धान दिवस

dhan

(भोलामानसिंह बस्नेत) यस वर्ष दशौं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको नारा ‘धान उत्पादनमा वृद्धि ः राष्ट्रिय अर्थतन्त्रको समृद्धि’ भन्ने रहेको छ । एकअर्कासँग भलाकुसारी हुँदा नेपालीहरूले ‘भात खानुभयो त’ भनेर सम्बोधन गर्ने चलनले पनि धानको देशमा कतिको महत्त्व छ भनेर झल्काउँछ, होइन र ?पानमा भने मौसम हेरेर कुराकानीको शुरुआत गर्ने प्रचलन छ । संसारको सबभन्दा उच्च स्थानमा धानखेती हुने देश पनि नेपालको करिब ३ हजार ५० मिटर उचाइमा रहेको जुम्लास्थित छुमचौरमा पर्दछ र धानले पनि नेपाललाई लुम्बिनी र सगरमाथाजस्तै गरी विश्वमा पहिचान गराएको छ । विक्रम संवत् २०२२ साल (सन् १९६६) तिर विशेष गरी एसियाली देशहरूमा भोकमरी, कुपोषण, द्वन्द्व, लडाइँ, झैझगडा, जताततै अशान्ति आदिले गर्दा एसियामा भोकमरीको ठूलो समस्या अर्थात् कथा, गाथा नै थियो । त्यसैकारणले संयुक्त राष्ट्रसंघ (यूएनओ) ले सन् १९६६ लाई धानबालीको विश्वभर रहेको मूल्य मान्यतालाई समीक्षा गरी ‘भोकमरीबाट मुक्त’ भन्ने नारासहित धानबालीलाई वर्षको बालीका रूपमा घोषणा गरेको थियो ।

संसारभर आधाभन्दा बढी जनसंख्या अर्थात् करिब ३ अर्ब ५० करोड मानिसको मुख्य खाना नै चामल हो । अझ एसियाली देशहरूमा त ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपतसमेत हुने गरेको पाइन्छ । त्यसैले विश्वमा धान, चामलको व्यापार त करिब ६⁄७ प्रतिशत मात्र हुने गरेको छ । फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) सन् १९६० मा स्थापना भएको थियो । सन् २०१० मा आएर ५० वर्ष पूरा गरेकाले विश्वभर इरीको स्वर्ण जयन्ती पनि भव्यताका साथ मनाइयो । नोभेम्बर १९६६ मा इरीले सर्वप्रथम आईआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो जुन जातले विश्वभरि नै धानको उत्पादकत्व एवं उत्पादन वृद्धिद्वारा चमत्कार ल्याउनुका साथै विशेष गरी एसियामा भोकमरीबाट बचाउन ठूलो सफलता हासिल गर्यो । साठी दशकको मध्यतिर कृषिमा हरितक्रान्तिको शुरुआत पनि भएको थियो । सो समयमा भारत (मद्रास) का एक कृषकले ‘आईआर ८’ जातको धानबाली काट्दै थिए उत्पादन पनि धेरै राम्रो भएको थियो । त्यसै बेला उनकी श्रीमतीले घरमा छोरा जन्माइन् र धेरै नै खुसी भएर कृषकले छोराको नाम नै आईआर ८ राखेका थिए ।

सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशहरूमा ८ सय ६४ वटा धानका जातहरू सिफारिस भएका छन् । नेपालमा पनि ५० प्रतिशतभन्दा बढी सिफारिस भएका धानका जातहरू इरीको जातसँग सम्बन्धित छन् । भनिन्छ विश्वभर इरीले विकास गरेको धानको जातले हाल ६० प्रतिशत भू–भाग ओगटेको छ । खाद्य तथा कृषि संगठन (एफएओ) को तथ्यांकले हाल विश्वमा करिब ४ सय ९० मिलियन टन चामल उत्पादन भएको छ । यति मात्रा चामलका लागि धान उत्पादन गर्न यदि सन् साठीको दशकमा धानबालीमा हरितक्रान्ति नआएको भए विश्वले धानबालीको उत्पादन क्षेत्र नै दुई गुणाले बढाउनुपथ्र्यो, जुन कुरा सम्भव नै छैन । हाल भएको विश्वको वनक्षेत्र पनि आधा मात्र हुने थियो भनिन्छ । नेपालले पनि इरीसँग मिलेर धानबालीको अनुसन्धान शुरु गरेको झन्डै ४० वर्ष नाघिसकेको छ । सो समन्वयले गर्दा धानबालीका जातहरू र खेती गर्ने तौरतरिकासम्बन्धी धेरै प्रविधिहरूको विकास हुनुका साथै जनशक्ति विकास र प्रचार–प्रसारसमेत भएको छ ।

