन्दिरमा जाऔं ।
–    खाली पेटमा उफ्रदा शरीर कमजोर हुने हुँदा नाच्दा थकाइ मार्दै नाच्दै गर्नुहोस् ।
–    मन्दिरमा धेरै समयमा लाइनमा बस्नुपर्ने भएमा शरीर थाकेर गल्न सक्ने तथा स्वास्थ्य खराब हुन सक्ने भएकोले आफ्नो स्वास्थ्यमा निरन्तर ध्यान दिइरहौं ।
–    मन्दिरमा लाइन बस्दा छोटो लाइन छानेर बस्नुहोस् ।
–  सकेसम्म बिहान चाँडै गएर मन्दिरमा दर्शन गर्ने काम सकौं ।
–    मन्दिरमा अबेरसम्म नबसौं, उज्यालो छँदै घर फर्कांै ।
–    व्रतको दिन भएकाले पानी पिउँदिन नभन्नु होला । एक बोतल पानी सधैं साथमा राख्नुहोला । गाह्रो हुनेबित्तिकै पानी पिउनुहोला ।
व्रत बस्दा ध्यान दिनुपर्ने कुराहरू

 
–    तीजको व्रत बस्ने नाममा पानी समेत नपिई श्रीमान्को दीर्घायुको कामना गर्दैमा प्राप्त हुने कुरा होइन । त्यसैले व्रत बस्नु अधिकार भए पनि भोकभोकै व्रत नबसी, फलफूल र पानी पर्याप्त मात्रामा पिउने गरौं ।
–    तीजको व्रत बसेको समयमा मन्दिरमा पूजा गर्न जाँदा एक्लै  नजाऔं । व्रत बसेको समयमा शरीर कमजोर हुने हुँदा बेहोस भई ढल्न सक्ने भएकोले कोही न कोही साथी लिएर मात्रै जाऔं
–   तीजको व्रत बस्नु अघिल्लो रात खाइने दरमा धेरै चिल्लो पदार्थ पनि सेवन नगरौं ।
–    व्रत बस्दा समय समयमा पानी पिउने गर्नुहोस् ।

पुरुषहरूले दर खाने पनि तीज हुन्छ ?
– पद्मिनी प्रधानाड्ड, अध्यक्ष, शक्ति नेपाल पार्टी
तीज पर्व कस्तो पर्व हो
० तीज नेपाली महिलाहरुको ठूलो महत्वको सांस्कृतिक पर्व हो । तर, अहिले यो तीज बडो तडक–भडकसाथ मनाउन थालिएको छ साथै विकृत बन्दै गएको छ । तीजको नाममा बढ्दै गएको विकृति अन्त्य हुनुपर्दछ । यसपटक अख्तियारले सामाजिक सुधार ऐनलाई लागु गरेको छ । त्यसले गर्दा केही डर भने देखिएको छ । यो एकदमै सकारात्मक कदमको रुपमा हामीले लिएका छौं । तडक–भडक हुनुको कारणले पनि देशमा भ्रष्टाचार बढेको देखिएको छ । हुनेले त गर्न सक्दछ । नहुनेले के गर्ने ? त्यसैले नहुने मानिसको चित्त नदुखाउनको लागि सबैलाई समान नीति लागु गर्नु पर्दछ । धेरै राजनीतिक दलहरुले तडक भडकसाथ तीज मनाउन लागिरहेको अवस्था छ । यसलाई विकृति नै भन्दछु म चाहिँ । एक दिन तीज मनाउनका लागि एक महिनादेखि खानु अनावश्यक खर्च हो । महंगी बढिरहेको तथा नेपाल र नेपालीको आयस्रोत घटिरहको बेलामा यस्तो अनावश्यक कुरामा खर्च किन ? नेपालीको प्रतिव्यक्ति आय घटिरहेको बेलामा तडक भडकसाथ तीज मनाउनुको कुनै औचित्य छैन ।
तीजलाई महिलाको मुक्तिको रूपमा पनि हेरिएको थियो, तर अहिले त कहा पुग्यो कहा नि ?
