दाँत-हृदयाघात अन्तरसम्बन्ध

डा. प्रकाश बुढाथोकी

भनिन्छ, मुख शरीरको प्रवेशद्वार र ऐना हो । टम्म मिलेका अनार दानाजस्ता सेता दाँत अनि गुलाफी गिजाले सौन्दर्यका लागि मात्र नभई शरीरमा भएका विभिन्न प्रक्रियालाई राम्ररी सञ्चालन गर्न ठूलो भूमिका खेलेको हुन्छ । स्वस्थ दाँत र गिजाले प्रत्यक्ष रूपमा व्यक्तित्व, पाचनमा फाइदा पुर्‍याउनुका साथै रक्तनली, मुटु, फोक्सो, कलेजो, मृगौला, मस्तिष्क, प्यान्त्रिmयाजलगायत शरीरका सम्पूर्ण अंगमा पनि त्यसबाट फाइदा नै पुग्छ ।

दाँत सड्नाले संक्रमण हुन गई सेलुलाइटिस, पिनास, दिमागमा क्याभर्नस साइनस, थ्रोम्बोसिस तथा खाद्य र सास नली थिचिन गई मृत्युसमेत हुन सक्छ ।  धारिला, नमिलेका दाँत, घाउखटिरा, फोहोर तथा सुर्ती, सुपारी र मदिराजन्य पदार्थ सेवनले मुखको क्यान्सर हुने गर्छ । मुखबाट सास फेर्नु पनि शारीरिक समस्या भएकाले बच्चामा अनुहार असामान्य हुन सक्छ, दाँतको विकास र बनावटमा समस्या आउँछ । रगतमा अक्सिजनको कमी हुन सक्छ, रक्तचाप, मुटुका रोग निम्तिन सक्छन् । गिजा तथा मुखबसम्बन्धी रोग भएका व्यक्तिमा अन्यको तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवती महिला भए शारीरिक तथा मानसिक रूपले कमजोर र समय नपुग्दै बच्चाको जन्म हुने खतरा हुन्छ ।

गिजाको रोग भए मुटुको रोग लाग्ने तथा मुटुरोगको लक्षण मुखमा पनि देखिन सक्छ । मुटुरोग र हृदयाघात हुँदा अनुहारको बायाँ भाग, तल्लो बंगारा, गिजा, चिउँडो र त्यसको वरिपरि पीडा हुने सम्भावना रहन्छ । सन् १९९० देखि नै मुटुरोग र गिजाको रोग सम्बन्धका बारेमा अनुसन्धान हुँदै आएका छन् । मुख फोहोर भएकामा मुटुरोग, हृदयाघात, स्ट्रोक, पक्षाघात र इन्डोकाडाइटिस हुने गर्छ । त्यसैमा जन्मँदादेखि नै मुटुको समस्या, बाथरोग, प्रोस्थेटिक भल्भ भएका बिरामीले मुखको सरसफाइ र दन्तउपचारमा ध्यान नदिँदा सबक्युट ब्याक्टेरियल इन्डोकाडाइटाइटिस रोग लाग्न सक्छ । आयरल्यान्डस्थित बि्रस्टोल विश्वविद्यालयको खोजले मुखमा पाइने स्ट्रेप्टोकोकस ब्याक्टेरियाको मुटुरोगसँग बलियो सम्बन्ध देखाएको छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया रक्तसञ्चारमा पुग्दा पीएडीए प्रोटिन बनाई प्लेटलेट्सलाई एकापसमा टाँसिन र जम्न लगाई मुटुरोग पैदा गराइदिन्छ ।

ब्याक्टेरिया, इन्डोटक्सिन र ब्याक्टेरियाको अन्य उत्पादन गिजा र गिजामा भएको पकेट खल्तीबाट रक्तसञ्चारमा पुगी सुनिन थाल्छ । त्यसले रक्तनलीका कोष बढ्ने र सुन्निने भई रक्तनली साँघुरो बन्छ । कलेजोलाई रगत जम्न आवश्यक पर्ने तत्त्वहरू थप उत्पादन गर्न लगाउँछ । ब्याक्टेरियाले रक्तनलीको भित्री तहमा आक्रमण गरी इन्डोथेलियल कोषलाई बिगार्छ । गिजामा हुने पेरियोडेन्टल प्याथोजेनले प्लेटलेट्स जम्मा हुने, रक्तनलीमा लेदो वा प्लक बन्न बढावा दिई अवरोध उत्पन्न गराउँछ ।

बि्रटिस जर्नलको स्कटिस हेल्थ सर्भेले अनियमित र कमपटक दाँत सफा गर्ने तथा फोहोर मुख राख्ने मुटुरोगी ७० प्रतिशत थप जोखिम हुने देखाएको छ । दैनिक २ पटक दाँत ब्रस गर्नाले सम्भावित मुटुरोगको रोकथाम गर्न सकिने निष्कर्ष उक्त जर्नलको छ । त्यस्तै क्यालिफोर्निया विश्वविद्यालयले ७ हजारभन्दा बढीमा गरेको खोजमा दाँतको सरसफाइमा ध्यान नदिनेमा हृदयाघात बढी हुने हेल्थ इकोनोमिक्समा प्रकाशित छ । सन् १९९६ देखि २००४ सम्म प्रत्येक २, २ वर्षको अन्तरालमा कतिपटक दाँत माझेको, कतिपटक दन्तचिकित्सककहाँ गएको, हृदयाघात, स्ट्रोकको लक्षण देखिए नदेखिएका आधारमा गरिएको खोजमा दाँत तथा मुखको सरसफाइप्रति सचेतमा हृदयाघात कम देखिएको र त्यसमा पनि पुरुषभन्दा महिलामा बढी खतरा भएको पाइएको छ । मुटुरोगको प्रमुख कारणमा धूमपान र मोटोपना भए तापनि मुखमा जम्मा भएका ब्याक्टेरिया रक्तप्रवाहमा गई मुटुरोग ल्याउने गरेका थुप्रै प्रमाण फेला परेका छन् । ७० प्रतिशत सम्भावना न्यून गर्न दिनको २ पटक दाँत सफा गर्न सुझाएका छन् । मुखमा जीवाणु कम गराउने र हटाउने उपाय भनेको दाँत सफा राख्ने वा माझ्ने नै हो । दिनमा २ पटक खाना खाएपश्चात् तलमाथि गरी दाँत माझौं र अन्य समयमा कुल्ला गरी शरीरमा लाग्न सक्ने अनगिन्ती रोग, मुटुरोग र हृदयाघातलाई पर राखौं ।

