खाद्यान्न अभावग्रस्त जिल्लाको संख्या वृद्धि र भोकमरी

  विश्वनाथ खरेल ,   नेपालको कूल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी मानिस कृषि व्यवसायमा निर्भर रहेका छन्, जसमध्ये करिब ७२ प्रतिशत महिला कृषि व्यवसायमा संलग्न छन् । यसमा पुरुषको उपस्थितिलाई हेर्ने हो भने ६० प्रतिशत मात्र रहेको तथ्यांकले देखाउँछ । देशको कूल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि छ, जसमध्ये ३५ प्रतिशत हिमाल, ४२ प्रतिशत पहाड र २३ प्रतिशत तराईले ओगटेको छ । मुलुकमा खासगरी खेती गर्ने किसानहरुलाई हेर्ने हो भने २० प्रतिशत जमिन मात्र उपयोगमा ल्याएको देखिन्छ भने २० प्रतिशत ठूला किसान जमिनदारहरुको जिम्मामा रहेको बुझिन्छ । जसले गर्दा कृषिको उत्पादनमा वृद्धि गर्न यसले निकै असर पारेको छ । विद्यमान जमिनको प्रयोगको हिसाबलाई अवलोकन गर्ने हो भने पनि ३० लाख ९१ हजार हेक्टर अर्थात् प्रतिशतमा भन्नुपर्दा २१ प्रतिशत पर्न आउँछ । तर, खेती नगरिएको जमिन १० लाख ३० हजार हेक्टर अर्थात् ७ प्रतिशत रहेको छ । उपयुक्त जमिनको विवरणमध्ये धान, मकै, गहुँ, जौ, कोदोजस्ता खाद्यान्नले ओगटेको क्षेत्रफल ३४ लाख ७८ हजार हेक्टर रहेको छ । त्यसैगरी नगदे बाली उखु, जुट, सुर्ती, तेलहनजस्ता बाली ४ लाख ६९ हजार हेक्टर कृषियोग्य जमिन ओगटेको छ । त्यसैगरी उत्पादनतर्फ अवलोकन गर्ने हो भने देशमा यस वर्ष ८ प्रतिशत खाद्यान्न उत्पादनमा कमी आउने भएको छ । कृषि मन्त्रालय, विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनले गरेको अध्ययन अनुसार यो वर्ष ८७ लाख ३८ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुनेछ ।
  गतवर्ष ९४ लाख ५८ हजार मेट्रिक टन उत्पादन भएको थियो । गतवर्ष उत्पादन भएको खाद्यान्नमध्ये खानयोग्य ६० लाख ३८ हजार मेट्रिक टन थियो । यो वर्ष उत्पादन नै अनुमानमा रहेकाले खान योग्यको तथ्यांक सार्वजनिक गरिएको छैन । खाद्यान्नमध्ये धानमा सबैभन्दा बढी ११ प्रतिशत उत्पादन कमी हुने अनुमान छ । कमजोर मनसुनका कारण यो वर्ष ४५ लाख १४ हजार मेट्रिक टन धान उत्पादन हुनेछ । गतवर्ष ५० लाख ७२ हजार मेट्रिक टन उत्पादन भएको विश्व खाद्य कार्यक्रम नेपाल कार्यालयले जनाएको छ । मुलुकमा बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य भूमि, मल, बीउको अभाव तथा अन्य विविध कारणहरुले गर्दा यस वर्ष थप ६ जिल्लामा खाद्यान्न अभाव हुने भएको छ ।
  यसमा पाँचथर, उदयपुर, सप्तरी, काभ्रे, मकवानपुर र सर्लाही जिल्लाहरु थपिएका छन् । गतवर्ष नेपालका २७ जिल्ला खान नपुग्ने अर्थात् भोकमरी जिल्लाहरु रहेको थियो । त्यसमा सुनसरी, दोलखा, रसुवा, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, महोत्तरी, रौतहट, चितवन, मनाङ, मुस्ताङ, कास्की, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, रोल्पा, व्यूठान, जाजरकोट, बझाङ, बाजुरा, दार्चुला, अछाम, डोटी, बैतडी र डडेल्धुरा रहेका थिए ।  यस वर्ष भने आफ्नै उत्पादनले नपुगेर अन्य स्थानबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने जिल्लाहरुको संख्यामा वृद्धि भई ३३ पुग्ने  कृषि विकास मन्त्रालयले जनाएको छ । उल्लेखित जिल्लामा आप्mनै उत्पादनले खान नपुग्ने भएको हो । यस वर्ष खानका लागि धानबाट चामल मकै तथा गहुँ आदिबाट पिठो बनाउका लागि आवश्यक प्रतिशत निर्धारण गर्दा करिब ५६ लाख ४८ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुने मन्त्रालयको अनुमान छ । नेपालमा यस वर्ष धान, मकै, कोदो, गहुँ, जौ तथा फापर गरी जम्मा ८७ लाख ३८ हजार मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । सोमध्ये करिब ८ लाख मेट्रिक टन विभिन्न कारणबाट क्षति हुने मन्त्रालयको भनाइ छ ।