० महिलाको मुक्ति दिवसभन्दा पनि बिहे गरेर घर गएका महिलाहरु जन्मघर फर्केर माइतीका आमा बुबा, दिदीबहिनी लगायतका आफन्तसँग बसेर पीडाहरु साटासाट गर्ने, अभिव्यक्त गर्ने रुपमा लिइन्थ्यो । त्यो पनि कसरी भने नाचेर, गाएर आफ्ना पीडाहरु अभिव्यक्त गर्ने रुपमा लिइएको थियो । साथै मानसिक तनाव हलुका गर्ने रुपमा मनाइँदै आएकोमा पछिल्ला केही वर्षहरुमा तीज विकृत बन्दै जाँदा आफ्नो वैभव देखाउने खालको चरित्र विकास हुँदै जानु बडो चिन्ताको विषय हो । त्यसमा राजनीतिक पार्टीहरुले पनि मलजल थपेको मैले पाएको छु । राजनीतिक पार्टी सम्बद्ध कर्मचारी संघहरुले हरेक अफिस अफिसमा यस्तो फेसन बनाएको पनि पाइयो । कतिसम्म भयो भने महिलाहरुको तीजमा पुरुषहरु पनि दर खान गएको देखियो । यस्तो पनि तीज हुन्छ । पहिला पहिला तीजमा पुरुषहरुको संलग्नता कही कतै हुँदैनथ्यो । तर, विकृत बन्दै गएको तीजमा पुरुषहरु पनि दर खाइरहेको भेटिने गरेको छ । महिलाहरुलाई गिफ्ट दिन थालेका कुरा छ । हुन त पुरुषहरुले दर खानै नहुने भन्न खोजेको चाहिँ होइन । तर, यस्तो हुँदा कुरा कहाँ पुग्छ भन्ने कुरा मात्र हो । यो त तीजको संस्कार होइन र यसो हुनु राम्रो पनि होइन । तीज कस्तो हुनुपर्दथ्यो भने महिला कसरी आत्मनिर्भर भएर अगाडि बढ्ने, महिलामाथि भइरहेका हिंसालाई कसरी उजागर गर्न प्रोत्साहन गर्ने, महिलालाई कसरी सशक्त बनाएर अगाडि बढाउने भन्ने हुनुपर्नेमा त्यसो हुन सकेको छैन । तीजको नाममा कपडा र गहना प्रदर्शन तथा एक महिना अगाडिदेखि भोज खाने कुराको अन्त्य हुनुपर्दछ ।
तीज भनेको महिलाको आवाज बुलन्द गर्ने र आत्मनिर्भर दुबै हुनुपर्दछ भन्ने हो ?
० हो, महिलाहरु आत्मनिर्भर हुनैपर्दछ । आत्मनिर्भर भए भने तीजमा महिलाले गुनासो कम गर्दछन् । तीजमा महिलाहरु व्रत बस्छन् । श्रीमान्को दीर्घायुको कामना गर्दै । त्यो महिलाले इतिहास कालदेखि मान्दै आएको परम्परा हो । मन लाग्ने बस्छन् र मन नलाग्ने बस्दैनन् । मैले भन्न खोजेको सांस्कृतिक परम्परासँगै महिलासँग जोडिएर आएको विषय भएकोले यो दुबै कुरालाई जीवित राख्ने तथा महिलालाई सबै प्रकारबाट मुक्त गर्ने दिशामा अघि बढ्न सबै राजनीतिक दल, महिलावादी संस्थाहरु सक्रिय हुनुपर्दछ । श्रीमान्को दीर्घायुको आयु माग्नुको कारण के हो भने कसले पाल्छ, बिचल्ली नपरोस् भनेर पनि हो । श्रीमान्को आयु माग्नुसँगै आत्मनिर्भर भएको अवस्थामा श्रीमान्ले दोस्रो बिहे वा हेला गरेको अवस्थामा पनि एक्लै पनि