– See more at: http://www.ekantipur.com/np/2067/9/4/full-story/322236.html#sthash.tB3fj5QG.dpuf

रातो होइन, सेतो मासु
धनीहरू धेरै खाएर र गरिबहरू आहार नपाएर रोगी भई अल्पायुमै मृत्युवरण गर्ने विश्वका मुलुकहरूमध्ये नेपाल एक हो । चाडबाड बाहेक वर्षभरि रूखोसुखो आधा पेट खाने गरिब वर्गको त के कुरा मध्यमवर्गहरूले समेत सन्तुलित स्वास्थ्यकर खाना खाँदैनन् । अधिकांश गरिब कुपोषणले अति दुब्ला, धनीहरू बढी पोषणले अति मोटा र आधाजति मध्यमवर्गीय अनियमित आहारविहारका कारण विविध रोगग्रस्त छन् । करिब चालीस प्रतिशत नेपालीले उच्च रक्तचाप, मुटुरोग, ग्याष्ट्रिक, अम्लपित्त, क्यान्सर र मधुमेहमध्ये एक वा दुई रोगलाई शरीरमा आश्रय दिएका छन् र जीवनयात्रामा घसि्ररहेका छन् । स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि आउने चाडपर्वमा आवश्यकभन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी परेको छ । एउटा परिवारले सिंगै खसी काटी खाने, चाडपर्वभरि मासु, मिठाइले  छाकै टार्ने गरेका छौं ।

धेरै खान्छन् नेपालीः एफएओको हालैको तथ्यांकमा प्रतिव्यक्ति आम्दानी कम भए पनि अन्य मुलुकको तुलनामा नेपालीले धेरै मासु खान्छन् । मासुको उपभोग प्रतिव्यक्ति प्रतिवर्ष ५ केजीबाट एक दसकमा १० किलोमा पुगेको छ । तर नियमित होइन । नेपालमा वार्षर्िक १५ अर्ब रुपैयाँको मासु आयात हुने सरकारी तथ्यांक छ । सामान्य महिनामा मासिक २० हजार र दशैंको महिनामा ५९ हजार खसी-बोका बिक्री हुने गरेको पशु विभाग बताउँछ । नेपाली मासु बजारको ४० प्रतिशत बजार प्रशोधित मासुले लिइसक्दा पनि नेपाली बजारमा बिक्री हुने खसी-बोकामध्ये ८० प्रतिशत बढी भारतबाट आयात हुन्छ ।

गुणस्तरता स्वस्थ पशु, हृष्टपुष्ट एवं चञ्चल हुन्छ । त्यसको रौं टल्किन्छ । नियमित रूपमा खाएको खाना उग्राउने गर्छन् । मुख उज्यालो देखिन्छ । हाँस, कुखुरा, बोका, राँगा, भेँडा आदि पशुपन्क्षी देवदेवीलाई भोग चढाउनु अघि पूजा गर्ने, पानी छर्केर पर्साउनुपर्ने धार्मिक संस्कार छ । यदि पशुपन्क्षी पर्सिएन वा टाउको हल्लाएन र ठडिएन भने बली चढाइँदैन । पशुपन्क्षी वध गर्नुअघि पर्सनुको धार्मिक-सांस्कृतिक महत्त्व आफ्नै ठाउँमा होला, त्यसबाट पशुपन्क्षी स्वस्थ भए-नभएको जाँच्न सकिने वैज्ञानिक कारण पनि छ ।

सामान्य उपभोक्ताले पशु स्वस्थ भए-नभएको छुट्याउन सक्दैनन् । धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन् । बिक्री गर्ने ठाउँको सरसफाइको अवस्था र मासुको रूपरंग हेरेरमात्रै राम्रो-नराम्रो भन्ने निर्णय गरिन्छ । नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार विश्वास नै हो । राँगा, खसी प्रायः बिहान काटिने हुनाले मासु सधैं बिहान किन्नु राम्रो हुन्छ । ताजा, दागहरू नभएको, बोसो नगलेको, गन्ध नआउने र नलीहाडको भित्री भाग रातो भएको मासु छानेर किन्नुपर्छ । कुखुराको मासुमा छाला नरम र भिजेको तथा माछाको गिलहरू रातो र कत्ला चहकिलो भएको, आँखा नगढेको हुनुपर्छ ।

ताजा मासु खाने नेपाली संस्कारलाई राम्रो मान्नुपर्छ । माछा-मासु चाँडो बिग्रने पदार्थ भएकोले लामो समयसम्म सुरक्षित राख्न डिप पि|mजमा राख्नुपर्छ । पि|mज नभएको खण्डमा मासुलाई आगो बाल्ने अगेनामाथि सुकाएर वा घाममा सुकाएर मासुमा भएको रगत, पानी हटाएर भण्डारण गर्न सकिन्छ ।

उपभोक्ताले शुद्ध मासु खान पाउनु नैसर्गिक अधिकार हो । उपभोक्ताको खाद्यसम्प्रभुताको अधिकारमाथि कसैले पनि बाधा-अडचन गर्न नपाइने विश्व स्वास्थ्य संगठनको नीति रहेको भए पनि नेपालमा त्यसको परिपालना भएको छैन । पशु वधशाला र मासु जाँच ऐन- २०५५ कार्यान्वयनमा आउन नसक्नु, मासुबजार अव्यवस्थित हुनु र उपभोक्ताहरू स्वास्थ्यप्रति सजग नहुनाले मासु पौष्टिकताले भरिपूर्ण खाद्यपदार्थ भए पनि स्वास्थ्यमा जटिल समस्याहरू निम्त्याइरहेको छ ।