  कृषि विकास मन्त्रालयका तथ्यांक अनुसार बीउको व्यवस्थाका लागि करिब १ लाख ७५ हजार मेट्रिक टन आवश्यक पर्छ भने पशुपंक्षीको दानाका लागि करिब ३ लाख ९० हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ केही खाद्यान्न अल्कोहलको रुपमा समेत प्रयोग हुँदै आएको छ । यस वर्ष नेपालको जनसंख्या २ करोड ७५ लाख पुग्ने अनुमान गरिएको छ, उक्त जनसंख्यालाई प्रतिव्यक्ति प्रतिवर्ष १९१ केजीको दरले करिब ५२ लाख ४० हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने पनि मन्त्रालयले प्रक्षेपण गरेको छ । यस वर्ष राष्ट्रिय रुपमा करिब ४ लाख ८ हजार मेट्रिक टन खाद्यान्न बचत हुनेछ । गतवर्षको परिमाण ८ लाख ८६ हजार मेट्रिक टन थियो । हालको उपभोगको ढाँचा हेर्दा चामल करिब ९ लाख मेट्रिक टन कम हुने, मकैमा २ लाख ६२ हजार बचत हुने तथा गहुँमा करिब १० लाख ५० हजार मेट्रिक टन बचत हुने सम्बन्धित निकायले जानकारी दिएको छ । समग्रमा भन्नुपर्दा अघिल्लो आर्थिक वर्ष पनि खाद्य अभाव हुने जिल्ला ३३ नै थियो । गतवर्ष उत्पादन बढ्नुका साथै खाद्य अभाव हुने जिल्लाको संख्या घटेको थियो । मन्त्रालयका अनुसार गतवर्ष करिब ९ लाख मेट्रिक टन खाद्यान्न बचत भएको थियो । तर यसपालि ७ लाख २० हजार मेट्रिक टन अपुग हुने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष ८७ लाख ३८ हजार मेट्रिक टन खाद्यान्न हुने जनाएको छ । गत आर्थिक वर्ष ९४ लाख ५८ हजार मेट्रिक टन उत्पादन भएको थियो ।  गतवर्ष देशमा अधिक वर्षा भएको थियो । अधिक वर्षात् भएर पनि २७ जिल्लामा आवश्यक पर्ने खाद्यान्न उत्पादन हुन सकेको थिएन ।
  यो वर्ष खाद्यान्नबाट आत्मनिर्भर रहन नसक्ने जिल्ला ४० भन्दा बढी हुने कृषि विज्ञहरुको भनाइ छ । विश्व खाद्य कार्यक्रमको कार्यालयको अनुसार यो वर्ष ४० वटा जिल्लामा खाद्यान्न उत्पादन घट्ने छ । नेपालमा उत्पादनदेखि भण्डारणसम्ममा खाद्य नोक्सानी २० प्रतिशत हुने गरेको अनुमान छ । खाद्य नोक्सानीसहित खेर जाने क्रम पनि अधिक रहन्छ । खाद्यान्न बासी राखेर, भण्डारण मात्र गरी प्रयोगमा नल्याएर, अनावश्यक पकाई फालेर  खेर जाने क्रमको भने अध्ययन भएको छैन । विज्ञहरुका अनुसार खेर जाने खाद्यान्न मात्रा झण्डै १० प्रतिशत छ ।  

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s