जीविकोपार्जन गर्न सक्छु भनेर आत्म विश्वासको वृद्धि हुन्छ । महिला भाग्यवादी परजीवी मात्रै होइन, कर्मवादी स्वावलम्बी भएर कसरी बाँच्ने भन्ने कुराको बहस, छलफल हुनुपर्ने तीज कहाँ पुग्यो कहाँ ? पुरुष सरह एउटै कानुन कहिले लागु गर्ने भन्ने विषयमा छलफल गरेर एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था हो आजको दिन चाहिँ ।
पशुपतिमा पार्किङको विशेष योजना
 
हिमा बिक ,
आज तीजको अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिरमा अत्यधिक भीड हुने गर्दछ । भीडका कारण कैयौं महिलाहरुले दर्शन गर्नकै लागि अनेकौं सास्ती र हैरानी व्यहोर्नु पर्ने अवस्था आउन सक्ने देखिन्छ । त्यसैले तीजको दिनमा पशुपतिनाथको मन्दिरमा हुने महिलाको भीडलाई नियन्त्रण गर्न पशुपति क्षेत्र विकास कोष र महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाले विशेष योजना नै बनाएका छन् । पशुपति जानको लागि पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, तीनकुने, सिनामंगल, भोटाहिटी, जमल, नागस्थान, नक्साल, बालमन्दिर, खानीविभाग, लाजिम्पाट, महाराजगन्ज, बौद्ध, साँखु, कालोपुल, ज्ञानेश्वर, कोटेश्वर, लगनखेल, भक्तपुरको सूर्य विनायक, सल्लाघारी आदि ठाउँहरुबाट सार्वजनिक बसको माध्यमबाट पशुपतिनाथको मन्दिरसम्म पुग्न सकिन्छ ।
तीजको अवसरमा दर्शन तथा यातायात व्यवस्थापनका बारेमा जानकारी लिएर मन्दिर दर्शन गएको अवस्थामा सजिलो र चाँडो हुनसक्दछ । सुरक्षाकर्मीले पशुपतिनाथको आसपाससम्म सवारी साधन प्रवेश गर्न नदिने सूचना जारी गरिसकेका छन्। त्यसैले आफ्नै गाडीमा जाने महिलाहरुले पार्किङको विषयमा उचित ध्यान दिनुपर्ने छ । निजी सवारी पार्किङको लागि तिलगंगा, सिफल, गौशाला र गौरीघाटमाथितिर पार्किङ गरेर जाने व्यवस्था मिलाएको छ ।  सार्वजनिक बसमा जाने महिलाहरुले चाबहिल, तिलगंगा, पुरानोबानेश्वरबाटै पैदल हिँड्नु पर्नेछ । पार्किङ अन्तर्गत विशिष्ट व्यक्ति तथा सुरक्षा निकायका सवारी साधनहरु पि१ अन्तर्गत महानगरीय प्रहरी  वृत्त गौशाला, पशुपति क्षेत्र विकास कोषवाट जारी गरिएका पास भएका सवारी साधनहरु कोषको अमालकोट कार्यालयमा, दर्शनार्थी तथा तिर्थयात्री तथा विदेशी पर्यटकको सवारी साधनहरु तिलगंगा आँखा अस्पताल नजिकै, दर्शनार्थी र तिर्थयात्रीहरुको लागि सिफल चौरमा औपचारिक पार्किङको व्यवस्था गरिएको छ । तर, ती स्थानमा पार्किङमा अत्यधिक भीड हुने हुँदा सम्भव भएसम्म वैकल्पिक पार्किङ गर्न सकेको खण्डमा सवारी स्क्राच हुने तथा आफूले चाहेको बेलामा बाहिर निकाल्न सजिलो हुनेछ ।
