उपत्यकालाई गाविसविहीन बनाउने तयारी

 

काठमाडौ, वैशाख १६ – दक्षिण एसियाकै उच्च जनसंख्या वृद्धिदर रहेको सहरमा पर्ने काठमाडौं उपत्यकालाई गाविसविहीन बनाउने तयारी भएको छ ।  सरकारद्वारा गठिन नगर निर्धारण समितिले काठमाडौं उपत्यकाभित्र रहेका तीनवटै जिल्लाका गाविसलाई गाभेर नगरपालिका बनाउने तयारी गरेको हो ।

यसकै लागि समितिले उपत्यकामा थप्न सकिने झन्डै डेढ दर्जन नगरपालिकाको सम्भाव्यता अध्ययनका लागि छुट्टै कार्यदल गठन गरेको छ । सुझाव संकलन र सम्भाव्यता अध्ययनका आधारमा उपत्यकाभित्रका सबै गाविसलाई नगरपालिकामा रूपान्तरण गर्न सकिने निष्कर्ष निकालिएको निर्धारण समितिका सदस्य एवं कार्यदलका संयोजक रेश्मीराज पाण्डेले बताए । ‘अस्तव्यस्त र अव्यवस्थित काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि अहिलेको भन्दा फरक ढंगको संरचना जरुरी देखियो,’ स्थानीय विकास मन्त्रालयको नगरपालिका शाखासमेत हेर्ने सहसचिव पाण्डेले भने, ‘पूर्वाधार र स्रोतसाधन भएका गाविसहरूलाई गाभेर नगरपालिका बनाउने र सबै नगरपालिकाको छाता संगठनका रूपमा मेट्रो सिटीको अवधारणा ल्याउन खोजेका छौं ।’ कार्यदलमा मन्त्रालयका उच्च अधिकारीसहित उपत्यका विकास प्राधिकरण, जिविसहरू र नगरपालिका संघका प्रतिनिधिहरू छन् ।

बढ्दो जनघनत्व, स्रोत साधनलगायत कारणले हालका नगरपालिका वरपरका गाविसहरू निकै ठूलो भएका र तिनको एकसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ अवधारणा अघि सारिएको स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले बताए । विकास निर्माण, पूर्वाधार, प्रकोप नियन्त्रण, फोहोर व्यवस्थापन लगायतका पक्षलाई व्यवस्थापन गर्न नसक्दा कतिपय गाविसहरू भद्रगोल भएका कारणले एकीकृत र विशिष्टीकृत सेवा दिन नगरपालिकामा स्तरोन्नत गर्न खोजिएको उनले बताए । यसका लागि भक्तपुर र काठमाडौं जिविसले सुझाव दिइसकेका छन् भने ललितपुरले दिन बाँकी रहेको उनले बताए ।

तीनवटै जिल्लामा केही अपवादबाहेक सबै गाविस नगरपालिकामा गाभिन तयार रहेको कार्यदलले जनाएको छ । नगर निर्धारण समितिका सदस्य एवं विज्ञहरूका अनुसार उपत्यकामा झन्डै १७ वटा नगरपालिका थपिने अनुमान छ । ठूलो फेरबदल नआए काठमाडौंमा ९, ललितपुरमा ६ र भक्तपुरमा ४ वटा नगरपालिका थप हुनेछन् । हाल उपत्यकामा काठमाडौं र भक्तपुरमा दुई/दुई र ललितपुरमा एक गरी पाँच नगरपालिका छन् । भौगोलिक रूपमा मकवानपुरतिर फर्किएका र उपत्यका बाहिर रहेका ललितपुरका २७ गाविसलाई यथावत् राख्ने तयारी भएको छ । लेले गाविसबारे भने निर्णय भइसकेको छैन । सबै नगरपालिकाहरूको नियमनकारी निकायका रूपमा मेट्रो सिटी राख्ने अवधारणा अघि सारिएको छ । तर त्यसको ढाँचा र स्वरूप तय भइनसकेको कार्यदलका सदस्यसमेत रहेका थपलियाले बताए । उपत्यकाका नगरपालिकाहरूको समग्र नीति र योजना तय गर्ने तथा तिनको नियमन गर्ने काम मेट्रो सिटीले गर्नेछ । त्यसका लागि हालको काठमाडौं विकास प्राधिकरणलाई त्यही स्वरूपमा ढाल्ने अवधारणा पनि अघि सारिएको छ । अनौपचारिक आकडाअनुसार झन्डै ४० लाख जनसंख्या रहेको काठमाडौं उपत्यका दक्षिण एसियाकै उच्च जनसंख्या वृद्धिदर रहेको सहरी क्षेत्रमा पर्छ । सहरी क्षेत्रको समग्र जनसंख्या वृद्धिदर झन्डै पाँच प्रतिशतको हाराहारीमा छ । दस वर्षअघि ४३ हजार रहेको जोरपाटी गाविसको जनसंख्या अहिले झन्डै दोब्बर भई ८३ हजारभन्दा बढी पुगेको छ ।

‘डेढ/दुई लाख जनसंख्या भएका चार/पाँच गाविस समायोजन गरेर एउटा नगरपालिका बनाउन सकिन्छ,’ कार्यदल संयोजक पाण्डेले भने । भूगोल, जनसंख्या, पूर्वाधार एवं आन्तरिक स्रोत लगायतका सूचकलाई आधार मानेर नगरपालिका बनाउने तयारी भए पनि विकेन्द्रीकरणको मर्मअनुसार स्थानीय बासिन्दाको चाहनालाई प्राथमिकता दिइने संयोजक पाण्डेले बताए । उनका अनुसार, कुनै गाविसले सर्वसम्मत निर्णय गरी गाविसकै स्वरूपमा रहन चाहे दबाब नदिने नीति बनेको छ ।

समायोजन गर्दा भने गाविसको भौगोलिक अवस्था, रहनसहन, सहरीकरणको प्रभाव एवं अन्य विशेषताका आधारमा नगरपालिका गठनको सिफारिस हुनेछ । भूगोलविद् पदमचन्द्र पौडेलको संयोजकत्वमा गठित नगर क्षेत्र निर्धारण समितिको म्याद वैशाख मसान्तमै समाप्त हुने भएकाले त्यसअघि नै कार्यदलले सिफारिस बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: २०७० वैशाख १६ ०८:५७

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s