पृथ्वीमा सात अर्ब जनसंख्या

Thursday, 11 July 2013 01:01:34

विश्वनाथ खरेल
मुलुकका दुई छिमेकी देश संसारमा सबैभन्दा बढी जनसंख्या भएका देश हुन् । यी दुई देशमा मात्र अढाई अर्ब मानिस बसोबास गर्छन् । छिमेकी देशहरूको तुलनामा नेपालको जनसंख्या निकै थोरै देखिन्छ, तथापि देशमा जनसंख्या वृद्धिदर उच्च रहेकाले नीति–निर्माताहरूलाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वाभाविकै हो । प्रत्येक वर्ष जुलाई ११ तारिकलाई विश्वजनसंख्या दिवस मनाइँदै आएको छ । विश्वमा देखा परेका प्रमुख समस्यामा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्यधिक चाप हो । सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याका रूपमा जनसंख्या वृद्धि नै हो । विश्वको जनसंख्या सात अर्ब पुगेको अनुमान छ ।

विश्वमा प्रत्येक २ सेकेन्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरूको अनुमान छ । प्रति २ सेकेन्ड ६ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा ७ करोड ६० लाखभन्दा बढी मानिस थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशमा परिरहेको छ । विकसित मुलुकमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकमा ८० प्रतिशत जनसंख्या बसोबास गर्छन् । यसैगरी, विश्वको कुल प्रजननदर २ दशमलव ३८ छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १ दशमलव ५ प्रतिशत मात्र भए पनि अविकसित देशमा यसको वृद्धिदर २ प्रतिशतभन्दा बढी भएको हुनाले  सन् २०२५ मा ८ अर्ब ३१ करोड र सन् २०५० मा ८ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत छ । जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्पविकसित देशको सामाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

नेपालको जनसंख्या वृद्धिदर अझै अतिउच्च छ । मुलुकको जनसंख्या वृद्धिदर तीव्रगतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए पनि वि.सं. २००९÷११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । एघारौँ पटकको जनगणनाको नतिजा गत साल सार्वजनिक भएको थियो । ०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहेको देखिएको छ । औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तान प्रतिआमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहे ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुन जाने अनुमान छ । ०५८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको अनुमान गरिएको थियो । नेपाल सरकारले गत वर्ष ०६८ को जनगणना प्रतिवेदन सार्वजनिक गर्दै दश वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएको जनाएको छ । यसमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । महिलाको जनसंख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झन्डै ८ लाख जनसंख्या बढी देखिन्छ । पछिल्लो जनगणनाले देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशत बिन्दु घटेको हो ।

नेपालमा प्रतिघन्टा ६१ जना, प्रतिदिन १४६४ जना र प्रतिवर्ष झन्डै ५ लाख ३२ हजार ३३६ मानिस थपिन्छन् । त्यस्तै, यस धर्तीबाट बिदा लिनेकोे संख्या प्रतिघन्टा २६ जना, प्रतिदिन ६ सय २४ जना, र प्रतिवर्ष २ लाख ३० हजार ३८१ पुग्छ र जन्मनेको संख्या प्रतिघन्टा ७ जना, प्रतिदिन २०८८ जना र प्रतिवर्ष ७ लाख ६२ हजार ७१७ जना हुन्छन् । जनसंख्या वृद्धिदर नियन्त्रित गर्ने आजसम्मका प्रयास सफल नभएको यो एक उदाहरण हो । आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौँ भने आगामी वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहनेछ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति निर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ? मुलुकको जनसंख्या झन्डै तीन दशकदेखि उच्च गतिमा वृद्धि हुँदै छ । यसको मुख्य कारण हो एकातिर मृत्युदरमा कमी आउनु र अर्कोतिर उच्च प्रजनन दर कायमै रहनु । विश्वका विभिन्न देशको तुलनामा नेपालको जनसंख्या वृद्धिदर निकै उच्च भएको तथ्य ०४८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या १,८४,९१,०९७ पुगको थियो । कुल जनसंख्यामध्ये ४९ दशमलव ८७ प्रतिशत पुरुष ५० दशमलव १३ प्रतिशत स्त्री रहन गएको थियो । यही गतिमा जनसंख्या वृद्धि हुँदै गए आगामी ३१ वर्ष अर्थात् ०८२ सालभित्रै जनसंख्याको दृष्टिकोणले अर्को सिंगै नेपाल थपिन जाने अनुमान गरिएको छ ।

अन्त्यमा भन्नुपर्दा विश्वमा विगत वर्षमा भएको जनसंख्या वृद्धिलाई मनन गर्दा सुरुका वर्षमा मृत्युदर तथा जन्मदर दुवै उच्च भएकाले विश्व जनसंख्या वृद्धिदर साह्रै कम रहेको पाइन्छ । पछाडिको समयमा प्रजननदर उच्च रहे पनि मृत्युदरमा विस्तारै ह्रास आउन थालेपछि विश्व जनसंख्या वृद्धिदर विस्तारै बढ्न थाल्यो । यस्तै गरी हाम्रो देशको कुरा गर्दा आगामी २० वर्षको अवधिमा नेपालको प्रजननदर २ दशमलव १ मा ल्याउने दीर्घकालीन लक्ष्यअनुसार प्रजननदर एक दशकमा एक बच्चाभन्दा बढीको दरमा घट्नुपर्ने देखिन्छ । तसर्थ नवौं योजनामा जनसंख्या क्षेत्रले विगत वर्षमा भन्दा पनि बढी प्रभावकारी र दु्रतगतिमा कार्यक्रम सञ्चालन गरेको थियो । नवौं योजनाको अवधिमा जनसंख्याको वृद्धिदर प्रतिवर्ष २ दशमलव २७ प्रतिशतले हुने अनुमान गरिएको थियो भने दशौं योजना अवधिमा उक्त वृद्धिदर अझ घटाउँदै लैजाने नीति तय भएको अनुमान थियो ।

यसरी आजको विश्वका विकराल समस्याका रूपमा रहेको अत्यधिक जनसंख्यालाई समयमै नियन्त्रण गर्नुपर्ने पहिलो प्राथमिकता रहेको छ । जनसंख्या वृद्धि आज नेपालको मात्र नभएर विश्वका लागि ठूलो चिन्ताको विषयवस्तु भएको छ । हाम्रो देशमा जनसंख्या वृद्धिदर उच्च रहेकाले यस्को व्यवस्थापन एउटा गम्भीर चुनौती समान छ । यसबाट एकातिर गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या थपिँदै गएका छन्, जसबाट प्रकृतिप्रदत्त वातावरणीय स्रोेतमाथि चाप पर्न गएको छ भने अर्कोतिर बढ्दो जनसंख्याको आवश्यकता पूर्ति गर्न सामाजिक र भौतिक पूर्वाधार तयार गर्नुपर्ने, शिक्षा र औद्योगिक तथा सहरी विकास गर्नुपर्ने अधिक खाद्यान्न आपूर्ति गर्नुपर्ने र अन्य थुप्रै विकासकार्यमा अतिरिक्त लगानी गनुपर्ने  स्थिति एकातिर छ भने अर्कोतिर भोक, रोग, गरिबी र अशिक्षाविरुद्ध जीवनस्तर सुधार गर्ने हाम्रा परिकल्पना साकार हुन नसक्नुमा जनसंख्या वृद्धिले प्रत्यक्ष असर परेको कुरालाई कसैले पनि नकार्न सक्दैन ।

Source- See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=9394&catId=9#sthash.0yAk17HL.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s