इतबार विहान चाँडै मन्दिरमा पुगे पनि सामान्यतया तीन÷चार घण्टा लाइनमा बसेपछि पशुपतिनाथको दर्शन गर्न पाइन सक्छ । पशुपतिनाथको मन्दिरमा  दर्शन गर्नको लागि धनाढ्य महिलाको लागि छुट्टै व्यवस्था समेत गरिएको छ । एक हजार रुपैयाँ तिरेपछि छुट्टै बाटो भएर (लाइन नबसी) दर्शन गर्न पाउने व्यवस्था समेत विगतका वर्षहरुदेखि गरिँदै आएको छ । तर, यसमा पनि छोटो छोटो लाइन हुने गर्दछ । विगतका वर्षहरुको लाइन हेर्ने हो भने एक किलोमिटरभन्दा बढी लाइन बसेको उदाहरणहरु छन् । त्यसैले विहान चाँडै गएर दर्शन गर्नु उचित हुनेछ ।

अर्काे पनि तीज चाहियो
नारायण पौडेल ,
तीज तीनदिने चाड हो, पहिलो दिन व्रत, दोश्रो दिन चौथी र तेश्रो दिन पञ्चमी । तर, नेपालीलाई यतिबेला दुई महिना तीजले छुन्छ । पहिलो एक महिना तीजको रहर आयो बरिलै भन्दै र दोश्रो एक महिना तीजको रहर गयो बरिलै भन्दै । पार्वतीले महादेवलाई पतिका रुपमा पाऊँ भन्दै बसेको व्रत नै यतिबेला नेपाली नारीहरुले मनाउने तीज पर्व हो । अविवाहितले महादेव जस्तै पति पाउने अपेक्षा र विवाहिताले पतिको दीर्घायुका लागि मनाउने तीज पर्वको मौलिक पहिचान धुमिल हुँदै गएको भन्ने टिक्का टिप्पणीहरु भैरहँदा यसको मौलिकताले निम्त्याएको असमानताको खाडलबारे खासै ध्यान दिइएको पाइन्न ।
दुनियाँमा अद्भूतको परिवर्तन भैसकेका छन् । डिल्मा रुसेफ, जुलिया गिलार्ड र एन्जेला मार्केलले ब्राजिल, अष्ट्रेलिया र जर्मनीमा राज गरिरहँदा नेपाली महिलाहरु भने ‘पति परमेश्वर तिम्रो दीर्घायु भव’ भन्दै खुट्टाको पानी खाइरहेका छन् । रोटी र वेटीको सम्बन्ध भएको भारतमै पनि सोनियाँ गान्धीको राज चल्छ तर नेपालमा भने महिलाहरु तीजका नाममा पुरुषको दासताको शिकार बनिरहेका छन् । कतिपय नबुझेर पुरुषको दासता स्वीकारिरहेका छन् भने कतिपय चाहिँ बुझेरै पनि त्यसलाई शिरोपर गरिरहेका छन् । संस्कृति सापेक्ष हुन्छ, परिवर्तनशील पनि हुन्छ । कुनै समय धर्मले कानुनको भूमिका खेल्थ्यो । धार्मिक मूल्य मान्यताले समाजलाई सुशासित बनाउन मद्दत गर्थे । त्यसैले त्यो कानुन सरह ठहरिएको थियो । आज धर्मले मानिसका क्रियाकलापलाई बाँध्न कठिन भएपछि ऐन कानुन आएका हुन् । तीजले पनि महिला र पुरुषबीचको सम्बन्धलाई व्यवस्थित पार्ने प्रयत्न गरेको थियो त्यति बेला तर त्यो त्यही रुपमा यहाँसम्म आइपुग्यो । धर्मलाई आदर्शका