एभरेस्ट म्यारथनले बढायो अफसिजन पर्यटक

एभरेस्ट म्यारथनले बढायो अफसिजन पर्यटक

विपेन्द्र कार्की
नाम्चे (सोलुखुम्बु), १५ जेठ- एक दशकअघिसम्म जेठ महिना सुरुमै सुनसान देखिने नाम्चे बजार पछिल्ला वर्षहरूमा भने महिनैभरि व्यस्त रहन्छ । वैशाखको अन्तिम साता पर्वतारोहणको सिजन सकिएसँगै सुस्ताउने नाम्चे र आसपासका क्षेत्रमा पछिल्लो एक दशकदेखि एभरेस्ट म्याराथनले रौनक बढाएको छ । “एभरेस्ट म्याराथनले अफसिजनमा पनि पर्यटकीय गतिविधि बढाएको छ,” स्थानीय व्यवसायी सुजन बस्नेत भन्छन्, “म्याराथनको प्रचार अन्तर्राष्ट्रियस्तरमा बढ्दै जाँदा यहाँको पर्यटकीय गतिबिधि पनि बढिरहेको छ ।” उनका अनुसार यस क्षेत्रको व्यापार र समग्र मुलुकको पर्यटन क्षेत्रमा यसले सकारात्मक प्रभाव परेको छ ।
हिमालय एक्सपिडिसन प्रालिले एक दशक अघिदेखि निरन्तर सञ्चालन गर्दै आएको ‘तेञ्जिङ हिलारी एभरेस्ट म्याराथन’ को अन्तर्राष्ट्रिय चर्चा बढी छ । म्याराथन सुरु हुनु एक साता पहिलेदेखि नै एक दर्जनभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरू नाम्चे र सगरमाथाको आधारशिविरमा छन् । आयोजक संस्था हिमालय एक्सपिडिसनका अध्यक्ष विक्रम पाँडे भन्छन्, “हामीले यस म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको बढी चर्चा हुने कार्यक्रमको शीर्ष स्थानमा उभ्याउन सफल भएका छौं ।” विदेशीको आकर्षणले आउँदा वर्षहरूमा यो प्रतियोगिता झनै भव्य हुने उनको अनुमान छ ।
हरेक वर्षको मे २९ मा एभरेस्ट म्याराथन आयोजना हुँदै आएको छ । सगरमाथा बेस क्याम्पदेखि नाम्चे बजारसम्म आयोजना हुने म्याराथन संसारकै अग्लो स्थानमा हुने प्रतियोगिता हो । प्रथम आरोहीद्वय तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको तिथि पारेर आयोजना हुँदै आएको यो प्रतियोगिताले स्थानीय व्यवसायीसमेत लाभान्वित भइरहेको नाम्चेमा किराना व्यवसाय सञ्चालन गर्दै आइरहेका फुर्वा शेर्पा बताउँछन् ।
नाम्चेका होटल, रेस्टुँरा, खुद्रा पसल तथा स्थानीय भरियासमेत अफसिजनमा रोजगारी पाउँदा दंग छन् । सगरमाथा आरोहण तथा दृश्यावलोकनका लागि जाने पर्यटकका कारण मार्च र अप्रिल महिनामा यस क्षेत्रको व्यवसाय बढे पनि मे महिनाको मध्यदेखि नै अफसिजन सुरु हुने व्यवसायीहरू बताउँछन् । नाम्चेमा मात्रै साना ठूला गरी २ सयभन्दा बढी होटल छन् । भरियाहरू छिमेकी जिल्ला ओखलढुंगा, दोलखा, रामेछापबाट समेत रोजगारीको खोजीमा यहाँ आइपुग्छन् ।
नाम्चेमा मुख्यतः दुई सिजनमा पर्यटकको चाप बढ्छ । पर्वतारोहणका लागि मार्चदेखि मे महिनासम्म पर्यटकहरू रहन्छन् भने सेप्टेम्बरदेखि पदयात्रामा जानेहरूको चहलपहल हुने गरेको छ । पर्वतारोहणका लागि जाने पर्यटकले बढी खर्च गर्ने व्यवसायीहरूको अनुभव छ ।
बक्समा
राजभण्डारीलाई उपाधि
एभरेस्ट म्यारथनको यस वर्षको उपाधि सोलुखुम्बुको लुक्लाका रामकुमार राजभण्डारीले हात पारेका छन् । बुधबार भएको प्रतियोगितामा निर्धारित ४२ किलोमिटर १ सय १५ मिटरको दूरी ३ घण्टा ५९ मिनेट ४५ सेकेन्डमा पूरा गरी उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै राजभण्डारीले नगद १ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । प्रतियोगितामा कुलुङ राईले ४ घण्टा ११ मिनेटमा दौड पूरा गरी दोस्रो भएका थिए । सगरमाथा आधारशिविरको ५ हजार ३ सय मिटर उचाइबाट सुरु भएर ३ हजार ४ सय मिटरमा टुंगिएको यो म्याराथन संसारकै अग्लो स्थानमा हुन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s