लाग्नसक्ने रोगहरूः मासु दूषित हुनाको प्रमुख कारण रोगी पशुपन्क्षी र सरसफाइमा कमी नै हो । स्वस्थ मासुका लागि स्वस्थ पशुपन्क्षीको वध र सफा वातावरणमा काटकुट, ओसारपसार र बिक्री-वितरण अनिवार्य सर्त हो । मासु मानिसका लागिजस्तै विभिन्न किसिमका रोगका जीवाणुका लागि पनि स्वादिलो र पोषिलो खानेकुरा हुने भएकाले उनीहरूको वृद्धि र विकास पनि राम्रोसँग हुन्छ । रौं ंएसिडमा पनि गल्दैन, शरीरले पचाउन पनि सक्दैन, रक्तनलीहरूमा जम्मा भई अवरोध गर्छ । छालामा साना प्वाल हुने भएकाले जीवाणुको बस्ती नै लुकेका हुन्छन् । त्यसैले संक्रामक कीटाणुहरूको बस्ती तथा ससाना रौं रहने छाला फ्याँकेरमात्र मासु खानुपर्छ ।  

काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणुहरू सार्छ । मासुमात्र खाँदा कब्जियत हुनसक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्छ । मोटो शरीर, रगतमा कोलेष्ट्रोल बढी, बाथ, मधुमेह, उच्च रक्तचाप, मृगौला र कलेजोको बिरामीहरू तथा मुटुका रोगीका लागि मासु अनुकूल हुँदैन ।

मासुबाट सर्नसक्ने रोगहरूमा फित्ते कीरा, टिनिया सोलियस, टिनिया साजिनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकिओला हेपाटिकम, एन्थ्राकस, एक्टिनोमाइकोसिस, रेबिज, क्षयरोग, झाडापखाला, हैजा, टाइफाइड र फुड प्वाइजनिङ तथा दीर्घकालीन रूपमा अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मृगौलाले काम नगर्ने, विभिन्न क्यान्सरहरू लगायतका सयौं रोगहरू पर्छन् । पोलेको मासु सेवनबाट पेटको क्यान्सर हुन्छ । प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानि गर्ने पि्रजरभेटिभ हुन्छ  । कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा भई कार्बन बन्छ र पचाउन गाह्रो हुन्छ, यसले विभिन्न रोगहरू तथा क्यान्सरसमेत लाग्छ । प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

विश्व क्यान्सर अनुसन्धान कोषको सुझावमा हप्तामा बढीमा आधा किलो रातो मासु खाई खपत दर घटाएर क्यान्सर लगायतका रोगबाट बच्न सकिन्छ । स्वास्थ्यका दृष्टिले राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किनभने बोसो, कोलेष्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुका साथै कोलेष्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो अन्यभन्दा राम्रो मानिन्छ । त्यसैगरी रातो मासु खानेलाई मुटुरोग हुने जोखिम ३० प्रतिशत बढी हुने हार्वर्ड स्कुल अफ हेल्थको अध्ययनले प्रस्ट्याएको छ ।  हामी पनि आजैदेखि रातो मासु खान छोड्ने कि ?

– See more at: http://www.ekantipur.com/np/2067/6/26/full-story/319098.html#sthash.vprpx8t8.dpuf

उच्च विशेषज्ञता गर्ने चिकित्सकको परीक्षा लिइने
अतुल मिश्र

काठमाडौ, मंसिर २० – नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाको गुणस्तरमा सुधार ल्याउन चिकित्सा शास्त्रको विभिन्न विधामा ‘सुपर स्पेसियालिटी’ गर्ने चिकित्सकहरूको समेत जाँच लिने तयारी सुरु गरेको छ । काउन्सिलले यसै सातादेखि चिकित्साशास्त्रमा स्नातकोत्तर गर्नेको विशेष परीक्षा समेत सुरु गरेको छ । हालसम्म चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस गरेकाहरूलाई मात्र मुलुकमा चिकित्सा पेसा गर्न लाइसेन्सिङ परीक्षा पास गर्नुपर्ने प्रावधान थियो । काउन्सिल स्रोतका अनुसार विशेष परीक्षालाई अझ कडा बनाइनेछ भने केही महिनाभित्रै सुपर स्पेसियालिटी गर्नेहरूको परीक्षा हुनेछ । ‘मेडिकल/डेन्टल कार्यक्रममा आधारभूत शैक्षिक कार्यक्रमपछि सम्बन्धित विषयमा तीन वर्षको विशेषज्ञता (एमडी/एमएस/एमडीएस) गरेकाहरूका लागि यसै साता सुरु गरिएको विशेष परीक्षाझैं उक्त विषयमा नपरेका ‘सुपर स्पेसियालिटी’हरूका लागि परीक्षा सञ्चालन गरिनेछ,’ काउन्सिलका एक पदाधिकारीले भने, ‘गुणस्तर कायम राख्न बिस्तारै हाम्रो परीक्षा प्रक्रिया कडा हुँदै जानेछ ।’ यसै साता विभिन्न विश्वविद्यालयहरूबाट स्नातकोत्तर तह पास गरिसकेका चिकित्सकहरूका लागि सञ्चालन गरिएको विशेष परीक्षामा १३ जना चिकित्सक फेल भएको तथ्यलाई औंल्याउँदै त्रिवि शिक्षण अस्पतालका एक जना प्राध्यापकले भने- ‘स्नातकोत्तरका लागि लिइएको विशेष परीक्षा पहिलो प्रयास भएकाले अत्यन्त सामान्य वा भनौं औपचारिकता मात्र निर्वाह गर्दा पनि यति जना फेल हुन्छन् भने कडाइ गरियो भने यो संख्या कुल परीक्षार्थीको एक तिहाइभन्दा बढी हुन सक्छ ।’ ‘हाम्रो सोच चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउनु हो,’ काउन्सिलका रजिस्ट्रार डा.नीलमणि उपाध्यायले भने, ‘स्नातकोत्तर गरिसकेकाहरूको विशेष परीक्षामा फेल भएका १३ जनालाई गुणस्तर जाँच प्रक्रियाकै कारण पहिचान गरिएको हो ।’ विशेष परीक्षामा उत्तीर्ण नभएसम्म मुलुकमा विशेषज्ञ चिकित्सकको हैसियतले काम गर्न नपाइए जस्तै सुपर स्पेसियालिटी गर्ने चिकित्सकहरूलाई समेत काउन्सिलको परीक्षा उत्तीर्ण नगरेसम्म अति उच्च विशेषज्ञको हैसियतले नेपालमा काम गर्न पाइने छैन । डा.उपाध्यायले सुपर स्पेसियालिटी गर्ने चिकित्सकहरूलाई समेत काउन्सिलबाट लिइएको जाँच उत्तीर्ण गरेपछि मान्यता दिने प्रावधानमा कार्य भइरहेको स्वीकार गरे ।  