रुपमा स्वीकारियो र समाजिक सुव्यवस्थाका लागि कानुनको विकास भयो । तर, त्यही धर्मका नाममै सुरुभएको तीजले नयाँ स्वरुप धारण गर्न सकेन । महादेव र पार्वतीको सम्बन्धमा रहेको समानतापूर्ण व्यवहार अनि एक–अर्काप्रतिको सम्मानलाई तीजले बिर्सियो । सम्झियो त केबल योग्य पति पाउने, पतिको लामो आयु हुने अनि त्यसका लागि व्रत बसेर श्रीमान्को खुट्टाको पानी खाने कुरालाई ।
व्रत र विधिका हिसाबले तीजमा कुनै बदलाव आएन बदलियो केवल नाचगानको तौरतरिका र संस्कृति अनि खानपान । एक दिन खाने दर दुई महिना खाने संस्कृति मात्रै विकास भयो । केही वर्ष पहिलेसम्म सासु र बुहारीबीचको दोहोरी थियो तीजका संगीतमा आज त्यसले पोइला जान पाम हुँदै नयाँ रुप लिएको छ । संगीतमा पनि परिवर्तन आयो, तर तीजको पुरातन प्रवृत्ति र महिलाविरोधी मान्यताको जरा उखेलिएन बरु झन् बलियो बन्दै गयो । तीन दिनबाट बढेर तीज दुईमहिने पर्व बन्यो । राजधानीका पार्टी प्यालेसहरुले काम र दाम पाए । पैसा हुनेहरुले रवाफ देखाउने ठाउँ पाए । तर पनि लैंगिक समानताको पक्षमा वकालत गर्ने कुनै मञ्च दिएन तीजले । सहरमा सबैभन्दा बढी तीज लाग्छ राजनीतिक कार्यकर्तालाई । सधैं परिवर्तन र समानताका ठूल–ठूला भाषण गर्नेहरुले तीजमा ‘दर खाने कार्यक्रम’ राखेर भोट नीति अवलम्बन गर्दै आएका छन् । दिनभरी प्रगतिशील संस्कृतिका पक्षमा बोल्नेहरुले पनि संस्कृतिका नाममा साँझ पतिको खुट्टाको पानी खाएर व्रत स्थगन गर्ने परिपाटी ज्युँका त्युँ छ ।
तीज र स्वस्थानीको व्रतले महिलालाई दासताको शिकार बनाएको कुरा कसैसामु छिपेको छैन । श्रीमान् अर्थात् पतिको खुट्टाको पानी खानु भनेको उसको दासतालाई स्वीकार गर्नु हो । पतिको दीर्घायुका लागि व्रत बस्नु वा राम्रो पति पाऊँ भनेर व्रत बस्ने कुराले पुरुषलाई सुपेरियर र महिलालाई इन्फेरियरको बिल्ला भिराउँछ ।  खुट्टाको पानी खानु दासता स्वीकार्नु नै हो । कुनै पुरुषको लामो आयुको कामना गर्नु भनेको उसको अनुपस्थितिमा आफ्नो औचित्य नरहेको प्रमाणित गर्नु हो । के पुरुषको साथ विना महिलाको अस्तित्व रहँदैन त ? यदि त्यस्तो हो भने महिला विना पुरुषको अस्तित्व पनि रहँदैन । के यो दुनियाँमा अझै भनौं हाम्रै समाजमा एउटी नारीको दीर्घायुका लागि एउटा पुरुषले कुनै दिन व्रत बस्ने संस्कृति छ ? के सुशील कन्यालाई श्रीमतीका रुपमा पाऊँ भन्दै एउटा पुरुष व्रत बसेको छ ? के एउटा पुरुष आफ्नी श्रीमतीको खुट्टाको पानी खान तयार हुन्छ ?