आर्थिक वर्ष २०६८⁄०६९ मा धानको उत्पादन ५० लाख ७२ हजार मेट्रिक टन रहेको थियो जुन तथ्यांक नेपालको इतिहासमा नै सबैभन्दा धेरै थियो । आर्थिक देनको हिसाबले लिने हो भने नेपालमा आर्थिक वर्ष २०६८⁄०६९ मा उत्पादित धान करिब १ खर्ब रुपियाँभन्दा बढीको थियो भन्न सकिन्छ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । यस्तो तथ्यांक नेपाल राष्ट्र बैंकले नियमित रूपमा प्रकाशित गर्ने गरेको छ । उदाहरणका लागि प्रकाशित तथ्यांकअनुसार आर्थिक वर्ष २०६८⁄०६९ मा धानबालीको उत्पादन वृद्धि भएकाले देशको आर्थिक वृद्धिदर ४ दशमलव६ प्रतिशत थियो भने आर्थिक वर्ष २०६९⁄०७० मा धानको उत्पादन करिब ११ प्रतिशतले घटेकाले देशको आर्थिक वृद्धिदर करिब ३ दशमलव ६ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०६८⁄०६९ को धान उत्पादन नेपालको विगत ६३ वर्षको इतिहासमा सबैभन्दा बढी रेकर्ड गरिएको हो । यस आर्थिक वर्ष २०६८⁄०६९ लाई आर्थिक वर्ष २०६७⁄०६८ सँग तुलना गर्दा धानबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः २ दशमलव ३, १३ दशमलव ७ र ११ दशमलव १ प्रतिशतले बढेको पाइयो । कुल खाद्यान्न उत्पादनमा धानको ५० प्रतिशतभन्दा बढी योगदान रहेको छ ।

धानको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत एसियाली देशहरूमा हुने भएकाले धानले एसियाली नागरिकहरूलाई एक स्थानमा ल्याउन सेतुको काम गर्दछ । नेपालले पनि सन् २०१० मा भव्यताका साथ धानबालीबारे बिभिन्न कार्यक्रमसहित जनचेतना जगाई, अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था, इरी स्थापना भएको स्वर्ण जयन्ती मनाएको थियो । विश्वभर भोकमरी, कुपोषण, द्वन्द्व, लडाइँ, झैझगडा र जताततै अशान्ति देखिन थालेपछि संयुक्त राष्ट्रसंघले ‘धान नै जिन्दगी हो’ भन्ने नारासहित, पुनः सन् २००४ लाई अन्तर्राष्ट्रिय धान वर्षका रूपमा घोषणा गरेको थियो । यसै सन्दर्भमा यस स्तम्भकारको विशेष पहलमा नेपाल कृषि अनुसन्धान परिषद्, नार्कबाट उठी आएको टिप्पणी फाइल तत्कालीन नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको निर्णयबाट स्वीकृत भई सन् २००४ अर्थात् विक्रम संवत् २०६१ सालपछि, प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघजस्तो संस्थाले धानलाई दिएको महत्त्व र नेपालको समेत प्रतिबद्धता आउनु जरुरी थियो । यस स्तम्भकारको विशेष प्रयासमा वर्षभर धानबालीसम्बन्धी करिब ३५ वटा कार्यक्रम सम्पन्न गरिएको थियो । यसैकारण इरीले आफ्नो अन्तर्राष्ट्रिय धानबाली वर्षको सिससिलामा प्रकाशन भएको ‘राइस टुडे’ नामक म्याग्जिनमा नेपाललाई ‘इयर एचिब्स् हाई प्रोफायल इन नेपाल’ भनेर विशेष मूल्यांकनसमेत गरेको थियो । नेपालमा असार १५ लाई ‘दही चिउरा खाने’ संस्कृति चाडका रूपमा पनि लिइन्छ । त्यसैले २०७० सालको असार १५ गते दशौं राष्ट्रिय धान दिवस पर्न आउँछ । हामी सबैले देशभर भव्यरूपमा धानबालीसम्बन्धी विकसित जात, प्रविधि, ज्ञानगुन आदिका कुरासहित उक्त दिवस भव्य रूपमा मनाउनु जरुरी देखिन्छ । यस वर्ष भक्तपुरको ब्रह्मायणीमा यो दिवस सरकारले भव्यरूपमा मनाउँदै छ ।
हाम्रासामु चुनौती
नेपालमा जनसंख्या घट्नेवाला छैन, खेती गर्ने जमिन बढ्नेवाला छैन, माटोको उर्वराशक्ति खस्कँदो अवस्थामा छ । त्यसैले ज्ञान, विज्ञान, अन्वेषण, प्रविधिमा आधारित खेती गरी प्रति एकाइ प्रति दिनको उत्पादकत्व बढाई बढ्दो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट खुवाउन परेको छ । आयआर्जन वृद्धि गर्नु परेको जस्ता चुनौती हामीसामु आइपरेको छ । हामीले खाद्यसुरक्षा, खाद्यसम्प्रभुता, पोषणसुरक्षा, जलसुरक्षा, आयआर्जन वृद्धि र दिगोपनातर्फ विशेष ध्यान दिनुपरेको छ । देशमा भूउपयोग नीति कार्यान्वयन नहुनु, प्लटिङ गरी उर्वरा जमिन पनि घर, भौतिक पूर्वाधार आदि बनाउन उपयोग हुँदा ठूलो समस्या देखिएको छ । काठमाडौं उपत्यकाजस्तो राम्रो धान फल्ने जमिनमा हाल आएर घरहरू पो फलिरहेका छन् ।

