पानीमै फल्यो आलु (फोटोफिचर)

सुरज कुँवर

ललितपुर, असार २८ – आलु माटोमा फलेको त देखिएकै हो । तर नेपाली कृषि वैज्ञानिकले पहिलोपटक सफा पानीमा आलु फलाउने अनुसन्धानमा पनि सफलता हात पारेका छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क) मातहत रहेर आलुको जात विकास र अनुसन्धान गर्ने ‘राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम’ (एनपीआरपी) मा कार्यरत वरिष्ठ वैज्ञानिक शम्भुप्रसाद धितालले २ वर्ष लामो अनुसन्धानपछि पानीमा फल्ने प्रविधिको विकास गरेका हुन् । ‘धेरै फल्ने र रोग नलाग्ने आलुको मूल बीउ विकासमा सफलता पाइएको छ,’ जैविक प्रविधिबारे नीतिसम्बन्धी कार्यक्रममा बिहीबार खुमलटारमा अरू वैज्ञानिकलाई सुनाए ।

करिब अढाई सय कृषि वैज्ञानिक कार्यरत नार्कका कार्यकारी निर्देशक दिलबहादुर गुरुङले यसलाई हालसम्म नार्कले गरेका राम्रा खोज हाराहारीको अनुसन्धान भएको बताए ।

उनका अनुसार, खाद्य असुरक्षाका कारण भियतनाम, कोरिया, जापान, मलेसियालगायतका देशमा पानीमा खेती गर्ने प्रविधि (जल संवर्धन प्रक्रिया) बाट आलुलगायत सागपात खेती गर्न थालिएको छ । ‘नेपालमा भएको यो पहिलो र राम्रो फाइन्डिङ हो, निजी क्षेत्र पनि सहभागी भए आलु निर्यात घटाउन सकिनेछ,’ गुरुङले भने ।  

यो तन्तु प्रजनन प्रविधिबाट उत्पादन गरिएको हो । यो भाइरसमुक्त गर्ने प्रविधि हो ।

दक्षिण कोरियाको कावान नेसनल विश्वविद्यालयबाट आलुमै विद्यावारिधि गरेका ५४ वर्षीय वैज्ञानिक धितालका अनुसार पानीमा फलाइएको आलुको प्रतिबोटमा ८० वटासम्म दाना लागेका छन् । माटोमा फलाइने आलुको दाँजोमा यो तीन गुना बढी हो । नेपालमा भइरहेकामध्ये ५ वटा जात माथि धितालले अनुसन्धान गरेका थिए । ‘पाँचवटै जातमा सफलता मिलेको छ,’ उनले भने ।

तन्तु प्रजनन प्रविधिको माध्यमबाट विकास गरिएको आलुका आठवटा जातको उन्मोचन भइसकेको छ । एनपीआरपीले उत्पादन गर्ने बीउ देशभरका कृषि विकास कार्यालयमार्फत बीउ उत्पादन गर्ने किसानलाई मात्र अनुदानमा बिक्री गरिन्छ । यो आलु पनि अनुदानकै प्रक्रियाबाट उनीहरूलाई मात्र बिक्री गरिनेछ । बीउ उत्पादकले उत्पादन गरेको उन्नत जातमात्रै किसानको हात पर्नेछ । तर किसानले यो आलु भने खेतमा लगाउनेछन् । अहिले देशभर नार्कले सिफारिस गरेका ८ जातका आलु लगाइन्छ । यी सबै उन्नत जात यसै निकायले विकास गरेको हो ।

नार्कमा अनुसन्धानपछि किसानको हातमा बीउ पर्दा चारवटा चरण पार हुनेछन् । नार्कले उत्पादन गरेको पूर्वमूल बीउ हो । यसपछि मूल बीउ विकास गरिन्छ त्यसपछि यसलाई उन्नत जातमा परिणत गरी किसानलाई बिक्री गरिन्छ । खाने उद्देश्यले पानीमै आलु फलाउन रोग कीरा नलाग्ने, नियन्त्रित वातावरण भएको ग्लास हाउस चाहिन्छ । यसरी महँगो लागतमा किसानले आलु उत्पादन गर्न सक्दैनन् । तर निजी क्षेत्रले भने व्यावसायिक उद्देश्यले उत्पादन गर्नसक्ने छन् ।

नार्कको अनुमान अनुसार, देशभर वाषिर्क ४/५ लाख दाना बीउको माग छ । तर नार्कसँग वाषिर्क २ लाख दाना मात्र उत्पादन गर्ने क्षमता छ । गत वर्ष माटोमै १ लाख २३ हजार आलुको पूर्वमूल बीउ दाना उत्पादन गरिएको थियो । सुरुका दिनमा सुइस सरकारको सहयोगमा आलुको बीउको विकास गर्दै आएको नार्कले ४१ वर्षयता आलुमा अनुसन्धान र उन्नत जातको विकास गर्दै आएको छ । नेपालमा आलुको प्रवेश भारत हुँदै २ सय वर्षअघि भएको मानिन्छ ।

 

 

 

 

फोटोहरु : नार्क
प्रकाशित मिति: २०७० असार २८ ०८:५९

– See more at: http://www.ekantipur.com/np/2070/3/28/full-story/371938.html#sthash.lNqSTFAO.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s