प्रकाशित मिति: २०६९ मंसिर २० ०८:५८

– See more at: http://www.ekantipur.com/np/2069/8/20/full-story/358541.html#sthash.d1JH9nwN.dpuf

‘मेडिकल कलेज धेरै भए’
अतुल मिश्र

काठमाडौ, पुस ५ – प्रधानमन्त्रीसित साताअघि भएको भेटमा मुटुरोग विशेषज्ञ भगवान कोइरालाले भने, ‘मुलुकमा मेडिकल कलेज धेरै भए, अब बन्द गर्नुपर्छ ।’

सुशासनबारे धारणा लिन बोलाएका प्रधानमन्त्रीलाई उनले दिएको सुझावले देखाउँछ, देशमा मेडिकल कलेज कसरी खुल्दै छन् र तिनको गुणस्तर कस्तो छ ।

करिब ४० लाख जनसंख्या भएको राजधानीमै १० वटा मेडिकल कलेज छन् । देशभर १७ वटा मेडिकल र ३ वटा डेन्टल कलेज चलिरहेका छन् । यी कलेजमा बर्सेनि १ हजार ८ सय ७० जना एमबीबीएस र ३ सय ५५ जना बीडीएस पढ्छन् । डा. कोइरालाको चासो यसैमा थियो, ‘हजारौंको संख्यामा चिकित्साशास्त्र त पढ्छन् तर तिनको गुणस्तर कस्तो छ, राज्यले विचार गर्नुपर्छ ।’

‘अहिलेकै अवस्थामा मेडिकल कलेज चल्न दिने हो भने एक दशकमा देशमा कस्ता चिकित्सक जन्मेलान्, मलाई चिन्ता छ,’ कोइरालाले प्रधानमन्त्रीसँग भने, ‘उपचार दिन सक्ने खालका चिकित्सक बनाउन अविलम्ब ध्यान दिनुपर्छ ।’

राष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा सरकारले सेवा दिन नसकेको ठाउँमा स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनको उद्देश्यले निजी क्षेत्रलाई मेडिकल कलेज खोल्ने अनुमति दिइएको थियो । तर, अहिले त्यस्तो छैन, पहुँचका आधारमा जसले पनि कलेज सञ्चालन थालेका छन् । कलेजहरू प्राज्ञिक तथा भौतिक हिसाबले समेत अत्यन्त कमजोर छन् ।

कोइरालाले भने, ‘मेडिकल काउन्सिलमा सरकारको उपस्थिति बलियो नबनाएसम्म देशमा गुणस्तरीय चिकित्सा शिक्षाको अनुगमन सम्भव छैन ।’ त्यसका लागि निजी क्षेत्रको वर्चस्व रहेको काउन्सिलको ऐन परिवर्तन जरुरी छ ।’

काउन्सिलमा ९ जना चिकित्सक चुनावी प्रतिस्पर्धाबाट चुनिन्छन् । कोइरालाले चुनावी प्रतिस्पर्धा हटाएर वरिष्ठताका आधारमा काउन्सिलमा सदस्य नियुक्ति गर्दा राम्रो हुने पनि प्रधानमन्त्रीलाई सुझाएका थिए ।

कोइरालाले भने, ‘नेपाल जस्तो मुलुकका लागि १९-२० वटा मेडिकल कलेज आवश्यक छैन । कति लाख जनसंख्याका लागि कति मेडिकल कलेज जरुरी छ, राज्य प्रस्ट हुनुपर्छ ।’ मेडिकल कलेजका आफ्ना पूर्णकालीन प्राध्यापक कमै छन् । भएकामा पनि उनीहरूको नाम मात्रै बेचिएको छ ।

‘भाडामा ल्याइएका प्राध्यापकहरू एक दुई/महिना मात्र बस्छन्, कलेजमा स्टाफ छैनन्,’ प्राध्यापक कोइरालाले भने, ‘भएका पनि गुणस्तरयुक्त छैनन्, यसरी कसरी स्वास्थ्य शिक्षा चल्छ ?’ कोइरालाको सुझावमाथि प्रधानमन्त्रीले चासो दिए पनि कुनै टिप्पणी गरेनन् ।

तथ्यांकअनुसार वाषिर्क ८ सय विद्यार्थी विदेशमा मेडिकल शिक्षा लिइरहेका छन् । तर, चीनमा अध्ययन गरेका ७० र बंगलादेशमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थी काउन्सिलको प्रवेश परीक्षा नै उत्तीर्ण गर्न सक्दैनन् ।