यी गम्भीर प्रश्न हुन्, जुन नेपाली समाजमा सदियौंदेखि अनुत्तरित रहँदै आएका छन् र अहिलेको कथित लैंगिक समानताको पक्षपाती भन्ने समाजले पनि उत्तर दिन सकिरहेको छैन । दलका झण्डा मुनि बसेर समानताका नारा ओकल्ने देखि आइएनजीओको डलर पचाउनेहरुले पनि तीजको असमानतालाई बदल्नुको साटो त्यसकै लोलीमा बोली मिलाइरहेका छन् । संस्कृति सापेक्ष हुन्छ, समयसँगै बदलिन्छ भन्ने मान्यतामा विश्वास राख्ने हो भने यसको पुनर्संरचना आवश्यक छ । तीजमा अब महिला–पुरुष दुबैले व्रत बस्नुपर्छ एक–अर्काका लागि । दुबैले लामो आयुको कामना गर्नुपर्छ । दुबैले योग्य बरबधु पाउने कामना गर्नुपर्छ । त्यस्तो गर्न नसकिए खुट्टाको पानी खाने निकृष्ट परम्परा तोड्नुपर्छ, तोड्नुपर्छ दासताको बन्धन पनि ।


तीज लक्षित बैंकिङ योजना

नेपाल यतिखेर तीजमय भएको छ । हिन्दु नारीहरुको महान् पर्व तीज र यसलाई लक्षित गरेर विभिन्न बैंक तथा फाइनान्सहरुले ल्याउने कर्जा तथा निक्षेप योजनाले तीजलाई कर्पोरेट क्षेत्रमा पनि  विशेष महत्व पाएको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत बहुसंख्यक कर्मचारी महिला भएकाले पनि बैंकिङ क्षेत्रले पनि यस पर्वलाई विशेष महत्व दिने गरेको छ । बैंकिङ क्षेत्र सेवा क्षेत्र भएकाले पनि होला वित्तीय क्षेत्रले तीजलाई दिने महत्व अन्य क्षेत्रको भन्दा फरक हुने गरेको छ । व्यापारिक क्षेत्रले तीजका अवसरमा वस्तु खरिद गर्दा विभिन्न उपहार दिने गरेका छन् । विशेष गरी तीजमा प्रयोगमा आउने सौन्र्दयका सामान, विद्युतीय उपरकण खरिद, कपडाको खरिदमा एउटा वस्तु खरिद गर्दा अर्को वस्तु उपहार दिने गरेका छन । तर, बंैकिङ क्षेत्र भने सेवा क्षेत्र त्यसमाथि पनि प्रत्यक्ष रुपमा मुद्राको मात्र कारोबार हुने भएकाले अन्य क्षेत्रले तीजमा दिने उपहार र बैंक तथा वित्तीय क्षेत्रले तीजमा दिने उपहारमा फरक रहेको छ ।  

तीजका अवसरमा बैंकहरुले कर्जा लिँदा तथा निक्षेप खाता खोल्दा सेवा शुल्क लगायतका अन्य विषयहरुमा कर्पोरेट छुट दिने गरेका छन् । कतिपय बैंकहरुले भने तीजको अवसरमा विशेष प्रकारको निक्षेप खाता सञ्चालनमा ल्याउने र उक्त अवसरमा खाता खोल्नेहरुलाई आकर्षक ब्याज समेत दिने गरेका छन् । यसरी तीजकै अवसर पारेर निक्षेप योजना सञ्चालन गर्ने बैंकहरु भने थोरै रहेका छन् । हाल नेपाली वित्तीय क्षेत्रमा ३१ वटा वाणिज्य बैंक, ५९ वटा फाइनान्स कम्पनी अनि ७९ वटाको संख्यामा विकास बैंकहरु रहेको भए पनि केही सीमित बैंक तथा फाइनान्सहरुले मात्र तीजलाई लक्षित गरेर निक्षेप योजना सञ्चालनमा ल्याएका छन् । यस वर्ष समयमा नै बजेट आएका कारण बजारमा तरलता बढेका कारण पनि यो वर्षको तीजको अवसरमा धेरै बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक निक्षेप योजना सञ्चालनमा नल्याएको हुनसक्छ ।