धानको वस्तुस्थिति
नेपालको उपभोग्य खाद्यान्नको वासलात समीक्षा गर्ने हो भने विगत २५ वर्षमध्ये १५ वर्ष खाद्यान्न अपुग छ र १० वर्ष मात्र पुगेको देखिन्छ । मध्य र सुदूरपश्चिमी क्षेत्रको पहाडी जिल्लाहरूमा त प्रत्येक वर्ष भोकमरीको समस्या दोहोरिँदै आएको छ । तराईमा भने करिब ३ देखि ५ लाख मेट्रिक टन खाद्यान्न बचत हुने भएकाले कुनै कुनै वर्ष नेपालमा खाद्यान्न पुगेको देखिन्छ । गत वर्ष खाद्यान्न अपुग भएका ३८ जिल्लामध्ये तराईका ६ र पहाड एवं उच्च पहाडका ३२ जिल्लाहरू परेका थिए । यस वर्ष खाद्यान्न अपुग जिल्ला २७ बाट बढेर ३३ पुगेको छ । भारत सरकारले पनि पाँच वर्षदेखि गहुँ र चार वर्षदेखि सर्वसाधारणले खाने मोटो धान, चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही वर्षअगाडि भारत भ्रमण गर्दा नेपाललाई २ लाख मेट्रिक टन खाद्यान्न माग गर्नुभएको थियो । सोमध्ये केही मात्रामा मात्र खाद्यान्न आएको थियो । के हामी बाँच्नका लागि पनि अरू देशमा भर पर्ने र ?

हामीले भारतबाट पनि खाद्यान्न खरिद गर्न नपाउने र देश पनि खाद्यान्नमा आत्मनिर्भर नहुने हो भने तपाई हामीसँग खल्तीमा पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना हुन सक्छ । त्यसैले देशलाई हरहालतले खाद्यान्नमा आत्मनिर्भर बनाउनै पर्दछ । यसो गर्ने कृषि प्रविधिहरू हामीसँग छ पनि । तल्लोस्तरको खाद्यान्न उत्पादनलाई माथिल्लोस्तरमा लान सहज पनि हुन्छ । नेपालको कुल खाद्यान्नमा धानको करिब ५० प्रतिशत देन हुने गरेको छ र कुल गार्हस्थ्य उत्पादनमा समेत धानको करिब २० प्रतिशत योगदान हुने गरेको छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुने गरेको छ । बेरोजगारी समाधान गर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपूर्ति गर्न समेत धानको विशेष योगदान रहिआएको छ । खाद्यअधिकार पनि मानवका लागि एक मौलिक अधिकार नै हो ।

सरकारले कुनै हालतमा पनि जनतालाई बिहान, बेलुका दुई छाक खुवाउनै पर्दछ तर कुनै कामै नगरी फोकटमा खुवाउने रणनीति बसाल्नु चाहिँ हुँदैन । यस स्तम्भकारले संसारमा देखिएको खाद्यसुरक्षा अर्थात् विश्वखाद्य संकटजस्ता समस्यालाई मध्यनजर राखी एक ‘उच्चस्तरीय राष्ट्रिय खाद्यसुरक्षा मिसन’ बनाउने सुझाव दिएको छ । उक्त मिसनमा समावेश हुने सरोकारवालाहरूमध्ये वर्तमान र अवकासप्राप्त भएका भए पनि, वास्तविक वैज्ञानिक, विज्ञहरू जसले आ–आफ्नो उत्पादन क्षेत्रमा पढेर, परेर, गरेर, सफलतापूर्वक प्रतिभा देखाइसकेका हुनुपर्दछ ।

सेतो चामलको बदला खैरो चामल खाने प्रचलन ल्याउन सकेमा रेसा, भिटामिन र खनिज तत्त्वहरू बढी प्राप्त भई पोषणसुरक्षाको साथै खाद्यसुरक्षामा समेत सहयोग पुग्नेछ । अमेरिकाको ‘हार्बर्ड स्कुल अफ पब्लिक हेल्थ’ मा क्विसन नाम गरेका वैज्ञानिकको नेतृत्वमा गरिएको अनुसन्धानअनुसार हप्तामा ५ वा सोभन्दा बढी सेतो चामल सेवन गर्दा टाइप २ डाइबेटिक्स बढ्ने खतरा रहेको पुष्टि भयो । हप्ताको २ वा त्यसभन्दा बढी खैरो चामलको उपयोगले टाइप २ डाइबेटिक्सको खतरा धेरै नै न्यून रहेको पत्ता लाग्यो । खैरो चामल खाने प्रचलन बसाल्न सके करिब ५⁄६ प्रतिशत स्वतः उत्पादन बढाएको जस्तो भई खाद्यसुरक्षामा समेत सहयोग
पुग्न जाने थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s