काउन्सिलका पूर्वसदस्य डा. सुशील कोइरालाका शब्दमा मेडिकल कलेजको गुणस्तर खस्केको छ, त्यसमाथि डेन्टल कलेजको अवस्था अत्यन्त बिजोग छ । ‘गुणस्तरमा ध्यान छैन, देशमा डिमान्ड छ, यहाँ नदिए विद्यार्थी विदेशिन्छन् भनेर प्लस टु जस्तै मेडिकल कलेजलाई अनुमति दिने गरिएको छ,’ उनले भने, ‘विद्यार्थी छैनन् । ५० सिट भएकाले ७ जना पाएका छन् । ५ वटा डेन्टल कलेजमा विद्यार्थी नै अपुग छ तर पनि चलेका छन् ।’ राज्यले पूर्वाधार नहेरी सिट बढाएकोमा उनले आलोचना गरे ।

काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेल नेपालबाट उत्पादितमध्ये ९५ प्रतिशतले काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने

बताए । नेपालको मेडिकल कलेजबाट उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय स्तरको रहेको जनाउँदै उनले भने, ‘लाइसेन्स परीक्षाको रिजल्टले नै यो बताउँछ ।’ हाल मुलुकमा सरकारी मेडिकल कलेजमा पढ्न नपाएकाहरू मात्र निजीमा भर्ना हुन्छन् । नेपालका निजी मेडिकल कलेजमा एमबीबीएस पढ्न करिब ३० लाख रुपैयाँ शुल्क लाग्छ ।

प्रकाशित मिति: २०६८ पुस ५ ०९:१४

– See more at: http://www.ekantipur.com/np/2068/9/5/full-story/339996.html#sthash.abxdwaYo.dpuf

नेपाली डाक्टरको विशेषता- पैसा, पैसा, पैसा !

गोरखा (आमपीपल), पुस २ – युरोपेली सुविधा र रमझमबीच आफ्नो पेसा धानिरहेको एउटा जर्मन चिकित्सकका लागि कष्टसाध्य लाग्ने नेपाली गाउँठाउँमा आएर दिन-रात नभनी स्वास्थ्य सेवामा जुट्नुको स्वाद के हुन सक्ला ?

‘जे गर्दा तपाईंको मन खुसी हुन्छ, जीवन धान्ने सजिलो उपाय पनि त्यही हो,’ बितेको आठ वर्षयता गोरखाको आमपीपल अस्पतालमा सेवारत जर्मन चिकित्सक  डा.उल्फार्ड स्टार्क भन्दै थिए, ‘मसँग यो ठाउँमा टेलिभिजन छैन, रेडियो छैन । राम्रो रेस्टुराँ र बजार छैन । तर त्योभन्दा आनन्द आउने मान्छे छन् जोसँग कुरा गर्दा समय बितेको थाहै हुन्न ।’ यी ६८ वर्षे डाक्टर पहिलोपटक सन् १९९० मा नेपाल आएका रहेछन्, हिमाली पदयात्रु बनेर । त्यसपछि थुप्रैपटक धनकुटा, खुम्बु क्षेत्र, डोल्पा, मुस्ताङ, सिमिकोटतिर ट्रेकिङमा पुगेका रहेछन् । जर्मनीको उरारबर्गस्थित अस्पतालमा हाडजोर्नी विशेषज्ञका रूपमा २१ वर्षसम्म कार्यरत रहेपछि युरोपमा देखिएको ‘व्यापारिक शैली र दबाबमा काम गर्नुपर्ने स्थिति’ का कारण विरक्तिएर उनले स्वैच्छिक अवकाश लिए ।

नेपालमा आएर पहिलोपटक काठमाडौं मोडेल अस्पतालमा छ महिनासम्म काम गरेका उनी ओठतालु चिरिएकाबारेको शिविर चलाउन चिकित्सक श्याम राईसँगै आमपीपल आइपुगे । ‘यहाँको अस्पतालमा डाक्टरको अभाव हुने गरेका कारण सामान्य नेपालीले खेपिरहेको स्वास्थ्य समस्यालाई चाहेर पनि भुल्न सकिने स्थिति थिएन,’ युरोपमै घरपरिवार छाडेर आएका स्वयंसेवी डा. स्टार्क मिसमास नेपालीमा भनिरहेका थिए, ‘त्यही भएर म यतै बस्न थालें ।’ जर्मनीको भाल्भोक सहरमा श्रीमती, छोरा, तीन छोरी र ५ नातिनातिनाको उनको परिवार बस्दै आएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीका अनुसार गोरखाबाहेक धादिङ, लमजुङ र चितवन जिल्लाबाट पनि आमपीपल अस्पतालमा उपचार गर्न आउने थुप्रै सेवाग्राही छन् । सरकारी कोटामा दुइ चिकित्सक रहनुपर्ने अस्पतालमा एउटै दरबन्दी पूर्ति हुन नसकेको पनि वषौं भयो । डा.स्टार्कले बिहान आठ बजेदेखि बेलुका बिरामीको चाप होइन्जेल औसतमा ८० जना बिरामीको दिनहुँ परीक्षण/उपचार गर्ने गरेका छन् । आफ्नो बुढ्यौलीसँगै घरपरिवारलाई पनि समय दिनुपर्ने भएकाले डाक्टर स्टार्क केही महिनाभित्रमा ढुक्कै आफ्नो देश र्फकने भएका रहेछन् । ‘अहिलेदेखि नै हामीमा चिन्ता सुरु भइसकेको छ, यति सहृदयी र सहयोगी अर्को डाक्टर अब भेट्न मुस्किल छ,’ गिरीले भने ।