कर्पोरेट तीजको कुरा गर्दा यो वर्ष पनि नोपल बंगलादेश बैंकले तीजलाई नै लक्षित गरेर  विशेष प्रकारको निक्षेप योजना सञ्चालनमा ल्याएको छ । महिला केन्द्रित उक्त योजना अन्तर्गत खाता खोल्ने महिला ग्राहकहरुलाई बैंकले सिन्दुर पोते लगायतका सौन्दर्यका सामान उपहार दिने गरेको छ । बैंकले खाता भन्दा पनि चाड पर्वलाई राष्ट्रिय महत्व दिनको लागि यस्तो योजना सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको यस्तो निक्षेप योजनामा एटिएम कार्ड लगायतका सुविधा पनि बैंकले उपलब्ध गराएको छ । चाडपर्व निक्षेप योजना सञ्चालन गर्ने अन्य बैंकहरुले भने सेवामा छुट दिए पनि वस्तु उपहार भने दिएका छन् । तीजलाई विकृतियुक्त नबनाउन अनावश्यक खर्च कम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएका काण पनि यो वर्ष तीजजन्य गतिविधि कम भएको र यससँगै उपहार योजनामा पनि कमी आएको हुनसक्छ । तर, यो वर्षमा तीजमा गर्ने खर्चमा अख्तियारले सीमा तोकिदिएका कारण पनि विगतका वर्षहरुमा जस्तो अनावश्यक होहल्ला कम भएको छ । तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै समूहगत रुपमा आलापालो गरी दर खाने प्रचलन रहेकोमा यो वर्ष त्यसमा पनि कमी आएको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत महिला कर्मचारीहरुले आफ्नौ बैंकमा तीजको कार्यक्रम गरी समूहगत रुपमा तीज मनाउने क्रियाकलापमा पनि यो बर्ष कमी आएको छ ।
बैंक तथा फाइनान्सहरुका प्रमुखहरु तीज महिलाहरुको विशेष कार्यक्रम भएकाले त्यस्तो कार्यक्रममा खासै उपस्थित नहुने गरेको भए पनि यो वर्ष मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह भने गायिका कोमल वलीसँग तीजको विशेष कार्यक्रममा देखिएका छन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शाहले वलीसँग नाच्न पनि भ्याएका छन् । उक्त कार्यक्रममा सोही बैंकका तर्फबाट रविना देशराज श्रेष्ठको पनि उपस्थिति देखिएको थियो । केही वर्षअघिसम्म पनि तीजलाई विशेष गरी क्षेत्री बाहुन समुदायका महिलाहरुले मात्र मान्ने गरेको भए पनि पछिल्ला वर्षहरुमा यसलाई अन्य सय महिलाहरुले पनि मान्ने प्रचलन बढ्दै गएको छ । यसो हुनुको कर्पोरेट क्षेत्रका व्यक्तिहरुको भूमिका उल्लेख्य देखिएको छ । फरक शैलीको चाडपर्व भएका कारण पनि पछिल्लो समय यस पर्वले सबै समुदायका महिलामाझ स्थापित हुने अवसर पाएको हो । यहीकारण पछिल्लो समय सबै जातजातिका महिलाहरुले यसलाई विशेष महत्व दिन थालेका हुन् ।

बैंकहरुकै कुरा गर्दा केही सीमित बैंक तथा वित्तीय संस्थाले मात्र तीजको अवसरमा व्यापारिक योजना सञ्चालनमा ल्याएका छन् । यसरी तीजलाई नै लक्षित गरेर विशेष प्रकारको निक्षेप योजना सञ्चालनमा ल्याउने बैंक तथा वित्तीय संस्थाहरुमा बिजनेस युनिभर्सल डभलपेन्ट बैंक, सिनर्र्जी फाइनान्स, टुरिजम डेभलेन्ट बैंक, सुप्रीम बैंक लगायतका बैंकहरु रहेका छन् । यस्तो योजना सञ्चालनमा ल्याउने बैंकले खातामा आकषृक ब्याज, अन्य सेवाहरुमा छुट दिने लगायतका विशेष व्यवस्था गरेको छ । यसबाहेकका अन्य बैंक तथा फाइनान्सहरुले भने समूहगत रुपमा तीज मनाए पनि व्यापारिक योजना भने सञ्चालनमा ल्याएका छैनन् । तीजमा होहल्ला मात्र बढी हुने निक्षेप योजना सञ्चालनमा ल्याए पनि त्यो गुणात्मक नहुने भए पनि तीज लक्षित योजनाहरु सञ्चालनमा नल्याएको बैंकरहरुको भनाइ छ ।
  Source: http://www.aarthikdainik.com.np/news_details/3792/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s