डाक्टर स्टार्कको बुझाइमा बितेको एक दशकमा नेपाली समाज र परिदृष्यमा धेरै परिवर्तन आएको भए पनि परिवर्तनको प्रभाव गाउँघरसम्म भने पुग्न पाएको छैन । सहर फेरिएका छन्, ती सुविधायुक्त बनेका छन् । तर अधिकांश गाउँघरमा त्यत्ति धेरै परिवर्तन देख्न सकिन्न । ‘यो दुर्ग्ाममा आएर बस्न, काम गर्न कसैले पनि चाहँदैन,’ उनी भन्दै थिए, ‘अझ अधिकांश नेपाली डाक्टरहरू त केवल तीन कुराका पछि लागेका छन्,   पैसा, पैसा र पैसा ।’ नेपालको स्वास्थ्य क्षेत्रको ठूलो समस्याका रूपमा उनले ‘डाक्टर’ लाई नै देखेका छन् । सधैं पैसाका पछि लाग्ने र राम्रोसँग सेवासमेत नदिने स्वभाव धेरैसँग छ । ‘अर्को कुरा उत्तिकै खतरनाक छ, मेडिकल पसलमा बस्नेहरूले नचाहिँदो औषधि बेच्ने गरेका छन्, गलत औषधि बेच्ने गरेका छन् । यो बिरामीका लागि अत्यन्तै खतरनाक हुनसक्छ,’ उनी भन्दै थिए । 

यसैगरी, गाउँघरमा सुधारिएको चुल्हो नहुँदा धूवाँका कारण दम र फोक्सोको समस्याबाट पीडित बन्नेहरू पनि उत्तिकै रहने गरेको उनको बुझाइ छ । बच्चामा हुने निमोनिया, महिलामा पाठेघर झर्ने समस्या र मुटुरोगलाई पनि डाक्टर स्टार्कले नेपालीमाझ रहेको प्रमुख स्वास्थ्य समस्याका रूपमा लिएका रहेछन् । उनको बुझाइमा एमबीबीएस वा एमडी गरेपछि पनि दुई वर्षसम्म सम्बन्धित अस्पताल वा सेवा केन्द्रमा काममा नपठाई कसैलाई पनि पढाइको डिग्री वा

सर्टिफिकेट दिनुहुन्न । अर्कातिर अनुभवहीन डाक्टरलाई दुर्गममा सीधै पठाउनु नहुने सुझावसमेत उनी दिन्छन् ।

डा. स्टार्कले हालै एउटा अंग्रेजी पत्रिकामा सरकारका स्वास्थ्यमन्त्री वीर अस्पताल भ्रमणमा गएको समाचार पढेका रहेछन् । तर एक घन्टासम्म अस्पतालमा पर्खंदा पनि कुनै डाक्टर नआएको स्थिति पनि समाचारमा रहेछ । ‘यस्तो कसरी हुन्छ ? मेरो देशमा यस्तो स्थिति आयो भने कुनै छलफल र कुराकानी नगरी तुरुन्त त्यस्तो डाक्टरलाई निष्कासन गरिने नियम छ । फेरि सरकारी तहमा काम गर्ने डाक्टरले बाहिर निजी क्लिनिक पनि राख्न पाउँदैन,’ उनी भन्दै थिए, ‘यस्ता अभ्यास नेपालमा सुरु हुन जरुरी छ ।’

डा. स्टार्क दिनभरको अस्पताल-कर्मपछि साँझमा आमपीपल बजारका सानातिना पसलमा भेटिन्छन् । अनि थोरै कोदाको रक्सी पिउँछन् ।

मलाई मीठो लाग्छ, यस्तो नरम रक्सी मेरो देशमा पाइँदैन,’ उनी रसिक बनेर भन्दै थिए । तर यत्तिका वर्ष नेपालका गाउँठाउँमा बिताएर अब घर फिरेपछि दिन कसरी बित्ने हो, उनी सबै कार्ययोजना सहजै भन्न सकिरहेका थिएनन् । ‘सायद जर्मनी गएर म जर्मन-नेपाली शब्दकोश बनाउने र आमपीपल बसाइको मेरो समयको किताब लेख्ने काम गर्छुं होला,’ बौद्धमार्गी डा. स्टार्कले भने, ‘अनि मेरो धर्मअनुसार ध्यान र साधनामा अरू समय बिताउनेछु होला ।’

 

प्रकाशित मिति: २०६८ पुस २ १२:३८

– See more at: http://www.ekantipur.com/np/2068/9/2/full-story/339857.html#sthash.SKBG81EX.dpuf

कसरी सुधार्ने मेडिकल कलेजको गुणस्तर ?
डा. निराकारमान श्रेष्ठ
सर्वसाधारणले स्वास्थ्य संस्था तथा चिकित्सक छानीछानी उपचार गराउन सक्दैनन् । सरकारले निःशुल्क रूपमा उपलब्ध गराएका स्वास्थ्यसेवा प्रदान गर्ने संस्थाहरूमा नै यिनीहरू जान बाध्य हुन्छन् । तसर्थ स्वास्थ्यसेवा प्रदान गर्ने संस्थाहरूको गुणस्तर कायम गरी गरिब, निमुखा जनताको स्वास्थ्यको उचित हेरविचार गर्नु राज्यको प्रमुख दायित्व हुन्छ । यसका लागि स्वास्थ्यसेवा प्रदान गर्ने संस्थाहरू वैज्ञानिक रूपले बनाउनु, तिनीहरूको उचित मर्मतसम्भार गर्नु, सफासुग्घर राख्नु, औजार-उपकरण, औषधी, पानी, बिजुली, सञ्चार सुविधा, सवारी साधन, स्वास्थ्यकर्मीहरूका लागि निवासस्थान, आवश्यक बजेट आदिको उचित व्यवस्था गर्नु अति आवश्यक कुरा हो । तर सबै कुरा राम्रो भएर पनि सेवा प्रदान गर्ने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको गुणस्तर राम्रो नभएमा सेवाहरू स्तरीय र राम्रो हुनसक्दैन । उल्टै जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । चिकित्सकको गुणस्तर हेर्नका लागि एमबीबीएस वा सो सरहको तालिम प्राप्त गर्नु अघि हासिल गरेको न्यूनतम शैक्षिक योग्यता, एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गर्न अध्ययन गरेको शिक्षण संस्था, एमबीबीएस वा सो सरहको अध्ययनको अन्तिम वर्षको फाइनल परीक्षा उत्तीर्ण गरेपछि गरेको अनिवार्य एकवर्षे इन्टर्नसिप तालिम र मेडिकल काउन्सिलमा स्थायी दर्ता भए-नभएको हेर्नुपर्छ ।

एमबीबीएस वा सो सरहको कोर्समा भर्ना हुनुपूर्व न्यूनतम शैक्षिक योग्यता जुनसुकै मेडिकल कलेजले पनि तोकेको हुन्छ । एमबीबीएस पढ्न सजिलो होस्, पढेको कुरा राम्ररी बुझोस्, शिक्षकले पढाउँदा एउटै स्तरबाट सबैलाई पढाउन सकियोस् भन्ने उद्देश्यले यो न्यूनतम शैक्षिक योग्यता तोक्ने काम भएको हुन्छ । प्रमाणपत्र तहको फिजिक्स, केमिष्ट्री तथा बायोलोजीको ज्ञान नभएमा एमबीबीएसको कोर्स बुझ्न सकिन्न । तसर्थ एमबीबीएस भर्ना लिनुपूर्व फिजिक्स, केमिष्ट्री तथा बायोलोजी मूल विषय लिई प्रमाणपत्र तहको उपाधि प्राप्त गरेको हुनुपर्छ भनी मेडिकल कलेजहरूले न्यूनतम शैक्षिक योग्यता तोकेको पाइन्छ । उदाहरणका लागि नेपालमा हाल सञ्चालित सबै मेडिकल कलेज र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका आदि देशका मेडिकल कलेजहरूमा तोकिएको न्यूनतम शैक्षिक योग्यतालाई लिन सकिन्छ । त्यस्तै नेपाल सरकार, शिक्षा मन्त्रालयले वषौर्ं-वर्षदेखि स्वदेश तथा विदेशमा एमबीबीएस पढ्न जानका लागि तोकेको आवश्यक न्यूनतम शैक्षिक योग्यतालाई पनि उदाहरणको रूपमा लिन सकिन्छ । यतिले नपुगेर प्रमाणपत्र तहको परीक्षामा आवश्यक न्यूनतम प्रतिशत प्राप्त गरेकोले मात्र निवेदन दिन पाउने र निवेदन दिनेहरूबीच प्रतिस्पर्धा गराएर ‘मेरिट’को आधारमा मात्र एमबीबीएसमा भर्ना लिएको पाइन्छ ।

एमबीबीएस अध्ययन गरेको शिक्षण संस्थाको गुणस्तरको हकमा यसको मूलभूत उद्देश्य, भौतिक तथा शैक्षिक वातावरण, पाठ्यक्रम, विद्यार्थी भर्ना गर्ने तरिका, शिक्षण विधि, शिक्षकहरूको संख्या र गुणस्तर, परीक्षाको तरिका, शिक्षण अस्पतालको अवस्था आदि कुरा हेर्नुपर्ने हुन्छ । यी कुरामा मेडिकल काउन्सिलले तय गरेको न्यूनतम मापदण्ड तथा आवश्यकताहरू सो शिक्षण संस्थाले पूरा गरेको छ वा छैन, सो जाँच गरेर प्रत्येक देशको मेडिकल कलेजहरूलाई सम्बन्धित देशको मेडिकल काउन्सिलले मान्यता प्रदान गर्ने गरेको पाइन्छ वा यस्तै प्रकारको अन्य व्यवस्था गरेको हुन्छ । यसरी मान्यता प्राप्त मेडिकल कलेजहरूको समय-समयमा निरीक्षण गरी देखिएको कमी-कमजोरीहरू औंल्याई निश्चित समयभित्र देखिएका कमी पूरा गर्न लगाउने, पूरा नगरेमा नियमानुसार शैक्षिक सत्र रद्द गर्ने, मेडिकल कलेजहरूलाई दिइएको मान्यता निलम्बन गर्ने, मान्यता पूर्णतः रद्द गर्ने आदि कारबाही मेडिकल काउन्सिलले गर्न सक्छ । यस्तो कुरामा मेडिकल काउन्सिलले पूर्वाग्रह राख्नु, हेलचेक्र्याइँ गर्नु, लोभलालचमा फँस्नु, दबाबमा पर्नु, कारबाही गर्नुपर्ने मेडिकल कलेजलाई कारबाही नगर्नु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले मेडिकल कलेजको गुणस्तरको कुरामा सम्झौता गर्नु भनेको मेडिकल कलेजबाट उत्पादन हुने चिकित्सकहरूको गुणस्तरमा सम्झौता गर्नु हो र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्नु हो । तसर्थ मेडिकल काउन्सिलले गर्नुपर्ने काम राम्ररी गरेको छ वा छैन, सो हेर्ने र छैन भने काउन्सिललाई उचित कारबाही गर्नु पनि राज्यको दायित्व हो ।

साढे चार वर्षमा एमबीबीएसको सम्पूर्ण कोर्स पूरा गरेपछि अन्तिम वर्षको अन्त्यमा फाइनल परीक्षा हुन्छ र उक्त परीक्षा उत्तीर्ण गर्नेहरूले एक वर्षको इन्टर्नसिप गर्नुपर्छ । त्यस अवधिमा विभिन्न विषयमा व्यावहारिक ज्ञान तथा सीप सिकाउने काम हुन्छ । बिरामी जाँच्ने, रोगको निदान गर्ने, बिरामीलाई औषधी लेख्ने, सामान्य चिरफार गर्ने, इमर्जेन्सी बिरामीको उपचार गर्ने, मेडिकोलिगल केसहरू हेर्ने, डेलिभरी केसहरू ह्यान्डल गर्ने आदि कामहरू सुपरीवेक्षकको प्रत्यक्ष निगरानीमा गर्छन् ।

एक वर्षको अवधिका लागि यिनीहरूले इन्टर्नसिप सुरु गर्नुअघि नै मेडिकल काउन्सिलबाट परीक्षण दर्ता नम्बर लिनुपर्छ । यो एक वर्षभित्र यिनीहरूलाई बिना निगरानी बिरामीको उपचार गर्नलाई मेडिकल काउन्सिलले इजाजत दिएको हुँदैन ।

त्यसैले ‘इन्टर्नसिप’ जुन अस्पतालमा गरिन्छ, त्यस अस्पतालमा प्रशस्त शैया र विभिन्न प्रकारका बिरामीको चाप हुनुका साथै उपचारका सबै सुविधा र साधन हुनुपर्छ । तर त्यसभन्दा पनि ज्यादा त इन्टर्नसिपका बेला ‘इन्टर्न’हरूले सिक्ने र तिनीहरूलाई सिकाउन सक्ने उचित वातावरण हुनु नितान्त आवश्यक हुन्छ । त्यसकारण जुन मेडिकल कलेजमा साढे चार वर्ष अध्ययन गरेको हो, त्यहीं इन्टर्नसिप गर्नु उपयुक्त हुन्छ । तर हाल हाम्रो देशमा एकठाउँमा पढ्ने र अर्को ठाउँमा ‘इन्टर्नसिप’ गर्ने प्रवृत्ति निकै हावी भएको देखिन्छ । सरकारी अस्पतालहरू र निजी क्षेत्रमा खोलिएका अस्पतालहरू मूलतः सेवा प्रदान गर्ने संस्था भएकाले सिक्ने-सिकाउने वातावरण र गुरु-विद्यार्थीको हिसाबले शिक्षणको काम मेडिकल कलेजमा जस्तो हुनसक्दैन । त्यसैले कथंकदाचित् सरकारी अस्पतालहरू र निजी क्षेत्रमा खोलिएका अस्पतालहरूमा ‘इन्टर्नसिप’ गराउने नै हो भने पनि त्यो अपवादको रूपमा मात्र हुनुपर्छ र त्यसका लागि पनि माथि उल्लेख गरेझैं सिक्ने-सिकाउने उचित वातावरणको विकास गर्नुका साथै मेडिकल काउन्सिलले यसको सुपरीवेक्षण र मूल्याङ्कन गर्ने व्यवस्था गर्नुपर्छ ।

इन्टर्नसिपका लागि सुपरीवेक्षक पूर्ण जिम्मेवार हुन्छ, तर त्यो पूरा गरेपछि दिइने दर्ता भनेको ती चिकित्सकलाई कसैको निगरानीमा नबसी आत्मनिर्भर भएर आफूले गरेको कामको जिम्मेवारी आफैंले लिनेगरी उपचार गर्नसक्ने खालको दर्ता हो । तसर्थ यसप्रकारको दर्ता नम्बर प्राप्त गर्नुअघि लाइसेन्सिङ परीक्षा लिनुपर्ने हुन्छ । यसप्रकारको लाइसेन्सिङ परीक्षा अन्य देशमा पनि छ । हाम्रो देशमा विभिन्न देशबाट अध्ययन गरेर चिकित्सकहरू आउँछन् र ती सबै मेडिकल कलेजहरूको गुणस्तर एकैप्रकारका हुँदैनन् । तसर्थ कुन मुलुक र कुन मेडिकल कलेजबाट उत्तीर्ण गरी आएका चिकित्सक गुणस्तरयुक्त छ वा छैन भनी व्यक्तिपरक रूपमा भन्नुभन्दा वस्तुपरक हिसाबले हामीले मूल्याङ्कन गर्नुपर्छ । यसका लागि स्वदेश तथा विदेशबाट एमबीबीएस गरेका सबैका लागि सामूहिक रूपमा लिइने लाइसेन्सिङ परीक्षा नै सबैभन्दा राम्रो तरिका हो । तसर्थ लाइसेन्सिङ परीक्षा वस्तुपरक, समसामयिक र गुणस्तरयुक्त हुनु आवश्यक हुन्छ । एकपटक नेपाल मेडिकल काउन्सिलमा स्थायी दर्ता भएपछि पनि चिकित्सकको गुणस्तर कायम गर्न तथा समयसापेक्ष बनाउन केही वर्षपछि उक्त स्थायी दर्ता नवीकरण गर्ने व्यवस्था हालसम्म नेपालमा छैन । यस सम्बन्धमा पनि राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आइसकेको छ ।

नेपालमा हाल मेडिकल कलेज तथा यसले उत्पादन गरेका चिकित्सकको गुणस्तर हेर्दा धेरै सुधार गर्नुपर्ने अवस्था छ । हालको जस्तै हचुवाको भरमा मेडिकल कलेज नखोली योजनाबद्ध हिसाबले खोल्ने, कुनै पनि मेडिकल कलेजमा एक वर्षमा एक सयभन्दा बढी विद्यार्थी भर्ना गर्न नपाउने, हरेक मेडिकल कलेजको तोकिए अनुसारको आफ्नै शिक्षण अस्पताल हुनुपर्ने, मेडिकल कलेजले विद्यार्थीसँग लिने शुल्क यथोचित हुनुका साथै यसमा एकरूपता ल्याउनुपर्ने, मेडिकल कलेजका शिक्षकहरूले निजी ‘प्राक्टिस’ गर्न नपाउने र यसको बदलामा उनीहरूलाई आकर्षक ‘नन प्राक्टिसिङ’ भत्ता दिने, मेडिकल काउन्सिलका पदाधिकारी तथा सदस्यहरूको मनोनयन तथा निर्वाचनमा मेडिकल कलेजसँग प्रत्यक्ष सरोकार भएका कुनै पनि व्यक्तिलाई समावेश नगर्ने आदिजस्ता व्यवस्था गरेमा डाक्टरी शिक्षाको गुणस्तरमा वृद्धि हुनगई सर्वसाधारणको स्वास्थ्यमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ ।

लेखक वरिष्ठ मनोचिकित्सक तथा पूर्वसचिव हुन् ।

– See more at: http://www.ekantipur.com/np/2068/4/11/full-

story/333146.html#sthash.ULEO2Ff5.dpuf
 
 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s